Main Menu

विज्ञान

जीवनको उत्पत्तिबारे नयाँ सिद्धान्त !

सम्भवतः चार अर्ब वर्ष पहिले महासागरीय पिँधको चट्टानमा नै जीवनको पहिलो रुपको उत्पत्ति भयो ।

पृथ्वीमा जीवनको उत्पत्ति अरबौं वर्ष पहिले एक कोषीय सूक्ष्म जीवबाट भएको हो । यो कथन अब सर्व स्वीकार्य भइसकेको छ । वैज्ञानिक समाजमा मात्र होइन, प्राथमिक स्तरको बौद्धिक समाजमा पनि यो कुरालाई सत्यको रुपमा लिने गरिएको भेटिन्छ ।

तर जीवनरहित प्राचीन पृथ्वीमा अजैविक पदार्थबाट शुरुमा कसरी एक कोषीय जीवको उत्पत्ति भयो भन्ने विषयमा वैज्ञानिकहरुले अझै एकिन गरेर भन्न सकेका छैनन् । यस विषयमा वैज्ञानिकहरुले विभिन्न फरक फरक धारणा राख्दै आएका छन् ।

वैज्ञानिकहरुबीच मतैक्यता केमा छ भने पृथ्वीको उत्पत्तिको दुई अढाई अर्व वर्षसम्म पनि पृथ्वीमा कुनै जीवको अस्तित्व थिएन । र, त्यतिखेरको वायुमण्डलमा कार्वनडाइअक्साइड, एमोनिया, मिथेनजस्ता ग्याँसहरु र पानीका कणहरुको बाहुल्यता थियो । यो स्थिति जीवनको उत्पित्तिको लागि अनुकूल थियो । र, सौर्य विकिरण, अन्तरिक्ष किरण र आकाशमा बिजुली चम्काइले पानीमा ती वस्तुहरुबीच रासायनिक प्रतिक्रियाको जन्म गरायो । त्यही रासायनिक प्रतिक्रियाले नै शुरुमा न्यूक्लिक अम्लजस्ता जैविक पदार्थको जन्म भयो । र, पछाडि त्यसैबाट प्रोटिन यौगिकको उत्पत्ति भयो ।

न्यूक्लिक अम्ल यस्तो जैविक अम्ल हो जसले आफूजस्तै अर्को वस्तु उत्पादन गर्न सक्छ । र, यही नै जीवनको प्रारम्भिक रुप थियो । प्रारम्भिक जीवन अस्तित्वमा आइसकेपछि वैज्ञानिक चाल्र्स डार्विनको ‘क्रमविकास’(evolution) को सिद्धान्त अनुसार लाखौं, करोडौं र अरबौं वर्षबीच क्रमशः एक कोषीयबाट वहु कोषीय हुँदै सूक्ष्म र साना साना जीवहरुबाट ठूला ठूला जीवहरुमा जीवनको विकास भयो । यस कुरामा वैज्ञानिकहरुको मतैक्यता भेटिन्छ ।

प्राचीन जीवनरहित अवस्थाको पृथ्वीमा जीवनको शुरुवात कस्तो ठाउँमा भयो र त्यहाँ केले प्राथमिक भूमिका खेल्यो ? यो प्रश्न सधैं अनुत्तरित नै हुँदै आयो । तर हालैमात्र एक जर्मन र एक अंग्रेज वैज्ञानिकले त्यस प्रश्नको चित्तबुझ्दो उत्तर दिन खोजेका छन् ।

वैज्ञानिक विलियम मार्टिन

जर्मनीको हेनरिच हेन विश्वविद्यालयका विलियम मार्टिन र बेलायतको ग्लास्गोस्थित ‘स्कोटिश युनिभर्सिटिज इनभाइरमेन्टल रिसर्च सेन्टर’का माइकेल रसेलले पछिल्लो निष्कर्षको रुपमा नयाँ के सिद्धान्त अगाडि ल्याएका छन् भने सम्भवतः चार अर्ब वर्ष पहिले महासागरीय पिँधको चट्टानमा नै जीवनको पहिलो रुपको उत्पत्ति भयो । उनीहरुका अनुसार पानीभित्रको चट्टानमा रहेको खनिजभित्र रहेका सूक्ष्म खोपिल्टाहरुमा नै जीवनको पहिलो रुप अर्थात् पहिलो सूक्ष्म जीवको कोषले आकार लिन सम्भव भयो । जीवनको उत्पत्तिको लागि अजैविक पदार्थहरुबाट जैविक प्रतिक्रिया हुन अनुकूल वातावरण दिने त्यो खनिज के थियो त ? वैज्ञानिकहरु मार्टिन र रसेलका अनुसार त्यो खनिज ‘फलाम सल्फाइड’ (Iron Sulphide, Fe2S3) हो ।

माथि पनि भनिसकियो, पृथ्वीमा स्वयंबाट नै आफूजस्तै अर्को उत्पादन गर्न सक्ने ठूला अणुहरु अर्थात् प्रोटिनहरु सबभन्दा पहिले देखा परे । वैज्ञानिकहरु मार्टिन र रसेलका अनुसार जीवनको शुरु हुनेबेला अजैविक अणुहरुलाई जैविक अणुहरुसित जोड्ने अर्थात् प्रोटिन अणु बनाउने प्रक्रियालाई गतिवान पार्ने काममा फलाम सल्फाइडले महत्वपूर्ण भूमिका खेल्यो ।

अनुसन्धानको क्रममा वैज्ञानिकहरु मार्टिन र रसेलले खोलाबाट बाहिर निस्कंदै गरेको तातो पानीभित्र र माहुरीको चाकामा पाइने षट्कोणाकार कोठाहरुभित्र अजैविक अणुहरुलाई जैविक अणुहरुमा बदल्ने जैविक प्रतिक्रियाका लागि चाहिने एमोनिया, कार्वनडाईअक्साइड आदिजस्ता कच्चा पदार्थहरु प्रशस्त छन् भन्ने कुरा पत्ता लगाए । ती पदार्थहरुलाई व्याक्टरियाले इन्धनको रुपमा प्रयोग गर्न सक्दछ । उनीहरुका अनुसार फलाम सल्फाइडको पर्खालले घेरिएको कोठाभित्रका सरल अणुहरु बढी घनत्वका अणुहरुमा बदल्न सक्छन् । र, ती अणुहरु नै प्रोटिन र वंशाणुगत पदार्थजस्ता जटिल अणुहरुको उत्पत्तिको निम्ति झिल्को बन्न सक्छन् ।

वैज्ञानिक माइकेल रस्सेल

मार्टिन र रसेलले प्राथमिक जीवनका दुई मुख्य वर्गहरु व्याक्टेरिया र आर्किव्याक्टेरियाको गहिरो अध्ययन गरेका छन् । उनीहरुले के पत्ता लगाएका छन् भने ती दुई वर्गका सूक्ष्म जीवहरुमा विशेष खालको कोष भित्ताहरु (cell walls) पाइन्छन् जसले तिनीहरु पक्कै पनि दुई पटकमा आएको कुराको संकेत दिन्छ । व्याक्टेरिया र आर्किव्याक्टेरियासँग सयौं समान वंशाणुहरु रहेको तथ्य पत्ता लागेको छ ।

मार्टिन र रसेलको के विश्वास छ भने व्याक्टेरिया र आर्किव्याक्टेरिया दुबैले अलग अलग करिब ३.८ अर्ब वर्ष पहिले चट्टानी वस्तुमा उत्पतिको थलो बनाए । तर अहिलेसम्म करिब २.५ अर्ब वर्ष पुरानो व्याक्टेरियाको जीवावशेष मात्र विवादरहित हुन सकेको छ ।

जीव विकासको विज्ञानमा मार्टिन र रसेलले हालै प्रकाशमा ल्याएका तथ्यहरु र सिद्धान्तहरुप्रति शंकाको आँखाले हेर्ने वैज्ञानिकहरु पनि नभएका होइनन् , तर उनीहरुको काम र सिद्धान्तले विज्ञानमा एउटा ईंटा थपेको छ भन्ने कुरामा भने कसैले नकारेको स्थिति छैन ।

  • तुल्सीदास महर्जन

सन्दर्भ स्रोत : Nature News Service

(Visited 192 times, 1 visits today)

टिप्पणी

comments