Main Menu

नयाँ स्वास्थ्य नीति निर्माणका लागि मन्त्रालयले काम थाल्यो

new-health-policy-construction-startedभदौ २०, काठमाडौं । नयाँ संविधानको मर्म अनुसार भर्खरै सार्वजनिक स्वास्थ्य सेवा संस्था संचालनमा स्थानीय तहलाई कार्यकारी अधिकार हस्तान्तरण गरेर चर्चा बटुलेका स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले आजै नयाँ स्वास्थ्य नीति निर्माणको लागि गठित उच्च स्तरीय समितिको बैठक डाकी कामलाई अगाडि बढाएका छन् ।

स्वास्थ्यमन्त्री पोखरेलले ‘आजको बैठकमा नयाँ स्वास्थ्य नीति तर्जुमा गर्न विशेष कार्यदल बनाई सातैवटा प्रदेशमा विज्ञ, स्वास्थ्यकर्मी तथा सरोकारवाला जनतालाई सम्मिलित बनाई अन्तर्क्रियात्मक कार्यक्रमहरु गरी सुझावहरु संकलन गर्ने’ निर्णय भएको मिडियालाई जानकारी गराए ।

उनले जानकारी गराए अनुसार स्वयं मन्त्रीकै अध्यक्षतामा गठित नयाँ स्वास्थ्य नीति निर्माण उच्च स्तरीय समितिको आजको बैठकमा मन्त्रालयले नीति निर्माणको कामलाई तीन महिनाको कार्य योजना बनाई तीव्रता दिने निर्णय भएको छ ।

त्यस्तै गरी बैठकले अन्तर्राष्ट्रिय सम्बन्ध, प्यारामेडिक्स, स्वास्थ्यमा संघीय संरचना, विगतका नीति तथा दस्तावेजहरुको अध्ययन, क्षेत्रक्षेत्र एवं प्रदेशप्रदेशमा गरिने अन्तर्क्रिया आदिजस्ता विषयगत रुपमा काम कार्वाही अगाडि बढाउन बिभिन्न कार्यदलहरु गठन गर्ने निर्णय पनि आजको बैठकमा भएको छ । मन्त्रालयले लिएका नीति तथा त्यसले गर्ने हरेक कार्यक्रमको सार्वजनिकीकरण गर्न र आमजनताको तहबाट सुझाव संकलन गर्न छुट्टै वेभसाइट तथा ब्लग खोली सञ्चालन गर्ने पनि आज निर्णय गरिएको कुरा जानकारी गराइएको छ ।

स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेल नै अध्यक्ष भएको ‘नयाँ स्वास्थ्य नीति निर्माणको लागि गठित उच्च स्तरीय समिति’को स्वयं मन्त्री पोखरेलकै अध्यक्षतामा बसेको आजको बैठकमा कार्यकारी उपाध्यक्ष डा. महेश मास्के, निमित्त स्वास्थ्य सचिव एवं समितिका सदस्य सचिव डा. पुष्पा चौधरी, सदस्यहरु डा. शरद वन्त, डा. सेनेन्द्र उप्रेती, डा. पदमबहादुर चन्द, डा. वाई. पि. सिंह, श्री दयालक्ष्मी वैद्य र डा. वासुदेव उपाध्यायको सहभागिता रहेको थियो ।

(Visited 65 times, 1 visits today)

टिप्पणी

comments