Main Menu

आजको ‘विशाल नेपाल’ पृथ्वी नारायण शाहले गरेको राज्य–विस्तापछि मात्र आएको होइन

  • प्रा. माणिकलाल श्रेष्ठ

nepal-unification-prithvi-narayan-shahवि.सं. १८२५ मा पृथ्वीनारायण शाहले नेपाल उपत्यका विजय गरेपछि नेपालको एकीकरणको प्रक्रिया शुरु भयो र, त्यसपछि पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरुको प्रयासले मात्र विशाल नेपालको सृजना भयो भन्ने भ्रम हामीमध्ये धेरैमा अहिलेसम्म रहीआएको छ । यसलाई मान्ने हो भने त वि.सं. १८२५ भन्दा पहिले नेपाल भन्ने नै थिएन अथवा विशाल नेपाल थिएन, नेपाल भनेकै नेपाल खाल्डोमात्र थियो र नेपाल अधिराज्यको इतिहास वि.सं. १८२५ देखि २०६० सम्म २०० वर्षको मात्रको इतिहास भन्ने हुन्छ ।

खास गरेर यो भ्रम यूरोपका इतिहासकारहरुले फैलाएका हुन्, किनभने पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गर्न थालेपछिमात्र यूरोपेलीहरुले नेपालप्रति चासो राखेका थिए । त्यसले गर्दा पथ्वीनारायण शाह आउनुभन्दा अगाडि नेपाल एउटा सानो उपत्यकामा सीमित थियो र उनले नै विशाल नेपालको निर्माण गरेका हुन् भन्ने धारणा यूरोपेलीहरुमा बन्यो । त्यसैको आधारमा उनीहरुले नेपालको इतिहास लेखे । त्यसको प्रभाव नेपालका इतिहासकारहरुमा पनि पर्यो । यतिसम्म कि प्रगतिशील विचारधाराका लेखकहरुमा पनि यो भ्रम रहेको छ । एकजना प्रगतिशील विद्वान लेखक आनन्ददेव भट्टले समेत ‘वि.सं. १८२५ सम्म नेपाल एकदम सानो र सीमित थियो, नेपाल अधिराज्य भन्ने नै थिएन । पृथ्वीनारायण शाहको कारणले नेपाल अधिराज्य बन्यो’ भनेर भन्नुभएको छ ।

तर यो कुरा सत्य होइन । नेपाल अधिराज्यको इतिहास प्राचीनकालदेखि नै छ । र, यो किराँतकाल, लिच्छविकाल र मल्लकालको शुरुदेखि नै थियो । म यसको ऐतिहासिक प्रमाण दिनसक्छु । एकजना विद्वान इतिहासकार धनबज्र बज्राचार्यले के लेख्नुभएको छ भने ‘दोलखा, मूलकोट, गोरखामा लिच्छवी राजाहरुका अभिलेखहरु, बागलुङ्गमा मानदेवको सिक्का, जुम्लाको गुफामा लिच्छवी राजाहरुको लिपी र उनीहरुको संकेत अंकबाट कुँदिएका चैत्यहरु पाइएका छन् । यसबाट लिच्छवीकालमा पनि नेपाल विशाल राज्य थियो भन्ने अनुमान गर्न सकिन्छ ।’

यो अनुमानको कुरा छाडौं र इतिहासतिरै लागौं । चीनका एकजना बौद्धभिक्षु हु–एन–साङ्ले सन् ६३१ देखि ६३७ सम्म भारतको भ्रमण गरेका थिए । त्यो भ्रमणको विवरण सन् ६४१ मा चीनका सम्राटलाई बुझाएका थिए । त्यस विवरणको एक ठाउँमा ‘भारतको उत्तरमा नेपाल भन्ने एउटा राज्य छ । त्यसको घेरा तीन हजार ली छ’ भनेर उल्लेख गरिएको छ । तीन हजार ली भनेको नेपाली नाप १४ सय माइल हो । अहिले पनि नेपालको घेरा १४ सय माइल नै छ ।

त्यस्तै गरेर हु–एन–साङ्भन्दा करिब १०० वर्ष पहिले नेपालका लिच्छवी राजा वृषदेवको समयमा भारतमा समुद्रगुप्तको शासन थियो । उनले सम्पूर्ण उत्तर भारतमा साम्राज्य फैलाएका थिए र भारतको प्रयागमा एउटा अभिलेख राखेका थिए । त्यस अभिलेखमा गुप्त साम्राज्यको चारैतिरका छिमेकी देशहरु भनेर यसरी लेखिएको छ : ‘समतट, डवाक, कामरुप, नेपाल, कर्तृपुर’ । यसको अर्थ नेपाल डवाक र कर्तृपुरको बीचमा वा कामरुप र कर्तृपुरको बीचमा नेपाल रहेको देखिन्छ । समतट भनेको समुद्रकिनारको इलाका वंगाल र उडिसा, डवाक भनेको उत्तरी बंगालमा पर्ने डुवार, कामरुप भनेको आसाम र कर्तृपुर भनेको कुमाउ हो । भन्नाले आसाम र डुवारको पश्चिमतिर र कुमाउभन्दा पूर्वमा नेपाल रहेको छ, भनिएको छ । त्यो भनेको त अहिलेकै नेपाल भयो ।

त्यस्तै गरेर मानदेवको चाँगु अभिलेखको आधारमा पनि त्यतिबेलाको नेपाल अहिलेजतिकै क्षेत्रफलको थियो भन्ने कुरा प्रमाणित हुन्छ । त्यस अभिलेखमा बावुको मृत्युपछि मानदेव सानै उमेरमा राजा भएकोले पूर्व कोशीपारिका र पश्चिम गण्डकी पारिका सामन्तहरुले केन्द्रको अधीनमा नबसी स्वतन्त्र हुन खोजेकोले मानदेवले सेना पठाई उनीहरुलाई कावुमा लिएका थिए भन्ने उल्लेख गरिएको छ ।

किराँतकाल अथवा बुद्धकालमा नेपाललाई हिमवत् प्रदेश भन्ने चलन थियो । पछि किराँत प्रदेशलाई नेपाल भन्न थाल्यो । त्यसबेला नेपाल आर्थिक रुपले शक्तिसम्पन्न राज्य थियो भन्ने कुरा भारतका प्राचीन कुटनीतिज्ञ कौटिल्यले आफ्नो अर्थशास्त्रमा उल्लेख गरेका छन् । पछि किराँतवंशका एकजना नेपार वंशका राजाले किराँत प्रदेशलाई नेपार तथा त्यहाँका जनता र भाषालाई पनि नेपार नाम दिए । त्यसैबाट पछि नेपाल देश, नेपाल जनता र नेपाल भाषा बनेको थियो । त्यतिबेला नेपाल अहिलेकै जति विशाल थियो भन्ने कुरा यो उदाहरणबाट पनि प्रष्ट हुन्छ ।

किराँत राजा स्थुङ्कोको समयमा भारतका सम्राट अशोक बुद्धको जन्मस्थल लुम्बिनीमा आएका थिए र बुद्ध जन्मेको ठाउँमा उनले एउटा ढुंगाको स्तम्भ खडा गरेका थिए । त्यस स्तम्भमा हाम्रा गुरु बुद्धको जन्म भएको हो भन्ने कुरा लेखिएको थियो भने अन्तिमतिर ‘लुम्बिनी गामे उबलिकेकटे अथभागियेच’ भनेर लेखिएको छ । यसलाई अक्सफोर्ड युनिभर्सिटीबाट यसरी उल्था गरिएको छ– ‘लुम्बिनी गाउँका जनतालाई करमुक्त गरेर आठ भागको एक भागमात्र तिर्नुपर्ने गरियो’ । तर यो अनुवाद एकदमै विवादास्पद रह्यो । एउटा, विवादास्पद भारतको सम्राटले त्यहाँका जनतालाई करमुक्त गरेकोले लुम्बिनी भारतको अधीनमा थियो भन्ने रह्यो । अर्को, करमुक्त नै गरिएको हो भने करमुक्त भएका जनताले किन फेरि आठ भागको एक भाग कर तिर्नु पर्यो् ? त्यसैले यसलाई उल्था गरिएकै मिलेन भनेर नेपालका एकजना विद्वान स्व. केशरबहादुर के.सी.ले त्यसको अर्थ यसरी परिभाषित गर्नुभएको छ – ‘लुम्बिनी गाउँका मान्छेहरुले पशुवलि चढाउन बन्द गरेर बुद्धको अष्ठमार्गको पालना गर्नुपर्दछ ।’ म पनि यो कुरामा सहमत छु ।

अर्को कुरा, बुद्ध जन्मेको ठाउँमा अशोकले स्तम्भ खडा गरेर त्यसमाथि एउटा घोडाको मूर्ति पनि राखिएको थियो । पछि अशोक त्यहाँबाट फर्केपछि नेपालका एकजना किराँत राजाले त्यो घोडा झिकेर फाल्न लगाए भनेर गाली गरिएको कुरा बौद्ध धर्मग्रन्थमा उल्लेख गरिएको छ । यसमा केशरबहादुर के.सी.को तर्क के छ भने प्राचीनकालमा राजाहरुले अश्वमेध यज्ञ गर्नको लागि घोडा छाड्ने गर्थे । घोडा छाडिएका देशले प्रतिकार गरेर त्यस घोडालाई कावुमा लिन सकेन भने त्यो देश घोडा छाड्ने देशको अधीनमा जान्थ्यो । स्तम्भमाथि राखिएको घोडा त्यसैको प्रतीक थियो भनेर किराँत राजाले त्यसलाई फाल्न लगाएका हुन् । यसबाट के बुझियो भने किराँतकालमा पनि नेपालको सीमाना लुम्बिनीसम्म फैलिएको थियो ।

मल्लकालमै पनि नेपालको सीमा कामाक्ष कामरुपसम्म फैलिएको थियो भन्ने कुरा उल्लेख छ । राजा यक्ष मल्लपछि अथवा पृथ्वीनारायण शाह आउनुभन्दा करिब ३०० वर्षअघि नेपाल टुक्रिएको थियो । यो साँचो कुरा हो । तर पनि तनहुँ लगायत अन्य राज्यहरुमा ‘हामी नेपाली हौ’ भन्ने भावना मल्लकालको अन्त्यसम्म पनि थियो । यो कुरा ऋषिकेश शाहले उल्लेख गर्नुभएको एउटा घटनाबाट पुष्टि हुन्छ– उपत्यका विजय गर्नुभन्दा पहिला पृथ्वीनारायण शाह काशी गएका थिए । उनले त्यहाँ एकजना पहाडे ब्राम्हणलाई भेटे र उनीसँग ‘तपाईं कहाँबाट आउनुभएको हो ?’ भनेर सोधे । ‘म नेपालबाट आएको हुँ’ भनेर बाहुनले जवाफ दिए । ‘नेपालमा मल्ल राजाहरुको बीचमा अहिले मेल छ कि झगडा छ ?’ भनेर पृथ्वीनारायण शाहले फेरि अर्को प्रश्न गरे । बाहुनले ‘म काठमण्डौंबाट आएको होइन, तनहुँबाट आएको हुँ’ भनेर जवाफ दिए । ‘तनहुँबाट आएको मान्छेले किन नेपालबाट आएको भनेको त ?’ पृथ्वीनारायण शाहले गरेको प्रश्नमा बाहुनले यसरी जवाफ दिएका थिए– ‘त्यहाँ बस्दा हामी कान्तिपुर, ललितपुर, भक्तपुर, तनहुँ, गोरखा भन्ने गर्छौं, तर मुग्लान पसेपछि ती सबैलाई नै हामी नेपाल भन्छौं ।’

त्यस्तै गरेर सुगौली सन्धीकै कुरा लिउँ– पृथ्वीनारायण शाहले उपत्यका जितेपछि उनका उत्तराधिकारीहरुले राज्य विस्तार गर्दै गए र अन्त्यमा व्रिटिश इलाकाको सीमासम्म पुगे । त्यसैले गर्दा ब्रिटिशहरुसँग युद्ध भयो । युद्धमा नेपालको हार भयो र सुगौली सन्धी भयो । सुगौली सन्धी हुँदा ‘नेपालले जितेका सबै राज्यहरु ब्रिटिश सरकारलाई फिर्ता दिनुपर्छ, नेपालको सीमा पहिलेकै सीमाअनुसार कायम हुन्छ’ भनेर पूर्वमा मेची र पश्चिममा महाकालीसम्म नेपालको सीमाना निर्धारण गरियो । यसको अर्थ मेचीदेखि महाकालीसम्मको इलाका नेपालको परम्परागत सीमाना हो भन्ने बुझिन्छ ।

यसरी नेपाल पृथ्वीनारायण शाहको पालामा मात्र नभएर प्राचीनकालदेखि नै विशाल नेपाल थियो । अब यसलाई पृथ्वीनारायण शाहले एकीकरण गरेको भनेर कसरी भन्ने ? कि भने पुनर्एकीकरण गरेको भन्नुपर्यो । तर साँच्चै नै भन्दा पुनर्एकीकरण नै गरेको भए पनि पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्छु भन्ने भावनाले गरेका थिएनन् । सामन्ती राजाहरुले राज्य विस्तार गर्ने भावनाले गोरखा राज्यको विस्तार गर्दै जाँदा एकीकरण भएको हो । जस्तो – तिब्बतका राजा स्रङ्–चङ्–गम्पो, चीनका चङ्गेज खानका सन्तानहरु र भारतका राजाहरुले पनि त्यस्तै राज्य विस्तार गरेका थिए । स्रङ–चङ–गम्पो त झण्डै नेपालसम्म आइपुगेका थिए । यदि पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरुले एकीकरणको भावनाले गरेको भए मेची, महाकालीको सीमासम्म पुगेपछि चूप लाग्नुपथ्र्यो । किन त्योभन्दा अगाडि किल्ला काँगडा र टिस्टासम्म पुगे ?

यही सिलसिलामा पृथ्वीनारायण शाहको दिव्य उपदेशमा भनिएको ‘नेपाल चार वर्ण छत्तीस जातको फूलबारी हो’ भन्ने कुरालाई लिएर पनि धेरै मानिसहरुले ‘पृथ्वीनारायण शाहले नेपाल छत्तीसै जातको साझा फूलबारी हो भनेर एकीकरणको भावना दिएका हुन्’ भन्ने गरेका छन् । तर त्योभन्दा अगाडि पनि नेपालका राजाहरु, लिच्छवी राजा बसन्तदेवले चार वर्ण अठार जात, मल्ल राजा जयस्थिति मल्लले चार वर्ण चौसठ्ठी जातमा बाँडेर नेपालमा वर्णव्यवस्था लागू गरेका थिए । मलाई के लाग्छ भने नेपालका राजाहरु हिन्दू धर्म र आर्य संस्कृतिका अनुयायी भएकाले नेपालमा वर्णव्यवस्था लागू गर्नको लागि नेपाली समाजलाई चार वर्ण र विभिन्न जातमा छुट्याएका थिए । त्यही क्रममा पृथ्वीनारायण शाहले पनि नेपाललाई चार वर्ण र छत्तीस जातमा छुट्याएका हुन् । उनले त ‘हिन्दूस्तानमा अंग्रेजहरु आइसकेको र त्योभन्दा अगाडि मुसलमानहरुले राज्य गरिसकेको भएर हिन्दू संस्कृति नै समाप्त भएको छ । त्यसैले त्यो हिदूस्थान नै भएन, म नेपाललाई असली हिन्दूस्तान बनाउँछु’ भनेका थिए । यसबाट के प्रष्ट हुन्छ भने ‘चारवर्ण छत्तीस जातको फूलवारी’ भनेर पृथ्वीनारायण शाहले भनेको कुरा एकीकरणको भावनाले भन्दा पनि बरु वर्ण व्यवस्था लागू गर्ने भावनाले भनेका हुन् ।

यो कुरा द्रव्य शाहको पालादेखि नै शुरु भएको थियो । उनको समयमा नारायण अर्याल र गणेश पाण्डे भन्ने दुईजना निक्कै ठूला विद्वानहरु थिए । उनीहरु भारतमा मुसलमानको आक्रमणपछि नेपाल पसेका थिए । तर नेपालमा आर्य संस्कृति नमान्ने भएकाले उनीहरुलाई यहाँ बस्न पनि निक्कै अप्ठ्यारो भयो । त्यसैले उनीहरुले सल्लाह गरेर द्रव्य शाहलाई ‘तिमी त भारतबाट आएका रजपुतका सन्तान हौ, धेरै वर्षसम्म यहाँ बसेर मगरहरुसँग विवाह सम्बन्ध जोडेकाले मगरजस्तो भएका हौ’ भनेर आर्य संस्कृति लिन लगाएर, गद्दीमा राखेर ठाउँको नाम पनि ‘गोरक्षा’ भनेर गोरखा राख्न लगाएका थिए । नभए गोरखा राज्य त मगरहरुको राज्य मगरात थियो । यसरी नेपाललाई हिन्दू राज्य बनाउने यी दुई बाहुनहरुको अवधारणा थियो । उनैका सन्तान पृथ्वीनारायण शाहले नेपाल जितेपछि यसलाई ‘असली हिन्दुस्ताना’ भने । त्यसैले मलाई के लाग्छ भने आर्य संस्कृति, हिन्दू धर्म, हिन्दू अधिराज्य विस्तार गर्ने उद्देश्यले राज्यहरु जित्दै जाँदा नेपाल पुनः एकीकरण भएको हो । नेपाललाई आर्य संस्कृति र हिन्दु वर्णाश्रम ल्याउने अथक प्रयत्न लिच्छवि र मल्ल वंशीय राजाहरुले पनि गरेका थिए ।

पृथ्वीनारायण शाहले नेपाललाई विशाल बनाएकोले नेपाललाई व्रिटिशहरुले कब्जा गर्न सकेनन् भन्ने धारणा पनि यहाँ छ । एउटा कुरा यो पनि सत्य हो, तर त्योभन्दा सत्य के हो भने व्रिटिशहरुको नीतिले गर्दा पनि नेपाल उनीहरुले कब्जा नगरेका हुन् । किनभने नेपालको उत्तरमा जोडिएको विशाल चीन छ । भोलि गएर भारतलाई चीनबाट खतरा हुन्छ । बीचमा बफर राज्यको रुपमा सानो राज्य रह्यो भने चीनसँग लड्नु पर्दैन भनेर उनीहरुले नेपाल, भूटान र सिक्किमलाई स्वतन्त्र राज्यको रुपमा छाडेका हुन् ।

यहाँ एउटा अर्को कुरा पनि उल्लेख गर्नु जरुरी छ । पृथ्वीनारायण सानै छँदा अथवा उनी युवराज नै घोषित नहुँदै उनले जनावरको एउटा सिङमा अहिलेका बच्चाहरुले खुत्रुक्केमा पैसा जम्मा गरेजस्तै पैसा जम्मा गरेका थिए । त्यो जम्मा गरेको पैसालाई हेरेर एकदिन ‘सिङभरि पैसा पारुँला, नेपाल मारौंला’ भनेका थिए रे ! त्यो कुराबाट के बुझ्न सकिन्छ भने सानै छँदादेखि नै नेपाल उपत्यकाको राजा हुने चाहना उनमा थियो । हुन पनि त्यतिबेला नेपाल उपत्यका उब्जनीको हिसावले, व्यापारको हिसावले र सांस्कृतिक हिसावले एकदमै सम्पन्न राज्य थियो । यस्तो राज्यको राजा हुने लोभ अरु राजाहरुमा पनि थियो होला । उनकै बुवा नरभूपाल शाहले पनि उपत्यकामाथि आक्रमण गर्न खोजेका थिए । तर नुवाकोटको युद्धमै हार खाएर उनले गोरखा फर्कनुपर्यो । पृथ्वीनारायण शाहले पनि उपत्यकाको राजा हुने लोभबाट उपत्यका जित्न खोज्दा त्यस वरिपरिका राज्यहरु जित्दै जाँदा नेपालको ‘एकीकरण’ हुन गएको हो ।

(Visited 1,195 times, 1 visits today)

टिप्पणी

comments