Main Menu

मिथक हाम्रो सांस्कृतिक चिन्तनको स्रोत ?

  • डि.आर. पोखरेल

समालोचक डि. आर. पोखरेल

(आधुनिक मानव विकासको आदिकालमा जब चेतना र भावनाको विकास भयो तब रहस्यमय वस्तु र घटनाहरुको व्याख्यामा मिथकको जन्म एवं प्रयोग हुन थाल्यो । कला, साहित्य र संस्कारमा मिथकले स्थान पाउनु केवल पूर्वीय प्रवृत्ति नभई यो पश्चिममा पनि उतिकै जरा गाडेको प्रवृत्तिको रुपमा स्थापित छ । मिथक ऐतिहासिक मात्र नभई यो आधुनिक जमानामा पनि उतिकै प्रचलित छ । यसले समग्र सांस्कृतिक चिन्तनमा प्रभाव पारेको छ । यसै सन्दर्भलाई लिई समालोचक एवं संस्कृति चिन्तक डि.आर. पोखरेलले झण्डै डेढ दशकअगाडि मूल्याङ्कन मासिकको पूर्णाङ्क ११३ मा प्रकाशन गराएको यस रचना वर्तमानमा पनि उतिकै महत्वको रहेको ठहर्याई पुनः प्रकाशित गरिएको छ । – सम्पादक)

जानिफकारहरु भन्छन् मिथक आदिम मानवको मनको सृष्टि हो । तर, यो कपोलकल्पनामा आधारित छ । हुन त यो प्रकृतिका यथार्थ घटनाहरुको प्रतिबिम्बन हो । किनभने, हाम्रा पूर्वजहरुले प्रकृति, मानवसमुदाय र स्वयं आफ्नो मनभित्र जुन खेलहरु देखे, तिनबाट प्रभावित भएर तिनलाई बुझ्ने क्रममा, तिनको स्पष्टीकरण गर्ने, सामान्यीकरण गर्ने क्रममा नै मिथकलाई जन्म दिए । यसकारण यो भन्न सकिन्छ – मिथक यथार्थको काल्पनिक अनुभूति हो । यो हाम्रा पूर्वजहरुको जीवनगाथा हो । यो ‘सार्वभौम कल्पना हो । आदिम मानवका सामुहिक अनुभूतिको शब्दमूर्त रुप हो । यसमा मानव र प्रकृतिको अभेद चेतना नीहित छ ।’

मिथक, अंग्रेजीमा myth को नेपाली रुप हो । यो संस्कृत शब्द ‘मिथ’ (रहस्य) मा ‘क’ प्रत्यय लागेर बनेको शब्द हो । यसलाई शब्दकोशहरुमा मिथ्यामा आधारित कथा वा अवधारणा भन्ने गरिएको पाइन्छ । वास्तवमा यो लोकगाथा हो, जसमा कल्पना र यथार्थको समिश्रणका साथै कल्पनाको मात्रा अधिक हुने गर्छ । अहिले यो लोकसाहित्यको एक प्रमुख अङ्गको रुपमा प्रस्तुत भएको पाइन्छ, तर सुरुवातमा यो मानव–चिन्तनकै अङ्ग थियो । यसमा लोककल्याणकारी पवित्रताका भावना थिए । पछि मध्यकालमा यसमा ईश्वरीय अलौकिक सत्ता र धर्मको धारणा जोडियो र यो झनझन् जटिल र रहस्यमय बन्दै आएको पाइन्छ । आज मिथकलाई पूराकथा, पुराणकथा, लोककथा, किम्बदन्ती, लोकविश्वास, आख्यान, वीरकथा, परम्परागत कथा, स्वप्नकथा, गल्प, धार्मिक आख्यान आदि पर्यायवाची शब्दहरुद्वारा जनाउने गरिएको पनि पाइन्छ । 

मिथकलाई आज लोकगाथाको रुपमा हेरिन्छ, तर यसको क्षेत्र भने धेरै व्यापक देखिन्छ । साहित्य, धर्म, दर्शन, इतिहास, संस्कृति लगायत जीवनका विविध क्षेत्रमा यसको विस्तार भएको पाइन्छ । मानव जाति र प्रकृतिको बीचको सम्बन्ध निरुपण गर्ने क्रममा हाम्रा पूर्वजहरुले विकास गरेका आदिम धारणाहरु नै मिथक भएकाले त्यसको असर मानव जीवनका विविध क्षेत्रमा पर्नु स्वभाविकै पनि हो । यसलाई आज पनि हामी विभिन्न क्षेत्रमा अभिव्यक्ति भएको पाउँछौँ, चाहे त्यो हाम्रो चाडपर्वको पृष्ठभूमि–कहानी होस्, चाहे पृथ्वीलाई शेषनागले वा चार हात्तीले बोकेको कुरा होस्, वा हनुमानले आकाशमार्ग गरेर चारसय योजनको समुद्र नाघेको कुरा होस् वा भगवानका दश अवतारको कुरा होस् वा महिषासुरमर्दिनी दुर्गा भगवतीको चर्चा होस् वा विष्णुका श्रापले पातलवास भोग्नुपरेका ‘बलिराजा’को कुरा होस् । सबैमा मिथकको विस्तारित प्रभाव परेको पाइन्छ । हाम्रो पुराण साहित्य मिथकले भरिएका छन् । हाम्रा रीतिरिवाज, हाम्रा सोचविचार मिथकीय छन् । हाम्रो संस्कृति मिथकीय छ । हाम्रो पूर्वजाभाष (Totemic sign) होस् वा विधिवर्जन (taboo) होस्, हाम्रो तन्त्रशास्त्र होस् वा मन्त्र महात्म्य होस्, सबै मिथकीय हिसाबले बनेका देखिन्छन् । 

myth-source-of-our-cultural-thoughtसमाजशास्त्रका ज्ञाताहरु भन्छन् – लोकमानसमा मिथकको ठूलो प्रभाव छ । किनभने ‘लोकमन कतिपय अवस्थामा यथार्थ र कल्पनाको भेद गर्न चाहन्न ।’ असम्भव कल्पनामा रमाउने तिलस्मी कुराहरुमा अत्यन्त चाख राख्ने अर्थात् स्वैरकल्पनामा रमाउने प्रवृत्ति मानवीय प्रवृत्ति नै हो । हनुमानले लङ्का जलाउनु, दुःशासनले द्रौपदीको सारी तान्दा कहिल्यै नसकिनु, विष्णु भगवानको माछा, कछुवा, नरसिंह र वामन अवतार हुनु, समुद्र मन्थन हुनु, वृत्रासुर दानवले आफ्नै टाउकोमा वरदानी हात राखेर स्वयं भष्म भई गुफामा लुकेका शिवको हलेसीमहादेवको रुपमा स्थापना हुनु, गणेशको टाउको हात्तीको हुनु, दश टाउके रावण, ६ टाउके कुमार, चारमुखे ब्रम्हा, अठार हात भएकी दुर्गा–काली लगायत यमलोक, स्वर्ग लोकका कल्पनाहरु मिथकीय कुराहरु हुन् । यतिमात्र होइन, आजको आधुनकि साहित्य पनि मिथकीय प्रवृत्तिबाट प्रभावित छ । आज पनि साहित्यमा बिम्ब, प्रतीक, उपमा, अभिव्यञ्जनाको चर्चा गरिन्छ । आज पनि प्राचीन कहानी भनेर टेली श्रृङ्खलाहरुमा महाभारतको तिलस्मी कथा प्रस्तुत गरिन्छ । बच्चाहरुको साहित्य भनेर कार्टुनमा सारा चराचर, पशुपंक्षी, जीव, निर्जीव मान्छेजस्तै बोलेको, हिँडेको व्यवहार गरेको हेर्न पाइन्छ । यो पनि मिथकीय सोचकै अभिव्यक्ति हो । यसमा मान्छे बिनापखेटा उडेको देखाइन्छ । यो चराहरु उडेको देखेर मानिसमा परेको काल्पनिक प्रभाव हो । 

यसो किन भइरहेको छ ? यो रहस्यमय छ । किनभने आदिम मानवले भूकम्प, ज्वालामुखी, जाडोगर्मी, रातदिन, चन्द्रकला, सौर्यमान लगायतका प्रकृतिका निर्दिष्ट नियमहरु लगायत जन्म र मृत्युको घटनालाई समना र विपनाको अन्तरलाई, रोग, महामारी, भोक, प्यास र यौनलाई पक्कै पनि त्यतिकै सहज रुपमा ग्रहण गरेन । त्यसप्रति आफे आश्चर्ययुक्त प्रतिक्रिया जनाउँदै आयो । यसै क्रममा केही सोचहरुको विकास पनि गर्यो, जुनकुरा आज पनि कतिपय आदिवासी जनजातिमा प्रत्यक्ष रुपमा र आम मानव समुदायमा सूक्ष्म रुपमा वा अवशेषको रुपमा पाउन सकिने बताइन्छ । 

संसारभरि पाइने यी सोचहरुलाई विशेषज्ञहरुले यसरी वर्गीकृत गरेका छन् – स्वैरकल्पनावादी, सर्वात्पवादी, जादू र टुनामुनावादी र अनुष्ठानवादी । यी सोचहरु आदिम मानवका प्रमुख सोचहरु थिए भन्ने कुरा आज पनि पढ्न पाइन्छ । यिनै सोचहरुका प्रभाव आज पनि लोकमानसमा पाइन्छ भन्ने लोक साहित्यविद्हरुको भनाइ छ । जस्तो स्वैरकल्पनावादी सोचले मानिसलाई उडन्ते कल्पनामा विचरण गर्ने वा कुनै पनि कुरालाई अतिरञ्जित गरेर हेर्ने प्रवृत्तितर्फ उन्मुख गरायो । जस्तो भनौँ –हाम्रो समाजमा चलेको उखान ‘रातभन्दा सपना लामो’ हेरौँ, कति अद्भूत लाग्छ यो सुन्दा । मूल कुराभन्दा त्यसको सहउत्पादन ठूलो हुने यसको अर्थ छ । अतः हाम्रा पूर्वजहरुले कस्ता अनुभवहरु गरेका रहेछन् त भन्ने यसले देखाउँछ । यस्तो सोचको आधारमा ‘सुनकेस्री रानी’, पहाड चपाउने र समुद्र सिंगै पिउने, घनाघनै बाँस बटारेर डोको बुन्ने राक्षस, मुखबाट आगो ओकल्ने देवता, सूर्य, चन्द्र लगायतका ग्रह ताराहरुलाई पशुवाहनमा चढाएर हिँडाउने र तिनलाई पृथ्वीको नागरिकता दिनेजस्ता अतिरञ्जित वा अति कल्पनाका अति प्रतीकका कुराहरु जन्मिए । जब यिनले ईश्वरीय रुप धारण गरे र पवित्रताको, अदम्य वीरताको, धार्मिकताको रुप लिए वा सामान्य प्रयोगका वस्तुहरु जब सत्य वस्तु ठहरिन थाले, जब त्यो आम विश्वासको, आम आस्थाको विषय बन्यो, त्यो मिथक बन्यो । अर्थात्, यसैलाई मिथक भनियो र भनिँदै छ । 

स्वैरकल्पना आज पनि गरिँदैछ । स्वैरकल्पनामा आधारित उपन्यासहरु, काव्यहरु लेखिँदैछन् । नेपाली उपन्यास लेखनको इतिहास त्यति लामो छैन । हामी आज गिरीशवल्लभ जोशीको ‘वीर चरित्र’मा लगायत पुराना उपन्यासहरुमा प्रस्तुत तिलस्मी पात्र, चरित्र, घटनाहरुलाई पढ्न पाउँछौँ । गणेशदत्त (वीर चरित्रको एक प्रमुख पात्र) लाई पोखरीमा नुहाउन गएको बखत जलपिशाचिनीले आफ्नो जादूको बलमा ढुङ्गामा परिवर्तन गरिदिन्छे । तैपनि गणेशदत्तले ‘सुनझाँक्री’ र ‘वनझाँक्री’को मद्दतले आफ्नो ‘महान मोहनमन्त्र’, ‘रक्षामणि’ र ‘मनचिन्ते झोला’जस्ता तान्त्रिक विधि प्रयोग गरेर शिलाबाट ब्यूँतन्छन् । यसमा बाईसी–चौबीसी राज्य र राजाहरुको आपसी कलह, वैमनस्यता, इष्र्या र शत्रुता एवं झगडालाई प्रतिकात्मक रुपमा जनाइएको पाइन्छ । यसभित्र पनि काल्पनिक, तिलस्मी, जादूमय वा तान्त्रिक ढंगका कुराहरु छन् । तिनलाई एकाएक हे¥यो भने अतिरञ्जित अभिव्यक्ति भन्नुपर्ने हुन्छ । वास्तवमा यस्ता अद्भूत काल्पनिक कुराहरु लोकमानसमा आकर्षणका वस्तुहरु थिए र आज पनि छन् । 

आधुनिक नेपाली साहित्यमा पनि मिथकहरुको प्रयोग भइरहेको पाइन्छ । यस्ता साहित्यकारहरुमा जगदीशशमशेर राणाको नाम अग्रपंक्तिमा देखिन्छ । उनको पुस्तक ‘नरसिंह अवतार’लाई मिथकीय साहित्यको उदाहरण मानिन्छ । हुन त धेरै स्रष्टाहरुले प्रतीक, बिम्बको प्रयोग गरेर साहित्य रचना गरेका छन्, तर ती सबै मिथकीय धाराका भने होइनन्, तर अति प्रतीकात्मक भने छन् । जस्तो ‘फर्सीको जरा’नामक कविता । यस्तैगरी सुन्दर प्रतीकहरुमा सजिएका कविताहरु पनि छन् । जस्तो लेखनाथ पौडेलको ‘पिंजडाको सुगा’ इत्यादि । यस्तैगरी ध्रुवचन्द्र गौतम, मोहनराज शर्मा आदि स्रष्टाहरु पनि स्वैरकल्पनामा आधारित साहित्य लेख्नेहरुमा मानिएका छन् । मंजुलको ‘छेकुडोल्मा’लाई पनि यही धाराको कृति ठान्न सकिन्छ । यसबाहेक मिथक वा मिथकीय साहित्यसम्बन्धी जिज्ञासा राख्ने वा यससम्बन्धी केही अनुसन्धान गर्ने केही समीक्षकहरु पनि छन् । डा. हरिराज भट्टराई, कृष्ण बराल लगायत लोकसाहित्यका प्राध्यापकहरु, अनुसन्धानकर्ताहरु यसतर्फ लाग्न थालेका पाइन्छन् । तर भनिन्छ, हामीकहाँ मिथकसम्बन्धी यस्ता खोजहरु ज्यादै नगन्य भएका छन् । साहित्य मिथकले भरिएको छ भनिन्छ । पाश्चात्य विद्वानहरु यसतर्फ गहन रुपमा लागेको र धेरैधेरै खोजी भइसकेको कुरा पढ्न पाइन्छ । जर्मन भाषाशास्त्री, पुराकथाका मर्मज्ञ एवं संस्कृतिविद् म्याक्समुलरको नाम पूर्वीय पुराकथाहरुको अन्वेषककर्ताको रुपमा लिने गरिएको पाइन्छ । यिनले पुराशास्त्रीय सिद्धान्तकै स्थापना गरे भन्ने पनि उल्लेख पाइन्छ । (चुडामणि ः ४१)

myth-source-of-our-cultural-thoughtजगदीश शमशेरको ‘नरसिंह अवतार’ एउटा काव्य हो । यो विष्णुको दश अवतारमध्येको चौथो अवतार ‘नरसिंह’लाई लिएर लेखिएको भनिन्छ । यसको कभरमा ‘नरसिंह अवतार’को एउटा फोटो छापिएको छ । यो फोटो हनुमानढोका दरबारको भित्री परिशरमा राखिएको र आजभन्दा ३३० वर्ष अघि राजा प्रताप मल्लले स्थापना  गरेको पत्थर मूर्ति हो । यसको मुख र शरीर मानिसको छ । यो धर्ममानवको स्मृतिचिन्ह हो । अर्थात् मानव पूर्ण नभइसकेको, तर सिंहजस्तै बलशाली, वनैया (वनको राजा) भएको बेलाको स्मृति चिन्ह हो । तर, यसलाई दैवीकरण गरियो । यसलाई भगवानको पवित्र अवतार मानियो । हाम्रो पौराणिक साहित्यमा यस्ता अर्धमानवहरुको दैवीकरण वा पवित्रीकरण छ्यासछ्यास्ती पाइन्छ । बाँदरको अनुहार भएको ‘हनुमान’ हुन् वा सुँगुरको अनुहार भएका ‘वराह’ भगवान हुन् वा हात्तीको सुँड भएका ‘गणेश’ हुन् । यी सबै अर्धमानवका स्मृति प्रतीकहरु हुन् । हाम्रो पैराणिक साहित्यमा भएका यस्ता अर्धमानवहरु केवल पूर्वीय साहित्यमा मात्र पाइने भने होइनन् । पश्चिममा पनि यस्ता स्मृति–प्रतिकहरु छ्यासछ्यास्ती छन् । जस्तो : मिश्रको स्फिङ्स (sphinx), ग्रीसको चिमेरा (chimera), इजिप्टको स्यालको मुख भएका एनुबिस (jackal headed Anubis) इत्यादि । मिश्रको ‘स्फिङ्स’ नेपाली ‘नरसिंह अवतार’ सित मिल्दोजुल्दो छ भनिन्छ । तर फरक के भने स्फिङ्सको अग्रभाग स्त्री (नर) को छ भने पृष्ठभाग सिंहको, जबकि ‘नरसिंह’को ठीक उल्टो छ । अग्रभाग सिंहको र पृष्ठभाग पुरुष (नर) को छ । वास्तवमा दुबै ‘नरसिंह अवतार’ हुन् । दुबै अर्धमानवका स्मृति–प्रतीक हुन्, हाम्रा आदिम (वनमानुष) पूर्वजहरुको स्मृतिमा बनेका मूर्तिहरु हुन् । 

पूर्व र पश्चिमका धेरै देवताहरुको विशेषता मिल्दछ । जस्तो हामीकहाँ इन्द्र छन् । यिनलाई जलका देवता भनिन्छ । अर्थात् ‘मेघराज’ भनिन्छ । पश्चिममा ‘सिफ’ (स्केन्डिनावियाई पुराणकी पात्र) छन्, ‘थोर’ (मेघराज) की श्रीमती । पूर्वमा अग्निदेवता छन्, पश्चिममा चिमेरा । पूर्वका संस्थापक देवता ब्रम्हा छन्, पश्चिममा रोमुलस (रोमका पुराणअनुसार संस्थापक देवता), प्राचीन युनानमा ‘अपोलो’ छन्, पूर्वमा ‘सूर्य’ देवता । पश्चिममा (युनानमा) वायुपुत्री ‘क्लियोपेट्रा’ छिन्, पूर्वमा ‘पवन’ पुत्र हनुमान । यस्तैगरी पूर्वका ‘हनुमान’ र ग्रीसका हर्कुलस (Herculus) दुबै वीरपुरुषका स्मृति–प्रतिकहरु हुन् । नेपालका केही मन्दिरहरुका टुँडालहरुमा अलौकिक वीरको मूर्ति कुँदिएको पाइन्छ, यसलाई सिंह–शार्दूल भनिन्छ । यो नङ्ग्रा सिंहको, कान र आँखा बोकाको, शरीर घोडाको भएको र चारैखुट्टामा पखेटा भएको अलौकिक जीव हो । यस्तैगरी पश्चिममा पनि तीनवटा भिन्न पशुहरुबाट निर्मित जीव छ चिमेरा । यस्तैगरी नेपाली शिवलिङ्ग प्राचीन सिन्धुघाँटीको सभ्यतामा पाइने लिङ्ग पूजासित मिल्दो मानिन्छ । नेपालकी गुह्येश्वरी (योनी पूजाकी देवी) अन्त पाइन्छन्÷पाइन्न्, यो त भन्न सकिन्न, तर सर्पको माला लगाउने, भाङ खाने, गोरुमाथि चढेर हिँड्ने बाघको छाला बेर्ने, देवाधिदेव महादेव भने संभवतः दुर्लभ देवता हुन् । 

myth-source-of-our-cultural-thoughtहाम्रो पुराण साहित्यमा वर्णित समुद्र मन्थन र देव–दानवको कुरा र त्यसमा शेष नागलाई नेती बनाइएको कुरालाई आज पवित्र आस्था र विश्वासले हेरिन्छ । तर, यो यस्ता प्रतीकात्मक कुरो हो, जसले प्राचीन मानव जाति देव, दानव र नाग जाति सबै समुद्रतट निवासी थिए र नाग जातिलाई बलिष्ट दुई जातिले, देव र दानव (आर्य र द्रविड) दुबैले आ–आफ्नो पक्षमा तान्दथे किनकि ती कुशल जाति थिए, ती शिल्पकार जाति थिए भन्ने यथार्थलाई मिथकीय रुपमा प्रस्तुत गरिएको छ । पुराणमा वर्णित दशअवतार (मत्स्य कुर्म, वराहश्च नरसिंहश्च वामन । रामो रामश्च कृष्णश्च बुद्ध कल्कि तथैवच) ले वास्तवमा प्राणीजातिको विकासवादी सिद्धान्तलाई पुष्टि गर्दछ । किनभने भगवानको पहिलो अवतारलाई मत्स्य (माछा) को मानिएको छ । यो आधुनिक जीव उत्पत्तिको सिद्धान्तसित मेल खान्छ । यस्तैगरी माछापछि कछुवाको अवतार मानिएको छ । माछाभन्दा अलि विकसित रुपमा कछुवालाई प्रस्तुत गरिएको छ । हुन पनि हो, कछुवा थोरै समयको लागि जमिनमा पनि रहन सक्छ, माछा सक्तैन । यसपछि पूर्ण रुपमा जमीनमा बस्ने तर दलदले हिलो छोड्न नचाहने जीव सुँगुर हो । सुँगुर (वराह) पछि नरसिंहको अवतार भएको देखिन्छ । यसको अर्थ हो, पूर्ण जंगलीबाट अर्धमानवमा मानवजातिको विकास । यो अति नै स्वभाविक देखिन्छ । यसपछि नै वामन, पर्शुराम, राम, बुद्ध र कल्किका अवतारहरुको चर्चा पाइन्छ । वास्तवमा वामन अवतार नरसिंहभन्दा विकसित मानव रुप हो तर अझै पूर्णकद प्राप्त नभइसकेकाले वामन (पुड्को) भनिएको हुनसक्छ । यसपछि पर्शुरामजस्ता डरलाग्दा र रिसाहा मानव अवतारको पालो देखिन्छ र यसपछि नै बाँदरको फौज भएका रामचन्द्र र अलि बुद्धिशील बुद्धको अवतारको चर्चा भएको छ । यस मानेमा यो यथार्थको प्रतीकात्मक चित्र सावित भएको छ । यहाँ ईश्वरीय तत्व वा अलौकिक तत्वको अस्तित्वलाई यसले स्थापित गरेको छ । दशै अवतार विष्णुका अवतार हुन् भन्ने अलौकिक सोचलाई यसले सत्य ठानेको छ । अवतारको कुरालाई आज कसैले पनि अविश्वासको आँखाले हेर्दैनन् । यसलाई असत्य मान्ने आँट कसैको देखिँदैन । यसरी यस प्रतीकलाई धर्म–दर्शनले आज वास्तविक रुपमै, भौतिक रुपमै सत्य ठानेको छ । यसलाई इतिहासबाट, यथार्थबाट अलग्याएर अलौकिकतामा जोडेको छ र त्यसलाई सत्य ठानिएको छ । मिथकीय सोचको अनुपम् उदाहरण योभन्दा अर्को पाउन सर्वदा मुस्किल छ । 

मानवकृत भगवानहरु कतिपय पशुरुपी हुनु वा भगवानका बहानहरु पशुहरु हुनु, मानव समाजभित्र पशुका आख्यानहरु यथेष्ट पाइनु, पौराणिक साहित्यमा पशुलाई सम्पत्तिको रुपमा ग्रहण गरिएको पाइनु आदि कुराहरु ज्यादै रोचक र कौतुहलमय छन् । आखिर मानवजातिको सिर्जनामा पशुहरु कहाँबाट आए त ? किनभने पशुहरु त मानवका सिर्जना होइनन् । यसको कारण के हो भने लामो ऐतिहासिक कालखण्डहरुमा मानिस र जनावहरुको सम्बन्ध युगौँ रह्यो । मानिस स्वयं युगौँ जंगली जनावरसरह भएर रह्यो अर्थात्, जनावरकै तहबाट अघि बढ्दै आयो, साथै ‘कान्छाबाबुको शिकार’ पनि गर्दै आयो । आफ्नो दिनभरिको शिकारमा कान्छाबाबुको अनुकार देख्दै आएका हाम्रा पूर्वजहरुले त्यस युगको त्यस भयानक सम्झनालाई कसरी छोड्न सक्थे र ! यसै भएर मानव जातिले जनावरहरुलाई आफ्नो संस्कृतिमा सँगै लिएर आयो । आफ्नो साहित्यमा सँगै लिएर आयो । यसै भएकाले अरु त अरु आकाशी पिण्डहरुलाई पनि जनावरका रुपमा बुझ्न थालियो । तारामण्डलहरुलाई बाह्रवटा राशीमा (मेष, वृष, कर्कट, सिंह, बृश्चिक, मीन, आदि जनावरहरुको रुपआकारमा) ढाले । रवि, सोम, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु, केतु आदि ग्रह–नक्षेत्रहरुलाई विभिन्न जनावरको पिठ्यूँमा चढाए । यिनलाई दैवीकरण, मानवीयकरण र व्यक्तिकरण गरे । यिनलाई पवित्र आत्मा तुल्याए । सर्वव्यापक तुल्याए र सत्य ठाने । त्यत्रा भुँडे गणेशलाई बहान भने ‘मुसो’ दिए । आश्चर्य लाग्छ, प्रतीक पनि यति अतिशयोक्तिपूर्ण छ कि, यति अतिरञ्जित छ कि के भन्ने ! तर जे–जे भए पनि हामीले गणेशलाई पूजा गरेकै छौँ । हाम्रो धर्म, संस्कृति, हाम्रो संस्कार, हाम्रो सोच समझदारी यसरी मिथकका कौतुहलमय कुराहरुमा फले–फुलेको हामी पाउँछौँ । 

लोकमानसमा, स्वैरकल्पनाको, सर्वात्मवादको (सबै जीव निर्जीव वस्तुहरुमा आत्मा हुन्छ भन्ने चिन्तन) जादू र टोटेमवादको (झारफूक, तन्त्रमन्त्र, धामी झाँक्री, बोक्सी, बोक्सेरो आदिको धारणा) र अनुष्ठानवाद (यज्ञ, बलि, पूजा, जप, तप, होम, होमादि, जन्म–मृत्युका संस्कार, नियोग, सतीप्रथा, तान्त्रिक अनुष्ठानहरु आदि) को सोचपरम्परा रहेको पाइन्छ । आदिमानवमा रहेको अज्ञानता र भयका कारणले यी विभिन्न सोचपरम्पराहरु संसारभरि रहेको पाउँछौँ । आश्चर्यजनक वस्तुको आदिम कल्पना पूर्व–पश्चिम जहीँतहीँ पाइन्छ । पूर्वमा मात्र भूत, प्रेत पिचाशजस्तो असंसारिक अशारीरिक वस्तुको अस्तित्व रहेको होइन, पश्चिममा पनि भुतेनी (medusa) हरुको अस्तित्व रहेको देखिन्छ । साथै महान् नाटककार शेक्सपियरका नाटकहरुमा पनि भूतप्रेतको अस्तित्वबारे उल्लेख भएको देखिन्छ । मानिस मरेपछि यमराजका दूतहरुले लैजाने र रौरव, कूम्भीपाक आदिजस्ता डरलाग्दा नरकहरुमा पर्नेजस्ता अति भयोत्पादक मिथकीय स्थान, वस्तु, पात्र र घटनाहरु पूर्वको पुराण साहित्यको मात्र कुरो नभई पश्चिममा पनि चिमेरा र मेडुसाजस्ता भयंकर रुपआकारका भूतदेवताहरु छन् । चिमेराको मुख बोकाको छ, त्यसले आगो ओकल्छ, शरीर सिंहको छ, पुच्छर बटारिएको ड्रागनको छ, नेपालका मन्दिरका टुँडालहरुमा पाइने सिंह–शार्दुलझैँ तीनवटा पशुहरु मिलेर बनेको छ । यो आदिमानवले ज्वालामुखी विस्फोटलाई आफ्नो भाषामा उतार्ने क्रममा ग्रहण गरेको सोच हो । जस्तो ज्वालामुखीको मुखबाट आगोको लप्का बाहिर निस्कन्छ, धुवाँ निस्कन्छ, ज्वालामुखी बोकोजस्तो उदण्ड हुन्छ । त्यो सिंहजस्तै बलिष्ठ हुन्छ र ड्रागनजस्तै डरलाग्दो बट्टारिएको हुन्छ भन्ने बुझाइको भाषा नै चिमेरा हो । किनकि यसको मुख बोकाको छ, त्यसको मुखबाट आगो निस्कन्छ, बोकाको जुरो छ (धुवाँ र बादल जनाउने) अनि ज्वालामुखी स्वयं बलशाली त छँदैछ । यो बोकाजस्तै उदण्ड भएर बट्टारिएर बाहिर निस्कन्छ । यही नै आदि मानवको बुझाइ हो । यसमा प्रतीक वा स्वैरकल्पना, सर्वात्मवाद, जादू र अनुष्ठानवाद सबै एकैठाउँ मिसिएको छ । यसमा प्रलयको भावना, पशुलाई आफ्नो उपास्य वस्तु बनाउने भावना, विधिनिषेधको भावना, भयपैदावर वा अप्राप्तवस्तुलाई ग्रहण वा वहिष्कार गर्ने१० भावना, स्वर्ग, नर्क पितृलोकलाई मान्ने, जादू, टुनामु्ना एवं बोक्सोरोका भावनाहरु एकैसाथ प्रस्तुत भएको हामी पाउँछौँ । यी पुराकथा वा मिथकका विशेषताहरु अर्थात् टड्कारा प्रवृत्तिहरु हुन् । 

यसैगरी मिथकमा पशु प्राणीहरु (गाई, गोरु, सिंह, माछा, सुँगुर, नाग, राँगो, कछुवा, विच्छी आदि), अर्धमानव (नरसिंह, बराह, गणेश, हनुमान, हयग्रीव, वामन), बहुमुखी देवता (ब्रम्हा, विष्णु, शिव, कुमार, दत्तात्रय, दुर्गा), तिलस्मी दैत्यहरु (रावण, मय, कंश), पवित्र वनस्पतिहरु (तुलसी, पिपल, वेल, कुश, अमला), अशरीरी अस्थित्व (पितृ, देवता, भूतप्रेत), मानव अखटोपहार (मुण्डमाला, खप्पर) आदिको समावेश हुने गरेको पाइन्छ र मिथक विभिन्न प्रकारका देखिन्छन् – सृष्टिसम्बन्धी, प्रलयसम्बन्धी, देवदेवीको पूजाआजासम्बन्धी र प्रकृतिसम्बन्धी भन्ने उल्लेख भएको पाइन्छ । ११

वास्तवमा अद्भूत कल्पना गर्नु मानवको स्वभाविक प्रवृत्ति१२ त हुँदै हो । त्यसमाथि जीवन र जगतका अनगिन्ती वस्तु र घटनाहरुलाई बुझ्ने क्रममा नै मिथकको जन्म भयो र यो साहित्यको गहनाको रुपमा आज पनि कुनै न कुनै रुपमा ग्रहण गरिएकै छ । तर, मिथक जब धर्मको मेरुदण्ड बन्यो, यो जीवनदृष्टिको अङ्ग पनि बन्यो । यसले जीवनलाई रसमय र रोमाञ्चित त बनायो, तर धेरै गलत धाराणाहरु पनि समेट्यो । त्यसो भएकाले मिथकले गम्भीर प्रकारका समस्याहरु पैदा गर्यो । यसले वैज्ञानिक दृष्टिकोणमा भयंकर ठूलो अवरोध पैदा गरेको छ । किनभने ईश्वर, स्वर्ग, नर्क, पुनर्जन्म, पूर्वजन्मका धारणालाई अकाट्य सत्यको रुपमा मिथकले स्थापित गरेको छ । यसले वस्तुवादी चिन्तनमा व्यवधान खडा गरेको छ, तर मिथक हाम्रा पूर्वजहरुको आदिम चिन्तन भएकाले र यसमा लोकमानसमा आधारभूत कुराहरु विद्यमान भएकाले यसको सोद्देश्य खोजी गरिनु जरुरी छ । मिथक के हो ? यो किन जन्म्यो र यसको आज के महत्व छ ? भनेर गम्भीर खोज गर्नु आज हाम्रो पुनीत कर्तव्य भएको छ । 

सन्दर्भ सामग्री

१. डा. हरिराज भट्टराई, नरसिंह अवतार, एक समीक्षा, ताप्लेजुङ्ग – असीम सौरभ, २०४५, पृ. ४
२. चुडामणि बन्धु, नेपाली लोक साहित्य, काठमाडौँ – एकता बुक्स, २०५८, पृ. ४५
३. राजेन्द्र सुवेदी, नेपाली उपन्यास परम्परा र प्रवृत्ति, वाराणसी – भूमिका प्रकाशन, २०५३, पृ. ३७
४. डा. हरिराज भट्टराई, पूर्ववत् पृ. ४
५. नवराज कट्टेल, ‘नरसिंह अवतार – द्वन्द्व र क्रान्ति चेत’ गरिमा (अंक ५, वर्ष १२ – २०५१) पृ. ५३
६. जगदीश शमशेर नरसिंह अवतार, काठमाडौँ – श्रीमती भुवन राणा, २०३७, पृ. १
७. James Mitchel and Jess Tein (Edi.) Random House Encyclopedia, New York: Random House, 1997, Page 832
८. तोयनाथ पन्त, पञ्चाङ्ग, काठमाडौँ – चतुर्भुज पन्त, २०६०, पृ. ३८
९. James Mitchel and Jesstein, -Abid, Page – 833
१०. डा. स्वामी प्रपन्नाचार्य, वेदमा के छ ? पाचौँ संस्करण, काठमाडौँ – साझा प्रकाशन, २०५७
११. शरदचन्द्र शर्मा भट्टराई, माध्यामिक नेपाली गध्याख्यान, काठमाडौँ – नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०५०, पृ. २२
१२. म. इल्थिन र ए. सेगाल, मान्छेको पराक्रम, नेपाली संस्करण – अनु. कृष्णप्रकाश श्रेष्ठ, मस्को – रादुगा प्रकाशन, १९९० ।

(Visited 117 times, 1 visits today)

टिप्पणी

comments