Main Menu

के भइरहेको छ म्यान्मारमा ? को हुन् रोहिन्ज्या ?

  • आकाश महर्जन

म्यान्मारमा रोहिन्ज्या समुदायका मुस्लिम नागरिकहरुविरुद्ध चलेको साम्प्रदायिक हिँसाका कारण ती समुदायका दशौँ हजार मानिसहरु छिमेकी देश बंगलादेशमा शरणार्थीका रुपमा छिर्न बाध्य भएका छन् । गत अगस्ट २५ मा रोहिन्ज्या समुदायको एक विद्रोही समूहको आक्रमणमा परी ९ प्रहरीको मृत्यु भएपछि म्यानमारको दक्षिणपश्चिमी प्रदेश रखाइनमा भड्किएको हिँसाका कारण रहिन्ज्या समुदायका दशौँ हजार मानिसहरु बंगलादेश पस्न बाध्य भएका हुन् ।

को हुन् रोहिन्ज्या ?

myanmar-rohingya-violenceम्यान्मारमा विशेष गरी दक्षिणपश्चिमी प्रदेश रखाइनमा बसोबास गर्ने रोहिन्ज्या समुदाय विश्वकै सबैभन्दा उत्पीडित समुदाय मानिन्छ । ११ लाखको संख्यामा रहेका रोहिन्ज्या समुदायका मानिसहरु दशकौँदेखि मूलत: बौद्ध धर्मावलम्बीहरु बसोबास गर्ने म्यान्मारमा उत्पीडन सहँदै आइरहेका छन् ।

बिगतमा रोहिन्ज्या समुदाय पर्सिया र अरब भूमिबाट व्यापारका लागि म्यानमारमा बसाइँ सरेको समुदाय हो । म्यानमारमा बसोबास गर्ने बौद्ध धर्मावलम्बी समुदायको विपरित रोहिन्ज्या समुदायका मानिसहरु बंगलादेशको चिट्टागंग भाषासित मिल्दोजुल्दो भाषा बोल्छन् ।

रोहिन्ज्या समुदायलाई म्यान्मारमा गैरकानुनी आप्रवासीका रुपमा लिइन्छ । त्यसैले तिनीहरु दशकौँदेखि व्यवस्थित उत्पीडनको शिकार हुँदै आइरहेका छन् । म्यान्मारको सरकारले रोहिन्ज्या समुदायलाई राज्यविहीन समुदायको रुपमा व्यवहार गर्दै आएको छ । तिनीहरुलाई नागरिकता लिनेसमेत अधिकार छैन । उनीहरुलाई बसाइँ सर्नेदेखि स्वास्थ्योपचार, शिक्षाका साथै अन्य आधारभूत सेवाहरुबाट पनि वञ्चित गरिएको छ ।

उनीहरुलाई के भइरहेको छ ?

गत अगस्ट २५ मा विद्रोही समूहले सरकारी सुरक्षा बलमाथि आक्रमण गर्दा रखाइन प्रदेशमा हिँसा भड्किएको थियो । यसको प्रतिक्रियास्वरुप बौद्धधर्मी सेनाको सहयोग प्राप्त सरकारी सुरक्षा बलले ‘सझाई अभियान’ चलाएको थियो ।

शरणार्थीका रुपमा वंगलादेश पसेका रोहिन्ज्या समुदायका मानिसहरुले सरकारी सेनाले उनीहरुको वस्तीमा आगो लगाएको आरोप लगाएका छन् । तर, म्यानमार सरकारले भने रोहिन्ज्याहरु आफैले आफ्नो घर जलाएको र बौद्ध र हिन्दू धर्मावलम्बीहरुको हत्या गरेको आरोप लगाएको छ ।

दातृ निकायहरुले भने त्यस क्षेत्रमा मानवीय संकट बढ्दै गएको र रोहिन्ज्या समुदायका मानिसहरु द्वन्द्व क्षेत्रहरुमा फसिरहेको हुनसक्ने बताउँदै आएका छन् ।

कति जना प्रभावित भएका छन् ?

सरकारी सेनाका अनुसार हिंसामा ४ सयजनाको ज्यान गइसकेको छ । संयुक्त राष्ट्र संघका अनुसार १ लाख २३ हजार मानिसहरु बंगलादेश पलायन भइसकेका छन् । बंगलादेश छिर्न सफल भएका मानिसहरु पनि धेरै दिन हिँडेर, जंगलमा लुकेर, हिमाल र नदीहरु छिचोलेर बंगलादेश पुगेको बताइएको छ । तिनीहरुमध्ये धेरै विरामी परेको र केही गोली लागेर घाइते भएका छन् ।

३० हजारभन्दा बढी रोहिन्ज्याहरु बंगलादेशको कुटुपालोङ र नयापारामा रहेका शरणार्थी शिविरहरुमा गएका छन् । ती शिविरहरु अहिले भरिसकेको बुझिएको छ । अन्य धेरैले नजिकका गाउँहरुमा शरण खोज्दै बसिरहेका छन् । अझै थुप्रै रोहिन्ज्याहरु बंगलादेश र म्यानमारको सिमानामा रहेका जंगलहरुमा फसिरहेको हुनसक्ने अनुमान छ । करिब ४ लाख रोहिन्ज्याहरु द्वन्द्व क्षेत्रहरुमा फसिरहेको हुनसक्ने अनुमान छ ।

संयुक्त राष्ट्र संघका अनुसार रखाइन प्रदेशको उत्तरी भूभागमा बसोबास गर्ने जनताहरुलाई खाद्य सामग्री, पानी तथा औषधिहरु पुर्याउन म्यान्मार सरकारले रोक लगाएको छ ।

यो सब कहाँबाट सुरु भयो ?

रखाइन प्रदेशमा दशकौँदेखि साम्प्रदायिक तनाव रहँदै आएको छ । बेलाबेलामा हिँसाका घटनाहरु हुँदै आएका छन् । गत अक्टोबरमा हतियारधारी विद्रोहीहरुको आक्रमणमा परी ९ प्रहरी अधिकारीहरुको मृत्यु भएको थियो । यसैबीच ८७ हजार रोहिन्ज्याहरु बंगलादेश पलायन भएका थिए भने रखाइन प्रदेशमा सरकारी सेनाहरुले आफ्नो पकड बलियो पारेको थियो ।

संयुक्त राष्ट्र संघका एक अधिकारले त्यो समयमा म्यान्मार सरकार आफ्नो मुलुकमा रहेका मुस्लिम अल्पसंख्यकलाई ‘सफाई’ गर्ने अभियानमा लागेको आरोप लगाएका थिए । यस्तै आरोप अन्तर्राष्ट्रिय मानवअधिकारवादी समूहहरुले पनि लगाउँदै आएको छ । तर, म्यान्मार सरकारले भने यस्ता आरोपलाई खण्डन गर्दै आएको छ ।

गत महिना ७ जना बौद्धधर्मीहरुको हत्या भएपछि सरकारले रखाइनमा सरकारी सेनाको संख्या बढाएको थियो । सेनाको संख्या बढाइएपछि त्यहाँ हिंसा फेरि भड्किन सक्ने चेतावनी दिइएको थियो ।

पछिल्लो हिंसाको घटना भने ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको कारण मात्र होइन, हिंसामा रोहिन्ज्या समुदायको सैनिक समूह, आराकान रोहिन्ज्या साल्भेसन आर्मीको संलग्नताका कारण पनि महत्वपूर्ण मानिएको छ । उक्त सैनिक समूहले आत्मरक्षाको लागि बन्दुक उठाएको बताएको छ ।

म्यान्मार सरकारले के भनिरहेको छ त ?

म्यान्मार सरकारका अनुसार रोहिन्ज्या समुदायले आफैले आफ्ना घरहर जलाइरहेका छन् भने बौद्ध तथा हिन्दूधर्मी जनताहरुको हत्या गरिरहेका छन् । उसका अनुसार हिँसामा मारिनेमध्ये अधिकांश ‘आतंककारी’हरु हुन् । संयुक्त राष्ट्र संघका अनुसार म्यान्मार सरकारको यस्तो दावी पुष्टि गर्न असंभव छ, किनभने रखाइनमा अन्तर्राष्ट्रिय निकायहरुलाई पहुँच पाउनबाट रोक लगाइएको छ ।

म्यानमारको सरकारले भने रखाइन प्रदेशमा अन्तर्राष्ट्रिय दातृ निकायहरुले ‘आतंककारी’हरुको सहयोग गरिरहेको आरोप लगाएको छ ।

म्यान्मार सरकारले ‘साम्प्रदायिक सफाई’को आरोपलाई खण्डन गर्दै आएको छ । गत जुनमा उसले सरकारी सुरक्षा बलद्वारा रोहिन्ज्या मुस्लिमहरुविरुद्ध भएको हत्या–हिँसा, बलात्कार तथा यातनाका आरोपहरुको अनुसन्धानमा संयुक्त राष्ट्र संघलाई नसघाउने बताएको थियो ।

(Visited 59 times, 1 visits today)

टिप्पणी

comments