Main Menu

कविता

मेरो देशका निर्माता

संसारकै अग्लो सगरमाथाको देश !
शान्ति र ज्ञानका सर्वज्ञ बुद्धको देश !
सीता र भृकुटीले यश फैलाएको देश
राजा जनकले स्याहारेको देश !
जयस्थितिको थितिले बाँधिएको देश !
पृथ्वी तरवार र दिव्य वाणीले एकीकृत देश !
महेन्द्रको एकताले उनिएको देश !

के मेरो देश सगरमाथाले अग्ल्यायो ?
या बुद्धको शरणले मौलायो
कि सीता र भृकुटीले दाइजोमा लगेको
‘सहनशीला’ नजरानाले मेरो देशको चरित्र चिनायो ?
अथवा
बडामहाराजले सेवन गरेको जुठो दहीको कमालले
विश्वमाझ उभियो यति सुन्दर, शान्त, विशाल देश ?

आदरणीय इतिहासका इन्जिनियर साबहरु
मेरो देश,
तिम्रोजस्तो बन्धक मगजबाट फुत्त निस्केका
राष्ट्रनायक वा राष्ट्रपिताले बनाएका होइनन्
मेरो देश बनाउने वीरवीरंगनाहरु
तिनी जस्तो पालिसले चम्काएका नामधारी होइनन्
मेरो देश सिंगार्ने कलाकारहरु
तिनीजस्तो अर्कैको हातबाट कुची चलाउने धूर्त छैनन् ।

विराट काला पथ्थरहरुमा
आफ्नै दधिची हाडहरु घोटेर
चौंरीका दुधले महास्नान गराई
निमा र छेन्तेनहरुले कहिल्यै नझुक्नेगरी अग्ल्याए

बडेमानको आरीमा
आधा रगत र आधा पसिना घोलेर
खोरियामा सिनित्त बगाई
कुबेरदत्त र रन्नताहरुले
मेरो देशको मुटुमा प्राण हालिदिए ।

उखरमाउलो बनेर घाम मात्तिने फाँटहरुमा
ऊ सेलाउन्जेल आफैँ डढेर
औलोको भुंग्रो टिपी पर हुत्याएर
रामभरोस र सुखीदेवीहरुले
मेरो देशको छाती फराकिलो पारी सम्मयाए ।

अस्त र उदयको हिसाब नगरी
मौसमका सबै दादागिरी चपाएर
आफ्नै हातखुट्टा हतियार बनाएर
घरि पानीले अघाएर
घरि पेटमा हावा भरेर
दुश्मनका प्रहारबाट जोगाउन
आफैँ पर्खाल बनेर
कतै लडेर कतै लखेटेर
कहीँ ढालेर कहीँ ढलेर
मेरो देश बनाए,
जीताराम मण्डल र लक्षीराम थारुहरुले
बुधनी थरुनी र फुलो देवी लोहारहरुले
काँशे कामी र दावा शेर्पाहरुले
फुल्कु सुनार्नी र टासी डोल्माहरुले

त्यसैले त,
मेरो देश,
तिनको छाती जत्रै फराकिलो छ
तिनको मुटु जत्तिकै बलियो छ
तिनको हृदय जत्तिकै गहिरो छ
तिनको पसिना जस्तै सुगन्धित छ
तिनको सपना जस्तै दीर्घजीवि छ

त्यसैले त मेरो देश
चिल्लो, एकनासको र एउटै रंगको छैन
मेरो देश खस्रो छ, उवडखाबड छ, बहुरंगी छ
ठ्याक्कै यसका निर्माता जस्तै .

  • विभूति भट्टराई
(Visited 79 times, 1 visits today)

टिप्पणी

comments