Main Menu

मुगाबे-युग अन्त्यको समर्थनमा दशौँ हजार जिम्बावेली जनता सडकमा

मंसिर ३, हरारे, जिम्बाब्वे

mugabe-era-ending-demonstrationजिम्बाब्वेको राजधानीमा मुगाबे युगको अन्त्यको माग गर्दै शनिबार गरिएको प्रदर्शनमा दशौँ हजार जिम्बाब्वेली जनता सहभागी बनेका जिम्बाब्वेको राज्य सञ्चालित टेलिभिजन जेडटिभीले जनाएको छ ।

जिम्बाब्वेको सेनाले गत बुधबार मुगाबेबाट शासनसत्ता हातमा लिएको थियो ।

राष्ट्रपति मुगाबेलाई पदबाट राजिनामा दिलाउन दबाब सिर्जना गर्न जिम्बाब्वेका प्रभावशाली पूर्व सैनिकहरूको संगठन (जिम्बाब्वे नेशनल लिबरेसन वार भेटेरान्स एसोसिएसन)ले राजधानी हरारेमा शान्तिपूर्ण प्रदर्शनको आयोजना गरेको थियो ।

ठूलो सङ्ख्यामा भएको प्रदर्शनले सेनाको कदमलाई जिम्बाब्वेका जनताले अनुमोदन गरेको सहजै अनुमान गर्ने अवस्था देखिएको छ ।

प्रदर्शनकारीले ‘मुगाबेले सत्ता छोड’ र ‘मुगाबे वंशलाई मान्दैनौँ’ लगायतका नारा लगाउँदै चीसो मौसमको पर्वाह नगरी सडकमा सेनाको प्रशंसा गर्दै नाचगान समेत गरेका थिए ।

सडक प्रदर्शनमा ठूलो सङ्ख्यामा भूतपूर्व सेना, सर्वसाधारण, राजनीतिक नेता, नागरिक समाज, परम्परागत जातीय समूहका अगुवाहरू तथा युवाहरूको सहभागिता रहेको थियो ।

सेनाले शासनसत्ता सम्हालेपछि जिम्बाब्वेको सत्ताधारी दल जिम्बाब्वे अफ्रिकन नेशनल यूनियन– प्याट्रिओटिक फ्रन्ट (जेडएएन्यू–पिएफ) ले समेत मुगाबेलाई पदबाट राजिनामा दिन आग्रह गरेको छ ।

जेडएएन्यू–पिएफले ९३ वर्षीय नेताले पदबाट हट्न अस्वीकार गरेमा उनलाई दलले फिर्ता बोलाउने बताएको छ ।

जेडएएन्यू–पिएफको १० वटै प्रान्तले मुगाबेको राजिनामा माग्ने विषयमा सहमति जनाएका छन् । उक्त दलले राष्ट्रपति मुगाबेले गत हप्ता बर्खास्त गरेका पूर्व उपराष्ट्रपति एमरसन माङगाग्वाको पुनर्वहालीका लागिसमेत राष्ट्रपतिलाई दबाव दिएको छ । सत्ताधारी दलले पछिल्लो राजनीतिक घटनाक्रमबारे सेनाले शासनसत्ता हातमा लिएको दुई दिन भित्रै केन्द्रिय समितिको बैठक बोलाई आगामी दिनमा कसरी अघि बढ्ने भन्ने योजनाबारे छलफल गरेको थियो ।

सेनाले शासनसत्ता हातमा लिएयता आफ्नै घरमा नजरबन्दमा रहेकोमा शुक्रवार पहिलोपटक उनी सार्वजनिक कार्यक्रममा देखिएका थिए ।

आफू कुलपति रहेको विश्वविद्यालयको दीक्षान्त समारोहलाई उनले सम्बोधन गरेका थिए । तर उनकी पत्नी ग्रेस मुगाबे भने त्यहाँ उपस्थित भइनन् ।

(Visited 9 times, 1 visits today)

टिप्पणी

comments