Main Menu

आज आमाको मुख हेर्ने दिन

वैशाख  १३, काठमाडौँ । नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ ।

यस अवसरमा छोराछोरीहरुले जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गर्छन् भने धार्मिक आस्थाकाहरुले आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गर्दछन् ।

“शास्त्रमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ, ‘मातृदेवो भवः’ भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र ‘पितृदेवो भवः’, ‘आचार्यदेवो भवः’ भनिन्छ, यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ”– प्रा डा रामचन्द्र गौतम भन्छन्।  “कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवती” अर्थात् छोरा कुपुत्र भए पनि आमा कहिल्यै कुआमा हुँदिनन् भन्ने भनाइ नै छ, प्रा. गौतम भन्छन् ।

जीवित अथवा बितेका दुवै आमाको आदर र सम्झनाका लागि आजको दिनलाई महत्वपूर्ण पर्व मानिन्छ । हिन्दू धार्मिक आस्थाकाहरुले काठमाडाैंमा आजका दिन काठमाडौँको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने चलन रहेको छ ।

मुलुकका विभिन्न भागबाट आएका हिन्दू दर्शनार्थीले मातातीर्थका धारामा स्नान गरी माताको मन्दिरमा पूजा गरेर कुण्डमा बितेकी आमाको मुख हेर्ने गर्दछन् । बितेकी आमाको सम्झनामा तर्पण, सिदा दान र पिण्ड दान गरी श्राद्ध गर्ने दर्शनार्थीको समेत भीड लाग्ने गर्दछ । आज यहाँ आई आमाको नाममा सङ्कल्प गरेर श्राद्ध गरेमा कहिल्यै नाश नहुने पुण्य प्राप्त भई बितेकी माता खुसी हुने हिन्दू शास्त्रमा वर्णन गरिएको प्राध्यापक गौतमले जानकारी दिए ।

आमा हुनेहरूले आजका दिन आफूलाई मन पर्ने मीठामीठा खानेकुरा र वस्त्र आमालगायत गुरुआमा, सासू र काकीहरूलाई दिने र आमाबाट आशीर्वाद ग्रहण गर्ने गर्छन् ।

(Visited 53 times, 1 visits today)

टिप्पणी

comments