Main Menu

माइक छोड्दै नछोड्ने वक्ताहरु !

speech by mike
गाग्राको कुराबाट शुरु गरी आग्रासम्मको बयान छाँट्ने हुस्सू वक्ताहरुले कहिले पाठ सिक्लान्?

० केही समयअघि राजधानीमा आयोजित एक साहित्यिक भेटघाटमा एकजना वक्ताले साह्रै नै ‘बोर’ गरे। ‘कार्यक्रम डेढ घण्टामा सकिने छ’ भनी त्यस कार्यक्रममा सहभागीहरुलाई आयोजकहरुले बल्ल बल्ल जुटाएका थिए। तर कार्यक्रम लम्बिएर साढे तीन घण्टा लामो भइसकेको थियो। अन्तिमभन्दा अगाडिका वक्ताको पालो उनी बोल्दै थिए। उनले यत्ति लामो बोले, उनको कुरा सुन्दा सुन्दा दिक्क लागेर आधाभन्दा बढी मान्छेहरु त उठेरै हिँडे। बाँकी मानिसहरुलाई पनि अत्यन्तै ठूलो धर्मसंकट आइलाग्यो।

साँझ परिसकेको थियो, टाढासम्म पुग्नुपर्ने मानिसहरुलाई गाडी नपाइने डरले सताइरहेको थियो र अर्को कुनै काममा बेलैमा जानु पर्नेहरुलाई त झन् साह्रै नै ढिलो भइसकेको थियो।
बल्लतल्ल उनले भाषण सके। सारा मानिसहरुले त्यतिखेर ठूलो ‘राहत’को अनुभव गरे।
बाहिर निस्कँदा सबैका मुखमा यही बाक्य झुण्डिएको थियो – “कार्यक्रम त राम्रो भयो, तर फलानाले भने ज्यादै लामो बोलेर ‘बोर’ नै गरे!”
० एकजना समाजसेवी मित्रले केही महिना अघि यस्तै गरे। उनले सभामा चाहिने नचाहिने प्रसंगमा ज्यादै लामो व्याख्यान छाँटे र दिक्क लगाए। अरु वक्ताहरु सबैको पालो मिचिदिए। साँझ पाँच बजे विद्युत लाइन बन्द हुनेवाला थियो, बन्द भयो। अरु वक्ताहरुले माइक उपयोग गर्नै पाएनन्।
० राजधानीमै अर्को एकजना चिन्तक छन्, जो आफ्नो विषयका राम्रा ज्ञाता हुन्, तर बोल्नु परेका खण्डमा उनी भूमिका बाँध्नमै प्रशस्त समय लगाउने गर्छन् र वास्तवमा उनको आफ्नो क्षेत्रको खास सान्दर्भिक विषयमा बोल्न उनलाई समय नै पुग्ने गर्दैन। कम महत्वका कुराले धेरै समय खाने, तर बढी महत्वको कुराले न्यूनतम समय पनि नपाउने स्थिति उनी आफैं सिर्जना गर्ने गर्छन्।
० हाम्रो समाजमा केही मानिसहरु यस्ता पनि छन्, जो लामो बोल्ने कारणले विद्वत वर्गबीच अत्यन्त चर्चित र बद्नाम छन्। कुराकानीमा उनीहरुको प्रसंग चल्दा मान्छेहरु हाँस्ने गर्छन्। वास्तवमा, उनीहरु साँच्चै यस्ता हुस्सू नै छन्, जसले “गाग्राको कुरा गर्दा आफू एक पटक आग्रा जाँदा त्यहाँको एक स्थानीय विद्वानसंग भएका गफहरुको विवरण” समेत प्रस्तुत गर्न थाल्छन्। आफ्नो यस्तो अवैज्ञानिक बानी देखेर अरुहरुले आफूलाई हाँसोमा उडाएको कुरा पनि उनीहरुमध्ये धेरैले चाल पाउँदैनन्।

वास्तवमा, हाम्रो समाजमा धेरै कुराहरुमा वैज्ञानिक व्यवस्थापन हुन सकिरहेको छैन। समय परिवेशलाई बुझेर त्यसलाई उद्देश्यमूलक र दक्षतापूर्ण ढंगबाट उपयोग गर्ने होश र व्यवस्थापन कौशलको हामीमा अभाव हुनु नै यो समस्याको मूल कारण हो।

भेला, बैठक, गोष्ठी, आमसभा, कोणसभा, अन्तर्त्रि्कया कार्यक्रम आदि आज हाम्रो समाजमा धेरै ठाउँमा र धेरै प्रसंगमा भैरहेका छन्। यिनमा तोकिएको समयमा कार्यक्रम शुरु हुने र तोकिएको समयमा कार्यक्रम सक्ने संस्कृतिको विकास नभएको कारण अनावश्यक रुपमा धेरैको समय र साधनको नाश भइरहेको छ। तोकिएको समयमा कार्यक्रम शुरु गर्नमा आजकाल आम स्तरमै पनि केही चनाखोपन विकास भएको देखिएको छ। यो चाहिं खुशीको कुरा हो। “कार्यक्रम ठीक दुई बजे शुरु हुने भएकोले साढे एकदेखि पौने दुई बजेसम्म उपस्थित भइसक्नु होला” भन्ने खालका व्यहोराहरु निम्तापत्रमै उल्लेख गर्न थालिएका पनि पाइएका छन्। यो तरीकालाई हाम्रो स्थितिमा राम्रो तरीका नै मान्नु पर्दछ। कारण, तोकेको ठीक समयमा कार्यक्रम शुरु गर्न आयोजकहरुले खोज्दा पनि सहभागीहरु “दुई बजे भनिएको छ, साढे दुई नभई कार्यक्रम के शुरु होला र?” भन्ने मानसिकता बोकेर जानी जानी ढीलो उपस्थित हुने गरेका पनि पाइने गरेको छ। तोकेको समयमा कार्यक्रम कुनै पनि हालतमा शुरु हुने र यसरी शुरु हुन्छ भन्ने परम्परा र विश्वास स्थापित हुने स्थिति समाजमा पैदा नहुन्जेल यो ठीक समय पनि उल्लेख गर्ने र उपस्थितिको निम्ति त्यस समयभन्दा २०–३० मिनेट अगाडि नै आउन अनुरोध पनि गर्ने प्रणाली उपयोगी प्रणाली नै हो।

हामीकहाँ कार्यक्रम शुरु गर्नमा देखापर्न थालेको यत्ति चनाखोपन कार्यक्रम ठीक र निर्धारित समयमा सक्नमा भने पैदा भइसकेको छैन। डेढ घण्टा जत्ति लाग्ला भनेको बैठक चार घण्टा लामो हुने, साँझ सकिने भनेको मिटिंग आधारातसम्म लम्बिने, एकछिन भेटघाट र छलफल गरौं भनेर कुराकानी गर्न थालेको घण्टौं लाग्ने आदि स्थिति पैदा हुनुले समय मात्र हानी हुने होइन, यसले मान्छेको रुचीमाथि पनि नकारात्मक प्रभाव पार्ने गरेको छ।
० फलानालाई भेट्नै हुन्न, भेट्यो कि घण्टौं कुराकानी गरेर ‘बोर’ गर्ने गर्छ!
० फलानोले माइक पायो भने छाड्ने नामै लिँदैन!
हामीमध्ये धेरैलाई अरु मित्रहरुले यस्तो भन्ने गरेको पाइन्छ।
यो भनेको, हाम्रो लागि अत्यन्त दुःखको कुरा नै हो। कारण, हामी अरुलाई ‘बोर’ गर्ने प्राणी किन बन्ने? अरुको आँखामा यसरी हँस्सीको पात्र बन्न पुग्नु कसैका लागि पनि पक्कै खुशीको कुरा हैन।
त्यसैले, यो ‘बोर गर्ने प्राणी’ हुनबाट जोगिनेतर्फ हामीले ध्यान दिने कि नदिने?– यो ध्यानाकर्षण आज हामीभित्र हुनु जरुरी छ।
यस निम्ति हामीले बोल्दा वा भाषण गर्दा यसरी हुन जाने अनावश्यक लामोपनका कारणहरुतर्फ ध्यान दिनु जरुरी छ।
यसका कारणहरु दुई प्रकारका रहेका छन्। एक, कार्यक्रम व्यवस्थापन पक्षको अकुशलता र दुई, वक्ताको मानसिक जटीलता र त्यसले पैदा गरेको बेहोशी।

कार्यक्रम आयोजकहरुले वक्ताहरुलाई पहिले नै निश्चित समय तोकिदिने र त्यस समय सीमाको पालना र जनाउ कडाइका साथ गर्ने गरेमा आधाजसो समस्या हल हुने देखिन्छ। खास गरी, राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरका कतिपय महँगा गोष्टीहरुमा कार्यक्रमको विस्तृत समय योजना अगाडि नै तयार गरिएको हुने र त्यसमा समय सीमाको किटानी पनि हुने गरेकाले र सोको एक एकप्रति सहभागीहरु सबैलाई शुरुमै उपलब्ध गराइने गरिएकोले तिनमा समस्या कम हुने गरेका छन। यस्तो समय सीमासहितको कार्यक्रमको वैज्ञानिक व्यवस्थापन जुनसुकै स्तरका कार्यक्रममा पनि हुनु जरुरी छ। बाटामा भेटिएका मित्रसंग उभिएर गरिने कुराकानीलाई पनि दुवैजना मित्रहरुको फुर्सद र रुचि एक–आपसमा सोधेर पत्ता लगाई त्यो कुराकानीको निम्ति समय तय गर्ने हदसम्म हामी व्यवस्थापन कुशल हुने हो भने त्यो कुराकानी पक्कै उपयोगी हुनेछ र ‘बोर’ हुने विषय बन्ने छैन। यस्तै, वक्तालाई उनको र अरु वक्ताको समय सीमाबारे शुरुमै, मौखिक रुपमा नै सही जानकारी दिने र उनको बोल्ने समय सकिनुभन्दा दुई मिनेटअघि कुनै पनि तरीकाले सूचना गर्ने प्रणाली आयोजकहरुले अप्नाउनु जरुरी छ। हालै, केही बौद्धिक भेलाहरुमा सभापतिले घण्ट बजाएरै समय सीमाको सूचना गर्ने परिपाटी बसलिएको पाइएको छ। यो पनि एउटा राम्रो पक्ष हो।

आयोजकहरुले वक्तालाई उसबाट कुन निश्चित र मूर्त विषयमा राय वा विचार वा सूचना प्रस्तुत गर्न अनुरोध गरिएको हो, सो स्पष्ट नगरेका कारण पनि वक्ताहरुले लामो बोलेका उदाहरणहरु पाइएका छन्। वक्ता स्वयंले आफू केन्द्रित हुनुपर्ने विषयमा स्पष्ट भएर मात्र बोल्न थाल्नु त जरुरी छ नै। तर कहिलेकाहीं आयोजकहरुले वक्तालाई निमन्त्रणा पत्रमा ठूलो विषय दिने तर विचार चाहिं त्यस ठूलो विषयको खास कुनै निश्चित सानो पक्षमा मात्र माग गर्ने गरेको कारणले पनि कतिपय ठाउँमा “र्‍यांग ठ्यांग नमिलेको” पाइने गरेको छ।

कतिपय आयोजकहरुले चाहिं आफू समयमै वक्तालाई उसको समय सकिएको सूचना चाहिं नगर्ने, तर वक्ताले लामो समय लिएकोमा पछि आफैं “कुरा काट्ने” गरेका पनि पाइएका छन्। यसो गर्दा त वक्तामाथि अन्याय नै हुने हुन्छ।
दोस्रो कारणको रुपमा रहेको वक्ताको मानसिक जटीलता र त्यसले पैदा गरेको बेहोशी भने वक्ताहरु स्वयंले चिनेर हटाउनु पर्ने कुरा हो। आफू र आफ्नो कुरालाई तत्कालीन कार्यक्रमको उद्देश्य, समय र परिवेशभन्दा महत्वपूर्ण संझीदिने मनोवृत्तिका कारणले वेसन्दर्भ अनावश्यक रुपमा लम्बेतान बोल्ने गरिएको हुन्छ।

वक्तालाई मित्रहरुले उनको प्रवचन वा भाषण वा कुराकानीका अप्रासंगिक र अनावश्यक प्रसंगहरुबारे संकेत गर्ने र सुधार्न सुझाव दिने परिपाटी बस्नु जरुरी छ। आफू ‘बोर गर्ने प्राणी’ नबन्ने हो भने वक्ता स्वयंले पनि साथीहरुबाट वा सहभागीहरुबाट आफ्नो बोलाइबारे सुझाव र समीक्षा माग गरी त्यसअनुरुप आफूलाई सुधार्नु जरुरी छ।
–वक्ताले आफ्नो निर्धारित विषय के हो भन्ने बुझ्नु जरुरी नै नठानी भटाभट बोल्न थाल्ने
–वक्ताले निर्धारित विषयबारे बोल्ने क्रममा “आफूले अरु पनि थुप्रै कुरा जानेको छु” भन्ने देखाउन खोजेर अनावश्यक पाण्डित्य छाँट्न थाल्ने
–कार्यक्रमको एजेण्डामा नपर्ने तर बोल्न पाएको अवसर छोप्ने उद्देश्यले वक्ताले बेप्रसंगको विषयमा पनि बोल्ने नियत राख्ने
–स्रोताहरुले आफ्ना कुरामा चाख राखेको देखेर खुशी लागी बहकिन पुगी वक्ताले विषयलाई अनावश्यक रुपमा तन्काउने
–पूर्ववक्ताले थुप्रै कुरा प्रस्तुत गरी स्रोताहरुमा राम्रो प्रभाव पारेको देखेर “पूर्ववक्ताले बोलीसकेको कुरामा म सहमत छु” भन्दा आफू “नजान्ने साबित हुने” ठानी अर्को भाषामा उही उही कुरा दोहोर्‍याउने प्रवृत्ति वक्ताहरुले अँगाल्ने
–स्रोता वा लक्षित वर्गको स्तर कस्तो हो भन्ने कुरा ख्याल गर्न नसकेको कारण वक्ताले साधारण कुरामा पनि अनावश्यक व्याख्या गर्न पुग्ने
यी केही मानसिक जटीलताहरुबाट वक्ता मुक्त हुँदैन भने उसले ‘बोर गरिनै रहने’ छ।

यतिखेर एउटा थप पक्षमा पनि हाम्रो ध्यानाकर्षण हुनु जरुरी छ। त्यो हो– बोलिने वा प्रस्तुत गरिने विषयलाई कसरी संगठित गर्ने भन्ने हाम्रो पद्धतिको पक्ष। कुनै पनि विषयलाई कुन सिलसिलामा र कसरी प्रस्तुत गर्दा सबैभन्दा वैज्ञानिक र छरितो हुन्छ भन्ने बारेमा आधुनिक अनुसन्धान पद्धतिले थुप्रै शैली र प्रारुपहरु तयार गरिसकेको छ। लेखनमा मात्र हैन, वाचनमा पनि यो शैली र प्रारुपबारेको आधुनिक ज्ञानलाई हामीले कसरी सदुपयोग गर्ने भन्नेबारे हाम्रो आन्दोलनमा खासै चर्चा र चासो भेटिएको छैन। यसबारे पनि लागीपर्न सकेमा हाम्रा प्रवचनहरु, भाषणहरु, कुराकानीहरु व्यवस्थित र चुस्त बन्ने थिए। अनावश्यक, लामा र पट्यारलाग्दा हुनुबाट यिनीहरु जोगिने थिए।
के हाम्रा वक्ताहरुले पद्धति र शैली शास्त्रका विज्ञहरुबाट यो कुरा सिक्नका लागि कुनै भेटघाट वा कक्षा वा अध्ययन क्रम नै संचालन गर्नेतिर जाँगर चलाउँलान्?
OOO

(मूल्यांकनको प्रिन्ट संस्करणमा प्रकाशित यो सामग्री अहिले पनि उत्तिकै सान्दर्भिक ठानेर पुनःप्रकाशित गरिएको छ –सम्पादक ।)

(Visited 252 times, 1 visits today)

टिप्पणी

comments