Main Menu

वीर सपूतहरू, जो मरे तर माफी मागेनन्

martyrs-day-article-history-four-martyrs-nepal

“माफी माग, अझै समय बाँकी छ ।”

राणा सरकारको तर्फबाट खटिएर गएको ज्यानमारा टोलीको नाइके नर सम्शेरले अन्तिम समयमा गंगालाललाई भन्यो ।

लट्ठामा बाँधिएका वीर गंगालालले उसको अनहारतिर घृणाको नजरले हेर्दै जवाफ दिए, ‘मैंले माफी माग्नु पर्ने काम नै के गरेको छु र ? फेरि म तँ कसाई जस्तो मानिससित किन माफी माग्छु ? बरू तिमीहरूले गरेको अत्याचारका लाग तैँले हामीसँग माफी माग् ।’

यसको एकैछिन अघि केही हात पर त्यस्तै गरी गाडिएका बाँसका लठ्ठामा बाँधिएका दशरथ चन्दलाई जल्लाद नाइके नर सम्शेरले सोधेको थियो, ‘ तेरो अन्तिम इच्छा के छ ? भन् ।

दशरथ चन्दले उपहासको हाँसो हाँस्दै उसलाई जवाफ दिएका थिए, ‘राणा शासन खतम भएको हेर्ने इच्छा छ मेरो । मेरो इच्छा तैँले पुर्याउन सक्छस् ?’

दशरथ चन्दको यो ओजिलो र निर्भिक जवाफ सुनेर नर शमशेर क्रुद्ध भयो । उसले गोली हान्ने काम गराउन आफूले त्यस ठाउँमा लागेक पोडेलाई ‘गोली ठोक्’ भन्ने आदेश दियो । पोडेले दशरथ चन्दको घुँडामा गोली हान्यो । तुरुन्दै नर शमशेरले पोडेलाई भन्यो, ‘तिघ्रामा हान् ।’

दशरथ चन्दको तिघ्रामा पनि गोली हानियो । दशरथ चन्द पीडाले छट्पटाउन थाले । उनको तिघ्राबाट रगतको भेल बगिरहेको थियो । । औँसीको भोलिपल्टको कालो अन्धकारमय त्यो रात, नजिकैको मन्दिर र घाटमा बलेका एक दुई वटा बिजुलीका चिमहरूबाट त्यहाँसम्म आइपुगेको धमिलो उज्यालो । त्यस धमिलो उज्यालोमा नेपाल आमाका वीर सन्तान दशरथ चन्द यसरी दार्हा किटेर गोलीको चोट खपिरहेका थिए !

यता आफू पनि मृत्युको मुखैनेर पुगेका गंगालाल खम्बामा बाँधिएर यो दृश्य हेरिरहेका थिए । आफ्ना आदरणीय साथी, एक असल गुरु जस्ता विवेकवान व्यक्ति, एक असल दाजु जस्ता स्नेहशील व्यक्ति दशरथ चन्दलाई यसरी अत्याचारी राणा शासकहरूका दलालहरूले दुःख दिएको उनले खप्न सकेनन् । उनी क्रुद्ध भएर नर शमशेरतिर फर्केर कराए, “सक्छस् भने तेरो बाउलाई एकै गोली हानेर मार !”

नर शमशेरले गंगालालको तिघ्रामुनि लाग्ने गरी अर्को गोली हान्यो । दोस्रो गोली लागिसक्दा पनि गंगालालले नर शमशेरलाई गाली गर्न छोडेनन् । यतिकैमा नर शमशेरले पोडेलाई आदेश दियो, “छातीमा हान् !”

गंगालालको यो चुनौती सुनेर जल्लाद टोलीको नाइके नर शमशेर रिसले आगो भयो । धड्याम्म ! उसले गंगालालको घुँडामा आफैंले गोली हान्यो । अनि उसले दशरथ चन्दको कोखमा फेरि पोडेलाई गोली हान्न लगायो । दशरथ चन्द झन् बढी छट्पटाउन थाले । रगतको भेल बगेर जमीनको बालुवा रक्ताम्मे भयो, लथपथ भयो । उनलाई यो गोलीको पीडाले अरु मर्मान्त पार्यो । दार्हा किटेर उनले त्यो तीव्र पीडालाई सहे । शरीरभित्र आगो बलेजस्तै भयो, उनको बाँधिएको जीऊ ढल्पलिन खोज्यो, हुत्तिन खोज्यो । साहस र धैर्यको अन्तिम उँचाइमा पुगेर उनको मस्तिष्कले त्यो दुखाइलाई, त्यो चस्स घोचिरहेको धोचाइलाई, त्यो आगो जस्तो कष्टलाई खप्यो । उनका आँखबाट वीरत्वको तापले उम्लेको तातो आँसुको भेल बग्यो । त्यो महान तातो आँसु धर्ती माताको छातीमा बग्यो, तातो भुल्का रगतसँगै मिसिएर ।

दशरथ चन्दको यो पीडाले गंगालाल झन् आगो भए । आफ्नो घुँडामा नर शमशेरले हानेको गोलीको पीडालाई उनले बिर्सिए । दशरथ चन्दको पीडा देखाएर नर शमशेर गंगालाललाई तर्साएर माफी मगाउन चाहन्थ्यो । तर उनले ती क्रूर ज्यानमाराहरूप्रति र तिनका घिनलाग्दा मालिक राणा शासकहरूप्रति झन् झन् घृणा व्यक्त गर्दै झन् झन् गाली गरे, उनी लत्रेनन्, झन् झन् उत्तेजित भए ।

आफ्नो कुटील प्रयत्नमा असफल भएपछि तुरुन्तै नर शमशेरले गंगालालको तिघ्रामुनि लाग्ने गरी अर्को गोली हान्यो । दोस्रो गोली लागिसक्दा पनि गंगालालले नर शमशेरलाई गाली गर्न छोडेनन् । यतिकैमा नर शमशेरले पोडेलाई आदेश दियो, “छातीमा हान् !”

ड्याम्मः ! गोली गएर दशरथ चन्दको छातीमा बज्रियो । दशरथ चन्दको मृत्यु भयो । अत्याचारी शासकहरूका विरुद्ध अन्तिम सास रहुन्जेल उनको शिर झुकेन । त्यत्रो प्रहार र पीडा खेपेको उनको शरीर मृत्युपछि मात्र अगाडिपट्टि निहुरियो । उनका आँखा खुलै थिए । यसरी प्रजातन्त्र र नेपाली धर्तीका निम्ति ज्यान दिने दशरथ चन्दका आंखाहरूले मृत्युपश्चात् पनि धर्तीलाई हेर्न छाडेनन् । 

वि. सं. १९९७ साल माघ १४ गते रातको कुरा हो यो । साँझ १० बजेतिर जेलबाट शोभा भगवती मन्दिरनेर विष्णुमतीको बगरमा पुच्याएर त्यहाँ गाडिएका बाँसका खम्बाहरूमा बाँधेर गोली ठोकी मार्न लगिएका दशरथ चन्द र गंगालाललाई एकै गोलीले सुविस्तापूर्वक मार्ने विवेक पनि लुटाहा राणाहरूले देखाएनन् । उनीहरूले तड्पाई तड्पाई मार्ने काम गरे । उनीहरूले यसरी तड्पाई तड्पाई प्रहार गर्ने क्रममा दशरथ चन्दको सास जाँदा रातको करीब साढे एक बजिसकेको थियो ।

यसपछि नर शमशेर गंगालाललाई अरू पीडा दिन अघि बढ्यो । ऊ स्वयंले तेस्रो गोली उनीमाथि दाग्यो, त्यो पनि उसले गंगालालको तिघ्रामा नै हान्यो । गंगालाल यातनाले छट्पटाउन थाले । रगतले निथ्रुक्कै भिजेको सुरुवाल सहितको उनको देब्रे खुट्टा छट्पटिएर यता र उता रिंग्न थाल्यो । खुट्टामुनिको जमीनको बालुवा खोस्रिएर चन्द्राकार खाल्डो पर्यो । खुट्टाहरू चल्दा भुइँको बालुवा उछिट्टिएर आई खुट्टाभरि लत्पतिएको रगतमा टाँसिए । यसरी उनको खुट्टाभरि बालुवै बालुवा भयो ।

युवा तेजश्वी गंगालालको त्यो छट्पटीले उनलाई गोली हान्न नर शमशेरले त्यहाँ लगेको भाडाको कारिन्दा पोडेको मनलाई पनि चिमोट्यो । गंगालालको पीडाको दृश्य देखेर ऊ स्वयं रुन थाल्यो । उसले नर शमशेरको आदेश मान्न अस्वीकार गर्यो । नर शमशेरले उसलाई गोली हान्ने काम गर्नका लागि धेरै फकायो, तर ऊ गोली हान्न तयार भएन ।

त्यसपछि नर शमशेरले अघि दशरथ चन्दलाई गोली हान्ने पोडेलाई नै गंगालाललाई पनि गोली हान्ने आदेश दियो । यतिखेरसम्म आइपुग्दा दशरथ चन्दलाई गोली हान्न ल्याइएको उक्त व्यक्ति पनि थरथरी काँपिरहेको थियो । उसले आफूले गंगालालको नजिकै गएर गोली हान् नसक्ने र टाढाबाट हानेको गोली लाग्न नसक्ने बताएर गोली हान्न अस्वीकार गर्यो ।

यसपछि उक्त व्यक्तिलाई गोली होन्ने काम गर्न फकाए जस्तो गरी, उसलाई पेस्तोल समाउन मद्दत दिएजस्तो गरी नर शमशेर स्वयंले दुई गोली हान्यो । गोलीहरू गंगालालको पेट र कोखामा । लाग्न पुगे । यही प्रहारले गंगालालको ज्यान लियो । उनको मृत जीउ दाहिनेपट्टि ढल्कियो । आँखाहरू बन्द भए ।

यसको ठीक ४ दिनअघि अर्थात् वि.सं. १९९७ साल माघ १० गते साँझ जेलमा खाना पकाइरहेका शुक्रराज शास्त्रीलाई खाना पकाउन र खान पनि नदिई एक लहरी (ट्रक) सिपाहीहरूले टेकु पचलीस्थित सडक छेउको एक खरीको रुखमा फाँसीमा झुण्ड्याउन लगेका थिए । साँझ १० बजिसकेको सो समयमा उनलाई फाँसी दिने ठाउँमा राणा शासकहरूको प्रतिनिधि नर शमशेर पहिले नै पुगिसकेको थियो ।

भारतमा चलेको प्रसिद्ध धार्मिक सुधारवादी आन्दोलन “आर्य समाज” बाट प्रभावित आफ्ना बाबु माधवराज जोशीभन्दा पनि एक पाइला अघि बढेर “नेपाल नागरिक अधिकार समिति” भन्ने संगठन खोली त्यसको अध्यक्ष भई जनताको पक्षमा र तानाशाही राणाहरूका विरुद्ध अघि बढेका शुक्रराज शास्त्री पटक्कै नडराई आफ्नो फाँसीको फन्दा आफै लगाउन अघि बढे । उनको इच्छा बमोजिम उनले पहिले बागमतीमा नुहाए र गीता पाठ गरे । अनि रुखको हाँगामा झुण्ड्याइएको फाँसीको डोरी आफ्नै हातले आफ्नो घाँटीमा लगाउनै आँट्दा उनले भाग्न चाहेको भए भाग्ने मौका पाएका थिए । तर उनी भागेनन् ।

शहिद शुक्रराज शास्त्रीलाई फाँसी दिइएको टेकुको रुख

घटना के भएको थियो भने शुक्रराजलाई फाँसी दिन लाग्दा नलाग्दै सडकमा परबाट २०-२५ जनाको एक हूल मैन्टोल बालेर त्यता आयो । तानाशाही शासनका कायर दलालहरू अर्थात् त्यहाँ उपस्थित नर शमशेर लगायतका सैनिक हाकिमहरू र सबै सिपाहीहरू त्यो हूल देखेर भागे । उनीहरूले त्यो हूललाई शुक्रराजहरूको पक्षका विद्रोही जनता पो ठानेछन् । वास्तवमा त्यो कुनै भोजबाट फर्किएर घरतिर जान लागेका मानिसहरूको हूल थियो । पछि हूल गएपछि मात्र जल्लादहरू त्यहाँ फर्किए । शुक्रराज जस्ताको तस्तै त्यहीं उभिइहेका थिए । २-४ दिन नै सही बढी बाँच्ने लोभ गरेका भए उनी त्यतिखेर भाग्न पनि सक्थे । तर उनले त्यो लोभ गरेनन् । नेपाली जनतालाई जोडले घच्घच्याउन उनले आफू देशको निम्ति वीरतापूर्वक मरेरै उदाहरण बन्ने अठोट लिएका हुनाले यो अठोटमा उनी दृढ देखिए ।

भगुवा जल्लादहरू आएपछि उनले आफ्नै हातले आफ्नो घाँटीमा फाँसी लगाए । अनि आफूले टेकिरहेको ढुंगाको भर्याङ आफ्नै खुट्टाले लडाए । यसरी रातको त्यो बाह्र बजेको समयमा शुक्रराज शास्त्रीको घाँटी कस्सिँदै गयो, कस्सिँदै गयो । उनको सम्पूर्ण चेतना उनको कस्सिएको घाँटीको कारण निस्सासिएको उनको सास जस्तै एकछिन छट्पटायो । शरीरले मृत्युसँग जुध्ने आफ्नो स्वाभाविक उपक्रम चालू गर्न खोज्यो । त्यसैले यो एकछिन डोरीमा सुस्तरी हल्लियो र विस्तारै यो शान्त भयो ।

नेपाली माटोका एक जना शान्त , नीडर र कल्याणकारी भावना बोकेका महापुरुषले यसरी आफ्नो प्राण त्याग गरे । 

धर्मभक्तलाई फाँसी दिइएको घटनाले त राणा शासकहरूको क्रूरताको झन् प्रष्ट झलक दिन्छ । अन्यत्र कतिपय देशहरूमा फाँसीको सजाय पाएको व्यक्तिले एकपल्ट फाँसी दिँदा कुनै संयोगले सो व्यक्ति बाँचेमा उसको दण्ड भुक्तान भएको ठहरिन्छ र सजायमुक्त हुने व्यवस्था हुने गर्छ । तर राणाहरूले धर्मभक्तलाई उनी दुई पटक फाँसी चढ्दा पनि नमरेको कुराको वास्तै गरेनन् । तेस्रोपल्ट झन् क्रूरतापूर्वक उनलाई फाँसीमा झुण्ड्याइयो ।

यो घटना कसरी घटयो भने – माघ १३ गते साँझ काठमाडौँ डिल्ली इलाकाका आठै बजे बन्द गर्ने उर्दी दिएर राणा शासकहरूले १० बजेतिर धर्मभक्तलाई सदर जेलबाट डिल्ली बजार, ज्ञानेश्वर हुँदै सिफल पुर्याए । उनका हातहरू पछाडि फर्काएर बाँधिएका थिए र आँखामा पट्टि बाँधिएको थियो । लहरी (ट्रक) बाट ओराल्न नपाई जल्लाद टोलीको नाइके नर शमशेरले धर्मभक्तलाई उनको अन्तिम इच्छा सोध्यो ।

धर्मभक्तले प्रष्ट शब्दमा जवाफ दिए, “मलाई राणा शासनको छिट्टै अन्त भएको हेर्ने इच्छा छ !”

उनको यो भनाइ सुनेर नर शमशेर रिसले आगो भयो । अवाक भयो ।

त्यहाँ रुखको हाँगोमा झुण्ड्याइएको फाँसीको फन्दामा उनको घटीलाई पारियो र खुट्टामुनि गार्यो भत्काइयो । तर  रुखको हाँगा लच्किएकोले धर्मभक्तले जमीन टेक्न पुगे । उनी झुण्डिएनन् ।

यसरी पहिलो पटकको फाँसीको प्रयास असफल भयो । त्यसपछि फेरि अर्को हाँगामा डोरी बाँधी अर्को फाँसीको फन्दा तयार गरियो । धर्मभक्तको घाँटीमा फन्दा लगाएर उनले टेकेको पर्खाल फेरि भत्काइयो । उनी तुण्डिए र छट्पटाए । यो छट्पटाईको जोडले डोरी नै छिन्यो । उनको घाँटीमा बडो जोडले डोरी कस्सिएको थियो । फुकाल्न खोज्दा फुकाल्नै नसकिएपछि नर शमशेरले आफैले चक्कूले डोरी काट्यो । र, फेरि उसले तेस्रो पटक डोरी तयार गर्ने आदेश दियो ।

dharma bhakta mathema

धर्मभक्तले अन्यत्रको प्रचलन सम्झेर शमशेरलाई नम्र बोलीमा नर शमशेरलाई भने, “म हजुरको गुरु हुँ, दुई पटकसम्म फाँसीबाट बाँचीसकेँ । यस्तो अवस्थामा फेरि फाँसी दिनु न्यायसंगत होइन ।” स्मरणीय छ, धर्मभक्त दरबारका शारीरिक अभ्यास सिकाउने गुरु थिए ।

धर्मभक्तले यसरी पटक पटक फाँसी दिनु न्यायसंगत होइन भनेको सुनेर जल्लाद नेता नर शमशेर कड्क्यो, “तँलाई केको न्याय ? झण्डै मलाई समेत मुछेको थिइस् ।”

लहरी (ट्रक) बाट ओराल्न नपाई जल्लाद टोलीको नाइके नर शमशेरले धर्मभक्तलाई उनको अन्तिम इच्छा सोध्यो । धर्मभक्तले प्रष्ट शब्दमा जवाफ दिए, “मलाई राणा शासनको छिट्टै अन्त भएको हेर्ने इच्छा छ !”

उसले ‘झण्डै मलाई समेत मुछेको थिइस्’ भन्नुको तात्पर्य के थियो भने धर्मभक्तलाई पक्रनुअघि उसले धर्मभक्तप्रति आफू साँचिलो हुनलाई भाग्ने भए भाग्नू भनेको थियो । यो कुरा धर्मभक्तले अरु राणाहरूको अगाडि व्यक्त गरेको घटनालाई नर शमशेरले यहाँ इंगित गर्न खोजेको थियो ।

भारतको कलकत्तामा बसिरहेका टंकप्रसाद आचार्यलाई त जालझेल गरी पक्रने राणा सरकारले धर्मभक्त भागेका भए के उनलाई चाहिँ पक्रन बाँकी राख्थ्यो होला र ? त्यसैले त्यस्तो ‘दया’ धर्मभक्तले स्वीकारेका थिएनन् । त्यसमाथि भाग्नुभन्दा त नभागेरै राणाहरूको सामना गर्नु राम्रो हो भन्ने विचार धर्मभक्तमा थियो ।

नरभक्षी तानाशाहका दलालहरूलाई गुरुको महत्त्व र गरिमासँग के मतलब हुन्थ्यो र ? नर शमशेरले यसरी ‘तँलाई के को न्याय ?’ भन्दै हातमा लिएको चक्कूले धर्मभक्तको गालादेखि चिउँडोसम्म काटीदियो ।

गालाबाट रगतको धारा बग्न थाल्यो । उनी अत्यन्त क्रुद्ध भए ।

त्यतिखेर नै धर्मभक्तले एउटा चोटिलो साहस गरे । उनले नर शमशेरलाई जमाएर एक लात्ती हाने । नर शमशेर उनको लात्ती खाएर ५/६ हात पर हुत्तिएर लड्यो ।

बदलास्वरुप उसले धर्मभक्तलाई कुट्न सिपाहीहरूलाई आदेश दियो । हात बाँधिएका एक जना निरस्त्र देशभक्तमाथि आततायी सिपाहीहरू १०-१५ जना एकसाथ खनिए । उनीहरूले धर्मभक्तलाई अत्यन्त अमानवीय ढंगले, अत्यन्त निर्ममतापूर्वक कुट्न थाले । उनको जीउभरि जनतामारा राणाशासनका ती जागिरहरूले जताततै प्रहार गरे । त्यो कालो अन्धकारमा, त्यो सुनसानमा, त्यो आतंकपूर्ण वातावरणमा यसरी एउटा देशभक्त नेपालीमाथि सही नसक्नु चोट बर्सियो । तमाम नेपाली जनताहरू त्यतिखेर अधिकांशतः मस्त निन्द्रामा थिए, ओछ्यानमा थिए, ठीक त्यतिखेर  नै माघको जाडोको त्यो मध्यरातमा ती वीर योद्धा एक्लै नराधमहरूको प्रहार खाँदै थिए । उनलाई कठै ! भनेर साथ दिने त्यहाँ कोही थिएन । अंगअंगमा प्रहार गरिएका क्रूर लात्ती र घुस्साहरूले उनको शरीरलाई थिल्थिलो बनाइरहेको थियो । कुटाई असैह्य भयो । त्यसैले धर्मभक्त मूर्छा परे । उनी भुइँमा गुडुल्किए । आततायीहरूले पुनः डोरी झुण्ड्याएर ८-९ जनाले उनलाई हाँगामा समातेर उभ्याए । र, घाँटीमा फाँसीको फन्दा लगाइदिए । त्यसपछि रातको बार्ह बज्न लागेको त्यो समयमा वीर धर्मभक्तको प्राण गयो । नेपालमाताका एक जना सुपुत्रले यसरी मूर्छित् अवस्थामा फाँसीमा झुण्डिएर प्राण त्याग्नु पर्यो ।

भोलिपल्ट बिहान सिफल हुँदै पशुपतिको मन्दिरतिर जान लागेका धार्मिक मानिसहरूले त्यो अधार्मिक, अत्याचारी दृश्य देखे । उनीहरूले देख्दा रुखमा धर्मभक्तको शव फुण्डिइरहेको थियो । उनको खुट्टाले भुइँ छुन छुन लागेको देखिन्थ्यो । उनको घाँटी छड्के परेको, आँखा आधा आधा मात्र खुलेका, मुखबाट रगत आएको, चिउँडोदेखि गालासम्म काटिएको र त्यसमा रगतको धर्सो परेको देखिन्थ्यो ।

छोराको लास पचलीमा रुखमा झुण्डिएको ठाउँमा गएर पनि शुक्रराजका पिता  माधवराज जोशी मृत छोरालाई प्रणाम गरी, तीन चोटि घुमेर, लासतिर हेरेर भनेका थिए, “स्यावास् छोरा ! तिमीले राम्रो गर्यौ । तिमी धन्य छौ ! तिमीले आमा बाबुको मात्र हैन, देशको नै गौरव बढायौ । छोरो हुनु त यस्तो छरो हुनु !”

यसरी १९९७ साल माघमा नेपालका चार होनहार सपूतहरूको ज्यान राणा शासकहरूले लिए भने दृढतापूर्वक ती सपूतहरूले मृत्युलाई स्वीकारे । तर उनीहरू आततायी राणा सरकारका सामु झुकेनन् । उनीहरूलाई माफी मागेमा सजाय कम गर्ने लालच शुरुदेखि अन्तसम्म राणाहरूले दिएका थिए । तर उनीहरूले माफी मागेनन् । धर्मभक्तलाई माफी माग्ने दवाब ज्यादा  परेको थियो । उनी पहलवान जीउका व्यक्ति थिए । उनलाई राणाहरूले शारीरिक रुपले ठूलो कष्ट मात्र दिएनन, भित्रभित्रै कमजोर पार्ने इन्जेक्सन पनि जबर्जस्ती दिने गर्थे । यो कुरा उनले अन्तिम भेटमा आफ्नी फुपूकी छोरीलाई बताएका थिए ।

यसरी उनलाई शारीरिक रुपले अत्यन्त क्षीण पारेर तीव्र यातनको क्रममा माफी माग्न निकै जोड गरिएको थियो । तर उनी पुनः सम्हालिए र अन्तिम क्षणसम्म पनि बहादुरीपूर्वक लडे, तर दयाको भीख मागेनन् । दुईपल्ट फाँसीमा पर्दा पनि नमरेपछि उनले गरको जीवनको दावी चाहिँ चलन अनुसार पाउनुपर्ने हकको दाबी नै थियो ।

चार जना ती वीर शहीदहरूमध्ये शुक्रराज शास्त्रीलाई त स्वयं उनका बाबुले पनि ती वीरत्वपूर्ण कामहरूका लागि उत्साह प्रदान गरेका र स्याबासी दिएका थिए । उनका बाबु माधवराज जोशी आफैं समाज सुधारक आर्य समाजी विचारका व्यक्ति थिए । छोरा मारिने दिनमा अन्तिम भेट गर्दा अरु सबै रोएका थिए, तर उनी रोएनन् । उनले छोरासँग छुट्टिँदा हिन्दीमा भनेका थिए, ” स्यावास् छोरा ! अब खुशी भएर जाऊ, खुशी भएर जाऊ ।”

भोलिपल्ट छोराको लास पचलीमा रुखमा झुण्डिएको ठाउँमा गएर पनि उनले मृत छोरालाई प्रणाम गरी, तीन चोटि घुमेर, लासतिर हेरेर भनेका थिए, “स्यावास् छोरा ! तिमीले राम्रो गर्यौ । तिमी धन्य छौ ! तिमीले आमा बाबुको मात्र हैन, देशको नै गौरव बढायौ । छोरो हुनु त यस्तो छरो हुनु !”

माधवराज र शुक्रराजको देशप्रतिको यो उच्च मनोभाव देख्दा हामी जोसुकैको मुखबाट पनि निस्किन्छ – धन्य ! वीर पिता र धन्य वीर पुत्र !

चार शहीदहरूमध्ये दशरथ चन्द राजनीतिक रूपमा शायद सबैभन्दा उच्च र दृढ थिए भन्ने देखिन्छ । उनको मनोबल अत्यन्तै उच्च थियो र आफ्नो उद्देश्य र विचारमा उनी अत्यन्तै स्पष्ट थिए । सारा राजबन्दीहरूका अभिभावक जस्ता थिए उनी । सबैको मनोबल बढाउन र क्रान्तिकारी अनुशासनलाई उच्च बनाउन उनी हरदम क्रियाशील थिए ।

माघ ६ गते नेल, सिक्री र हतकडी लगाई सिंहदरवारमा सेनाको घेराबीच सबै क्रान्तिकारीहरूलाई सजाय सुनाउन उभ्याइएको बेलामा आफूले मृत्यु दण्ड सजाय पाएको सुन्दा सबैले त्यसलाई दृढतापूर्वक स्वीकारेका थिए । दशरथ चन्दले त सुन्न नपाई ठूलो स्वरले हाँसी हाँसी हिन्दीमा भनेका थिए, “फाँसी क्या चीज है ?”

सजाय पढ्नेले पढ्दै जाँदा प्रज्ञा परिषद्का नेता टंकप्रसादलाई मुडी दामल, अंश सर्वश्व सहित जीवनभरको कारावासको सजाय सुनाउँदा पनि दशरथ चन्दले ठूलो स्वरमा व्यंग्य गर्दै बोलेका थिए, “कसको जीवनभर ? जुद्ध शमशेरको जीवनभर ?”

आफूसहित सबै राजबन्दीहरूलाई दशरथ चन्दले आफ्ना नेता टंकप्रसादलाई राणाहरूले गिरफ्तार गरी आफूहरू भएका ठाउँमा ल्याउँदा सिंहदरवारको चौरमा सारा राणा भाइभारदारहरूका सामुन्ने साहसपूर्वक स्यालुट गर्न लगाएका थिए । उनले टंकप्रसादलाई देख्नासाथ ठूलो स्वरमा साथीहरूतिर फर्केर कराए, “नेपाल प्रजा परिषदका कमाण्डरलाई स्यालुट गर्ला ! स्यालुट गर् !” सबै राजबन्दीहरूले आफ्ना हातगोडाका सिक्री र नेल बजाएर टंकप्रसादलाई त्यो पहिलो जंगी सलाम अर्पण गरे ।

यसबाट देखिन्छ – दशरथ चन्द सांगठनिक अनुशासन र मर्यादाका पक्षमा पनि ज्यादा सचेत र दृढ थिए । साथीहरू कसैले पनि माफी माग्ने कायरता प्रदर्शन नगरुन् भनी उनी बारम्बार सबैको हौसला बढाउँथे । सबैभन्दा कान्छा गंगालाललाई राणाहरूले विचलित पारेर झुकाउलान् भनी उनी चिन्तित थिए । अन्तिम समय जेलमा पनि उनीहरूसँगै थिए ।

अन्तिम भेटको अवसरमा गंगालाललाई आफन्तहरू जेलमा भेट्न आउँदा सबै रोए, तर कलिलै उमेरका भए पनि गंगालाल चाहिँ रोएनन् । दशरथ चन्दलाई उनी रोलान् भन्ने ठूलो चिन्ता थियो ।

गंगालालले जेल बाहिर देवलतिर आफन्तलाई भने, “यो रुख पनि पुरानो र बुढो भएपछि आफै ढल्छ, त्यस्तै गरी यो मन्दिर पनि पुरानो भएपछि चुहिन्छ र भत्किन्छ, हाम्रो जीवन पनि यस्तै हो, केही छैन ।”

आफन्तहरूलाई देखेर गंगालाल विचलित होलान् कि भनी चिन्तित दशरथ चन्दले यसरी गंगालाल दृढ भएर आफन्तहरूसँग कुराकानी गरी जेलबाहिरबाट भित्र आफूभए ठाउँमा पस्दा वशी हुँदै उनलाई अंगालो हाल्दै भने, ” स्यावास् ! मेरो भाइ कहिल्यै रुँदैन !”

दशरथ चन्द र शुक्रराजलाई गोली ठोकी मार्ने बेलामा राणाहरूले पहिले दशरथ चन्दलाई तड्पाएर मारेको दृश्य देखाएर कलिलो उमेरका गंगालाललाई त्यो दृश्य हेर्नै नसक्ने बनाउने र माफी मगाउने षड्यन्त्र गरेका थिए । यो कुरा दशरथ चन्द र गंगालाल दुवैलाई थाहा थियो । दशरथ चन्द यसबारे बढी चिन्तित थिए । आफूहरू देशको निम्ति जानीजानीकनै मृत्युको मुखमा पर्न लागेको र यसरी जीवन दिएर नेपाली जनतालाई ब्युँझाउने आफ्नो महान सपनालाई राणाहरूले जालझेल गरी अन्तमा धुमिल पो पारिदिने हुन् कि भन्ने भय उनको मनमा थियो । त्यसैले दशरथ चन्दले त्यतिखेर दुई जनामध्ये पहिले गंगालाललाई गोली हानी मार्न जल्लाद टोलीको नाइके नर शमशेरलाई अनुरोध गरेका थिए । यता, गंगालाल पनि यसबारे सचेत थिए । उनी पनि दृढ थिए । उनले दशरथ चन्दलाई भने, ‘दाइ ! म तपाईंको मनको कुरा बुझ्दछु । तपाईं ढुक्क हुनुहोस् – म कहिल्यै माफी माग्दिनँ ।”

नेल, सिक्री र हतकडी लगाई सिंहदरवारमा सेनाको घेराबीच सबै क्रान्तिकारीहरूलाई सजाय सुनाउन उभ्याइएको बेलामा आफूले मृत्यु दण्ड सजाय पाएको सुन्दा सबैले त्यसलाई दृढतापूर्वक स्वीकारेका थिए । दशरथ चन्दले त सुन्न नपाई ठूलो स्वरले हाँसी हाँसी हिन्दीमा भनेका थिए, “फाँसी क्या चीज है ?”

यसरी देश र जनताको निम्ति, देशमा प्रजातन्त्र स्थापनाको निम्ति आफ्नो ज्यानै अर्पण गर्न समेत पछि नपरेका हाम्रा ती वीर शहीदहरूको सम्झना आजका कतिपय मानिसहरूमा धुमिल हुँदै गइरहेको छ । यो बडो दुःखलाग्दो कुरा हो । शहीदहरूले जनताको स्वतन्त्रता मुक्तिको लागि ज्यान अर्पण गरे । अव हामी जनताको कर्तव्य हो – उनीहरूका योगदानहरूलाई मर्मसम्मै बुझ्नु, उनीहरूको सम्मान गर्नु र उनीहरूले छोडेर गएका अधूरा कामहरू पूरा गर्नेतिर लागिपर्नु । नेपाली जनतालाई त्यतिखेरका राणा शासकहरूले चुस्नुसम्म चुसेको, जनतालाई दासको रुपमा व्यवहार गरेको र देशलाई बन्द बाकस जस्तो गरी अँध्यारोमा ताल्चा मारिराखेको स्थिति देखेर त्यस स्थितिलाई फेर्न उनीहरू अगाडि बढेका थिए । उनीहरूका पनि व्यक्तिगत इच्छ आकांक्षाहरू र स्वार्थहरू थिए नै । तर ती व्यक्तिगत इच्छा, आकांक्षा र स्वार्थलाई उनीहरूले नेपाली जनताको विशाल इच्छा, आकांक्षा र स्वार्थसँग जोडे । उनीहरूले जनताको मुक्ति, भलाई र स्वतन्त्रतालाई नै उनीहरूको पनि आफ्नो मुक्ति, भलाई र स्वतन्त्रता ठाने ।

आज उनीहरूको त्यो साहस र महान आत्मबलिदानको अर्थ र अभिप्राय हामीले गहिरोसँग बुझ्नु परेको छ ।

वास्तवमा, तरवारको बलमा सत्ता आफ्नो हातमा जंगबहादुरले वास्तवमा खडा गरेको जहानीया लुटको त्यो कूर र जंगली शासन व्यवस्थामा जनता चूँसम्म पनि बोल्न पाउँदैन थिए । राजा त्रिभुवनलाई समेत उनीहरूले दरवारमा पिंजडामा राखे झैँ राखिरहेका थिए । अरु देशहरू उन्नतिको पथमा लम्कीसक्दा पनि हाम्रो देशलाई चाहिं राणाहरूले करीब एक शताब्दी नै पछि धकेलिरहेका थिए । छिमेकी देश चीनमा क्रान्तिकारी गतिविधि बढ्दै थियो, भारतमा पनि अंग्रेज धपाउ अभियानमा ठूलाठूला संघर्षहरू हुँदै थिए । तर नेपालमा भने जंगली राणाहरूको मुख र सनकका भरमा चल्ने शासनले ढलीमली गरिरहेको थियो । खान लाउन नपाएर जनता भोकभोकै मर्दै थिए । तर राणाका जन्मँदै कर्णेल जर्नेल भएर जन्मने खलकहरू भने रगत खाएर खरी जूका मोटाएझैँ मोटाइरहेका थिए । अरु देशहरूले विज्ञान प्रगतिको ठूलो उन्नति गरिसक्दा पनि हाम्रो देशमा भने सामान्य शिक्षा फैलाउने काम पनि भएको थिएन । सत्य कुरा लेख्न पाइन्नथ्यो, छाप्न पाइन्नथ्यो । पत्रिका र पुस्तक बाहिरबाट मगाएर पढ्नेहरूलाई समेत पक्राउ गरिन्थ्यो, थुनिन्थ्यो । धार्मिक सुधारका कुरा समेत गर्न पाइन्नथ्यो ।

आफ्नो मात्र स्वार्थ त पंशुले पनि हेर्छ । त्यसैले भनिन्छ – साँच्चिको मानिस त्यो हो, जसले आफ्नो स्वार्थभन्दा बाहिर अरुको स्वार्थ, समाजको स्वार्थ, दशको स्वार्थलाई पनि हेर्छ । यिनै साँच्चिका मानिसहरू थिए ती हाम्रा महान शहीदहरू । उनीहरूले आफू मरेर पनि देशलाई ब्युँझाएर गए । यसैको परिणामस्वरुप देशमा अब जनता जाग्न थाल्यो, प्रजा परिषद् र नागरिक अधिकार समितिको जगमाथि अब देशमा अरु राजनीतिक आन्दोलनहरू र राजनीतिक पार्टीहरू पनि देखा पर्न थाले । जनताको संगठित संघर्ष घनीभूत हुन थाल्यो ।

विस्तारै पूर्व दिशा उज्यालो हुँदै आयो । राणाहरूले “मारेँ” भन्ठानेका देशभक्तहरू चार जना मरे, तर सयौँ, हज्जारौँ जन्मिए । आखिर २००७ सालमा राणा शासन ढलेरै छोड्यो ।

सारमा केलाएर हेर्ने हो भने, हामी पाउँछौँ – आज हामीले जुन अधिकारहरू पाइरहेका छौँ, देशको सुनौलो भविष्यको लागि अरु अघि बढ्न संघर्षको मैदानमा लड्ने जुन चेतना र संगठनहरू पाइरहेका छौँ, तिनका पछाडि पनि पछिका थुप्रै सपूतहरूका साथै शुक्रराज, धर्मभक्त, दशरथ चन्द र गंगालालका वीरतापूर्ण संघर्ष र जीवन बलिदानहरूको योगदान प्रष्ट रुपले रहेको छ । त्यतिखेर उनीहरूसँगै अघि बढ्ने उनीहरूका तमाम साथीहरूका देशभक्तिपूर्ण प्रयत्नहरू पनि उत्तिकै स्तुत्य छन् ।

हामीले हाम्रा ती वीर पूर्खाहरूको, ती वीर शहिदहरूको सही प्रकारले सम्मान कसरी गर्न सक्छौं ? यसबारे सबैले घोत्लिनु जरुरी छ ।

  • हरिगोविन्द लुईंटेल

सन्दर्भ ग्रन्थहरू 

नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषदको भूमिका – राजेश गौतम
शहिद गंगा-दशरथ – भुवनलाल प्रधान
अमर शहिद दशरथ चन्द – डा. देवी प्र. ओझा
त्रिभुवन स्मृति ग्रन्थ
नेपालको ऐतिहासिक रुपरेखा – बालचन्द्र शर्मा

साभार – नवयुवा अंक १

 

(Visited 40 times, 1 visits today)

टिप्पणी

comments