Main Menu

२५ वर्षको कलिलो उमेरमै विश्वमा छाप छोडेकी महिला कलाकार – मारी बास्करसेफ

marie-bashkirtseff-short-biographyग्रिक र रोमन कलाको सम्पन्न कला इतिहास र रेनेसा कालबाट विश्वकला दृश्यमा प्रभुत्व जमाएको इतिहास बोकेको युरोप उन्नाइसौँ शताब्दीसम्म पनि विश्वकलाको केन्द्र नै थियो । त्यहाँका कला पाठशालाहरु तथा कला प्रदर्शनीहरु प्रतिष्ठित मानिन्थे । विशेषगरी सन् १६४८ मा फ्रान्समा र सन् १७६८ मा इङ्ग्लाण्डमा स्थापना भएको रोयल आकेडेमी अफ आर्ट (Royal Academy of Art) र तिनीहरुले वार्षिक तथा अर्ध-वार्षिक रुपमा संचालन गर्ने कला प्रदर्शनीहरु निकै प्रतिष्ठित मानिन्थे ।

फ्रान्सको आकेडेमी (Academie des Beaux-Arts) ले आयोजना गर्ने कला प्रदर्शनीलाई सलोँ (Salon) भनिन्थ्यो, जुन सन् १६६७ देखि सुरु भएको थियो । त्यस प्रदर्शनीको मुख्य उद्देश्य भनेको आकेडेमीबाट ग्राजुएट भएका कला प्रशिक्षार्थीहरुको कलाकृतीहरु प्रदर्शित गर्नु थियो । यद्यपि आकेडेमी बाहिरका कलाकारहरुका कलाकृतिहरु पनि त्यहाँ प्रदर्शन गरिन्थे ।

उन्नाइसौँ शताब्दीसम्म आइपुग्दा सलोँमा निर्णायक मण्डलले छानेका कलाकृतिहरु मात्रै राखिन्थे र उत्कृष्ट कलाकृतिहरुलाई पुरस्कार पनि प्रदान गरिन्थे । त्यही कला प्रदर्शनी सलोँको सन् १८८१ को संस्करणमा एउटा ठूलो चाख लाग्दो चित्रकला प्रदर्शित भएको थियो, ‘इन द स्टुडियो’ । त्यो चित्रकलाको दर्शक तथा समीक्षकहरुले खुलेर प्रसंशा गरे । १५४ X १८६ से.मी. ठूलो त्यो चित्रकलाका सर्जक थिए, २५ वर्षको कलिलो उमेरमा नै आफ्नो जीवन यात्रामा बिट मारेकी मारी बास्करसेफ (Marie Bashkirtseff) ।

उक्त चित्रमा एउटा सानो कोठामा चित्र कोर्दै गरेका युवतीहरुको चित्रण गरिएको छ । त्यो कोठा सानो भए पनि सामान्य कोठा भने पक्कै थिएन । त्यस कोठा त उन्नाइसौँ शताब्दीको युरोपमा महिलाहरुलाई कला प्रशिक्षार्थीको रुपमा स्वीकार्ने थोरै निजी कला पाठशालामध्ये एक, आकेडेमी जुलियन (Academie Julian) को महिला विभागको थियो । उक्त आकेडेमी स्थापना गर्ने कलाकार रोडोल्फ जुलियन (Rodolphe Julian) थिए ।

क्यानभासमा तेलरंग प्रयोग गरी बनाइएको सो चित्रमा आकेडेमीका १६ महिला कला विद्यार्थीहरु लाइफ ड्रइङ् (life-drawing) कक्षामा व्यस्त भएको देखाइएको छ । महिलाहरु कला सिक्ने स्टुडियोमा व्यस्त रहेको विषयलाई चित्रमा उतारिएको त्यो नै पहिलोपटक हुनसक्ने कलाकार बास्करसेफ आफैले अभिव्यक्ति दिएकी छन् । आफ्नो डायरीमा कलाकार बास्करसेफ लेख्छिन्, “…As for the subject, it does not fascinate me, but it may be very amusing, and then Julian is so taken with it, and so convinced… A woman’s studio has never been painted.”

चित्रको ठिक बीचमा उज्यालो नीलो रंगको लुगा लगाएकी युवती चित्र कोर्नमा व्यस्त छिन् । उनले एउटा हातमा कुची (brush) र अर्को हातमा चित्र कोर्न प्रयोग हुने लठ्ठी (maulstick) बोकेकी छिन् । उनी आफ्नो अगाडि अलिकति उँचो पारिएको ठाउँमा उभिएको मोडल बालकको चित्र कोर्दैछिन् । उनीभन्दा पछाडि अर्की युवती दर्शकतिर हेर्दैछिन् । यस्तो लाग्छ कि त्यस कोठामा भर्खरै कुनै पाहुना आएको छ र उनी उनै पाहुनालाई हेर्दै छिन् । कोठामा भएका कला विद्यार्थीहरु कोही चित्र कोर्नमा त कोही भने कुराकानीमा व्यस्त देखिन्छन् । चित्रको अग्रभूमीमा एउटी युवती बसेकी र अर्की उभिएकी छन् । दुवै जना कुनै छलफल वा गफगाफमा व्यस्त छन् । यीमध्ये बसेकी युवती कलाकार बास्करसेफ आफै हुन् । उभिएकी युवतीले मेचमा राखिएको रातो रंगको कपडामा आफ्नो हात अडाएकी छिन् । कपडाको उत्कृष्ट चित्रणबाट कलाकारको शैलीगत क्षमतालाई प्रदर्शन गरिएको छ । 

कला इतिहासकार लिण्डा नकलिनले आफ्नो लेख ‘(इतिहास)मा किन महान् महिला कलाकारहरु थिएनन्?’ (Why have there been no great women artists?) मा महान् महिला कलाकारहरु नहुनुमा सामाजिक संस्था र शिक्षालाई दोष दिएकी छिन् । यदि इतिहास खोतल्ने हो भने उनको यो भनाई शतप्रतिशत सही भएको पाउन गाह्रो छैन । फ्रान्सको सरकारी कला पाठशालामा (École des Beaux-Arts) सन् १८९७ सम्म पनि महिलाहरुलाई विद्यार्थीको रुपमा स्विकारिँदैनथ्यो, जबकि यसको स्थापना सन् १६४८ मै भइसकेको थियो । त्यसैले उन्नाइसौँ शताब्दीका महिलाहरु निजी कला पाठशालाहरुमा कलाकारिता सिक्न जान्थे । तिनै निजी कला पाठशालाहरूमध्ये एक थियो आकेडेमी जुलियन, जसले महिलाहरुलाई कला सिकाउन छुट्टै विभाग नै बनाएको थियो । र, मारी बास्करसेफ त्यही आकेडेमीका एक उत्कृष्ट विद्यार्थी थिइन् । 

सन् १८५८ मा युक्रेन (तात्कालीन रसीया) मा जन्मिएका मारी बास्करसेफ एक प्रतिभाशाली कलाकार मात्र नभई डायरी लेखक पनि थिइन् । उनको डायरी I am the most interesting book of all: the diary of Marie Bashkirtseff नामक पुस्तकको रुपमा प्रकाशित छ ।

बास्करसेफका आमा-बुबा विवाहको दुई वर्षपछि नै छुट्टिएपछि आमाछोरी फ्रान्सको पेरिसमा आए । पेरिसमा उनले कलाकारिता सिकिन् र यसैमा आफ्नो छाप छोड्ने प्रण गरिन् । उनलाई संसारले आफुलाई बिर्सिनेछ भन्नेमा खुब चिन्ता लाग्थ्यो । उनका डायरीका पानाहरुमा यस्ता भाव थुप्रै शब्दहरु भेटिन्छन् ।

उनी आफ्नो जीवनलाई सार्थक बनाउन चाहन्थिन् । तर कलिलो उमेरमै उनलाई क्षयरोग लाग्यो । आफू छिट्टै नै मर्दैछु भन्ने थाहा पाएपछि केही गर्ने उनको आकांक्षा झन् तीव्र भयो । यसका कारण उनी आफूलाई दैनिक धेरै घण्टा चित्रकलामै व्यस्त राख्थिन् ।

सन् १८८२ मा उनले फ्रान्सेली प्रकृतिवादी (naturalist) कलाकार Jules Bastien-Lepage लाई भेटिन् । उनको प्रभावमा मारीले आर्थिक रुपमा आफूभन्दा तल्लो स्तरका मानिसहरुको चित्रण गर्न थालिन् ।

‘इन द स्टुडियो’पछिको उनको उत्कृष्ट कलाकृति भनेको सन् १८८४ को सलोँमा प्रदर्शीत ‘द मिटिङ’ (The meeting) हो । यस चित्रमा उनले श्रमिक वर्गका केटाकेटीहरुको चित्रण गरेकी छिन् ।

२५ वर्षको छोटो जीवनमा मारीले जुन छाप छोड्न सफल भइन्, त्यो निकै नै प्रशंसनीय छ । महिलाहरुलाई कला शिक्षा प्राप्त गर्न नै पनि निकै कठिन समयमा पुरूषहरूको एकाधिकार रहेको कला क्षेत्रमा सबै अप्ठेराहरु पार गरी जुन सफलता हासिल गरिन्, त्यो अझ धेरै प्रशंसनीय र उदाहरणीय छ ।

  • दिपमाला महर्जन
(Visited 39 times, 1 visits today)

टिप्पणी

comments