Main Menu

सरकारबाट वाम मन्त्रीहरु फिर्ता

कांग्रेसलाई सरकार छाड्न चर्को नैतिक दबाव

पुस २८, काठमाडौं

पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल । (फाइल फोटो)

संसदको निर्वाचन सम्पन्न भएको महिना दिनपछाडि पनि कुर्सी नछाडी बसेको शेरबहादुर देउवाको नेतृत्वको दक्षिणपन्थी गठबन्धनको सरकारलाई वामपन्थीहरुले आफ्ना मन्त्रीहरु फिर्ता बोलाएर सत्ता छाड्न चर्को नैतिक दबाव दिएका छन् । कांग्रेससँग सत्ता साझेदारी गरिराखेको प्रमुख पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आज प्रधानमन्त्रीलाई पार्टीको तर्फबाट एक आधिकारीक पत्र लेखी आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाएको जानकारी गराएपछि सरकारलाई सो दबाव परेको हो ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई बझाएको पत्रमा भनिएको छ, “नेपालको संविधानले अंगिकार गरेको संघीय प्रणाली कार्यान्वयन गर्ने सन्दर्भमा २०७४ असोज २ को स्थानीय तह मंसिर १० र २१ को प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने मूल राजनीतिको लार्यभार पूरा गर्न एउटा विशिष्ट अवस्थामा हाम्रो पार्टी तपाईंले नेतृत्व गर्नुभएको सरकारमा सामेल भएको कुरा सर्वविदितै छ । २०७४ असोज १७ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा वामगठबन्धन अन्तर्गत मिलेर चुनाव लड्ने र चुनावपछि एउटै पार्टी बनाउन समेतको उद्घोष गरेपछि मुलुकमा नयाँ राजनीतिक ध्रुवीकरण पैदा भयो । त्यो स्थितिमा पनि निर्वाचन सम्पन्न गर्न तपाईंलाई अप्ठ्यारो नपरोस र समयमै चुनाव होस् भन्ने उद्देश्यले हाम्रो पार्टी सरकारमा बदेको थियो । अब निर्वाचन सम्पन्न भइसकेको छ । संघीय संरचना अन्तर्गत प्रदेश, संघ र दुई नम्बर प्रदेशको स्थानीय तहको सफल चुनाव गराएर यो सरकारले ऐतिहासिक महत्वको काम गरेको छ । त्यसको लागि हामीले तपाईंलाई बधाई पनि दिइरहेका छौं ।”

अध्यक्ष प्रण्डको हस्ताक्षर भएको उक्त पत्रमा अगाडि बनिएको छ, “निर्वाचन सम्पन्न भई ताजा जनादेश समेत आइसकेको स्थितिमा प्रधानमन्त्तीबाटै नयाँ जनादेश अनुरुपको सरकार गठनका लागि आवश्यक वातावरण बनाउन अबिलम्ब पहल हुनेछ भन्ने अपेक्षा हामीले राखेका थियौं । तर, आजसम्म पनि त्यस दिशामा ठोस कदम नचालिएको, बरु ढिलासुस्ती भइरहेको, राजश्वको दुरुपयोग र काम चलाउ सरकारले गर्न नमिल्ने अतिरिक्त निर्णयहरु पनि भइरहेको सन्दर्भमा अब सरकारमा रहिरहनु औचित्यपूर्ण नदेखिएकाले आजैबाट हामी नेकपा (माओवादी केन्द्र) र नेकपा संयुक्त समबद्ध मन्त्रीहरुलाई फिर्ता बोलाई सरकारमा नरहेको जानकारी गराउँदछौं । साथै सरकारबाट नयाँ जनादेश अनुसार सत्ता हस्ताणतरणमा सहजीकरणको लोकतान्त्रिक भूमिकाको अपेक्षा गर्दछौं ।”

अध्यक्ष प्रचण्डको पत्र आजै (शुक्रवार) प्रधानमन्त्री कार्यालय सिंहदरवारमा पुगी पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्रीको हातमा थमाएका थिए । सो पत्र थमाए लगतै सरकारमा प्रतिनिधित्व गरेका माओवादी मन्त्रीहरुले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ।

पदबाट राजीनामा दिएपछि गत असोज १७ गते वामगठबन्धनको घोषणा भए लगतै क्रोधित बनेका प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा विनाविभागीय बनाइएका माओवादी केन्द्रका मन्त्रीहरुले आफूहरु बिनाविभागीय बने यताको पारिश्रमिक नलिने घोषणा गरे ।

माओवादीका मन्त्रीहरूले बिहिबार नै राजीनामा बुझाउने बताएतापनि सार्वजनिक बिदा परेका कारण रोकिएको थियो।

माओवादी केन्द्रबाट सरकारमा ९ मन्त्री र ७ राज्यमन्त्री गरी १६ जना बिनाविभागीय मन्त्रीका रूपमा थिए।
प्रधानमन्त्री देउवाले गत असोज ३१ गते माओवादीका मन्त्रीहरूको जिम्मेवारी खोस्दै बिनाविभागीय हैसियतको बनाएका थिए।

कामचलाउ सरकारले राजस्व दुरूपयोग गरेको आरोप लगाउँदै पोखरेलले आफूहरू निर्वाचन सुनिश्चितताका लागि मात्र सरकारमा बसेको बताए।

नयाँ सरकार निर्माणमा सहयोग पुग्ने वातावरण निर्माणका लागि आफूहरू सरकारबाट बाहिरिएको कुरा पूर्वमन्त्री पोखरेलले राजीनामा पत्र बुझाएपछि सञ्चारकर्मीलाई बताए।

सोही क्रममा पूर्वमन्त्री पोखरेलले प्रधानमन्त्रीसँग जनादेशको कदर गरी सत्ता हस्तान्तरण गर्न माग समेत गरे ।

(Visited 53 times, 1 visits today)

टिप्पणी

comments