Main Menu

युवाको सक्रियतामा २५ वर्षपछि महाकाली नाच हुँदै

  • रमेश गिरी

mahakali-dance-25-yrsभदौ १८, भक्तपुर । युवाको सक्रियतामा मध्यपुरथिमिमा २५ वर्षपछि महाकाली नाच प्रदर्शन हुने भएको छ ।

हरेक वर्ष सञ्चालन हुँदै आएको सो नाच अार्थिक अभावका कारण २५ वर्षदेखि सञ्चालन हुन सकेको थिएन ।

मध्यपुरथिमि नगरपालिका–५ र ६ का युवा सम्मिलित युवा मिलन केन्द्रको सक्रियतामा महाकाली नाच संरक्षण समिति गठन गरेर यस वर्षदेखि नाच सञ्चालनमा ल्याइने भएको हो ।

केन्द्रका अध्यक्ष सूर्यमान श्रेष्ठले २५ वर्षअघि सो नाच गाईजात्राको भोलिपल्टदेखि टोलटोलमा नचाइने भए पनि यस वर्ष भने इन्द्रजात्राको भोलिपल्टदेखि मात्रै सञ्चालनमा आउने बताए ।

“गाईजात्राको भोलिपल्ट मध्यपुरथिमिमा भैरव नाच र सलःचा प्याखँ प्रदर्शन गरिएकाले महाकाली नाचलाई इन्द्रजात्राको भोलिपल्ट पूर्णिमादेखि चार रातसम्म सञ्चालन गरिने भएको हो । अब हरेक वर्ष यो नाच सञ्चालनमा आउँछ ।” उनले भने ।

च साँझ ६ बजेपछि नित्यनाथलाई समर्पित गर्दै चार रातसम्म टोलटोलमा नचाइनेछ ।

अध्यक्ष श्रेष्ठका अनुसार मध्यपुरथिमि–५ भुँलाखेलस्थित नित्यनाथ मन्दिरमा पूजा गरेर नाचलाई समर्पित गरी सुरु हुनेछ । नाच दथुटोल, दिगुटोल, गँंगछिपा टोल, चपाचो, पोवु टोल, भुँलाखेल, वाःननी हुँदै थिमिका विभिन्न टोलको परिक्रमा गरी चोक चोकमा नाच्ने प्रचलन छ ।

नाचका गुरु हरिबहादुर कैती श्रेष्ठका अनुसार आदिमकालदेखि नै देवासुर संग्राममा आधारित रहेर असुरलाई पराजित गरेपछिको विजयोत्सवका रुपमा सो नाच ७ देखि ९ तालमा नाचिन्छ । नाचमा देवी, महालक्ष्मी, सिंह र माक १-१, बेता ४, भूत भैरव, कवां र ख्या २-२ तथा गरी १५ जना सहभागी हुन्छन् । देवी सुजन दै श्रेष्ठ, महाकाली अविन प्रजापति र महालक्ष्मी राजु माग श्रेष्ठ, बेता रवि प्रजापति, सन्देश हामो श्रेष्ठ, अमेश नकर्मी र सुजन बसी श्रेष्ठ तथा भूत भैरव सजन दै श्रेष्ठ र प्रकाश बायजू श्रेष्ठ बन्नेछन् ।

त्यसैगरी कवाः देव पिला श्रेष्ठ र सुरज प्रजापति, ख्या रोहन राजवाहक र विकेश पिला श्रेष्ठ, सिंह राजेश पिला श्रेष्ठ र माकमा रोजेन विसिद्यो श्रेष्ठले भूमिका लिनेछन् ।

बाजा बजाउने तथा नाचका गुरुमा केशव सुजाखा श्रेष्ठ, सूर्यमानहवा श्रेष्ठ, रत्नकृष्ण सुजकां श्रेष्ठ, हरिबहादुर कैती श्रेष्ठ, हीराकाजी लामा श्रेष्ठ, रामसुन्दर वासी श्रेष्ठ, राजकृष्ण दें श्रेष्ठ र लक्ष्मीनारायण ह्याकुदुवा श्रेष्ठ रहेका छन् । बाजामा मुहाली बजाउनेको भने अभाव छ ।

मध्यपुरथिमि नगरपालिका नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, भैरव नाचका अर्जुन श्रेष्ठ, निरञ्जन श्रेष्ठलगायतको प्रेरणाले यस वर्षदेखि सुरु हुन लागेको नाच अब नरोकिने समितिका अध्यक्ष सूर्यमान श्रेष्ठले बताए । नाच सञ्चालनका लागि करिब रु. १५ लाख ८० हजार लाग्ने जानकारी दिँदै उनले नगरपालिका, नाचका कलाकार, समितिका व्यक्ति, स्थानीय बासिन्दा र संघसंस्थाबाट रकम संकलन गरेर नाच सञ्चालन गरिने जानकारी दिए ।

नगरप्रमुख श्रेष्ठका अनुसार नगरको मौलिक परम्परा, ऐतिहासिक एवं सांस्कृतिक परम्परा, पर्व एवं नाचलगायत धरोहरको संरक्षणका लागि नगरपालिकाले बजेट विनियोजन गरेको छ ।

(Visited 4 times, 1 visits today)

टिप्पणी

comments