Main Menu

मधेसकेन्द्रित दलबीच निर्वाचनमा साझेदारीबारे छलफल

local-elections-morcha

विजय गच्छेदार, महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो (बायाँबाट)

जेठ १२, काठमाडौँ । मधेसकेन्द्रित प्रमुख तीन दलले स्थानीय तहको निर्वाचनमा साझेदारी गर्नेबारे बहस सुरु गरेका छन् ।

आगामी जेठ ३१ मा हुने स्थानीय तहको निर्वाचनमा कसरी सहकार्य गरेर जाने भन्नेबारे राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल लोकतान्त्रिक फोरम र सङ्घीय समाजवादी फोरम नेपालबीच हिजो छलफल भएको हो ।

भक्तपुरको सानोठिमीस्थित राजपा नेता महन्थ ठाकुरको निवासमा हिजो साँझ अबेरसम्म भएको तीन शीर्ष नेताको छलफलले कुनै निष्कर्ष भने निकालेन ।

बुझिएअनुसार स्थानीय तहको निर्वाचनमा साझेदारी गर्न तयार रहेपनि राजपाको निर्वाचन चिह्न नभएकाले आवश्यक पहल गर्नेबारे कुराकानी भएको थियो । निर्वाचन र सङ्घर्षका कार्यक्रमलाई सँगै अघि बढाउनेबारे पनि नेताहरुबीच बहस चलेको थियो ।

तथापि, राजपाका नेताबीच नै निर्वाचनमा सहभागी हुने नहुनेबारे मतान्तर रहेकाले सहमति जुट्न कठिन भएको छ ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले पहिलो चरणको निर्वाचनमा नयाँ शक्ति पार्टीसँग साझेदारी गरिसकेको छ भने नेपाल लोकतान्त्रिक फोरमले पनि निर्वाचनमा भाग लिएको थियो ।

यी दुवै पार्टी दोस्रो चरणको निर्वाचनमा सहभागी हुनेछन् । यता राजपाभित्र पनि निर्वाचनमा सहभागी हुनुपर्ने दबाब बढेको छ । निर्वाचनबारे सकारात्मक देखिएका राजपा अध्यक्ष ठाकुरले मधेसकेन्द्रित शक्तिबीच सहकार्यका लागि नेता यादव र विजयकुमार गच्छदारसँग परामर्श गरेका छन् ।

यसअघि, राजपाको बिजुलीबजारस्थित कार्यालयमा हिजो दिउँसो बसेको बैठकले दुई पार्टीसँग कसरी साझेदारी अघि बढाउने भन्नेबारे छलफल गरेको थियो ।

यद्यपि, उक्त बैठक पनि निष्कर्षविहीन बनेको थियो । त्यहाँ निर्वाचन र सङ्घर्ष कसरी लैजाने भन्नेबारे छलफल भएको राजपाका नेता केशव झाले बताए । निर्वाचनमा जानेबारे बैठकमा अध्यक्ष मण्डलका छजना सदस्यबीच मत बाझिएको थियो । धेरैजना निर्वाचनका पक्षमा रहेको बताइएको छ ।

(Visited 21 times, 1 visits today)

टिप्पणी

comments