Main Menu

अन्धविश्वासीहरुद्वारा नवीन विज्ञानको दुरुपयोग

परलोकका जीवनहरुको क्लोनिङ्गबाटै जीवहरु पृथ्वीमा आएको दावी

रेलियन धार्मिक नेता क्लाउड बोरिल्होन

‘यो पृथ्वीमा जीवहरु कहाँबाट आए ? उनीहरु यति धेरै आकार–प्रकारमा कसरी विभाजित भए ?’
यी प्रश्नहरुको सम्वन्धमा विज्ञानमा ‘क्रम विकासको सिद्धान्त’ (Theory of evolution) ले राम्ररी व्याख्या गरेको छ । जीवको उत्पत्ति र विकासको सम्वन्धमा मूलतः चार्ल्स डार्विनले ल्याएको क्रम विकासको सिद्धान्त नै सत्यको नजिक रहेको कुरा वैज्ञानिकहरुले बताउँदै आएका छन् । तर, अचम्मको कुरो, सन् १९९७ मा क्लोनिङ्गको कुरो बढी चर्चामा आएपछि यूरोपमा ‘रेलियन’ नामको एउटा नयाँ धार्मिक सम्प्रदायको जन्म भयो, जसले पृथ्वीमा जीवको उत्पत्ति परलोकबाट आएको कुनै अज्ञात जीवको क्लोनबाट भएको कुरा बतायो । यो भनाइ हिजो अन्य धार्मिक सम्प्रदायहरुले परलोकका परमात्माबाट पृथ्वीमा मानवलगायत सम्पूर्ण जीवहरुको सृष्टि भएको हो भन्ने व्याख्यासित धेरै हदसम्म मेल खान्छ ।

के साँच्चि नै यी रेलियनहरुले भनेजस्तै पृथ्वीमा जीवको उत्पत्ति परलोकबाट आएका जीवको क्लोनिङ्गबाटै भएको हो त ?

यस सम्बन्धमा कुनै खास धारणा बनाउनुभन्दा पहिले क्लोनिङ्गको बारेमा नै छोटो चर्चा गर्नु सान्दर्भिक होला ।

क्लोनिङ्गको इतिहास

‘क्लोन’ ग्रीक शव्द हो र यसको अर्थ हो– ट्वीग (twig)  । ट्वीगको अर्थ टूसो हो । विरुवाहरुमा हाङ्गाबिङ्गा त्यतिकै पलाउदाँ त्यसलाई टूसो आएको भनिन्छ । तर क्लोनलाई अहिले जुन अर्थमा बुझिन्छ, यो बेलायती जीवशास्त्री जे.बि.एस. हाल्डेनले गरेको अन्वेषणको नतिजा अनुसार छ । उनले सन् १९६३ मा के सिद्धान्त प्रतिपादन गरे भने मानवलगायत सवै जीवहरुको वंशाणुगत रुपमै दुरुस्त प्रतिलिपि सिर्जना गर्न सकिन्छ । र, त्यसलाई उनले टूसोको रुपमा बुझी ‘क्लोन’ भनी नामाकरण गरे ।

हाल्डेनले सैद्धान्तिक रुपमा पुष्टि गरेको क्लोनिङ्ग पद्धतिलाई ३४ वर्षपछाडि आएर स्कटल्याण्डको वैज्ञानिक संस्था रोस्लीन इन्स्टिच्यूटका वैज्ञानिक इयान विल्मट र उनको अनुसन्धान टोलीले प्रयोगात्मक रुपमा प्रमाणित गरिदियो । उनले प्रयोगको क्रममा ‘इयू’(ewe) नामको एक ६ वर्षिया भेँडीको छालाबाट स्वस्थ कोष झिकी क्लोनिङ्ग पद्दतिबाट ‘डोली’ नामको उस्तै दुरुस्त भेँडीको जन्म गराएका थिए ।

पहिलो पटक सफल क्लोनिङ गर्ने वैज्ञानिक इयान मार्टिन र क्लोन भेँडी ‘डोली” ।

सन् १९९७ कै अक्टोवर ३ मा अर्को सफल क्लोनिङ्ग परीक्षण भयो । अमेरिकाको हवाई द्वीपस्थित हवाई विश्वविद्यालयका वैज्ञानिकहरुले क्लोनिङ्ग पद्धतिबाट मुसालाई जन्म गराए । उनीहरुले त्यस मुसालाई ‘क्यूमिलिना’ नाम दिए । त्यो मुसा दुई वर्ष सात महिना बाँचेर मर्यो । ‘क्यूमिलिना’लाई जन्म गराउन प्रयोग गरिएको क्लोनिङ्ग प्रविधि ‘डोली’ जन्माउँदाको प्रविधिभन्दा उन्नत छ भन्ने दावी हवाईका वैज्ञानिकहरु गर्छन् ।

सन् १९९८ मा अर्को क्लोनिङ्ग परीक्षण जापानमा भयो । जापानी वैज्ञानिकहरुले स्कटल्याण्डमा ‘डोली’ जन्माउँदा प्रयोग गरिएको प्रविधि नै प्रयोग गरेका थिए । ‘इसिकावा प्रिफेक्चरल लाइभस्टक रिसर्च सेन्टर’ मा गरिएको उक्त क्लोनिङ्ग परीक्षणबाट एक जोडी दुरुस्त उस्तै प्रकारका बाच्छाहरु जन्मेका थिए ।

सन् २०००मा अमेरिकाको भर्जिनियामा क्लोनिङ्ग प्रविधिबाट पाँच सुँगुरहरुलाई जन्म गराइयो । यसमा ‘डोली’को लागि प्रयोग गरिएको प्रविधिभन्दा अलि फरक प्रविधि प्रयोग गरिएको कुरा संलग्न वैज्ञानिकहरु वताउँछन् ।

सन् २००१मा अमेरिकाको ‘एडभान्स्ड सेल टेक्नोलोजी इनकर्पेारेशन’का वैज्ञानिकहरुले ‘गउर’ नामको एक इन्डियन गोरुलाई क्लोनिङ्ग पद्धतिबाट जन्म गराए । त्यस्तैगरी सन् २००१ मै अमेरिकाको टेक्सासका वैज्ञानिकहरुले एउटा विरालोको बच्चालाई पनि क्लोनिङ्ग पद्दतिबाट जन्म गराए । यसरी जम्मा ६ पटक विभिन्न जनावरहरुको क्लोनिङ्ग गरिसकिएर अहिले मानव क्लोनिङ्गको चर्चा चलिरहेको छ ।

के क्लोनिङ्गबाट दुरुस्त उस्तै मान्छे तयार हुन सक्ला ?

सन् १९९७ मा ‘डोली’ भेँडीलाई क्लोनिङ्ग पद्दतिबाट जन्म गराएको लगत्तै विश्वभरि एउटा वहस चल्यो । त्यो वहस के थियो– यदि मानव क्लोन तयार गर्न सफल होइन्छ भने हिटलरको कोषबाट हिटलर, आइन्स्टाइनको कोषबाट आइन्स्टाइन जस्तैगरी एक जनाको दुरुस्त अर्को मानिस तयार गर्न सकिन्छ कि सकिंदैन ? यो वहस अहिले पनि चलिरहेको छ । तर क्लोनिङ्ग गरेर पनि मानिसमात्र होइन, कुनै पनि जीवको शयमा शय प्रतिशत दुरुस्त अर्को प्रतिलिपि तयार गर्न सकिंदैन भन्ने तर्क राख्नेहरुको कुरा बढी विज्ञानसम्मत देखिन्छ ।

क्लोन–जीव कसरी तयार गरिन्छ ?

क्लोनिङ्ग एक जटिल प्रक्रिया हो । यसमा सबभन्दा पहिले जसको क्लोन गर्नु पर्ने हो, त्यसको शरीरको कुनै कोष झिकेर त्यसभित्रको न्यूक्लेस निकाली परीक्षणशालामा सुरक्षासाथ राखिन्छ । त्यस्तैगरी क्लोन–बच्चा जुन पोथी जीवको शरीरभित्र हुर्काउनु पर्ने हो, उसको पाठेघरभित्रबाट डिम्ब (ovum) झिकेर त्यसभित्रको न्यूक्लेस पनि झिकिन्छ र त्यसलाई फालिन्छ । त्यसपछि विशेष प्रविधिको सहयोगमा न्यूक्लेस नभएको डिम्बमा क्लोनिङ्गको लागि अर्को व्यक्तिको शरीरको कोषबाट झिकेर सुरक्षित राखिएको न्यूक्लेस सावधानीपूर्वक प्रत्यारोपण गरिन्छ । र, विद्युतीय झड्का दिई त्यस डिम्बलाई कोष विभाजन प्रक्रियामा जान प्रेरित गराइन्छ ।

स्मरणीय के छ भने डिम्ब एक प्रजनन् कोष हो, जसमा क्रोमोजोमको संख्या आधामात्र हुन्छ । जस्तो कि मानव कोषमा जम्मा क्रोमोजोमको संख्या ४६ हुन्छ भने मानव डिम्बमा २३ मात्र हुन्छ । गर्भाधानमा पुरुषको शुक्रकीट (जसमा पनि क्रोमोजोम संख्या २३ नै हुन्छ) डिम्बभित्र पस्दा त्यो संख्या ४६ पुगी कोष विभाजन प्रक्रियाको थालनी भएको हुन्छ । क्लोनिङ्गमा गर्भाधान गराइएको हुँदैन । तर जब डिम्बमा पूरा संख्या (४६ वटा) क्रोमोजोम भएको न्यूक्लेसलाई विद्युतीय झड्का दिई पसाइन्छ, तब त्यहाँ गर्भाधानको बेलाजस्तै कोष विभाजनको लागि वातावरण तयार हुन्छ । फरक यति हुन्छ कि गर्भाधान हुँदा डिम्बमा आमाको पनि आधा क्रोमोजोम संख्या हुने भएकोले त्यहाँ उसको पनि म्ल्ब् हरु हुन्छन् अर्थात् त्यहाँ उसका पनि वंशाणुहरु हुन्छन् , तर क्लोनिङ्गको प्रक्रियामा रहेको डिम्बमा क्लोन गरिने व्यक्तिको मात्र DNA हरु हुने भएकोले त्यहाँ उसका मात्र वंशाणुहरु हुन्छन् ।

डिम्बले कोष विभाजनको प्रक्रिया थालनी गरिसकेपछि भ्रूण तयार गर्छ र त्यसलाई आमाको पाठेघरमा प्रतिस्थापन गरिन्छ । र, पाठेघरमा निश्चित समय बिताइसकेपछि भ्रुण पूर्ण विकसित बच्चामा परिणत हुन्छ र त्यसको जन्म हुन्छ । आमाको DNA नभएको बच्चा भएकोले त्यसमा आमाको वंशाणुगत गुणहरु रहेका हुँदैनन् । क्लोनिङ्गको लागि कोष झिकिएको व्यक्तिका संपूर्ण वंशाणुगत गुणहरु त्यो बच्चामा रहेका हुन्छन् । यसरी वैज्ञानिकहरुले प्रयोगशालामा क्लोनिङ्ग पद्दति पूरा गरेका हुन्छन् ।

आमाको DNA नहुँदा पनि बच्चामा उसका केही गुणहरु सर्छन् :

वैज्ञानिकहरुले के बताउन थालेका छन् भने, भलै क्लोन–बच्चामा आमाको DNA रहेको हुँदैन, तैपनि केही मात्रामा आमाको गुण उसमा सरेकै हुन्छ । तर कसरी ?

वैज्ञानिहरु के भन्छन् भने कोषको न्यूक्लेस बाहिर साइटोप्लाज्ममा माइटोकोन्ड्रिया भन्ने एउटा अङ्ग हुन्छ, जसमा RNA हरु रहेका हुन्छन् । ती RNA हरुले आमाका केही विशेष गुणहरु बोकेका हुन्छन् । क्लोनिङ्गमा डिम्बको न्यूक्लेस झिकी अर्काको न्यूक्लेस राखिन्छ, तर त्यसले माइटोकोन्ड्रियालाई छोएको हुँदैन । त्यसैले क्लोन–बच्चामा करिब करिब सबै गुणहरु अर्को व्यक्तिको हुने भए पनि केही गुणहरु आमाका पनि सरेकै हन्छन् ।

अर्को कुरा, जीवहरुमा यस्ता पनि गुणहरु हुन्छन्, जुन वंशाणुमा मात्र भर नपरी वातावरणसँग पनि भर पर्ने गर्छन् । त्यस्ता गुणहरुले गर्दा पनि क्लोन–बच्चा क्लोनिङ्गको लागि कोष प्रदान गर्ने जीवजस्तो दुरुस्त हुँदैन । परीक्षणबाट पनि यो कुरा पुष्टि भइसकेको छ । जस्तो कि पहिलो क्लोन–बिरालो त्यसको क्लोनिङ्गको लागि कोष प्रदान गर्ने बिरालोजस्तो दुरुस्त रहेन । किनकि त्यो बिरालोको भुवा वंशाणुका साथसाथै वातावरणमा पनि भरपर्ने किसिमको थियो । वैज्ञानिकहरु के भन्छन् भने व्यक्तिको रुप भनेको वंशाणु र वातावरणको संयोगले निर्माण हुने कुरा हो, जसलाई वंशाणुले मात्र नियन्त्रण गर्न सक्दैन ।

मानव क्लोनको सन्दर्भमा कुरा गर्दा निश्चित नै क्लोन–बच्चा क्लोनिङ्गको लागि कोष प्रदान गर्ने व्यक्तिको वंशाणुगत जुम्ल्याहा (genetic twin) हुन्छ । तर, मान्छे वंशाणुगत ढंगले मात्र नभई अन्य कारणबाट पनि निर्माण भएको हुन्छ । क्लोनिङ्गको लागि कोष प्रदान गर्ने व्यक्ति जस्तोसुकै भएपनि क्लोन–बच्चाको व्यक्तित्व, चरित्र, विद्वता र प्रतिभा आफ्नै खालको हुन्छ । किनकि वंशाणुगत गुणहरु क्लोन गरिए पनि व्यक्तिको दिमाग अथवा मन, संयोगका कुराहरु, वातावरण र व्यक्तिको अनुभवलाई कहिल्यै क्लोन गर्न सकिंदैन । तर यी गुणहरु यस्ता हुन्, जसले मान्छेको व्यक्तिगत चरित्र निर्माण गर्न प्रमुख भूमिका खेलेका हुन्छन् । त्यसैले क्लोन–हिटलर, हिटलरजस्तै तानाशाह हुन्छ भन्ने हुँदैन, क्लोन–आइन्स्टाइन, आइन्स्टाइनजस्तै विख्यात वैज्ञानिक हुन्छ भन्ने हुँदैन, त्यस्तै क्लोन–मदरटेरेसा, मदर –टेरेसाजस्तै दयालु हुन्छे भन्ने हुँदैन ।

तपाईंले चाहेर पनि आफ्नो वा कसैको दुरुस्त प्रतिलिपि–व्यक्ति कहिल्यै जन्माउन सक्नु हुन्न । अझ, मरिसकेका व्यक्तिहरु जस्तो कि हिटलर, आइन्स्टाइन आदिको प्रतिलिपि व्यक्ति जन्माउने भन्ने कुरा त झनै हावा कुरा हुन् । किनकि क्लोनिङ्गको लागि जीवित कोष चाहिन्छ । मरिसकेको मान्छेको जीवित कोष तपाईं कहाँबाट ल्याउनु हुन्छ ? भर्खरै मरेको व्यक्तिको क्लोनिङ्ग त एक हदसम्म सम्भव होला, किनकि उसका सबै कोषहरु मरिसकेका हुँदैनन् र तत्कालै उसको शरीरबाट कोष झिकियो भने त्यसलाई क्लोनिङ्गको लागि उपयोग गर्न सकिन्छ । तर कोषलाई जीवित राख्न सकिएन भने क्लोनिङ्ग सम्भव हुँदैन ।

रेलियन धार्मिक सम्प्रदाय र क्लोनाइड के हुन् ?

जस्तो कि शुरुमै भनियो— रेलियन एक धार्मिक सम्प्रदाय हो । यो सम्प्रदायको एउटा अनौठो मान्यता छ । त्यसका अनुसार अन्तरिक्ष (उनीहरुको भाषामा परलोक) को कुनै टाढाको ठाउँबाट उडनतस्तरीमा बसेर आएको जीवबाट नै आजभन्दा २५ हजार वर्ष पहिले सर्वप्रथम पृथ्वीमा जीवको आगमन भयो । र, त्यो जीवको क्लोनिङ्गबाट नै मानव स्वयंको पनि सृष्टि भयो । रेलिएनका ‘रेल’ अर्थात् प्रमुख क्लाउड वोरिल्होन फ्रान्सका एक पूर्वपत्रकार हुन् । उनले नै सन् १९७३ मा यो सम्प्रदायको स्थापना गरेका हुन् । उनका अनुसार उनले परलोकबाट आएको एक अद्भूत जीवलाई भेटेका थिए र त्यो परलोकको जीवले नै उनलाई बुद्ध, जेसस र मोहम्मदजस्ता महापुरुषहरु सबै परलोकबाट दीक्षित भएर आएका हुन् भन्ने कुरा बताएका थिए । र, उनले त्यसको लगत्तै रेलियन सम्प्रदायको स्थापना गरेका हुन् । उनका अनुसार अहिले रेलियनका विश्वभरि करिब ५५ हजार अनुयायीहरु छन् ।

‘रेल’ अर्थात् क्लाउड वोरिल्होनले नै सन् १९९७ मा क्लोनाइड कम्पनीको स्थापना गरेका थिए । उनी आफूलाई भविष्यद्रष्टा तथा परलोकका दूतको रुपमा प्रस्तुत गर्छन् । र, उनले आफ्नो कम्पनी मानव–क्लोन निर्माण गर्न स्थापना गरेको, जसमा प्रतिष्ठित वैज्ञानिकहरु समेत रहेको कुरा बताउँछन् । अमेरिकाको लासभेगासमा आधारित यो कम्पनीले मानव क्लोनिङ्ग कहाँ गरिएको र त्यसमा संलग्न वैज्ञानिकहरु को को हुन् भन्ने कुराको भने अहिले सम्म खुलासा गरेको छैन ।

विज्ञान र धार्मिक अन्धता :

क्लोनाइड कम्पनीसँग सम्बन्धित रेलियन सम्प्रदायको विश्वासलाई हेर्दा अहिले एक्काइसौं शताव्दीमा पनि विकसित भनी कहलिएका पश्चिमी मुलुकहरुमा समेत धार्मिक अन्धता बाँकी रहेको देखिन्छ । पश्चिमी मुलुकहरुमा रहेको अन्धता त झनै खतरनाक देखिन्छ, किनकि त्यहाँका अन्धविश्वासीहरुले अन्धविश्वास फैलाउनका लागि अत्याधुनिक विज्ञानको दुष्प्रयोग गरेका छन् । यसको ज्वलन्त उदाहरण अहिले रेलियन सम्प्रदाय नै बनेको छ ।

रेलियन सम्प्रदायको विश्वासलाई मान्ने हो भने अहिलेसम्म वैज्ञानिकहरुले जीव विकाससम्बन्धी जुन सिद्धान्तहरु प्रतिपादन गरेका छन्, ती सबैलाई रद्दीको टोकरीमा फाले पनि भयो । अब डार्बिनको विकासवादको सिद्धान्तलाई फोहरमा मिल्काइदिए भयो । त्यस्तै, अब थुप्रै जीवशास्त्री तथा मानवशास्त्रीहरुले उत्खनन् गरी पत्ता लगाएका लाखौं वर्ष पुराना मानव पुर्खाका अवशेषहरुलाई ती केही नभई ढुंगा वा चट्टानका रुपहरु मात्र हुन् भनिदिए पनि भयो । करोडौं वर्ष पुराना जीवावशेषहरुलाई अब माटोमात्र रहेछ भने पनि भयो । किनकि, रेलियनहरुका अनुसार पृथ्वीमा जीवहरु परलोकबाट आजभन्दा करिब २५ हजार वर्ष पहिले आएका हुन् । उनीहरुका अनुसार जीवहरु डार्बिनले भनेजस्तै क्रमिक बिकासबाट थरीथरीका जीवहरुमा बिकास भएका होइनन्, परलोकबाट आएका जीवहरुबाट क्लोनिङ्ग गरी जन्माइएका हुन् ।

कस्तो अचम्म ! उनीहरु क्लोनिङ्गजस्तो अत्याधुनिक वैज्ञानिक प्रविधिको कुरा पनि गरिरहेछन् र २५ हजार वर्षपहिले परलोकबाट जीवहरु आएको जस्ता हावादारी विरोधाभासपूर्ण कुराहरु पनि गरिरहेका छन् । पश्चिममा वैज्ञानिकहरु समेत यस्ता हावादारी कुराहरु गरेर धार्मिक अन्धता फैलाउन हिँडेको देख्दा विज्ञानमा कम विकसित हामी पूर्वेलीहरुले पनि लाज मान्नु पर्ने स्थिति पैदा भएको छ ।

मानव–क्लोन असम्भव कुरा होइन । र, यो विज्ञानको एउटा महत्वपूर्ण उपलब्धी पनि अवश्यै हुनेछ । तर, अहिले मानव–क्लोन तयार गरियो भनी जुन हल्ला फिँजाइएको छ, यो एक ठट्टा नै हो भन्ने कुरा प्रष्ट नै देखिन्छ । त्यतिमात्र होइन, यस हल्लाभित्र विज्ञानविरोधी नियत लुकेको पनि प्रष्ट छ । विज्ञान जगत यस विषयमा सचेत हुनु जरुरी छ ।

क्लोनिङ्गको सफलतामाथि पुनः प्रश्न

डोली भेँडीको मृत्यु भइसकेको छ । स्मरणीय छ, क्लोनिङ्गबाट जन्माएको पहिलो भेँडी डोली हो । रोस्लीन इन्स्टिच्यूटका वैज्ञानिहरुले बताए अनुसार ६ वर्षीय डोलीको फोक्सोमा गम्भीर प्रकारको रोग लाग्न पुग्यो । सामान्यतः भेँडा वा भेँडीको आयु ११ वर्षको रहेको हुन्छ । तर डोली चाहिँ ११ वर्ष नहुँदै मर्यो । त्यसको फोक्सोमा जुन रोग लाग्यो, त्यस्तो रोग भेँडा वा भेँडीहरुको बुढेशकालमा मात्र लाग्ने कुरा वैज्ञानिकहरु बताउँछन् । त्यसैले डोलीको मृत्युले एउटा के कुरा सिकाएको छ भने क्लोनिङ्ग गरी बच्चा जन्माउन सकिने भए पनि त्यसलाई सहज ढंगले हुर्काउन गाह्रो पर्ने रहेछ । त्यसैले क्लोनिङ्ग पद्दतिलाई अझै शंकाको घेरामै राखिनु पर्ने आवश्यकता पैदा भएको छ । 

साभार : मूल्याङ्कन मासिक, पूर्णाङ्क १०६

(Visited 56 times, 1 visits today)

टिप्पणी

comments