Main Menu

जीवन–सृष्टि अजैविकबाट भएको पुष्टि गर्ने

प्रयोगशालामा आविष्कार गरिएको सृष्टि कालको जीवकोष !

पृथ्वीमा जीवन एक कोषीयबाट बहुकोषीय हुँदै क्रमिक रुपमा उद्विकास हुँदै मानवसम्म विकास भयो ।

जीवन–सृष्टि कसरी र केबाट भयो भन्ने सवालबारे हजारौं वर्षपहिले मानव चिन्तनको विकास भएदेखि नै बिभिन्न बिचारहरु निर्माण हुँदै आए । सुरुको मानव ज्ञान र चेतनाले जीवनको सिर्जना बनिबनाउ रुपले भएको भन्नेसम्म सोच्न भ्याए । (अहिले प्राकृतिक विज्ञानले जीवन सुरुमा सोचिएजस्तो बनिबनाउ रुपमा होइन, बरु सुरुमा सूक्ष्म एक कोषीय जीवको रुपमा सृष्टि भई उद्विकासको प्रकृयाबाट लाखौं, करोडौं र अरबौं वर्षको अन्तरालमा सुस्तसुस्त एक कोषीयबाट बहुकोषीय हुँदै सरल जीवहरुबाट क्रमशः जटिल जीवहरु विकसित भई पछिल्लो समयसम्ममा उच्च विकसित मानव जातिको विकास भएको हो भन्ने कुराको पुष्टि गरिसकेको छ ।) बनिबनाउ रुपमा जीवन–सृष्टि हुनका लागि त कुनै ठूलै र अस्वभाविक शक्तिको आवश्यक त पथ्र्यो नै । अर्को कुरा, प्राकृतिक वस्तु, तिनीहरुको संचालन प्रणाली, संचालन नियम, सृष्टि, विकास र ध्वंशको प्रकृयाबारे ज्ञान हुनुपूर्वको त्यस समयमा मानव चिन्तनले अलौकिक शक्तिलाई जन्म दियो । सुरुमा अलौकिक शक्ति निराकार थियो । तर, पछाडि आएर मानिसहरु स्वयंले मानव चिन्तन निर्मित त्यस अलौकि शक्तिलाई देवी, देवताको रुपमा मानव तथा अन्य जीवाजन्तुका आकार प्रकारसँग मिल्दोजुल्दो रुप दिन थाले । अलौकिक शक्तिप्रति आस्था, त्यस शक्तिको कथा एवं साहित्य, अलौकि शक्तिको आधारमा व्यवहार, संस्कृति, धर्म र धार्मिक चिन्तन बिस्तारै विकास भए ।

पृथ्वीमा जीवन–सृष्टि कुनै अलौकिक शक्तिबाट नभई प्राकृतिक प्रकृयाले नै अजैविक वस्तु जीवित वस्तुमा रुपान्तरण भई भएको हो भन्ने बिचार ईशापूर्व चौथो शताव्दीका ग्रीक दार्शनिक अरस्तूले पहिलो चोटि व्यक्त गरेका थिए । उनले उदाहरणको रुपमा शितबाट ‘एफिड’ किरा, कुहिएको चीजबाट उपिँया, परालबाट मुसा र पानीमुनि कुहिएको काठको मुढाबाट गोहीको सृष्टि हुन्छ भने । जीवन अलौकि शक्तिबाट सृष्टि भयो भन्ने पुरानो बिचारलाई चुनौति दिए पनि उनले जीवन बनिबनाउ रुपमा सृष्टि भएको भन्ने पुरानै बिचारलाई पुनः निरन्तरता दिए । विज्ञानको जन्म त अठारौं शताब्दीमा मात्र भएको हो । तर, वैज्ञानिक चिन्तन र कर्म अरस्तूको समयदेखि नै सुरु भएको थियो । अठारौं शताब्दीपूर्व वैज्ञानिक चिन्तन र कर्मलाई प्राकृतिक दर्शन भनिन्थ्यो ।

दार्शनिक अरस्तू ।

अरस्तूले व्यक्त गरेको अजैविक वस्तुबाट बनिबनाउ जैविक वस्तु सिर्जना हुन्छ भन्ने बिचारलाई सत्रौं शताब्दीसम्म पनि थुप्रै मानिसहरुले विश्वास गर्दै आए । अरस्तूको बिचारलाई आकस्मिक उत्पत्ति (spontaneous generation) सिद्धान्तको रुपमा मानिसहरुले ब्याख्या विश्लेषण गर्दै आए ।

अरस्तूको बिचार पुरानो बिचारलाई चुनौति दिने क्रान्तिकारी खालको थियो । तर, त्यसलाई पुष्टिका लागि लामो समयसम्म कसैले प्रयोग र परीक्षण गरी हेरेनन् ।

अरस्तूको बिचारलाई सर्वप्रथम सत्रौं शताब्दीमा सर थोमस ब्राउनले गरे । उनले अरस्तूको बिचारलाई “झूठा विश्वास” माथिको आक्रमण एवं “अशिष्ट गल्ती” को रुपमा ब्याख्या गरे । सन् १६६५ मा वैज्ञानिक रवर्ट हूकले सूक्ष्म जीवहरुको अस्तित्वको अवधारणा अगाडि ल्याए । उनले हलुका र नरम काठ कर्कमा सूक्ष्म भागहरु मिलेर रहेको पत्ता लगाए । पछि त्यसलाई कोष (cell) नामाकरण गरियो ।

जीवहरुको शरीरमा कोष पत्ता लागेपछि अरस्तूको ‘आकस्मिक जीवन–सृष्टि’ को सिद्धान्तमाथि झनझन प्रश्न उठ्न थाल्यो । यसैबीच सन् १६६८ मा इटालियायी वैज्ञानिक फ्रान्सेस्को रेडीले मासुमा झिंगा बस्न नपाउने गरी संरक्षित गरिराख्दा किरा नपर्ने प्रयोग गरी सिद्ध गरिदिए ।

त्यस्तै गरी सन् १६७६ मा वैज्ञानिक एन्थोनी लिउवेनहकले सूक्ष्मदर्शक यन्त्र प्रयोग गरी सर्वप्रथम सूक्ष्म जीव पत्ता लगाए । सम्भवतः उनले सर्वप्रथम अवलोकन गरेका सूक्ष्म जीवहरु प्रोटोजोवा र ब्याक्टेरिया हुन् । सन् १८६१ मा वैज्ञानिक लुई पास्चरले ढुसी एवं ब्याक्टेरियाजस्ता सूक्ष्म जीवहरु अजैविक वस्तुबाट बनिबनाउ रुपमा सिर्जना नहुने प्रमाणित गरिदिए । (विकिपेडिया विश्वकोषबाट)

वैज्ञानिक लुई पास्चरसम्म आइपुग्दा अरस्तूको ‘आकस्मिक जीवन–सृष्टि’ को सिद्धान्त असत्य ठहर हुन आयो । तर, सूक्ष्म जीवहरु बारेको अध्ययन अनुसन्धान बढ्दै गए अनुसार ‘जीवन–सृष्टि अजैविक वस्तुबाट भयो’ भन्ने अरस्तूको बिचारको एउटा खण्डमा भने वैज्ञानिकहरुको ध्यान झन गहिरो हुन थाल्यो ।

वैज्ञानिक लुई पास्चर ।

यसैबीच उन्नाइसौं शताब्दीमा वैज्ञानिक चाल्र्स डार्विनले आफ्नो ५ वर्षको समुद्री जहाज यात्रा र त्यसपछिको २० वर्षको निरन्तर अध्ययन एवं चिन्तन–मननपछि ‘विकासवाद’ को सिद्धान्त बाहिर ल्याए । त्यो सिद्धान्तले जीवन बनिबनाउ रुपमा कुनै अलौकिक शक्तिद्वारा सृष्टि भएको हो भन्ने पुरानो बिचारलाई तथ्यहरुद्वारा गलत भएको सावित गरिदियो । विकासवादले ‘जीवन सुरुमा अहिले विविध प्रकारका प्राणी तथा वनस्पतिहरु जसरी जुन रुप, रङ्ग र आकारप्रकारमा छन् त्यसरी थिएन, जीवन त सुरुमा रहेको सरल रुपबाट समय अन्तरालमा क्रमशः निरन्तर परिवर्तनको प्रकृयामा अगाडि बढी झनझन जटिल रुपमा रुपान्तरण भई अहिलेको अवस्थामा आएको हो’ भन्ने कुरा पुष्टि गरिदियो । मानव त पछिल्लो विकसित जीवन हो । यो बाँदरको कुनै पुर्खाबाट लाखौं वर्षपहिले छुट्टै रुपमा रुपान्तरित भई विकसित भएको हो भन्ने बिचार विकासवादले अगाडि ल्यायो ।

वैज्ञानिक चार्ल्स डार्विनले पृथ्वीमा सुरुमा एक कोषीय जीव कसरी आयो भन्ने सवालमा आफ्नो बिचार सन् १८७१ मा बाहिर प्रकाशमा ल्याए । उनले ११ फेब्रुअरी १८७१ मा आफ्ना मित्र एवं अर्का वैज्ञानिक जोसेफ डाल्टन हूकरलाई लेखेको पत्रमा जीवन–सृष्टि प्राकृतिक प्रकृयाबाट भएको हो भन्ने आफ्नो बिचार व्यक्त गरे । त्यसै पत्रमा उनले जीवन–सृष्टि पृथ्वीको सुरु समयमा सम्भवतः एमोनिया, फोस्फोरिक लवण, प्रकाश, ताप, बिजुली आदिको साथमा न्यानो पानी पोखरीमा भयो भन्ने बिचार राखे । डार्विनले सुरुमा अजैविकबाट जैविक वस्तुको रुपमा प्रोटिन बनेको र त्यही पछि जटिल जैविक अणु हुँदै सूक्ष्म जीवको रुपमा रुपान्तरित भएको हुनुपर्छ भने । उनका अनुसार त्यो प्रकृया अहिले हुन्न, किनकि त्यस्तो पदार्थ बन्न नपाउँदै तुरुन्तै जीवाणुहरुले खाइदिने वा त्यो सोसिएर नष्ट हुने हुन्छ ।

चार्ल्स डार्विन ।

डार्विनको बिचारलाई पछि सन् १९२४ मा रुसी वैज्ञानिक अलेक्जेण्डर ओपारिनले प्रयोगशालामा परीक्षण गरी पुष्टि गरिदिए ।

वैज्ञानिक ओपारिनले प्रयोगशालामा ग्लासको बोटलमा डार्विनले भनेजस्तो अवस्था सिर्जना गरी परीक्षण गरी हेरेका थिए । परीक्षणमा उनले अजैविक वस्तुबाट नै एक कोषीय जीवजस्तो देखिने जैविक पदार्थ सिर्जना भएको पाएका थिए । तर, उनले जीवकोष नै भने सिर्जना गर्न सकेन ।

वैज्ञानिक ओपारिनको परीक्षणको ८० वर्षपछाडि आएर सन् २००४ मा वैज्ञानिकहरुले प्रयोगशालामा प्रारम्भिक जीवकोषको आविष्कार गरेका छन् । प्रारम्भिक जीवकोष कस्तो हुन्छ भन्ने कुरामा अहिलेसम्म वैज्ञानिकहरुले सैद्धान्तिक रुपमा मात्र व्याख्या विश्लेषण गर्दै आइरहेका थिए । तर, अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा अनुसन्धानरत प्रोफेसर डा. जेम्स ए लेकले नेतृत्व गरेको अनुसन्धान टोलीले प्रयोगशालामै प्रारम्भिक जीवकोष आविष्कार गर्न सफलता प्राप्त गरे । यो सफलताले प्रारम्भिक क्रमिक जीवन विकास (early evolution) को अध्ययन, व्याख्या र विश्लेषणमा नयाँ आयाम थप्यो ।

वैज्ञानिक अलेक्जेण्डर ओपारिन

झण्डै ३ अर्ब वर्षपहिले पृथ्वीमा पहिलो जैविक पदार्थको सृष्टि भयो । यो कुरो वैज्ञानिकहरुले धेरै पहिलेदेखि भन्दै आएका हुन् । त्यतिखेर पृथ्वीको धरातलीय स्थिति र वायुमण्डलीय स्थिति जैविक पदार्थको सृष्टिको लागि अनुकूल थिए । पृथ्वीको धरातल पानीले भरिएको थियो भने जैविक पदार्थ बन्नको लागि आधारभूत भूमिका खेल्ने एमोनिया, मिथेनजस्ता ग्याँसहरुको मात्रा वायुमण्डलमा प्रचुर थियो । जैविक पदार्थ विकसित भएर नै पछि जीवनको प्रारम्भिक रुप बनेको थियो । र, त्यहीँबाट जीवनको प्रारम्भ भएको थियो ।

जीवनको शुरुमा एमोनिया, मिथेनजस्ता ग्याँसहरुबाट एमिनो एसिड नामक जैविक पदार्थ बन्यो भने त्यही पदार्थ पछि न्यूक्लिक एसिड हुँदै प्रोटिन र प्रोटिन हुँदै प्रारम्भिक जीवकोषमा विकसित भयो । र, त्यही प्रारम्भिक जीवकोषबाट नै पछि एक कोषीय जीवको उत्पत्ति भयो । आज पृथ्वीमा एक कोषीय जीवदेखि भीमकाय शरीरको ह्वेल माछा र चेतनारहित प्राणीहरुदेखि मानिसजस्तो बुद्धिमान प्राणीसम्म सबै नै त्यही प्रारम्भिक जीवकोषबाट नै विकसित भएका हुन् ।

प्रारम्भिक जीवकोषमा जे चीजहरु हुन्थे ती चीजहरु भएको जीवकोष डा. जेम्स ए लेकको वैज्ञानिक टोलीले प्रयोगशालामै आविष्कार गर्यो । त्यस्तो जीवकोषको आविष्कार गर्न त्यस टोलीले प्रयोगशालामा प्रारम्भिक समयका व्याक्टेरियाजस्ता दुई किसिमका कोषहरुलाई युकारिओट कोषमा पसाइदियो । र, ती कोषहरुको जैविक संयोजनबाट नै प्रारम्भिक कोषको आविष्कार भएको दावी डा. जेम्सको टोलीको रह्यो । स्मरणीय छ युकारिओट त्यस्तो कोषको नाम हो जुन बहुकोषीय जीवहरुमा पाइन्छ ।

नेचर जर्नल का अनुसार प्रारम्भिक जीवकोषको वास्तविक रुपको विश्लेषणको लागि आवश्यक कम्प्युटर प्रोग्रामको रचना गर्न डा. जेम्सले चार वर्ष लगाए । उनको कामलाई जर्मनीको डसेल्डर्फ विश्वविद्यालयका वैज्ञानिक डा. विलियम मार्टिनले प्रारम्भिक क्रमिक जीवन विकास (early evolution) को अध्ययनमा प्रमुख योगदानको रुपमा व्याख्या गरेका थिए । डा. विलियम प्रारम्भिक जीवन विज्ञानका विज्ञ हुन् ।

वैज्ञानिकहरुका अनुसार सबै जीवहरु एउटै जीवन–वृक्षका हाङ्गाविङ्गाहरु हुन् । पृथ्वीमा उत्पत्ति भएको पहिलो जीवकोषबाट क्रमिक रुपमा विकसित हुँदैआई मानव जातिसम्म आइपुग्न करोडौंकरोड वर्ष लाग्यो । वैज्ञानिकहरुले जीवनको यो लामो यात्रा कसरी सम्भव भयो र यसमा कस्ताकस्ता रुपका जीवनहरुले भाग लिए भन्ने कुरामा लगातार अनुसन्धान गरिरहे ।

यही क्रममा सन् १९७७ मा डा. कार्ल आर. उजले एउटा महत्वपूर्ण तथ्यलाई उजागर गरे । उनले यो काम वंशाणुको डि.एन.ए. श्रृंखला पहिलो पटक बाहिर प्रकाशमा आएको लगत्तै गरेका थिए । डा. उजले के तथ्य बाहिर ल्याए भने जीवन तीन प्रकारका आधारभूत जीवकोषहरुबाट उत्पन्न भएको थियो । ती हुन्–यूकारिओट्स, व्याक्टेरिया र आर्कि । अन्तिम प्रकारको जीवकोष अर्थात् आर्कि एक प्रकारको व्याक्टेरिया नै हो, जुन तातोपानीको झर्ना र समुद्री पीँधमा ज्वालामुखी फाटेको चिराहरुमा पाइने गर्छ । डा. उजको यो व्याख्यालाई वैज्ञानिक जगतले स्वीकारेको छ । तर ती तीन प्रकारका प्रारम्भिक जीवकोषहरु कसरी बने भन्ने कुराको सटिक जवाफ अझै आउन सकेको थिएन । उनको कुरालाई उपयुक्त तरिकाले व्याख्या गर्न अन्य वंशाणुविद्हरुले थुप्रै डि.एन.ए. श्रृंखलाहरुको आविष्कार गरे । यसभित्र सम्पूर्ण वंशाणु मानचित्र (genomes) पनि पर्छ । वास्तवमा वंशाणु मानचित्रले पछिल्लो समयमा जीवशास्त्रीहरुलाई यथार्थ जीवन–वृक्ष तयार गर्न धेरै नै सघाउ पुर्यायो ।

तर डा. जेम्सले तयार गरेको जीवन–वृक्ष रचना गर्ने कम्प्युटर प्रोग्रामलाई एउटा अनौठो र जटिल तथ्यले सुनिश्चित गर्यो । त्यो के हो भने प्रारम्भिक जीवन इतिहासमा वंशाणु मानचित्रहरु (genomes) एक आपसमा समाहित भएका देखिन्छन् । उदाहरणको लागि जीवकोषभित्र शक्ति उत्पादन गर्ने सानो अंग माइटोकोन्ड्रिया (mitochondria) कुनै समयमा एक स्वतन्त्र व्याक्टेरिया थियो । त्यसलाई पहिलो यूकारिओटिक कोषले आफूभित्र समाहित गरेको थियो । यो तथ्य पुष्टि हुने किसिमको सफल परीक्षण डा. जेम्सको टोलीले प्रयोगशालामै देखाइदिए ।

  • तुल्सीदास महर्जन
(Visited 48 times, 1 visits today)

टिप्पणी

comments



(Next News) »