Main Menu

झलक सुवेदीलाई अनिल भट्टराईको पत्र

दुर्इ–वर्गे चिन्तनबाट बाहिर निस्कौँ : अनिल भट्टराई

अनिल भट्टराई

अनिल भट्टराई

झलकजी,

तपार्इंको इमूल्याङ्कनमा प्रकाशित ‘अब राजनीतिमा वर्गीय ध्रुवीकरण सुरु हुन्छ‘ शीर्षकको अन्तर्वार्ता पढेँ । हुन त त्यसमा धेरै कुराहरू छन् । यस पत्रमा चाहिँ तपार्इंको किसानको मजदुरमा रूपान्तरणका अनुमानबारे लेख्छु ।

तपाइँले अन्तर्वार्तामा सजिलै ‘किसानबाट मान्छे मजदुर वर्गमै परिणत हुने हो’ भन्दिनुभएको छ । यो क्लासिकल मार्क्सवादी नक्कल हो । नेपाली वास्तविकताका लागि एकफेर बितेका पाँच दशकमा गरिएका दशके कृषि सर्वेक्षणका तथ्याङ्कहरू राम्ररी हेर्नु पर्छ । नेपालमा करीब ४० लाख परिवारको हातमा जमीन छ । अहिले ठूला जमिनवाल तीमध्ये हजार परिवार पनि छैनन् । आउने दशकमा ती ठूला जमिनवाल परिवार पनि साना साना जमिनका मालिक हुनेछन् भन्ने लगभग निश्चित नै छ । यी ठूला जमिनवाला पनि नेपालका केही तराइका जिल्लाहरूमा मात्रै सिमित छन् । परिवारका युवा सदस्यहरू विदेशमा मजदुरी गर्न गएका छन् तर तिनको स्वदेशमा वर्गीय स्थान भनेको क्लासिकल मजदुर वर्गको होइन । आम्दानीको हिसाबकिताब परिवारको स्तरमा गरिन्छ र परिवारको आम्दानीको एउटा हिस्सा विदेशी कामदारले पठाउने पैसा हो । किसान परिवार नै किसानीबाट मजदुरीमा गएको कत्ति पनि देखिन्न । बरू जमीनका स्वामीहरूको सँख्या बढेको देखिन्छ, यद्यपि जमिनको आकार भने ह्वात्तै घटेको छ ।

तपाईंलाई नेपालमा जग्गा भनेको कृषिको उत्पादनको साधन मात्रै होइन भन्ने राम्ररी थाहा छ । राज्यका विभिन्न परियोजनाहरूले जमीनका महत्व निर्माण गर्छन् । त्यस्तै बैँकमा जम्मा भएको पैसा र जमीनको कारोबारले थप जटीलता थप्दै गएको छ । एउटा क्लासिकल मार्क्सवादीको हिसाबले त तपाईलाई किसानबाट मजदुर हुने प्रकृया एउटा समाज विकासको अमुर्त नियमले चलाउने परिवर्तन जस्तो लाग्छ होला । तर यी ‘मार्क्सवादी विज्ञान’लाई एक फेर थाँती राखेर मिहीन हिसाबले हुँदै गरेका परिवर्तनहरू केलाउने बित्तिकै हामी अर्कै निष्कर्षमा पुग्छौँ । त्यो निष्कर्षले मजदुर र पुँजीपति भन्ने सजिलो वर्ग विन्यास गर्न दिँदैन । विज्ञानका नियमलाई मिल्ने गरी जटीलतालाई अति सरलिकृत त गर्न सकिन्छ तर त्यसमा आधारित राजनीति निष्प्रभावी हुने पक्का छ । पहिलो फोकस वर्गमा होइन, राज्यमा गर्नु पर्ने हो । नेपालमा राज्य उदय भएदेखि नै सामाजिक, आर्थिक, साँस्कृतिक, भौगोलिक, पर्यावरणीय र राजनीतिक परिवर्तनको चुरोमा रहेको छ । महेशचन्द्र रेग्मीले दशकौँ गरेको इतिहासको अध्ययनपछि आफ्नो जीवनको उत्तरार्धमा लेखेको सानो पुस्तक ‘किङ्ग्स एन्ड पोलिटिकल लिडर्स अफ गोर्खाली एम्पायर’मा यो विषय धेरै पछि बुझेको कुरा उल्लेख गरेका छन् । रेग्मीले त्यस कालखण्डबारे खोजी गरे जो अहिलेभन्दा धेरै फरक थियो पक्कै पनि । उनका निष्कर्षले हामीलाई नेपाली राज्यको नेपाली जनजीवनमा केन्द्रीय भूमिका बु्झ्न सघाउँछ । तर अहिलेको राज्यबारे बुझ्न चाहिँ उनका तथ्यहरू मात्रैले पुग्दैनन् ।

हामीसँग अहिलेको नेपाली राज्यबारेको ज्ञान ज्यादै सतही छ । यसको फैलावटको एउटा नक्सासम्म पनि कसैले बनाउन सकेको छैन । हरेक टोलसम्म पुलिस चौकी पुगेका छन् । जिल्ला तथा त्यसभन्दा केही तहसम्म सैनिक संस्थाहरूको उपस्थिति छ । विभिन्न हिसाबले हरेक दिन राज्यका तमाम संस्थाहरूसँग नागरिकहरू जोडिन्छन् । यत्रो ठूलो प्रशासनिक संयन्त्र छ । वित्तिय तथा मौद्रिक क्षेत्रमा यति ठूलो संलग्नता छ । यतिका धेरै मानिसहरू मौद्रिक तथा वित्तीय व्यवस्थामा जोडिएका छन् । बाटोघाटोले गर्दा मानिसहरू झन्भन्दा झन् बढी चलायमान हुँदै गएका छन् । उपभोगमा यति व्यापक परिवर्तन हुँदैछ । नागरिकहरूबीचका भिन्नताहरूबारे त तपाईं जानकार नै हुनुहुन्छ । भाषा, जात, जाति, उमेर, क्षेत्र, गाउँ, शहर, यौनिकता, पेशा जस्ता विभिन्न हिसाबले नागरिकहरूबीच भिन्नता छ । यी भिन्नताहरूले सरलीकृत दुइवर्गे चिन्तनका सीमाहरू देखाउँछन् । नेपालमा प्रगतिशील राजनीति गर्ने हो भने यसका जटीलताहरूलाई नजरअन्दाज गरेर सतही दुइवर्गे चिन्तनबाट बाहिर निस्कनै पर्छ । सबैभन्दा ठूलो कुरा नेपाली राज्य नेपालरूपी कोठाको हात्ति हो । यसको व्यवस्थापन र रूपान्तरणले सामाजिक, साँस्कृतिक, आर्थिक र पर्यावरणीय सबै क्षेत्रमा निक्कै ठूलो प्रभाव पार्छ । दुई वर्गबीचको द्वन्दको राजनीतिक चिन्तन बौद्धिक हिसाबले सजिलो बाटो हो तर यसले राजनीतिक प्रकृयाबाट के गर्ने हो भन्ने कुरा सोच्न धेरै मद्दत गर्दैन ।

नेपालमा परिवारको औसत सदस्य संख्या ६ जनाको हाराहारीमा छ। त्यस हिसाबले जमीनसँग सिधा गाँसिएको जनसंख्या नै दुर्इ करोड तिसलाख जति हुन आउँछ । यतिका धेरै परिवारहरू कसरी कुन औद्योगिक क्षेत्रमा मजदुर हुन जालान् भन्ने कुराको गम्भीर समीक्षा गर्नु पर्छ । समाज विज्ञानको त्यस्तो कुनै अमूर्त नियम हुँदैन । हरेक ठाउँ र समयको सामाजिक परिवर्तनको विश्लेषण यस्ता अमूर्त नियमले के भन्छ भनेर होइन कि ठाउँ विशेषको गहन खोजबाट मात्रै थाहा पाउन सकिन्छ । के कुन प्रकृयाबाट यति धेरै परिवारमा बाँडिएको जमिन केही सिमित पुँजीपती वर्गमा थुप्रेला भन्ने पनि कहीँ कतै देखिँदैन । नेपालमा पुरातन ढङ्गको औद्योगिकरण सम्भव नै छैन । चीन र भारतका उद्योगहरूको स्केलको फाइदा नेपालका उद्योगहरूले कुनै हालतमा लिन सक्दैनन् । तपाईंले एकफेर भारत र चीनमै पनि उद्योगका क्षेत्रमा भएको मेकानाइजेसनबारे अध्ययन गर्नु होला । त्यहाँ पनि औद्योगिक रोजगारी घट्दो छ । आशिष कोठारे र असिम श्रीवास्तवको किताब ‘चर्निङ्ग द अर्थ’ पढ्नुहोला । यसले भारतको औद्योगिक क्षेत्रमा आउँदै गरेको परिवर्तन बुझ्न सघाउनेछ । चाइनामा अहिले रोबोटको प्रयोग व्यापक हुन थालेको छ । आउने दशकमा कम्प्युटर र रोबोटको विकासले उत्पादन प्रविधिमा आकाश जमिनको परिवर्तन आउँदैछ संसारभरि । चाइनिज राज्यमा पकड जमाएको हुनाले कम्युनिष्ट पार्टिले मानिसहरूलाई सामाजिक सययोगका विभिन्न उपायहरू अबलम्बन गर्न थालेको छ, जस्तो– बुढाबुढी भत्ता तथा स्वास्थ्य बिमा । भारतमा पनि स्वास्थ्य क्षेत्रमा अलिअलि पाइला चालिएको छ तर केही राज्यहरूबाहेक आम मानिसहरूका लागि राजकीय सहयोगको क्षेत्र सिमित छ ।

राजनीतिक विश्लेषक झलक सुवेदी

राजनीतिक विश्लेषक झलक सुवेदी

मार्क्सवादी विज्ञानले भन्ने गरेको दुईवर्गे वर्गसङ्घर्ष कसरी अघि बढाउने भन्ने कुराभन्दा पहिले सकेसम्म मिहिन पाराले कस्तो समाज व्यवस्था बनाउने हो र त्यसको लागि कस्तो राज्य बनाउनु पर्छ भन्ने कुराबारे चर्चा गहन बनाउनु पर्छ । यसका लागि मिहिन पक्षहरूबारे अध्ययन हुनु पर्छ । हामीसँग त अहिले पासपोर्ट कसरी बन्छ भन्नेसम्मको पनि खासै केही अध्ययन छैन । प्रगतिशिलहरू ढ्याके चिन्तनमा डुबेको प्रतीत हुन्छ । अनुसन्धानका लागि बाहिरबाट आउनेहरूको ध्येय पनि हामीलाई राजनीतिक रूपले आवश्यक ज्ञान निर्माणभन्दा पनि अनुसन्धानकर्ताका साँघुरा सोचबाट बनेका छन् । एउटा महेशचन्द्र रेग्मीले एकाग्र भएर एउटा समयबारे हामीलाई ज्ञानको ठूलो भन्डार छोडेर गएका छन् । हाम्रै समयका लागि र यो समय सापेक्ष प्रगतिशील राजनीति बनाउनका लागि ती ज्ञान अलिअलि काम लाग्छन् तर मूल काम लाग्ने कुरा चाहिँ उनको जस्तो मिहिन अध्ययनको विधि हो । त्यसको अभावमा नेपालको प्रगतिशील चिन्तन एउटा ढ्याके विचारदेखि अर्को ढ्याके विचारबीच ओहोरदोहोर गरिरहन्छ ।

त्यसैले कम्तिमा पनि ‘आउने २० वर्षमा मजदुर वर्ग नेपालको जनसंख्याको ३०/४० प्रतिशत पुग्नेछ’ जस्तो ढ्याके भविष्यवाणी भन्दा पनि भएका तथ्याङ्कहरूले के हुँदै गरेको देखाएका छन्, यो हुँदै गरेका परिवर्तनका कारकहरू के के हुन् भन्ने खोजमा लगायौँ भने राजनीतिक रूपले प्रभावकारी निष्कर्षमा पुग्न सकिन्छ । मलाई राम्ररी हेक्का छ– मिहिन र असल ज्ञान आफैले असल राजनीति बनाउन सक्दैन । तर असल र मिहिन ज्ञान भएन भने असल राजनीति बन्न सक्दैन भन्ने पनि पक्का हो ।

तपाईंको
अनिल भट्टराई


झलक सुवेदीको अन्तर्वार्ता पढ्नुहोस् : अब राजनीतिमा वर्गीय ध्रुवीकरण सुरु हुन्छ : झलक सुवेदी

(Visited 312 times, 1 visits today)

टिप्पणी

comments