Main Menu

भूमण्डलीकृत पुँजीवाद आयो, लेनिनको युग सक्यो – आहुति [अन्तर्वार्ता]

(गत माघ ९ गते नेकपा (माओवादी केन्द्र) सँग सम्बन्ध बिच्छेद गर्दै छुट्टै नयाँ कम्युनिस्ट आन्दोलनको अभियान सुरु गर्छु भनी अगाडि बढेका नेता आहुतिसँगको अन्तर्वाताको पहिलो खण्ड प्रकाशित गर्यौं । यहीबीच उनले गत मंगलवार आफ्नो फेसबुक पेजमा “भूमण्डलीकृत पुँजीवाद र संसदवादका विरूद्ध वैज्ञानिक समाजवादको पक्षमा नयाँ कम्युनिस्ट अभियानको म एक अभियन्ता हुँ ! आजैको मितिबाट आजभन्दा पहिले म रहेको पार्टी र संगठनसँग सम्बन्धविच्छेद गरेको जानकारी गराउन चाहन्छु ।” भन्ने स्टाटस लेखी नेकपा (माओवादी केन्द्र) र सोसँग सम्बन्धित आफू संलग्न सम्पूर्ण संगठनहरुबाट अलग भएको घोषणा गरेका छन् । नेता आहुति पार्टीबाट अलग नहुँदै मूल्याङ्कन अनलाइनले पुस महिनामा उनीसँग लिएको अन्तर्वार्ताको सम्पादित दोश्रो एवं अन्तिम खण्ड यहाँ प्रस्तुत गरिन्छ ।–सम्पादक)

lenin-era-end-aahuti-interview-part-2

त्यसो भए एमाले र माओवादी केन्द्र मिलेर बन्ने अबको पार्टी कस्तो होला त ?

– उहाँहरुको पार्टी कम्युनिष्ट पार्टी पनि हुदैन, वामपन्थी पार्टी पनि हुदैन भनेर त गठबन्धनका प्रमुख नेता केपी ओलीले नै भनिसक्नुभयो । त्यसको खण्डन अर्को पार्टीका नेताले गरेका छैनन् । उहाँहरु सामाजिक जनवादी पुँजीवादी पार्टीको रुपमा मात्र बाँकी रहनुहुन्छ कि भन्ने एउटा आशा रहन सक्छ । तर, त्यस्तो पार्टी बन्ने स्थिति पनि देखिन्न, किनभने त्यस्तो पार्टी बन्नलाई पनि नेताहरु विभिन्न प्रतिष्ठानका शेयरवाला हुन मिल्दैन । जस्तो त्यो बन्ने पार्टी भित्रका नेताहरुले टिचिङ्ग अस्पताल चलाउँछन्, त्यसमा लगानी गर्छन् भने त्यो पार्टीले त्यो टिचिङ्ग अस्पताललाई कसरी सरकारीकरण गर्न सक्छ ? त्यसले बिद्यार्थीको फी कसरी घटाउन सक्छ ? नाफा त खानुपर्यो नि ! त्यस्तो भइसकेपछि उहाँहरुको पार्टी कसरी सामाजिक जनवादी हुन्छ त ? त्यसैले उहाँहरुको पार्टी सामाजिक जनवादी पार्टी पनि हुन सक्दैन । दोस्रो, आशा वाम प्रजातान्त्रीक पार्टी बन्ने होला । म देख्छु, यसको पनि सम्भावना छैन । किनभने, वामपन्थी भनेको त भैरहेको आर्थिक, राजनीतिक, सांस्कृतिक यथास्थितिविरुद्ध जाने शक्ति हो । त्यसो गर्नका निम्ति त उहाँहरु यो संविधानले ल्याउने यथास्थितिविरुद्ध जान सक्नुपर्ने हुन्छ । तर, उहाँहरु यो संविधानको स्पिरिटलाई नै लागु गर्न पनि तयार हुनुहुन्न । जस्तो कि १ सय ६५ जना उम्मेदवार उठाउँदा दुईटा पार्टीले जम्मा पाँचजना महिला उठाउँछन्, दलीत जम्मा तीनजना उठाउँछन् । हिजो उहाँहरुले महिला, दलितहरुलाई उठाउँदा भोट नआउने खतरा हुन्छ भन्नुहुन्थ्यो । त्यतिखेर त्यो तर्कको सान्दभिकता थियो । तर, आज त जो कोही पनि उठाउँने बित्तिकै जित्ने नै स्थिति थियो । यस्तो स्थिति हुँदाहुँदै पनि अहिले उहाँहरुले त झन कटौती गर्नुभयो । यसबाट उहाँहरु अहिलेको संविधानको स्पिरिटमा पनि हुनुहुन्न भन्ने पुष्टि मिल्छ । उहाँहरुले त काँग्रेस पार्टीभन्दा अलि भिन्न खालको गतिविधि गर्ने बुर्जुवा पार्टी मात्र बनाउन सक्नुहुन्छ, त्यहाँभन्दा बढी उहाँहरु जान सक्नुहुन्न ।

जहाँसम्म उहाँहरुलाई भोट यति धेरै आयो भन्ने जुन छ नि, संसारमा कुन त्यस्तो संसदीय चुनाब छ, जहाँ सेना, पुलिस, अदालत, सरकार, सञ्चारमाध्यम, बुद्धिजीवी सबै लागेर ‘भोट हाल्नुपर्छ, हाल्नुपर्छ’ भनेर कराई सकेपछि, ढ्वाङ थापेपछि जनताले भोट नहालेको होस् । चुनाव नै गरेपछि भोट त आइहाल्छ नि । बाल्टिन लगेर आँगनमा थापेपछि कि त पानी भर्ने हो कि त आगो बाल्ने हो, कि धुलो भर्ने हो । जनताले त भोट हाल्छन् नि किन हाल्दैनन् ? जनता त प्रगति खोज्छन् । पद्मरत्न नआउँदा काठमाडौंका जनताले जोगमेहरलाई भोट हालेकै हुन् । बीचमा नानीमैंया दाहाल आइन् । उनैलाई पनि जनताले भोट हाले । त्यसपछि ०४६ सालको परिवर्तन भयो, जनताले काँग्रेसलाई भोट हाले । त्यसपछि फेरि एमालेलाई हाले । त्यसपछि फेरि माओवादीलाई पनि हालेकै हुन् । जनता जहिले पनि आफ्नो जीवनको दुःखबाट मुक्ति पाउँन एउटा सानो झिल्को देखे पनि त्यतैतिर ओइरिन्छन् । यसको मतलब के होइन भने जनताले यिनीहरु कम्युनिष्ट पार्टी नै हुन् भनेर अनुमोदन गरे । त्यस्तो त होइन ।

जितकै मात्र कुरा गर्ने हो भने अमेरिकामा ट्रम्पले पनि त जितेको छ नि । ट्रम्प के वामपन्थी हो त ? भारतमा मोदीले पनि जितेकै हो । तेस्रो कुरा, उहाँहरुले मुलुकलाई विकास र संमृद्धितिर लान्छौं भन्नुभएको छ । यो भाषामा बुझ्नुपर्ने के छ भने आजको विश्वको भूमण्डलीकृत पुँजीवादले के शोषणलाई बढाउनका निम्ति नै संमृद्धि ल्याउने कुरा गर्छ । हिजोको औद्योगिक एकाधिकार पुँजीवादले उद्योगहरु विश्वभर खोलीदिन्छु भन्थ्यो । अहिले भूमण्डलीकृत पुँजीवाद छ, उसले अब संमृद्धि ल्याइदिन्छु भन्छ । उहाँहरुले त्यही भाषा र लवज प्रयोग गर्नुभएको छ । उहाँहरुले कसरी संमृद्धि ल्याउनुहुन्छ त ? भन्नका लागि त विदेशी पुँजीपति ल्याउने र राष्ट्रिय पुँजीपतिलाई बढावा दिदै राष्ट्रिय स्वाधिन पुँजी निर्माण गर्दै संमृद्धि गर्ने भन्छन् । तर, बहुराष्ट्रिय कम्पनीहरुमा प्रवेश गरेपछि अथवा आजको भू—मण्डलीकृत पुँजीवादको युगमा हामी छौं भनिसकेपछि हामीले सोच्नुपर्ने यो छ कि, के नेपालमा राष्ट्रिय पुँजीपतिहरु वर्गको रुपमा छन् ? वास्तवमा आज नेपालमा राष्ट्रिय पुँजीपतिहरु वर्गको रुपमा संगठित हुने हालतमा छैनन् वा राष्ट्रिय पुँजीपति वर्ग नै छैन नेपालमा ।

नेपालमा हिजोदेखि नै राष्ट्रिय पुँजीपतिवर्ग नभएको हो ?

राष्ट्रिय पुँजीपति कुन बेला हुन्छ पहिले त्यतातिर जाउँ । राष्ट्रिय पुँजीपति वर्ग एकाधिकार पुँजीवादी युगसम्म हुन्थ्यो । किनकि, एकाधिकार पुँजीले देशका राष्ट्रिय पुँजीपतिहरुसँग मिलेर काम गर्न आउने होइन । उसले राष्ट्रिय पुँजीपतिहरुलाई निल्न आउने हो विदेशी पुँजी लिएर । अहिले विज्ञान प्रविधिमा भएको विकासको कारणले बहुराष्ट्रिय कम्पनीहरु चल्न र चलाउन सक्ने स्थिति आयो । राष्ट्रिय पुँजीपति वर्ग बहुराष्ट्रिय कम्पनीहरुको संजालसँग नजोडिने हो र उसले देशभित्र पनि दलाल पुँजी निर्माण गर्ने अवस्था नल्याउने हो भने ऊ बाँच्न सक्दैन । त्यसैले राष्ट्रिय पुँजीपति वर्ग खाने चक्र त शुरु भैसक्यो । अब छलेर पनि राष्ट्रिय पुँजीपति कोही रहन्छ भने पनि त्यो वर्गको रुपमा रहन सक्दैन । त्यसकारण खासमा राष्ट्रिय पुँजीपति वर्ग नै छैन । उहाँहरु राष्ट्रिय पुँजी विकास गर्न त्यो वर्ग कहाँ खोज्न जाने होला ? एउटा सानो उपभोग्य वस्तु वितरण मार्ट खोल्न पनि मलेशिया र कतारदेखि बहुराष्ट्रिय कम्पनीहरु यहाँ आइसके । बजारभरि टोलटोलमा पसिसके उनीहरु । नेपालको सबैभन्दा ठूलो सूपर मार्केट भाटभटेनी के राष्ट्रिय पुँजीको स्थितिमा छ अब ? उसले ९० प्रतिशत सामान बहुराष्ट्रिय कम्पनीको बेच्छ, उसले ठीमीमा उत्पादन भएको काउली मात्र त बेच्ने होइन । उसले आफ्नो ९० प्रतिशत आम्दानीको हिस्सा विदेश पठाउनुपर्ने हुन्छ । त्यसैले ऊ त बहुराष्ट्रिय कम्पनीको एजेन्ट जस्तो मात्र भयो, कसरी राष्ट्रिय पुँजीपति वर्ग हुन्छ । त्यसैले राष्ट्रिय पुँजीपति वर्ग भू—मण्डलीकृत पुँजीवादको आगमन सँगसँगै वर्गको रुपमा अन्त भयो । व्यक्ति कोही छन् भने पनि वर्गीय रुपमा संगठित हुने स्थिति रहेनन् । अब यहाँ त्योभन्दा मुनि कपाल काट्ने, रेष्टुरा खोल्ने, ईंटा भट्टा चलाउने अथवा जीबिकामुखी अर्थतन्त्र चलाउनेहरु बाँकी छन् । हिजो जसरी सामन्तवाद अन्तर्गत एउटा गाई, बाख्रो, भैंसी, दुई रोपनी खेत, पाँच रोपनी बाली भोक पनि नमर्ने, प्रगति पनि नहुने जीविकामुखि अर्थतन्त्र थियो । अहिले दलालपुँजी अन्तर्गत जीविकामुखी, तर पुँजीवादी ढंगले जीविका अर्थतन्त्र त हुने भयो । त्यो खाएर सिधिन्छ, त्यो राष्ट्रिय पुँजी, राष्ट्रिय स्वाधिन पुँजी कसरी भयो ? हिजोको एकाधिकार पुँजीवाद अथवा त्यतिबेलाको साम्राज्यवादको जमानामा जसरी हामी राष्ट्रिय स्वाधिन पुँजी, राष्ट्रिय पुँजीपति वर्गको विकासको नारा दिन्थ्यौं, अहिले त्यसको सान्दर्भिकताको अन्त्य भैसक्यो । अब त्यसरी पहिलेको जमानामा जस्तो राष्ट्रिय स्वाधिन पुँजी त बन्दैन । उहाँहरुलाई पुरानै ढंगले समृद्धि गरुँला भन्ने लागेको होला, तर त्यो अब हुने वाला छैन । उहाँहरु भन्नुहोला कि ‘हामी नेपाललाई अमेरिका, बेलायत, चीनजस्तो समृद्ध बनाउँछौं’, तर त्यो पनि हुनेवाला छैन । आजको यूरोप र अमेरिका किन धनि छन् ? उनीहरुले आफ्ना मजदुरहरुलाई धेरै सुविधा किन दिन सक्छन् भने उनीहरुले एशिया, अफ्रिका र लाटिनअमेरिकालाई लगातार लुटिराखेका छन् । हामीले कसैलाई लुट्ने वा लुट्न सक्ने कुरा पनि भएन ? तेस्रो कुरा, बहुराष्ट्रिय कम्पनीहरु ल्याएर यहाँ कम्पनी चलाउने, विग मार्केट चलाउने, मलहरु चलाउने आदि इत्यादी गरेर रोजगारी सृष्टि गरियो भने पनि करोडौं मानिसहरु १८ घण्टा काम गरेर पनि बल्ल बल्ल बाँच्ने, तर मुठ्ठिभर दलाल पँुजीपतिहरुले यो देशको स्रोतसाधन लुटेर विदेशतिर लगेको लग्यै गर्ने स्थिति पैदा हुन्छ । उहाँहरुले झिलिमिलि बत्ती त बाल्दिनु होला, बानेश्वरको जस्तो ठूलो सडक पनि ठाउँठाउँमा बनाइदिनुहोला, तर त्यस्तो किन गर्नुहुन्छ त ? किनकि उहाँहरुले आफू चढ्नका लागि लाखौंको कार किन्नुहुन्छ । दलाल पुँजीपतिहरुले मध्यमवर्गीय हिसाबले लाखौंको कार किनेपछि त बाटो त जाम हुने नै भयो । जनतालाई त ठूलो बस भए पुगिहाल्थ्यो नि ! दुई फिटको सडक भए पनि पुग्थ्यो । उहाँहरुलाई त एउटै परिवारमा पनि दुई तीन वटा कार चाहियो नि ! तर, श्रमजीविवर्गहरुको निम्ति उहाँहरुले खोजे जस्तो समृद्धिबाट के प्राप्त हुन्छ त ? केही पनि हुँदैन । यसकारण आजको भू—मण्डलीकृत पुँजीवादसँग लड्ने एउटै मात्रै उपाय भनेको समाजवादी अर्थतन्त्रको निमार्णतिर जानु हो । यसको कुनै विकल्प छैन । यो पुँजीवादसँग समानान्तर रुपमा आजको ज्ञानविज्ञानलाई समेत प्रयोग गरेर जनताको स्तरबाट समाजवादी अर्थतन्त्र निमार्ण शुरु गर्नु नै राष्ट्रिय पुँजी निमार्ण गर्ने अर्को वैकल्पिक बाटो हो ।

वाम गठबन्धनले समाजवादी अर्थ व्यवस्थाको कुरा उठाएको छ । चुनावको बेलामा पनि त्यही कुरा उठाएको छ, तपाईंको भनाइअनुसार यी विकास, समृद्धि जस्ता कुराहरु सबै हावाका भए । के त्यस्तो हो ? त्यसो भए अब जनताका लागि कुनै विकल्प छैन त ?

जनताका लागि विकल्प छ । किन नहुनु ? पहिलो कुरा त लेनिनको युग भनेर जेलाई हामी भन्थ्यौं नि, त्यो साम्राज्यवाद एकाधिकार पुँजीवादको युग थियो । र, त्यो सर्वहारा क्रान्तिको युग थियो ।

तर, अहिलेको साम्राज्यवाद एकाधिकार पुँजीवादभन्दा भिन्न र नयाँ ढंगको पुँजीवादी डिजाइन लिएर आयो । त्यो हो भू—मण्डलीकृत पुँजीवाद । संसारभरिका पुँजीपतिहरु स्वार्थका लागि अहिले एकीकृत भएका छन् । यस्तो हुनका लागि उनीहरुलाई विज्ञान प्रविधिले साथ दियो । डिजिटल प्रविधिको भरपूर प्रयोगबाट एकीकृत भई आजको साम्राज्यवादले संसारभरिका श्रमिकवर्ग र राष्ट्रहरुलाई लुटिराखेको छ । अहिलेको युगमा लेनिन युगको अर्थतन्त्र आधारभूत रुपमा अन्त भइसक्यो । अब हिजोको पुँजीवादी युग रहेन र नयाँ युगमा विश्वले प्रवेश गरिसकेको छ । यस्तो किन भयो भने हिजो मेशिन र मानव श्रम मुख्य उत्पादक शक्ति थियो । त्यसैले लेनिनले के भन्नुभयो भने कलकारखानामा हजारवटा मेशिन थपियो भने हजारजना मजदूर, तीन हजार मेशिन भयो भने तीन हजार मजदुर थपिन्छन् र त्यसरी ठूलो सङ्ख्यामा मजदूरहरु केन्द्रित भएपछि त्यहीँबाट विश्वक्रान्तिको तयारी गर्ने ।

तर, अहिले विज्ञान प्रविधिमा भएको विकासले उत्पादक शक्ति मुलभूत रुपमा फेरिएको छ । मानव श्रम र मेशिन उत्पादक शक्ति हुने युगबाट हामी अहिले विज्ञान प्रविधि मुख्य उत्पादक शक्ति हुने ठाउँमा आइपुग्यौं, जसको कारण अब हिजोका हजारवटा मेशिनले गर्ने काम एउटै कम्प्युटरले गर्ने भयो । यसले गर्दा ठूलो सङ्ख्यामा मजदूरहरु कारखानाबाट विस्थापित भए । उनीहरु अब सेवा क्षेत्रमा स्थान्तरित भएका छन् । त्यसैले लेनिनले भन्नुभए जस्तै ठूलो सङ्ख्यामा मजदूरहरु एकै ठाउँमा जम्मा हुने र विद्रोहको वातावरण तयार हुने भन्ने कुरा अब रहेन । मजदुर केन्द्रित हुने ठाउँबाट यो अर्को ठाउँमा गयो, हजार श्रम बराबर एकमा झर्यो र एकाधिकार पुँजीवादको ठाउँमा भूमण्डलीकृत पुँजीवाद आयो, लेनिनको युग सक्यो ।

त्यसो भए लेनिनवादको औचित्य सकिएको हो त ?

त्यो बेलाको पुँजीवादी संरचनाको विश्लेषण मात्र लेनिनवाद होइन । लेनिनले दर्शनशास्त्रलाई अपडेट गर्नुभयो । दर्शनमा केही योगदान गर्नुभयो । अर्थशास्त्रमा साम्राज्यवादको परिभाषा दिनुभयो र सर्वहारा क्रान्तिलाई दिशा दिनुभयो, समग्रमा योगदान गरेको हुनाले नै लेनिनको बिचार र कामलाई लेनिनवाद भनिएको हो । यसकारण लेनिनवादको पद्धति–विज्ञान त काम लागिहाल्छ नि ! तर, अहिलेको साम्राज्यवादलाई बुझ्न र व्याख्या गर्न त्यो बेलाको साम्राज्यवादको विश्लेषणले मात्र पुग्दैन । जसरी मार्क्सले गरेको औद्योगिक पुँजीवादको ब्याख्या विश्लेषणले मात्र लेनिनको युगमा पुँजीवादलाई बुझ्न र ब्याख्या गर्न नसक्ने भई लेनिनले त्यो बेलाको एकाधिकार पुँजीवादको नयाँ ब्याख्या ल्याए, त्यसरी नै अब फेरि अर्को ब्याख्याको आवश्यक भएको हो । लेनिनले मार्क्सको औद्योगिक पुँजीवादको ब्याख्या काम लाग्दैन भन्नुभएको होइन । त्यसैगरी अहिले पनि हामीले मार्क्स, एंगेल्स, लेनिन र माओले गरेका योगदानहरुको काम छैन भन्ने कुरा होइन, तिनीहरुले विकास गरेका पद्धति–विज्ञान त काम लागिहाल्छ नि ! उहाँहरुले गरेका योगदानहरु रिफ्रेन्सको रुपमा काम लाग्छन् । अहिले हिजोको रुपको साम्राज्यवादी युग रहेन । अब हामी नयाँ युगमा प्रबेश गर्यौं । अब विश्वमा वैज्ञानिक समाजवादी युग प्रारम्भ नै भयो । क्रान्ति गरेपछि नै वैज्ञानिक समाजवाद लागु गर्ने भनेको होइन । अहिले विश्वमा प्रारम्भ भएको वैज्ञानिक समाजवादलाई हामीले क्रान्ति गरेर पूरा गर्ने हो । धेरै मानिसलाई भ्रम छ । समाजवाद नै आउँदैन भन्ने छ । अरुहरुको दाँजोमा हामीले उल्टो कुरा गरेका छौं । हामी भन्छौं, ‘वैज्ञानिक समाजवादको युग शुरु नै भैसक्यो, अब क्रान्तिकारीहरुले तीव्र पारेर विश्वक्रान्ति पूरा गर्नुपर्ने हुन्छ । विश्वव्यापी रुपमा वैज्ञानिक समाजवादको विकास गर्नुपर्छ’ ।

राष्ट्रिय रुपमा क्रान्ति गर्ने सम्भव छैन भन्ने तपाईको निष्कर्ष हो ?

कम्युनिष्ट क्रान्ति राष्ट्रियमा भए पनि धेरै देशहरुमा भएपनि त्यो विश्व क्रान्तिको अंग नै हुन्छ । वैज्ञानिक समाजवाद पूरै विश्वभरि शुरु भयो । मार्क्स, एंगेल्सले ‘विश्व वैज्ञानिक समाजवाद र साम्यवादमा जानलाई उत्पादनमा प्रचुरता हुनुपर्छ’ भन्नुभयो । छेलोखेलो उत्पादन हुनुपर्छ र मान्छेको चेतना हुनुपर्छ । मुख्य कुरा उत्पादनमा प्रचुरता हुनुपर्छ । उहाँहरुले यही कुरा भन्नुभएको छ । अब उत्पादनमा प्रचुरता हुने युग त शुरु भइसक्यो नि ! १६ प्रतिशत इजराइलीहरुले ७७ प्रतिशतलाई ख्वाएर पनि बाहिरसमेत निर्यात गर्न सक्ने प्रविधि त आयो नि ! अनि त्यो घट्दैघट्दै गएर चार पाँच प्रतिशत मानिसले काम गरेर सबैलाई ख्वाउन सक्ने प्रविधि आउँछ अब । त्यो प्रविधि संसारभरि पुग्न धेरै दिन त लाग्दैन । हिजोको युग भनेको यति गाह्रो समय थियो, कुनै एउटा सानो सूचना पठाउन चिठ्ठि काट्नुपर्ने स्थिति थियो । आज बीस रुपियाँको एक कप कफि खाएर रेष्टुरामा छिर्नुभयो र वाइफाइको जालो कतै पाउनुभयो भने संसारभरि कुरा गर्न तपाईंलाई कसैले रोक्न सक्दैन । यसको अर्थ अब संचार सेवाको प्राप्यता छेलोखेलो हुन थाल्यो । हिजो एउटा रेडियो किन्नु पर्यो भने कति गाह्रो थियो । एउटा घडी भिड्नु भनेको मान्छेको निम्ति धेरै गाह्रो कुरा थियो । ज्ञान लिन धेरै गाह्रो थियो । अहिले सातै अर्ब मान्छेले संसारभरिको घडी आफ्नो हातमा पार्न सक्छन्, पारेका छन् । बेलायतमा कति बज्यो यही हातमा, स्कटलाइनमा कति बज्यो यही हातमा…… अब घडी देखेर कसैले इश्र्या गर्दैन । सोखको लागि लाउने भनेको छुट्टै कुरा हो । हिजो पनि हिराको हार लाउँथे मानिसहरुले, तर त्यो आधारभूत आवश्यकता होइन । आधारभूत आवश्यकताको कोणबाट हेर्ने हो भने अब घडी चोरीको विषय रहेन । क्यालेन्दर चोरीको विषय होइन । रेडियो चोरीको विषय होइन । हिजो ६० रुपियाँको क्यासेट किनेर ७—८ वटा गीत सुन्नु पथ्र्यो भने अहिले कति करोड गीत सुन्ने ? अरबौं गीत सुन्ने ? त्यो कुनै समस्या र खर्चिलो कुरा भएन । हिजो मुनामदन किताब लगेर पुस्तकालयमा राख्दा १०० जनाले पढ्नु पर्यो भने ५० हप्ता लाग्थ्यो । पढ्दापढ्दै च्यातिन्थ्यो त्यो किताब । अहिले मुनामदन टाइप गरेर वेभसाइटमा सर्च गरेर हेर्नु भयो भने सात अरब मान्छेले एकैचोटि पढ्न सक्नेभयो । डबल गर्यो भने चौध अरब भयो । तपाईलाई बाँड्दा मेरो केही जाँदैन, तपाईको तपाईसँग नै मेरो मसँग नै रहिरहन्छ । किताबमाथि पुँजीपतिवर्गले कब्जा गर्ने युग, रेडियो पुँजीपतिवर्गले कब्जा गर्ने युग, पात्रो पनि बेची खाने युग थियो हिजो । अब त्यो युग जाँदैछ, गैसक्यो । र, उत्पादनमा प्रचुरता भयो । अब तीव्र रुपमा उत्पादनमा प्रचुरता बढ्दै जान्छ, पुँजीपतिवर्गले रोक्न सक्दैन । हिजो उसले कसरी रोक्थ्यो भने मेशिनहरु उसको कब्जामा थियो, हार्डवयर भएको हुनाले, अहिले विज्ञान प्रविधि प्रमुख भयो । विज्ञान प्रविधि भनेको सूत्र भयो । यो नियम भयो । त्यो सूत्रलाई एटम बमले नि केही गर्न सक्दैन । त्यो त ज्ञानको कुरा भयो । ऊसँग पनि हुने भयो श्रमिकसँग पनि हुने भयो । प्रयोग कसले गर्ने भन्ने कुरा मात्र रह्यो । त्यसकारण वैज्ञानिक समाजवादी युगको प्रारम्भ त अहिले नै भइसक्यो । तर, अहिले पनि उत्पादक शक्तिमा रजगड सामन्तवाद र पुँजीवादले नै गरिराखेको कारणले गर्दा त्यसलाई ध्वस्त गर्ने गरी वैज्ञानिक समाजवादलाई तीव्र विकास गर्नका लागि संघर्षमा जाने हो, क्रान्तितिर लाग्ने हो ।

मार्क्सवादले मूलतः समाजमा भएका शोषण एवं विसंगतिहरुको अन्त्यको लागि क्रान्ति गर्ने भन्ने कुरा गरेको हो । तिनीहरुको अन्त्यका लागि राज्यसत्ता प्राप्त नगरीकन हुन्न भन्ने मार्क्सवादको निष्कर्ष हो नि ! र, अहिले नै वैज्ञानिक समाजवाद शुरु भैसक्यो भनेर तपाईले जुन निष्कर्ष निकाल्नुभयो त्यस अनुसार अब के राज्यसत्ता प्राप्त नगरीकनै ती कुराहरु हुने भए त ?

यस्तो कुरा मार्क्सवादले पहिले नगरेको होइन । जस्तो कि पुष्पलालले ००६ सालमा हाम्रो देशलाई अर्धसामन्ती भनेको त पुँजीवाद त्यहाँ विकास हुनथाल्यो भनेको हो नि ! पुँजीवादकै गर्भभित्रबाट वैज्ञानिक समाजवाद जन्मियो भनेको हो नि ! त्यसकारण अहिले पनि पुँजीवादकै गर्भभित्र वैज्ञानिक समाजवाद शुरु भयो भनेको हुँ । अर्थात् नयाँ युग शुरु भयो भनेको हुँ । अब त्यो युगलाई रोक्नका निम्ति पुँजीपति वर्गले राज्यसत्ता प्रयोग गरेको छ । त्यसैले हामीले राज्यसत्तासँग लड्नु पर्यो । विश्वव्यापी रुपमा पुँजीपति वर्गलाई पराजित गरिसकेपछि नै विश्वव्यापी रुममा वैज्ञानिक समाजवादको क्रान्ति पूरा हुन्छ । वैज्ञानिक समाजवाद फुलफेजमा लागु गर्ने क्रान्ति पूरा हुन्छ । राज्यसत्ता चलाउनु पर्दैन भनेको होइन । जस्तो कि चन्द्र शमशेरको पालामै त्रिचन्द्र कलेज खोलियो । त्यतिबेला चन्द्र शमशेर सामान्तवादी राज्यसत्ताको सबभन्दा माथिल्लो तहका शासक थिए । उनी श्री ३ प्रधानमन्त्री थिए । तर, उनकै नेतृत्वमा त्रि—चन्द्र कलेज खुल्यो, जुन पुँजीवादको भ्रूण थियो । चन्द्र शमशेरकै पालामा फर्पिङ जल विद्युत गृह खुल्यो, त्यो पुँजीवादको पाइला थियो । पुँजीवादले ल्याएको विज्ञान प्रविधि थियो । त्यस्तै गरी पूर्वमा विराटनगर जुटमिल खुल्यो । सामन्तवादभित्रै खुल्यो नि पुँजीवाद त ! त्यसैगरी आजको सामन्तवादभित्र नै वैज्ञानिक समाजवाद पनि सुरु भएको छ ।

मूलतः क्रान्ति भनेर राज्यसत्ता कब्जा गर्ने परिघटनालाई लिने गरिन्छ । त्यो हिसाबले तपाईंले पनि राज्यसत्ता कब्जा नगरीकन हुदैन भन्नुभयो । एउटा कुरा राज्यसत्ता कब्जा गर्ने भयो अर्को टिकाउने । विश्व कम्युनिष्ट आन्दोलनलाई हेर्ने हो भने क्रान्ति त थुप्रै ठाउँमा भयो नि त ! रुस, चीन, क्यूबा, कोरिया, पूर्वी यूरोपका थुप्रै देशहरुमा क्रान्ति भए । तिनीहरु विगतमा वर्षौंसम्म कम्युनिष्ट देशकै रुपमा थिए, त्यहाँ समाजवाद नै थियो । तर, सोभियत संघ त ढल्यो, पूर्वी यूरोप पनि गयो, चीनमा समाजवाद भनिएता पनि अहिले पुँजीवादको अभ्यास भइरहेको छ भन्ने कुरा पनि छ । क्रान्ति हुने, तर नटिक्ने यो खालको घटनाहरु त भैरहेका छन् नि !

यसका तीन पाटाहरु छन् — पहिलो, संसारमा वर्ग समाज हावि भएको मोटामोटी आठ हजार वर्ष भएको छ । यो आठ हजार वर्षको बीचमा मानव समाजले विभिन्न चरणहरु पार गरिसकेको छ । ती सबै चरणहरुहरुमा मानव समाज वर्गीय रहँदै आयो । र, तिनीहरुमा मानव संस्कारको आधार निजी सम्पत्ति बन्दै आएको छ । यस स्थितिलाई क्रान्तिको प्रक्रियाबाट लामो कालसम्म सहन गर्नुपर्ने हुन्छ । जस्तो कि पुँजीवाद शुरु भएको पाँच सय वर्ष भइसक्दा पनि त्यसले अझै संसारभरि सामन्तवादलाई नष्ट गर्न सकेको छैन, यद्यपि सामन्तवाद र पुँजीवादको दार्शनिक आधार एउटै छ ।

संसारमा पुँजीवादको प्रतिपक्षी विचारधाराको रुपमा, वर्गीय समाजकै विरुद्ध, चेतनावादकै विरुद्ध, भौतिकवादी दर्शनलाई लिएर जन्मेको कति भयो त ? १ सथ ७० वर्ष नि भयो ! आठ हजार वर्षको वर्ग समाजको अगाडि १ सय ७० वर्षमा संसारको दुईतिहाइ भू—भागमा एकचोटी रजगज गरेर फेरि ढल्नु भनेको त्यो नौ महिनाको नानी उठ्न खोज्दा लडे जस्तो हो । नौ महिनाको नानी उठेर लडेन भने उठ्न नै सिक्दैन । उठ्दै लड्दै लड्दै उठ्दै गर्दा उसको हात खुट्टामा चोट लाग्ला र समयान्तरमा त्यो चोट निको पनि होला अनि त्यस्तो भएर नै उसको नलीहाड तन्दुरुस्त र बलिया हुँदै गई फेरि उठ्ने हो ।

दोस्रो कुरा, हिजो समाजवाद जति पनि निर्माण भए ती त शैसबकालीन समाजवाद हुन् । गल्ती त हुन्छ नि ! त्यो समाजवादमा अर्को ठूलो समस्या क्रान्तिद्वारा रोटी र जमिन त बाँडियो, तर रोटी पुगेन । त्यसले मान्छेको भौतिक आवश्यकता पुर्याउन सकेन । किनकि, त्यसरी पुर्याउनको लागि उत्पादनको वैज्ञानिक प्रविधि आइसकेको थिएन । जसको कारण मिलाइमिलाई बाँड्नु र पुर्याउनु पर्यो । अभाव भयो । अभाव हुँदा एकातिर जनतामा असन्तुष्ट हुन्छ, अर्कोतिर जनताभित्रको अवसरवादी तप्काले त्यो कब्जा गर्छ । कब्जा गर्न अवसरवादी विचार ल्याउनुपर्यो, र त्यसरी संशोधनवाद आउँछ, आयो । त्यसकारण त्यहाँको अर्को ठूलो समस्या के हो भने क्रान्तिमा एक त सिकारु अवस्था अर्कोतिर अभाव । त्यो अभावले गर्दा आम जनताको भौतिक आवश्यकतालाई पूर्ति गर्नका निम्ति वस्तु उत्पादनको छेलोखेलो सम्भव भएन । त्यसकारणले सोभियत संघ ढल्यो ।

तेश्रो कुरा, सोभियत कम्युनिस्ट आन्दोलनमा राजनीतिक रुपले गरिएका अभ्यासहरु गडबड भए । विशेषतः त्यहाँ सोभियत प्रणालीलाई कमजोर बनायो । सोभियत भनेको जनताले निर्णय गर्ने र प्रतिनिधिले लागु गर्ने भनिएको थियो । त्यहाँ त जनताले प्रतिनिधि चुन्ने र प्रतिनिधिले निर्णय गर्ने संसदीय व्यवस्थाकै अभ्यास पो हुन थाल्यो । पुँजीवादले सबैभन्दा ठूलो षडयन्त्र गरेको यही नै थियो र हो । त्यहाँ जनताले निर्णय गर्न पाउँदैनन्, जनताले त फलाना मान्छे चुन्छौं भन्न मात्र पाउँछन्, तर चुनिसकेपछि काम के गर्ने भन्ने निर्णय गर्न पाउँदैनन् । चुनिने पात्र चुनिएको मितिको भोलिबाट नै शासक भैहाल्छ र जनता शाषित भैहाल्छन् ।

सोभियत क्रान्तिमा लेनिनले सम्पूर्ण सत्ता सोभियतलाई दिनुपर्छ भन्नुभयो । त्यस प्रणालीमा सोभियतका जनताले राज्यसत्ताले केके गर्ने भनेर निर्णय गर्थे । अनि त्यो लागु गराउन त्यही जनताले प्रतिनिधि चुन्थे । सोभियत जनताका निर्णयहरुको कार्यान्वयनको व्यवस्थापन गर्नका लागि मात्र प्रतिनिधि चुनिन्थे । तर, यो प्रणाली लागु हुन सकेन । अभ्यासमा के हुन पुग्यो भने सोभियत जनताले चुनेका प्रतिनिधिहरुले नै आफूखुसी निर्णय गर्न थाले । सोभियत जनता राज्यको निर्णय प्रकृयाबाट कटे । उनीहरुको सत्तामा पहुँच हुन सकेन । यही कारणले पछि सोभियत संघ ढले पनि सोभियत जनतालाई मतलब भएन । समाजवाद लागु गर्दा राजनीति र वैचारिककै समस्या, अनुभवको अभाव, प्रविधि विकास नभएको हुनाले सबैलाई आधारभूत चीज पुर्याउन नसकेर, यी तीन चार कुरामा ध्यान पुर्याउन नसकेर समाजवाद ढलेका हो । अब हामीलाई सुनौलो अवसर के आयो त भने १ सय ७० वर्ष रगजग गरेर ढलेको कम्युनिष्ट आन्दोलनबाट ठूलो शिक्षा, केही लाख बलिदानबाट पाएको अनुभव पनि हामीसँग छ, तर त्योभन्दा पनि ठूलो के हो त भने वस्तुगत रुपमा नै प्रचुर उत्पादन गरेर आम जनतालाई भौतिक आवश्यकता पुर्याउन सक्ने ठाउँतिर अब हामी जाने भयौं । वस्तुगत तरिकाले नै अवसरवाद कमजोर हुने स्थितितिर हामी आइपुग्यौं । अबको समाजवादमा धेरै नयाँ काम गर्न सक्छौं ।

सोभियतमा जनताले निर्णय गर्छ र कार्यान्वयनका लागि प्रतिनिधिहरुले व्यवस्थापन मात्र गर्ने हो भन्नुभयो, त्यस्तो प्रणालीमा त निर्णय प्रकृया लामो र जटिल हुन्न र भन्या ?

त्यस्तो जटिल र झञ्झट केही हुन्नन् । जस्तो कि महिलाहरुको हितको निम्ति निर्णय महिला संगठनले गर्नुपर्यो । उदाहरणका लागि हामीकहाँ गएको चुनावमा प्रत्यक्षतर्फ २ सय ६५ जना सांसदहरुमध्ये ३३ प्रतिशत महिलाहरु उम्मेदवार बनाउन त महिलाहरुलाई विशेषाधिकार दिनुपथ्र्यो । संविधानले संसदमा महिलालाई ३३ प्रतिशत स्थान दिएको छ । संसदमा नै ३३ प्रतिशत त पुर्याउनु पर्यो नि ! महिलाहरुलाई विशेषाधिकार पार्टीले दिइसक्यो, संविधानले पनि ३३ प्रतिशत दिने भइसक्यो भने त्यो पार्टीको महिला संगठनले उम्मेदवारमध्ये २ सय ६५ जनामा ३३ प्रतिशत उठाउने भनेर निर्णय गर्ने अधिकार त त्यो महिला संगठनले पाउनुपर्यो नि ! यस मामिलामा पार्टीलाई टाउको दुखाउनु छैन नि ! तर, त्यस्तो हुँदैन, भएन । महिला संगठन ज्ञापन पत्र लिएर ३३ प्रतिशत उठाइदिनुपर्यो भनेर पार्टीमा अनुनय विनय गर्न जान्छ । पार्टी पितृसत्तात्मक छ र उसले हामी सोचौंला भन्छ । उम्मेदवार दिने बेलामा २—३ जना महिला दिन्छ । अनि महिला संगठन असन्तुष्ट हुन्छ । तामाङको बारेमा महिला संगठनले सोच्नु परेन, लिम्बु बारेमा पनि महिला संघले निर्णय गर्न पाएन । तर, महिलाहरुको बारेमा पार्टीले दिएको आधारभूत कुराहरुको त महिलाहरुले नै निर्णय गर्न पाउनुपर्यो नि ! अनि पो ठिक निर्णय हुन्छ र ऊ सन्तुष्ट हुन्छ । अहिले के भइरहेछ भने, कुनै पनि समुदायमा जनजातिको निर्णय गर्नुपर्यो, जनजातिले सक्दैन, दलितको बारे दलितले निर्णय गर्न सक्दैन, अर्थात् जो सरोकारवाला छ उसले निर्णय गर्न पाउँदैन । जो सरोकारवाला छैन उसले निर्णय गरिदिन्छ । यस्तो भएपछि सरोकारवालाको माग पनि पूरा हुँदैन । सरोकारवाला सन्तुष्ट पनि हुँदैन । महिलाहरुले पार्टी च्यानलमार्फत नेतृत्वलाई ‘यति कुरा भनिदिनु पर्यो’ भन्छन्, त्यो च्यानलले ‘हुन्छ हामी भनिदिइहाल्छौं नि, पार्टीमा लेखेर पाठाइदिएका छौं’ भन्छ । त्यो च्यानललाई के थाहा छ भने मैले निर्णय गर्न मिल्दैन, ऊ आफै उदासिन्छ । सरोकारवाला जनसमूहले नै आधारभूत पार्टीको नीतिभित्र बसेर उसैले नै आफ्नो बारे निर्णय गर्न पाउनुपर्यो । उसका प्रतिनिधिहरुले लागु गर्न व्यवस्थापन गरिदिनुपर्यो । आम सरोकारवाला जनसमुदायको अधिकार यसपछि मात्र स्थापित हुन्छ ।

अहिलेको भूमण्डलीकृत पुँजीवादमा नेपालजस्तो देशमा क्रान्ति कसरी हुन्छ, यो विश्व क्रान्तिसँग कसरी जोडिन्छ त ?

नेपाली क्रान्ति, भारतीय क्रान्ति, बंगलादेशको क्रान्ति, अमेरिकन क्रान्ति, सबै जोडेर न विश्व क्रान्ति हुने हो । राष्ट्रिय क्रान्ति त अन्तर्राष्ट्रिय क्रान्तिसँग जोडिन्छ । त्यो त ठूलो कुरा भएन, भूमण्डलीकृत पुँजीवाद किन भयो त ? विज्ञान प्रविधिको प्रचुर विकासको कारणले भएको हो । अहिले त डिजिटल्ली अर्थात् इन्टरनेटको जालो प्रयोग गरेर नै एक ठाउँबाट अर्को, एक देशबाट अर्को देशमा पैसा पठाउन र ल्याउन मिल्ने भैसक्यो । डिजिटल्ली सम्झौता गर्न मिल्यो, कुनै ठाउँ देशमा आफ्नो एजेन्ट बनाउन मिल्यो । हामी पनि विज्ञान प्रविधिलाई प्रयोग गरेर देशको ७ सय ५३ वटै स्थानीय तहसँग एकसाथ सम्वाद गर्न सक्ने भयौं, एकै साथ रणनीति बनाउन सक्ने भयौं । र, संसारका सबै देशका कम्युनिष्ट पार्टीहरु, साम्राज्यवादी शक्तिहरु, भूमण्डलीकृत पुँजीवादी शक्तिहरुसँग एकसाथ सम्झौता गर्न सक्ने भयौं । मोर्चा बनाउन सक्ने भयौं ।

नेपालमा क्रान्ति गर्न त राज्यसत्ता कब्जा गर्नुपर्यो नि ! त्या कसरी सम्भव हुन्छ त ?

राज्यसत्ता कब्जा गर्ने भनेको त वर्ग संघर्ष, जनसंघर्षलाई विकास गर्दै त्यसलाई विद्रोहसम्म लाने कुरा हो । तर, त्यो प्रक्रियालाई लानको निम्ति रणनीति हिजो मेशिनमा आधारित थियो, अब विज्ञान प्रविधिमा आधारित भएर बनाउनुपर्ने हुन्छ ।

राज्यसत्ता कब्जा गर्नको लागि यहाँ तपाई सशस्त्र विद्रोहको रणनीतिमा जानुहुन्छ कि अरु कुनै तरिकाबाट ? भूमण्डलीकृत पुँजीवादले त एउटै देशमा पनि क्रान्ति गर्न त दिन्न ?

पहिलो कुरा, कम्युनिष्टहरुले जस्तो जोखिम भए पनि आफ्नो नीति लुकाउँदैनन् । आज संसारभरिका राज्यसत्ताहरु सशस्त्र छन् । क्रान्तिको अन्तिम घटना पनि स्वभाविक रुपमा सशस्त्र लडाईंबाट नै पूरा हुन्छ । कुनै ठाउँमा अपवादको रुपमा शन्तिपूर्ण हुन सक्ला, त्यो अर्कै कुरा भयो । तर, हाम्रो देशमा क्रान्ति सम्पन्न गर्दा संसारभरिका वैज्ञानिक हाम्रो विरुद्ध हुन्छ भनेर हामीले बुझ्नु हुँदैन । यसको ठोस प्रमाण आइन्स्टाइन आफै कम्युनिष्ट व्यवस्थाको पक्षमा हुनुहुन्थ्यो । अहिलेका हकिङ्स पनि ‘लौ पृथ्वी सिद्धिन लाग्यो चन्द्रमामा जानुपर्ने भयो’ भन्न थाल्नुभएको छ । विश्वक्रान्ति अगाडि बढाउन विश्वभरिका साम्राज्यवादविरोधी एकातिर वैज्ञानिक, इन्जिनियर, डाक्टरहरु एकातिर र साम्राज्यवादीहरु अर्कोतिर हुने हो । हामी सत्य, न्याय र बहुसंख्यक श्रमिकहरुको पक्षमा हुने भएकोले वैज्ञानिक पनि हाम्रो पक्षमा हुने भनेको हो । विश्वक्रान्ति वैज्ञानिकहरुको भिजन सहित पूरा हुने हो ।

(तस्बिर – आकाश महर्जन/ईमूल्याङ्कन)

(Visited 177 times, 1 visits today)

टिप्पणी

comments