Main Menu

डा. भट्टराई होइन, नारायणकाजीलाई चुनौं– वाम बौद्धिक [वक्तव्यको पूर्णपाठ सहित]

मंसिर २, काठमाडौं

left-intellectuals-support-narayankajiआगामी मंसिर १० गते हुन गइरहेको संसद र प्रदेशसभाको पहिलो चरणको निर्वाचनको मिति नजिकीँदै गर्दा गोरखा क्षेत्र नं.२ मा नयाँ शक्तिका डा. बाबुराम भट्टराईप्रतिको समर्थन घट्दो र वाम गठबन्धनका उम्मेदवार नारायणकाजीप्रतिको समर्थन बढ्दो गतिमा तीव्रता आएको छ ।

यसैबीच देशका चर्चित वाम बौद्धिकहरुले नेपाली कांग्रेस नेतृत्वको दक्षिणपन्थीहरुको लोकतान्त्रिक गठबन्धनको समर्थन र सहयोगमा चुनावी मैदानमा रहेका डा. बाबुराम भट्टराई ‘मार्क्सवादी–विचारधाराका पक्षधर मात्र नरहेका होइनन्, उनका पछिल्ला गैर राजनीतिक र सिद्धान्तहीन मन्तव्यहरुबाट उनी अवसरवादको प्रतिनिधि पात्र बन्न पुगेका’ ठहर्याई गोरखाका जनतालाई उनलाई होइन नारायणकाजी श्रेष्ठलाई मतदान गर्न आह्वान गरेका छन् ।

उनीहरुले आजै एक वक्तव्य जारी गरी सो आह्वान गरेका हुन् । गोरखाली जनतालाई सम्वोधन गरी काठमाडौंबाट आजै जारी गरिएको उक्त वक्तव्यमा वाम बौद्धिकहरु डा. पिताम्वर शर्मा, डा. महेश मास्के, डा. शरद वन्त, हरि रोका, झलक सुवेदी, प्रा. कैलाशनाथ प्याकुरेल, विमल निभा, मातृका पोखरेल, दिपेन्द्र क्षेत्री, धनकुमारी सुनार र सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

जारी वक्तव्यको पूर्ण पाठ

नेपालमा वामपन्तथी शक्तिहरुबीच चुनावी एकता हुँदै पार्टी एकतासम्मको घोषणाले नेपालीहरुबीच मात्र होइन गरिबी, अभाव, शोषण र उत्पीडनविरुद्ध जुधिरहेका विश्वका संघर्षशील जनसमुदायबीच पनि आशाको सञ्चार गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनपछि उत्पन्न भएको फुट श्रृङ्खलाको आधा शताब्दीभन्दा बढीको समयावधिमा पहिलो चोटी प्रमुख कम्युनिष्ट पार्टीहरुले एकताबद्ध हुने लिखित प्रतिबद्धता नेपाली जनताका समक्ष जाहेर गरेका छन् । यसअघिको समयमा एकअर्का प्रति असहिष्णु व्यवहार देखाउँदै आएका पार्टीहरुबीचको चुनाव तथा पार्टी एकतातर्फ अघि बढ्ने घोषणा अप्रत्याशितजस्तो देखिएता पनि र एकता प्रकृयामा आएको एउटा शक्ति अलग्गिएर विपरित ध्रुवीय राजनीतिक शक्तिसँग हातेमालो गर्न पुगे पनि सबै अप्ठ्याराहरु पार गर्दै ऐक्यबद्ध हुने अठोट मुख्य वामपन्थी शक्तिहरुले गरेका छन् । यसलाई हामीले सकारात्मक र ऐतिहासिक कदम मानेका छौँ ।

वाम गठबन्धनले नेपालमा उत्पन्न गरेको राजनीतिक तरङ्गले लोकतान्त्रिक गठबन्धनलाई समेत हातेमालो गर्न प्रोत्साहित गरेको छ । हामीले यसलाई पनि सकारात्मक परिघटना मानेका छौँ । तथापि यसमा समावेश भएका दलहरुको विश्लेषण गर्दा वामपन्थी शक्तिहरुविरुद्धका वर्गीय शक्तिहरुको गठबन्धन भएको देखिन्छ । के कुरा स्पष्ट छ भने नेपाली राजनीतिमा ध्रुवीकरणको प्रकृया शुरु भएको छ । यसले वर्गीय ध्रुवीकरणको स्वरुप ग्रहण गर्दैछ । वामपन्थी गठबन्धनका लागि अब चुनावी एकताबाट सैद्धान्तिक र कार्यक्रमिक पार्टी एकतातर्फ अघि बढ्नुको विकल्प छैन । त्यसो नगरिएमा वामपन्थी एकताको प्रयत्न फगत एक क्षणिक प्रहर्सनमा सिमित हुनेछ र नेपाली जनमानस अब यस्ता प्रहर्सन रुचाउने मनस्थितिमा छैनन् भन्ने हाम्रो ठम्याइ छ ।

यद्यपि यो पनि स्पष्ट छ कि यस प्रकारको वामपन्थी एकता सुदृढ हुन लामो अवधि लाग्न सक्छ । अनेकौँ टुक्रामा बाँडिएका कम्युनिष्ट पार्टीहरुबीच गहन संवाद, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितीको आंकलन आत्म निरीक्षणबाट मात्रै एकताको दीगो सूत्र र आधारहरु निर्माण हुन सक्छन् । वामपन्थी आन्दोलनको वैचारिक र साँस्कृतिक धरातलमा ठूलो विचलन आएको वर्तमान अवस्थामा कोरा शब्दहरुबाट मात्र उन्नत र सुन्दर समाजवादी समाजको निर्माण हुन सक्दैन, त्यो परिकल्पनालाई आफ्नै व्यक्तित्व र व्यवहारबाट साकार गर्न र साकार पार्न प्रयत्नरत नयाँ मानिसहरुको जमात नेपाली वामपन्थी आन्दोलनले जन्माउनु अपरिहार्य भइसकेको छ भन्ने हाम्रो अभिमत रहेको छ ।

अहिले वामपन्थ र लोकतन्त्रलाई एकअर्काका विरोधीको रुपमा प्रस्तुत गर्न खोजिएता पनि लोकतन्त्र र वामपन्थ एक अर्काका विरोधी होइनन्, अपरिहार्य पूरक हुन् । देशभित्र वा वाह्य प्रगतिविरोधी शक्तिहरुविरुद्ध दुबै शक्तिहरुबीचको ऐक्यबद्धता सधैं आवश्यक र वान्छित हुन्छ । तर, जतिसुकै जलप लगाए पनि पुँजीवादको अन्तर्य लोकतान्त्रिक हुन सक्तैन । नेपालमा पुँजीवादी दलहरुले यस तथ्यलाई इतिहासमा पटकपटक प्रमाणित गरिसकेका छन् । त्यसैले वर्गीय संघर्षमा वास्तविक वामपन्थी र वास्तविक लोकतान्त्रिक शक्तिहरु एउटै ठाउँमा हातेमालो गरी उभिनेछन् भन्ने हाम्रो मान्यता रहेको छ ।

मंसिर १० गते पहिलो चरणको प्रतिनिधिसभा निर्वाचन गोरखा क्षेत्र नं. २ को निर्वाचन सर्वाधिक चर्चाको विषय बनेको छ । उक्त क्षेत्रमा पूर्व माओवादी नेता र हाल नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई नेपाली काँग्रेसको नेतृत्वको लोकतान्त्रि गठबन्धनको समर्थनमा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता तथा संयुक्त वामपन्थी उम्मेदवार नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सँग प्रतिस्पर्धामा उत्रनु भएकोले पनि सबैको ध्यान आकृष्ट हुन पुगेको हो । वर्तमानमा डा. बाबुराम भट्टराई माक्र्सवादी–विचारधाराका पक्षधर मात्र नरहेका होइनन्, उनका पछिल्ला गैर राजनीतिक र सिद्धन्तहीन मन्तव्यहरुबाट उनी अवसरवादको प्रतिनिधि पात्र बन्न पुगेका छन् भन्ने हाम्रो ठम्याइ हो । गोरखाका पारखी जनताले यस प्रकारका अवसरवादीहरुलाई पहिचान गरी सही निर्णय गर्ने हामीले अपेक्षा गरका छौँ । त्यसैगरी अन्य सबै क्षेत्रमा पनि नेपाली मतदाताले योग्य उम्मेदवारहरुलाई विजयी बनाएर नेपालको लोकतान्त्रिक अभ्यासमा पैसा, शक्ति, कालाबजारिया र गुण्डाराजको चलखेललाई निरुत्साहित मात्र होइन, विषेध पनि गर्नेछन् भन्ने हाम्रो गहिरो विश्वास पनि अभिव्यक्ति गर्न चाहन्छौँ । चुनावपछि राजनीतिक अस्थिरताको अन्त्य हुने र अन्तर्राष्ट्रिय ऐक्यबद्धताका नयाँ आयामहरु उद्घाटित हुनेबारे पनि हामी विश्वस्त छौँ ।

(Visited 137 times, 1 visits today)

टिप्पणी

comments