Main Menu

कुलमानको १ वर्ष – सक्षम नेतृत्वका कारण प्राधिकरण सफलतातर्फ

  • रमेश लम्साल

kulman-1-yearभदौ २९, काठमाडौँ । नेतृत्व बदलिँदा सरकारी संस्थान कसरी सफलताको दिशामा जाँदो रहेछ भन्ने पुष्टि गरेको छ नेपाल विद्युत् प्राधिकरणले ।

सरकारले गत वर्ष आजैका दिन प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्यो । उनी कार्यकारी निर्देशकमा नियुक्त हुनुअगाडि प्राधिकरणले हिउँदमा ७ घण्टा दैनिक विद्युत्भार कटौती हुने प्रक्षेपण गरेको थियो ।

प्राधिकरणको आर्थिक अवस्था दुरुहपूर्ण अवस्थामा थियो । सञ्चित घाटा बढ्दै गएको थियो भने सञ्चालन खर्चसमेत बढिरहेको थियो । विद्युत्भार कटौतीका कारण मुलुकको आर्थिक, सामाजिक क्षेत्र नराम्ररी प्रभावित भएको थियो । नागरिकको दैनिक जीवन कष्टकर थियो । मुलुकको आर्थिक अवस्थासमेत नराम्ररी प्रभावित भएको थियो ।

गत वर्ष लक्ष्मीपूजाको दिनदेखि काठमाडौँ उपत्यका र प्रमुख शहरमा विद्युत्भार कटौतीको अन्त्य आज मुलुकभर फैलिएको छ । नागरिकमा सरकार र प्राधिकरणप्रतिको विश्वास बढेको छ । अँध्यारोको व्यापार गर्ने भनेर आरोप खेप्ने प्राधिकरणलाई हेर्ने दृष्टिकोण आज बदलिएको छ ।

प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएको एक वर्ष पुगेको अवसरमा आज प्राधिकरणको प्रधान कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर घिसिङले भने, “म प्राधिकरणको नेतृत्व संहाल्न आउँदा जताततै समस्या नै समस्या थियो । तर आज एउटा नयाँ अवस्थामा आइपुगेका छौँ । विद्युत्भार कटौतीको अन्त्य भएको छ । नागरिकमा एउटा नयाँ विश्वास पैदा भएको छ ।”

उनले आव २०७२/७३ मा रु. ३ अर्ब ६ करोड ३९ लाख सञ्चालन नोक्सानीमा रहेको प्राधिकरण रु. २ अर्ब ४० करोड ७३ लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिए । आव २०७२/७३ मा रु. ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण आव २०७३/७४ मा रु. ९७ करोड ८९ लाखमा सीमित भएको छ ।

प्राधिकरणको वार्षिक बजेटमै आव २०७३/७४ को घाटा करिब रु. ७ अर्ब ५० करोड हुने प्रक्षेपण गरिएको थियो । अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि खुद वार्षिक घाटा अझै कम हुने अनुमान गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

प्राधिकरणले नेपाली जनताको लगानी सुनिश्चित गर्न कम्पनी मोडलमा जलविद्युत् आयोजना निर्माण गर्ने निर्णय गरेको जानकारी दिँदै माथिल्लो अरुण, दूधकोशी, तमोर, उत्तरगंगा, आँधीखोला, राहुघाट, मोदी र तामाकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माणका लागि कम्पनी स्थापना गरिएको सो अवसरमा जानकारी दिइयो ।

जलविद्युत् आयोजनामा परामर्श सेवा उपलब्ध गराउनका लागि प्राधिकरणको ५१ प्रतिशत, विद्युत् उत्पादन कम्पनी तथा राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको १७/१७ प्रतिशत र जलविद्युत् लगानी तथा विकास कम्पनीको १५ प्रतिशत शेयर लगानी रहने गरी ‘एनइए इन्जिनियरिङ कम्पनी लिमिटेड’ स्थापना गरी क्रियाशील बनाइएको समेत कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

देशलाई ऊर्जामा आत्मनिर्भर बनाई आर्थिक रुपमा समृद्ध बनाउन जनताको समेत लगानीमा जलविद्युत् आयोजनाको द्रुत गतिमा विकास गर्ने लक्ष्य राखेको छ । जलाशययुक्त र पिकिङ आयोजना निर्माणमा विद्युत् प्राधिकरणले विशेष पहल गर्ने तथा अन्य वैकल्पिक ऊर्जाको उचित समिश्रणलाई हुने गरी उत्पादन समिश्रण कायम गर्ने योजना अगाडि सारेको छ ।

यस्तै पूर्व–पश्चिम र उत्तर दक्षिण जोड्ने उच्च भोल्टेजका प्रसारण लाइन निर्माण सम्पन्न गर्ने । छिमेकी देशसँग जोड्ने अन्तरदेशीय उच्च भोल्टेजका प्रसारण लाइन निर्माण गर्ने कार्यलाई जोड दिइएको छ । ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्ने र प्राधिकरणलाई आर्थिकरुपमा सक्षम र सवल बनाउँदै व्यावसायिक संस्थाका रुपमा विकास गर्नेसमेत कार्यकारी निर्देशक घिसिङको नयाँ कार्ययोजना रहेको छ ।

प्राधिकरणको वित्तीय अवस्था सुदृढ गर्नका लागि सञ्चालन खर्चमा न्यूनीकरण, स्वः उत्पादन वृद्धि, विद्युत् चुहावट घटाउँदै विद्युत्को बिक्री परिमाण बढाउनेलगायत उपलब्ध स्रोतको अधिकतम परिचालन गर्ने । आगामी वर्ष पनि विद्युत् चुहावट करिब ३ प्रतिशतले घटाउने लक्ष्य राखिएको छ । गत आवमा ३ प्रतिशत नै चुहावट घटाउन सफल भएको प्राधिकरणले जनाएको छ ।

आगामी दिनमा रातको समयमा खेर जान सक्ने विद्युत् र बढी विद्युत् माग हुने समयमा माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न रुपा बेगनास पम्प स्टोरेज आयोजनाको सम्भाव्यता अध्ययन गरी कार्यान्वयन गर्ने प्रणालीको विकास गर्न लागिएको प्राधिकरणको भनाइ छ ।

आगामी १० वर्षभित्र करिब १२ हजार मेगावाटसम्मको विद्युत् खपत गर्न सक्ने गरी मुलुकका प्रमुख शहरी तथा औद्योगिक क्षेत्रमा वितरण प्रणाली विस्तार गर्ने नीति प्राधिकरणले लिएको छ । विद्युत् चुहावट घटाउन, सेवा प्रवाहमा दक्षता अभिवृद्धि गर्न तथा ग्राहकलाई थप सुविधा उपलब्ध गराउन स्मार्ट मिटर र स्मार्ट ग्रिडलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने, अनलाइन तथा एकीकृत भुक्तानी प्रणालीलाई अवलम्बन गरी ग्राहकलाई थप सुविधा उपलब्ध गराउने पनि प्राधिकरणको लक्ष्य रहेको छ ।

(Visited 16 times, 2 visits today)

टिप्पणी

comments