Main Menu

शब्द र कर्मको एकत्व – कृष्ण सेन ‘इच्छुक’

  • घनश्याम ढकाल

१. जीवन वृत्त

कृष्ण सेन ‘इच्छुक’ समाजवादी यर्थाथवाद अर्थात् प्रगतिवादी धाराका सशक्त कवि हुन् । साहित्यिक व्यक्तित्वबाहेक उनका सांस्कृतिक, राजनीतिक र पत्रकार व्यक्तित्व पनि छन् । महान् उद्देश्य र आस्थाका लागि एउटा स्रष्टाले कसरी आफूलाई समर्पित र बलिदान गर्न सक्छ भन्ने कुराका उनी राम्रा उदाहरण हुन् । पिता यामबहादुर सेन र माता भीमकुमारी सेनको कोखबाट वि.सं. २०१३ कार्तिक ३ गते भारतको देहरादुनमा सेनको जन्म भएको थियो । जीविकाका लागि यामबहादुर सेन भारतीय सेनामा भर्ती भएका थिए । जागिरकै सिलसिलामा उनले श्रीमती भीमकुमारीलाई पनि देहरादुन लगेका थिए । त्यहीं सेनको जन्म भएको थियो । पुख्र्यौली घर प्युठानबाट बसाइँ सरेर अर्घाखाँची जिल्लाको जलुके गा.वि.स.को सातमारामा उनको परिवार आएको हो ।

बाबुकै रेखदेखमा शिक्षारम्भ गरेका कृष्ण सेनले दाङको लालमटिया हाइस्कुलबाट एसएलसी पास गरे । निम्न आर्थिक अवस्थाका कारण उनले पढाइलाई निरन्तरता दिन पाएनन् । बाबुको मृत्यु भइसकेकाले पारिवारिक भरणपोषणकै लागि उनी दाङ कोइलाबासको साल्ट ट्रेडिङमा जागिरे भए । जागिर खाँदै गर्दा उनले घरमै तयारी गरेर भारतबाट प्राइभेट आइए उत्तीर्ण गरे । पछि महेन्द्र क्याम्पस दाङबाट बीएड उत्तीर्ण गरे । एमएको भने तयारी गरेर पनि जाँच दिएनन् ।

कृष्ण सेन र तक्मा केसीबीच ०४८ सालमा विवाह भएको हो । समीक्षा केसी उनीहरूकी एक्ली छोरी हुन् । श्रीमती केसीले मेडिसिन क्याम्पस महाराजगन्जमा प्राध्यापन गर्दछिन् । अहिले तक्मा छोरीसहित काठमाडौंको आफ्नै घरमा बसोबास गर्दछिन् ।

जेल कृष्ण सेनको जीवनको अभिन्न अङ्ग रह्यो । उनी ०३९ देखि ०४४ सालसम्म दाङ कारावासमा छ वर्ष, ०५६ सालमा काठमाडौंको भद्रबन्दी गृहमा १ वर्ष र सिराहा तथा राजविराजमा २ वर्ष गरी नौ वर्षसम्म जेल बसेका थिए । सङ्कटकालका बेला ०५९ साल जेठ छ गते काठमाडौँबाट धोकापूर्ण ढङ्गबाट समातिएका सेनको ७ दिनपछि अर्थात् ०५९ साल जेठ १३ गते महेन्द्र पुलिस क्लबमा चरम यातनाका कारण मृत्यु भयो । यसरी एउटा कविको गुपचुप हत्या गरियो र हत्याको घटनालाई सरकारले बाहिर ल्याएन । ०३२ सालदेखि कविता प्रकाशन गर्न थालेका कृष्ण सेन साहित्य सन्ध्या पुरस्कार (२०५७), पारिजात सिर्जनशील साहित्य पुरस्कार (२०५९), कृष्णमणि साहित्य पुरस्कार (२०५९) र प्रेस सेनानी पुरस्कार (२०६५) बाट सम्मानित भएका छन् ।

२. साङ्गठनिक क्रियाकलाप

कृष्ण सेन ‘इच्छुक’ साम्यवादी चिन्तनप्रति अटुट आस्था र विश्वास राख्ने व्यक्ति हुन् । राजनीतिक सङ्गठनमार्फत् समाज परिवर्तन गर्न सकिन्छ भन्ने उनको धारणा थियो । २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टीको सामन्तवाद, साम्राज्यवादविरोधी चेतनाको जगमा नै उनको चिन्तन अडिएको छ । नेपाल तथा विश्वमा अविरल रूपले चल्दै आएको वर्ग सङघर्ष र राजनीतिक आन्दोलनको निरन्तरतासँग भौतिक र भावनात्मक रूपले जोडिएर नै इच्छुकको वैचारिक एवम् साङ्गठनिक क्रियाकलाप अघि बढेको हो । माक्र्सवाद–लेनिनवाद–माओवाद र त्यसको नेपाली प्रयोगको वैचारिक संश्लेषण प्रचण्डपथ उनको सैद्धान्तिक एवम् वैचारिक धरातल हो । यसमा उनी सधै प्रतिबद्ध भए । वर्षौवर्षदेखि सामन्ती शोषणको जुवा र वैदेशिक हस्तक्षेपबाट राष्ट्र र जनतालाई मुक्त गराएर समुन्नत, सुन्दर प्रगतिशील समाजको सिर्जना नै उनको तात्कालिक लक्ष्य थियो । शोषणमुक्त वर्गविहीन उदात्त साम्यवादी समाज सेनको दीर्घकालीन सपना थियो । यही चिन्तनबाट उनको सौन्दर्य चेतनाको विकास भएको थियो । चिन्तन एकातिर र कर्म अर्कोतिर गर्ने पाखण्डी प्रवृत्ति उनमा थिएन । उनी शब्दशिल्पी मात्र होइन, कर्म शिल्पी पनि थिए । यी दुवैलाई उनले व्यवहारिक रूपमै जोडे । नेकपा (अविभाजित चौथो महाधिवेशन) को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट सेनले राजनीतिक जीवन सुरु गरेका हुन् । ०३५/३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी सेनमा पार्टी सदस्यता लिएर सङ्गठनमा क्रियाशील हुन थालेपछि अझै वैचारिक निखार आउन थाल्यो । त्यतिबेला पार्टी भूमिगत हुनाले पार्टीका क्रियाकलापहरू पनि भूमिगत नै हुन्थे । खुला गतिविधि गर्ने माध्यमका रुपमा रहेका जनवर्गीय सङ्गठनहरूले पनि खुला रूपले काम गर्न पाउँदैनथे । ०३६ सालमा जनमत सङग्रहको घोषणापछि राजनीतिक परिवेश अलिकति सहज बनेको थियो । यसकै सापेक्षतामा अभिव्यक्ति स्वतन्त्रता पनि केही खुकुलो भयो । जनमत सङग्रहमा निर्दलीय पञ्चायती व्यवस्थाले जितेको घोषणा गरियो । ०३८ सालमा चौथौ महाधिवेशनले पञ्चायती आम चुनावलाई बहिष्कार गर्यो । बहिष्कार अभियानमा विद्यार्थी मोर्चाबाट सक्रिय सेन प्रशासनको तारो बनिसकेका थिए । यसै क्रममा उनी ०३९ सालमा क्याम्पसबाटै पक्राउ परेर सुरक्षा कानुनअन्र्तगत ०४४ सालसम्म जेल बसे ।

तात्कालीन अनेरास्ववियु (छैटौं) को संयोजक भएर विद्यार्थी मोर्चा सम्हालेका सेन अखिल नेपाल जनसांस्कृतिक संघको संयोजक र अध्यक्ष भएर सांस्कृतिक मोर्चामा क्रियाशील भए । पार्टी विभाजनको क्रममा उनी नेकपा (मशाल) र एकता केन्द्र हुँदै माओवादीसँग आबद्ध भएका थिए । प्रगतिशील लेखक सङ्घ, नेपालका केन्द्रीय पार्षद सेन आफ्नो रुचिले भन्दा पार्टीको आवश्यकताले पत्रकार भएका हुन् । यसै क्रममा उनी जनादेश (साप्ताहिक) र जनदिशा (दैनिक) का सम्पादक भए । पत्रकारको नाताले उनी नेपाल पत्रकार महासङ्घकोे केन्द्रीय पार्षद र दक्षिण एसियाली पत्रकार सङ्घका सदस्य थिए । समाचारमूलक पत्रिका मात्र होइन, उनले ‘कलम’ साहित्यिक त्रैमासिकको पनि सम्पादन गरे । पार्टीमा उनी नेकपा (माओवादी) का क्षेत्रीय ब्यूरो सदस्य थिए भने ०४८ सालमा संयुक्त जनमोर्चा नेपालका केन्द्रीय सदस्य थिए । एक पटक उनी मानवअधिकारवादी संस्था ‘जनअधिकार सरोकार अभियान’का केन्द्रीय सदस्य समेत भएका थिए ।

इतिहासको यस घडीमा (कविता सङ्ग्रह) का मुख्य कविता, शोकान्जली (शोककाव्य) र बन्दी र चन्द्रागिरी (लामो कविता) सेनले बन्दी गृहमै लेखेका हुन् । जेल नपरेको भए उनको विभाजित व्यक्तित्व र मनस्थितिले उक्त कृतिहरू जन्माउन सक्थ्यो/सक्दैनथ्यो, यसै भन्न सकिदैंन । जुन क्षेत्रमा काम गरे पनि सङ्गठित र अनुशासित ढंगले क्रियाशील हुने सेनको व्यक्तिवादी र अराजकतावादी प्रवृत्तिसँग कुनै साइनो रहेन । ०५२ सालमा जनयुद्ध सुरु भएपछि उनको साङ्गठनिक जीवन अरु कठिन बनेको थियो । भूमिगत सङ्गठनमा आबद्ध भएर खुला काम गर्नु जस्तो कठिन कार्य सायद अरु हुँदैन । ०५६ साल वैशाखको गिरफ्तारी यही कठीन कामकै परिणति थियो । ०५६ पुष १९ गते ललितपुर जिल्लाको भट्टे डाँडाको प्रहरी चौकीमाथि माओवादी आक्रमण भएको समाचार छापेबापत जनादेश प्रतिबन्धित मात्र भएन, कृष्ण सेनलाई पक्राउ वारेन्टसमेत जारी गरियो र वैशाखमा उनी पक्राउ परे । यसै क्रममा उनलाई सिराहा र राजविराज कारावासमा पुर्याइएको थियो । जति जेल बस्नुपरे पनि जति यातना खप्नु परे पनि उनले आफ्नो सङ्गठन र आस्थालाई झुक्न दिएनन् । महेन्द्र पुलिस क्लबमा मृत्युअगाडि उभिंदा पनि उनी निडर र अविचल भएर उभिए ।

३. सिर्जना, सौन्दर्य र मूल्य

कृष्ण सेन ‘इच्छुक’ले ०३२ सालदेखि कविता प्रकाशन गर्न थालेका हुन् । मातृभूमि (साप्ताहिक) मा प्रकाशित ‘भोलिप्रति’ उनको पहिलो कविता हो । ‘शोकाञ्जली’ (२०४८), ‘इतिहासको यस घडीमा’ (२०५६) र ‘बन्दी र चन्द्रागिरि’ (२०५७) मृत्यु अगाडि प्रकाशित कृतिहरु हुन् । माथि उल्लेखित रचना र यसबाहेक विभिन्न पत्रपत्रिकामा छरिएर रहेका फुटकर कविता र गद्य रचनाहरू इच्छुक रचनावली (भाग १, २, ३) मा सङ्कलित छन् । भाग १ मा ‘बन्दी र चन्द्रागिरि’ र ‘शोकाञ्जली’ छन् भने भाग २ मा ‘इतिहासको यस घडीमा’, ‘बन्दी आवाज’ र ‘आरम्भिक कविता’ अन्तर्गत फुटकर कविता सङ्कलित छन् । भाग ३ मा इच्छुकका गद्य रचनाहरू, चिठीपत्र, अन्तर्वार्ता आदि सङ्कलित छन् ।

नेपालमा ००७ साल, ०१७ साल, ०४६ साल र ०६३ सालमा राजनीतिक परिवर्तनहरू भए । ०६५ सालमा त गणतन्त्र पनि आयो तर यहाँको अर्ध–सामन्ती र अर्ध औपनिवेशिक सामाजिक तथा आर्थिक संरचनामा कुनै परिवर्तन आएन । यही स्थिर पृष्ठभूमि नै इच्छुकको लेखनको पृष्ठमूमि हो । उनका लेखनका तीन चरण छन् । प्रारम्भदेखि ०४६ सालसम्म उनले निर्दलीय पञ्चायती व्यवस्थाअन्र्तगत लेखे, ०४६ देखि ०५२ सालसम्मको बहुदलीय व्यवस्थाको पहिलो अवधिमा लेखे भने ०५२ सालमा जनयुद्ध शुरु भएपछि बहुदलीय व्यवस्थाको दोस्रो अवधिमा लेखे । उनका सिर्जना अवधिमा चले/भएका वर्गसङ्घर्ष र राजनीतिक आन्दोलनले सेनको जीवनलाई मात्र होइन, सिर्जनात्मक गतिलाई पनि जर्बजस्त प्रभाव पारेका छन् । पार्टीमा आबद्ध भएदेखि नै उनले लेखकीय प्रतिबद्धताको सवाललाई गम्भीरतापूर्वक आत्मसात गरे । वर्गीय प्रतिबद्धता, विचारधारात्मक प्रतिबद्धता र साङ्गठनिक प्रतिबद्धताको एकत्व नै लेखकीय प्रतिबद्धता हो । माक्र्सवादी दृष्टिले जीवन र जगतलाई हेर्ने सेनले आफ्नो क्षमताले भ्याएसम्म त्यसलाई व्यवहारमा उतार्ने प्रयास गरे । असुन्दर जीवनलाई सुन्दरमा बदल्न सकिन्छ तर जीवन वस्तुगत जगतसँग जोडिएको हुनाले वस्तुगत संसारलाई परिवर्तन गरेर मात्र जीवनलाई बदल्न सकिन्छ भन्ने माक्र्सवादी सौन्दर्यशास्त्रको मान्यता हो । त्यसैले प्रगतिवादी साहित्यमा वस्तुगत यथार्थ अभिन्न रूपले जोडिन्छ । इच्छुकले जीवनको कुरूपतालाई कवितामा प्रतिबिम्बन मात्र गरेनन्, त्यसलाई सुन्दरमा परिणत गर्ने व्यवहारमा पनि लगनशील भएर लागिरहे । जीवनको कुरूपता श्रमजीवी जनताको नारकीय जीवनमा मात्र होइन, तिनलाई त्यसरी जीउन बाध्य बनाउने जीवनमा पनि छ । सेनको जीवन सौन्दर्य यही कुरूपताविरुद्ध छ । उनको यो जीवन–सौन्दर्यलाई राष्ट्रको सीमा वा जेलका पर्खालहरूले रोक्न सक्दैनन् । उनले निर्माण गर्न खोजेको राष्ट्रिय मानव मात्र होइन, अन्तर्राष्ट्रिय मानव पनि हो । जीवनबाट कविता पृथक हुन सक्दैन भन्ने कुरामा सेन सचेत थिए । त्यसैले उनका कवितामा सामाजिक मानिसका आँसु, पीडा, प्रेम, घृणा र उल्लासहरू प्रतिबिम्बित भएका छन् । विचार छङ्छङिएर आएको छ तर त्यो नाङ्गो छैन, प्रभावकारी कलाको आवरणमा छ । इच्छुकको सौन्दर्य चेतनालाई राजनीतिक सङ्घर्ष र कठोर जीवन भोगाइले परिमार्जित गर्दै लगेको छ । वर्गसङ्घर्ष, उत्पीडित जनताका दुःख, कष्ट र पीडा, राष्ट्रिय स्वाधीनता, दमन र प्रतिरोध, जनयुद्ध, त्याग, वीरता र उत्सर्ग आदिलाई उनले कविताको अन्तर्वस्तु बनाएका छन् । त्यति मात्र होइन, मधेस, थारु, बँधुवा मजदुर, दलित, महिलाजस्ता उत्पीडित समुदायलाई सेनले कवितामार्फत् वर्गसङ्घर्षको केन्द्रमा ल्याउने प्रयास गरेका छन् । उत्पीडित जातजाति, लिङ्ग, समुदाय वा क्षेत्रलाई वर्ग र राजनीतिक सङ्घर्षबाट कटाएर केन्द्रमा ल्याउने दाबी गर्ने सबाल्टर्नवादीहरूलाई सेनका ‘प्यारो मधेसप्रति’, ‘अस्वीकार’ र ‘आदिवासी दिवस र भिखारीदास सदा’ जस्ता कविताले राम्रो जवाफ दिन्छन् । ‘तिम्रो र हाम्रो संसार’ यस्तो कविता हो जसले वर्गविभाजित समाजको यथार्थ प्रतिबिम्बन गर्दछ ।

कृष्ण सेन ‘इच्छुक’ जनयुद्धबाट सिर्जित नयाँ यथार्थलाई कविता/काव्यमा उतार्ने कुशल शिल्पी हुन् । उनले जनताको मुक्ति, स्वतन्त्रता र सुन्दर सुखमय जीवनका लागि गरिएका त्याग, बलिदान र समर्पणलाई त्यत्तिकै सशक्तताका साथ उठाएका छन् । ‘इतिहासको यस घडीमा’, ‘सेतु जैसीको घर’, ‘सलाम जेलवाङ’, ‘प्रतिबन्ध’ र ‘झुल्के घामका राता किरणहरू’ जस्ता कविता उक्त कुराका ज्वलन्त साक्ष्य हुन् । स्थानीय रङ्गमा सार्वजनीन भावना र सार्वजनीन कुरामा स्थानीयता वा आफ्नोपनको झलक दिन सक्नु सेनको विशेषता हो । त्यसैले थवाङ वा जेलवाङका बिम्बहरू देशव्यापी हुँदै विश्वव्यापी बन्न पुग्दछन् । निजी सम्वेदना वर्गीय रूपमा सार्वजनीन सम्वेदना बन्न पुग्छ । सेनले व्यक्ति सम्वेदनालाई क्रान्तिसम्वेदनासँग जोडेका छन् । यसको राम्रो उदाहरण ‘यात्रामा हिँड्दाहिँड्दै’ कविता हो । सेन उदात्त सौन्दर्य चेतनाका उपासक मात्र होइनन्, त्यसका सम्वाहक पनि हुन् । सङ्कीर्ण चिन्तनले सौन्दर्यको उदात्त पक्षलाई कहिल्यै देख्न सक्दैन । सेनका कवितामा अभिव्यक्त विद्रोह चेत नेपाल र नेपाली जनताको मुक्ति र स्वतन्त्रतासँग मात्र होइन, सिङ्गो उत्पीडित मानव समुदायको मुक्ति र स्वतन्त्रतासँग जोडिएको छ । त्यो साम्यवादी आदर्श र भविष्यको अभिन्न अङ्ग बनेर प्रकट भएको छ ।

कृष्ण सेन ‘इच्छुक’ को उर्जाशील जीवनको करिब दस वर्ष जेलमै बित्यो । जेलका चिसा छिंडीहरूमा उनले धेरै राम्रा कविता लेखेका छन् । यस्ता कविताहरूमध्येमा ‘शोकाञ्जली’ र ‘बन्दी र चन्द्रागिरि’ प्रमुख हुन् । ‘शोकाञ्जली’ सेनले दाङ कारावासमा लेखेका हुन् । यो उनका सहिद साथी मित्रमणि आचार्यलाई नायक बनाएर लेखिएको शोककाव्य हो । आफ्ना मित्रको हत्याको खबरले दाङ कारावासमा रहेका सेनको ह्दय विदीर्ण बनायो । शोकभित्र उर्लिएको भावनालाई यहाँ उनले सशक्त ढङ्गले अभिव्यक्त गरेका छन् । यस काव्यमा भावनाको छालमा विचार बगेको छैन र विवेकले आँशुलाई पराजित गरेको छ । शोकाञ्जली परम्परागत ढङ्गको शोककाव्य होइन । यसमा आख्यानात्मकता छैन । निजात्मक शोक र भावना समान अवस्थाको सन्दर्भमा साझा पनि हुन सक्छन् तर विचारगत र वर्गगत तहमा साझा हुन सक्दैनन् । मित्रमणि आचार्यको मृत्यु सम्वेदना पनि यस्तै हो । शोकाञ्जली निजी शोक र पीडाको सन्दर्भमा नभएर वर्गीय शोकको अवस्थामा लेखिएको हो । मित्र हुनुको नाताले निजी सम्वेदना काव्यमा अवश्य छ तर केन्द्रीय भावमा वर्ग शोक नै रहेको छ । यो काव्य सहिद मित्रमणि आर्चायप्रतिको श्रद्धान्जली पनि हो । क्रान्ति वा युग परिवर्तनका निम्ति समर्पित नायकको खोजी वा निर्माण नै शोकाञ्जलीमा अन्तर्निहीत उद्देश्य हो । शोकाञ्जलीभित्र तीव्र सम्वेदनात्मक अनुभूतिहरूले शोक र करुणाको महासागर उरालेका छन् तर यो शोकभित्र बलिदानको इतिहास मात्र होइन, भविष्यको पनि प्रक्षेपण गरिएको छ । शोक अभिव्यक्त गरिरहँदा सेनले मित्रमणि जन्मे–हुर्केको सामाजिक तथा भौगोलिक परिवेश बिर्सेका छैनन् । यसले काव्य अरु सम्वेदित बन्न पुगेको छ । शोक सागरमा धकेले पनि कविले पाठकलाई निराशामा डुब्न दिँदैनन् र उज्यालो भविष्यको सङ्केत गर्दै शोकलाई शक्तिमा बदल्न आव्हान गरिरहन्छन् । यसले क्रान्ति चेतनालाई सबल बनाएको छ । प्रकृतिको मानवीकरणले सम्वेदनात्मक अनुभूतिलाई अरु तीव्र बनाएको छ । उत्कृष्ट शोक काव्य भए पनि शोकाञ्जली त्रासद काव्य भने बन्न सकेको छैन । काव्य नायक सहिद हो तर उसको त्रासद नायकको रूपमा विकास भएको छैन । एकालापले हत्याराप्रति घृणा त जन्माउँछ तर वर्गटक्करको अनुभूति दिन सक्दैन । वर्गटक्कर भावना र विचारमा छ, वर्णनमा छ परन्तु काव्यमा वस्तुगत यथार्थ बन्न सकेको छैन । विद्रोही काव्य नायकको जीवित क्रियाकलाप, उद्देश्य र विपक्षीसँगको टक्करको आधारभूमिमा त्रासद नायकको निर्माण नभएकाले काव्यनायक त्रासद नायकमा पुग्न नसकेको हो । शोकाञ्जली यथार्थपरकभन्दा बढी भावनापरक भएको छ ।

ललितपुर भट्टेडाँडाको प्रहरी चौकी आक्रमणको खबर छापेबापत गिरफ्तार भई भद्रबन्दी गृहमा बस्दा सेनले ‘बन्दी र चन्द्रागिरि’को रचना गरेका हुन् । यो पनि एकालापीय काव्य हो र यहाँ आख्यानात्मकता छैन । बन्दी र चन्द्रागिरि दुई पात्र भए पनि चन्द्रागिरि मुक छ । बन्दीले मात्र चन्द्रगिरिलाई मानवीकरण गरेर सम्बोधन गरिरहन्छ । शोकाञ्जलीमा अभिव्यक्त प्रकृतिको मानवीकरणको प्रक्रिया यहाँ अरु तीव्र र सशक्त बनेको छ । ‘बन्दी र चन्द्रागिरि’ कृष्ण सेनको काव्यसाधना, जीवन दर्शन, सौन्दर्य चेतना, जनयुद्धजन्य यथार्थको प्रतिबिम्बन र मूल्यबोधको संश्लेषण हो । शैलीगत रूपमा यो कालिदासको ‘मेघदुत’बाट प्रभावित छ । निर्वासित यक्षले आफ्नी प्रेयसीलाई सन्देश पुर्याउन बादल (मेघ) लाई सम्बोधन गरे जस्तै यहाँ कारागारमा निर्वासित बन्दीले आफ्ना भावना, निष्ठा, प्रतिबद्धता र वर्गयुद्धमा ऐक्यबद्धता व्यक्त गर्न चन्द्रागिरिलाई सम्बोधन गरेको छ । सेनको कुरूप संसारविरुद्धको लडाइँ यो काव्यमा अरु उचाइमा पुगेको छ र यो यात्रा सुदूर भविष्यसम्म जारी रहने अठोट गरिएको छ । कारागारको चार पर्खालभित्र थुनिए पनि बन्दीको स्वतन्त्र मनले देशविदेशको विचरण गर्छ र त्यहाँ चलिरहेका मुक्ति आन्दोलन र मानवमुक्तिका अभियानहरूसँग एकाकार हुन्छ । बन्दी र चन्द्रागिरिमा राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, जनतन्त्र, सहिदप्रति सम्मान, साम्यवादी आस्था, सर्वहारा अन्तर्राष्ट्रियतावाद, अस्तव्यस्त देशको चिन्ता, क्रान्ति र समाज रूपान्तरणका लागि लडिरहेका योद्धाहरूसँगको ऐक्यबद्धताजस्ता विषयहरू मुखरित भएका छन् । जनयुद्धको पृष्ठमूमिमा आधारित यो काव्य विवरणात्मक छ र क्रान्तिकारी सपना र आर्दशको सङ्गम बनेको छ । यसले मुक्तिको खोजी गरेको छ र सङ्घर्षरत जनता तथा योद्धाहरूको त्याग, वीरता र बलिदानको वर्णन गरेको छ । ‘बन्दी र चन्द्रागिरि’ ले सामन्तवाद, साम्राज्यवादविरोधी चेतनाको केन्द्रीयतामा राष्ट्रिय स्वाधीनता र मुक्तिको खोजी गरेको छ ।

कृष्ण सेन ‘इच्छुक’ साहित्यकार, पत्रकार, राजनीतिकर्मी र सांस्कृतिकर्मी सबै हुन् र मुख्यतः उनी साहित्यकार हुन्, कवि हुन् । उनी यही कवि व्यक्तित्वबाट सबैभन्दा बढी परिचित र स्थापित छन् । अर्कोतिर मिसन पत्रकारिताको क्षेत्रमा पनि उनी एउटा अगुवा हुन् । मिसनको घेरामा रहेर सेनले निर्भीक ढङ्गले समाचार सम्प्रेषण गरे । सांस्कृतिक आन्दोलनमा सेन संयोजनकारी थिए, विघटनकारी थिएनन् । उनी विचारमा दृढ थिए तर व्यवहारमा लचकदार । न्यूनतम सवालमा मिल्न सकिने र मिल्नु पर्नेहरूसँग भिन्न मत भए पनि मिलेर सहकार्य गर्नुपर्छ भन्ने उनको धारणा थियो । सेनका अन्तर्वार्ता र गद्य रचनाहरूमा उनका वैचारिक, राजनीतिक एवम् सौन्दर्यचिन्तनसम्बन्धी विचारहरू छन् । गद्य फाँट उनको उल्लेख्य क्षेत्र होइन । उनले कतिपय गद्य रचनामा कविताको सैद्धान्तिक एवम् सौन्दर्यात्मक आधार भने खुलाएका छन् ।

४. पहिचान, मूल्याङ्कन र समस्या

कृष्ण सेन ‘इच्छुक’ श्रमजीवी जनताका कवि हुन् । उनले उत्पीडित जनता र राष्ट्रका पक्षमा कविता लेखे अनि समाजरूपान्तरणकारी प्रगतिशील संस्कार र आत्मिक संस्कृति निर्माणमा प्रतिबद्ध भएर क्रियाशील भइरहे । यही रूपमा राष्ट्र र जनताका बीचमा सेनको पहिचान भएको छ कि छैन ? उनले प्रवाहित गर्न खोजेका र गरेका मूल्य र मान्यताहरूको के अवस्था छ ? यी अहम् महत्वका सवालहरू हुन् । आन्तरिक र बाह्य गरी पहिचानका दुई पक्ष छन् । समाजको वर्गविभाजित अवस्था वस्तुगत यथार्थ हो । एउटा वर्गले अर्को वर्गको स्रष्टालाई पहिचान गर्नु वा नगर्नु बाह्य पक्ष हो भने आफ्नै विचार समूह वा वर्गभित्रको पहिचान आन्तरिक पक्ष हो । प्रगतिवादइतर पक्षले सेनलाई मात्र होइन, अरु प्रगतिवादी स्रष्टालाई मान्यता दिनुभन्दा निषेधको नीति अख्तियार गर्दै आएको छ । तहगत हिसाबमा विश्लेषण गर्दा पहिचानका चार तह छन् । पहिलो तहमा स्रष्टा र उसका रचनाहरू हुन् । रचनाकारको सौन्दर्यदृष्टि, प्रतिभा र शैलीले एक किसिमको पहिचान बनाउँछन्, यो मुख्य तह हो । लेखेर मात्र ऊ स्थापित भइहाल्दैन, विस्तार हुनका निमित्त माध्यम चाहिन्छ । यही माध्यमका रूपमा पहिचानका अरु तह अगाडि आउँछन् । यसै क्रममा दोस्रो तह पार्टी सत्ता, तेस्रो राज्य सत्ता र चौथोमा जनसत्ता पर्दछन् । प्रतिभा पहिचानमा कम्युनिस्ट पार्टीभित्र आफ्नै समस्याहरू छन् । एउटा स्रष्टाले जीवनभरि राष्ट्र र जनताको पक्षमा कलम चलाएको हुन्छ तर आफ्नै पार्टीबाट पनि उसले पहिचान पाउन सकेको हुँदैन । कतिपय अवस्थामा विभिन्न कारणहरूबाट ऊ लाञ्छितसमेत हुन पुग्छ । पार्टीभित्र अघोषित सत्तापक्ष र सत्ताइतर पक्ष भएको/हुनेगरेको यथार्थ हो । पार्टीभित्रको केन्द्रीय सत्ताको घेराभित्र पर्नु र नपर्नुमा अन्तर हुन्छ । यस अर्थमा हेर्दा सेन पार्टी सत्ताको केन्द्रीय घेराभित्रै परेका व्यक्ति हुन् । त्यसैले माओवादी पार्टीभित्र उनको पहिचानको कुनै समस्या रहेन । जीवित छँदा उनलाई सांस्कृतिक सङ्गठनको केन्द्रमा स्थापित गरिएको थियो भने मृत्युपछि पनि पार्टीले ‘इच्छुक सांस्कृतिक प्रतिष्ठान’ लगायतका सङ्घ/संस्था खोलेर उनको पहिचान विस्तार गराइरहेको छ । पार्टीकै बलमा राज्यसत्ताले पनि सेनलाई मान्यता दिन थालेको छ । उनकै नाममा सरकारले लाखौं रुपियाँको बजेट छुट्याउनु मान्यताकै सबुद हो । यो अहिलेको शक्ति सन्तुलनको एउटा अवस्थाको उपज हो, सेनलाई सत्तारुढ वर्गले मान्यता दिइहाल्यो भन्ने होइन । पार्टी वा राज्यसत्ताबाट पृथक ढङ्गले जनस्तरबाट कुनै स्रष्टालाई पहिचान गराउने कार्यलाई जनसत्ताअन्र्तगत राख्न सकिन्छ । जनस्तरबाट सेनको पहिचान विस्तारमा त्यति पहल भएको छैन । सत्ताविहीन लेखक कसरी उपेक्षित हुन्छ भन्ने कुराको उदाहरण गोकुल जोशी हुन् । उनका पछाडि न पार्टी सत्ता भयो, न राज्यसत्ता नै । त्यसैले उनी उपेक्ष्ँित रहे । उनको जति पहिचान बनेको छ, त्यो जनस्तरको प्रयासबाट हो ।

सिङ्गो प्रगतिवादी शिविरभित्र कृष्ण सेन ‘इच्छुक’को पहिचानको अवस्था कस्तो छ ? यतापट्टि पनि अलिकति चर्चा गर्नु आवश्यक छ । यहाँ उल्लेख गरेको प्रगतिवादी शिविर भनेको नेपालको प्रगतिशील साहित्यिक आन्दोलनको समष्टि हो । नेपालको वामआन्दोलन विभाजित छ र स्रष्टाहरू पनि विभाजित छन् । यो वस्तुगत अवस्थामा सर्जकहरू आफुले रोजेको सङ्गठनमा आबद्ध हुनु अस्वाभाविक होइन । वामपन्थी सङ्गठनहरू सापेक्ष रूपमा सही र बेसही हुनु आफ्नो ठाँउमा छँदैछ तर विभाजित स्रष्टाहरूले साझा मूल्य निर्माणमा के कस्तो भूमिका खेले र खेल्दैछन् ? त्यो महत्वको विषय हो । राष्ट्रिय, वैज्ञानिक तथा जनवादी धरातल नै सबै प्रगतिशील स्रष्टाहरू उभिने साझा भूमि हो । अर्को शव्दमा भन्दा सामन्तवाद, साम्राज्यवादविरोधी सौन्दर्यचेतनाको धरातलमा निर्मित मूल्यहरू नै साझा मूल्यहरू हुन् ।

कलासाहित्यमा वर्ग प्रेम र वर्ग पक्षधरताबारे हामीले धेरै कुरा गर्छौं र लेख्छौं तर गोकुल जोशी, युद्धप्रसाद मिश्र, देवीप्रसाद किसान, पारिजात र कृष्ण सेनहरूलाई एउटै वर्गमा पार्न वा देख्न सक्दैनौं । यी स्रष्टाहरू प्रगतिवादी आन्दोलनका साझा सम्पत्ति अहिलेसम्म बन्न सकेका छैनन् । यी पार्टीका, गुटका वा कसैका लेखक मात्रै भएका छन्, वर्गका होइनन् । माक्र्सवादी सौन्दर्यचिन्तनका आधारभूत मान्यतालाई छोडेर साझा मूल्य खोज्नुपर्छ भन्न खोजिएको होइन । यहाँनेर फ्रान्सेली आख्यानकार बाल्जाकको राजतन्त्रवादी विचारको आलोचना गर्दै माक्र्स तथा एङगेल्सले बाल्जाकको यथार्थचित्रणको इमान्दारितालाई प्रशंसा गरेको कुरा मननीय छ । प्रगतिवादी साहित्यिक मूल्यहरू शून्यबाट एकाएक आविष्कार भएका होइनन्, विगतका सकारात्मक मूल्यहरूको जगमा नै तिनको विकास भएको हो । सेनको विचार विकासको प्रक्रिया पनि यही हो । प्रगतिशील/प्रगतिवादी लेखकहरू वर्गीय रूपमा साझा हुन नसक्नुको अन्तर्यमा यहाँका वाम पार्टीहरूको मानसिकता छ । त्यसपछि लेखकहरू पनि जिम्मेवार छन् । कतिपय पार्टी वा नेतामा छ दसकभन्दा लामो कम्युनिस्ट आन्दोलनले पनि वर्गचेतना ल्याउन सकेन । यसकै परिणाम धेरै लेखकहरूमा वर्गचेतना आउनै सकेन । लेखकहरू पार्टी प्रतिबद्ध त भए तर वर्ग र विचारधाराप्रति प्रतिबद्ध भएनन् । त्यसैले उनीहरूले आफ्नै गुटका लेखकलाई चिने, बाहिरकालाई चिनेनन् । यथार्थमा वर्गसौन्दर्यको विकास भएन । एउटा पार्टीमा सहानुभूति राख्ने वा त्यसमा प्रतिबद्ध स्रष्टालाई अर्को पार्टी वा सो पार्टीको लेखकले मान्यता नदिनु त एक ठाउँमा छ तर एउटै पार्टीभित्र पनि गुटगत अन्र्तद्वन्द्वमा स्रष्टाहरू एक आपसमा निषेधित हुँदै आएका छन् । उदात्त वर्गचेतना वा पक्षधरताको यहाँभन्दा लज्जाजनक विद्रूपीकरण अरु के हुन सक्छ ? आफ्नो गुट वा पार्टीमा आए सबै असल, नआए सबै खराब ! जतिसुकै मीठा शब्दले ढाक्न खोजे पनि प्रगतिवादी आन्दोलनको एउटा पक्षको धरातलीय यथार्थ यही तीतोपन हो । सेनको मूल्याङ्कनमा पनि कतिपयले यही सजिलो सूत्रको प्रयोग गरेका छन् । यसले सेनको देवत्वकरण र निषेध सँगसँगै भएको छ ।

सेनकै सन्दर्भमा प्रगतिवादी शिविरभित्र स्रष्टा पहिचान र मूल्याङ्कनको संस्थागत अवस्थाबारे पनि चर्चा गर्नु आवश्यक हुन्छ । पारिजात स्मृति केन्द्र, युद्धप्रसाद मिश्र साहित्य प्रतिष्ठान र इच्छुक सांस्कृतिक प्रतिष्ठान क्रमशः पारिजात, मिश्र र सेनको पहिचान विस्तार गर्दै जनसांस्कृतिक आन्दोलनलाई अगाडि बढाउने उद्देश्यले गठन गरिएका गैरसरकारी संस्थाहरू हुन् । पारिजात स्मृति केन्द्रले न पारिजातलाई साझा घेरामा विस्तार गर्ने प्रयास गर्यो, न युद्धप्रसाद मिश्र साहित्य प्रतिष्ठानले युद्धप्रसाद मिश्रलाई । ती गुटगत सङ्कीर्ण मानसिकता र सीमित घेरा तोडेर उदात्त वर्गीय घेरासम्म आइपुग्न सकेनन् । दुर्भाग्य ! नयाँ यथार्थको केन्द्रीयतामा उदात्त वर्गीय भावधारामा प्रगतिशील र प्रगतिवादी स्रष्टाहरूको सिर्जनशील चेतनालाई गोलबन्द गर्ने उद्देश्यका साथ गठन गरिएको ‘इच्छुक सांस्कृतिक प्रतिष्ठान’ पनि गुटबन्दीकै सिकार हुन पुग्यो । लाल सामन्तवादले टाउको उठायो । प्रतिष्ठानको नेतृत्वमा रहेको स्टालिनको जस्तो एकमनावादी चिन्तनले ‘इच्छुक’लाई सीमित व्यक्तिहरूको सङ्कुचित घेरामा कैद गरेर गुट विशेषको खेलौना बनाउने प्रयास गरेको छ । यसले पनि उनको पहिचान विस्तारमा बाधा उत्पन्न गरेको छ ।

प्रगतिवादी शिविर र अझ पार्टीभित्रै स्रष्टाको पहिचान र मूल्याङ्कनका थुप्रै समस्याहरू भए पनि यी पहिचान र मूल्याङ्कनको प्रमुख पक्ष्ँ भने होइनन् । मुख्य त माक्र्सवादी सौन्दर्य चिन्तन, समाजवादी यथार्थवाद, राष्ट्रिय, वैज्ञानिक तथा जनवादी भावभूमि र श्रमजीवी वर्गीय पक्षधरता हुन् । यी र नयाँ यथार्थको पृष्ठभूमिले मात्र कृष्ण सेन ‘इच्छुक’ को पहिचान र मूल्याङ्कनको आधारभूमि प्रदान गर्दछन् ।

५. अन्त्यमा

कृष्ण सेन ‘इच्छुक’ साम्यवादी आदर्शका निष्ठावान् कवि हुन् । उनले नेपाललाई सामन्तवाद, साम्राज्यवाद तथा विस्तारवादबाट मुक्त, स्वाधीन, समुन्नत र सुखी राष्ट्रमा परिवर्तन गर्ने सपना देखे । उनी शव्द र कर्ममा एक भए, एउटै जीवन बाँचे, दोहोरो वा दुई किसिमको जीवन बाँचेनन् । यो नै उनको विशेषता हो । यहाँ उनका कविताको संरचना पक्षको चर्चा गरिएन । यति मात्र भनौं, सेनका कविता राम्रा, मीठा, सरल र स्तरीय छन् । धेरै कविता उच्च र उदात्त सौन्दर्य चेतनाले परिपूर्ण छन् । उनले उत्पीडित जनताका कविता लेखे र समाज परिवर्तनमा क्रियाशील मानिसहरूको गाथा गाए । दमनको प्रतिरोधमा कविता रचे । यसर्थ उनी महान्भन्दा असल र इमान्दार कवि हुन् । सेनले कवितामार्फत् समाजवादी यथार्थवादी धारालाई अघि बढाए । स्रष्टा पहिचानमा गुटबन्दीका पर्खालहरू ढाल्नुपर्छ । कृष्ण सेन ‘इच्छुक’ राष्ट्र र जनताका प्रतिभा हुन्, उनलाई सीमित र सङ्कीर्ण घेराबाट बाहिर निकाल्नु जरुरी छ ।

सेनको जीवन खुला पुस्तक हो, जसले पनि पढ्न सक्छ । उनले सङ्घर्षशील सार्थक जीवन बाँचे, आस्थामा अटल र अडिग रहे, मृत्युसम्मुख उभिंदा पनि झुकेनन् । प्रहरी हिरासतमै उनको गुपचुप हत्या गरियो । सभ्य संसारमा यो कलङ्कको विषय हो । तर, सेनको सहादतलाई निरपेक्षीकरण गरिनु हुँदैन, जनयुद्धमा मारिएका हजारौं योद्धाहरूकै सापेक्षतामा हेर्नुपर्दछ । कलाकर्म विशिष्ट भए पनि कवि जनताभन्दा ठूलो हुन सक्दैन । सेनजस्तै बेपत्ता बनाएर गुपचुप मारिएका धेरै छन्, तिनको मारिएको भन्ने खवर पनि छैन । अति प्रशंसाले स्रष्टालाई उठाउनुको सट्टा खसाल्छ । त्यसैले सेनलाई क्रान्तिकारी रूपवादको प्रहारबाट जोगाउनुपर्छ । आदर्शवाद र समन्वयवादले सेनको चिन्तनमा बेलावखत टाउको उठाउने गरेका हुन् । यसका साथै उनका रचनामा पाइने कतिपय कमजोरीहरूले सेनको उचाइ घट्दैन । सेनले आफ्नी शिक्षित श्रीमतीलाई आन्दोलनमा पूर्णकालीन बनाएर हिंडाउने प्रयत्न किन गरेनन् होला ? यो पनि एउटा प्रश्नकै रूपमा खडा हुन्छ । उनी गुटगत सङ्कीर्णताबाट माथि उठेका थिए । सांस्कृतिक आन्दोलनमा उनले संयोजनकारी भूमिका खेले । सेनका सपना पूरा भएका छैनन् । एउटा उथलपुथलकारी क्रान्तिले मात्र उनका सपना पूरा हुन सक्छन् ।

२०६८/०३/२९

०००

(Visited 69 times, 1 visits today)

टिप्पणी

comments