Main Menu

स्थानीय उत्पादन बजारीकरण गर्न “कोशेली घर”

असोज २६, बाबियाचौर, म्याग्दी

kosheli-ghar-promotion-local-productsअन्नपूर्ण गाउँपालिका–८ नांगीका उद्यमीले स्थानीय उत्पादनको बजारीकरणका लागि कोशेली घर (बिक्री कक्ष) स्थापना गरेका छन् ।

अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत पर्ने नांगीको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर नांगीस्थित सामुदायिक लज परिसरमा कोशेली घर स्थापना गरिएको छ ।

वडा कार्यालयको सहयोग र उद्यमीले श्रमदान गरेर रु. २ लाखको लागतमा बिक्री कक्ष भवन निर्माण गरिएको उद्यमी जसमाया पुर्जाले बताइन् । बिक्री कक्षमा नांगीमा उत्पादित नेपाली कागजबाट तयार गरिएको डायरी, झोला, नोटबुक, ल्याम्पसेट, कागजका गहना, टोपी, झोला, आरुबखडाको जाम, च्याउ लगायतका सामग्री राखिएको छ ।

नांगी भ्रमणमा आउने पर्यटकले कोशेलीका रुपमा ती सामान किनेर लैजान सजिलो होस् भनेर बिक्री कक्ष सञ्चालन गरिएको उद्यमी राममाया पुनले बताइन् । उद्यमीले तयार पारेका सामग्री कोशेली घरमा संकलन गरी बिक्री गर्ने व्यवस्था मिलाइएको छ । उद्यमीलाई सामान बेच्न र पर्यटकलाई नांगी गाउँको पहिचानका रुपमा सामान किनेर लैजान सजिलो भएको छ । ७ जनाले नेपाली कागजबाट सामान बनाउने र १५ जनाले झोला, स्वेटर, टोपी, गलबन्दी बुन्न तथा जाम बनाउने गर्छन ।

सामान बिक्री गर्न बजार जानुपर्दा धेरै समय लाग्छ । उचित मूल्य नपाउने समस्या भएपछि कोशेली घर सञ्चालन गरिएको उद्यमी कुमारी चोचाङगीले बताइन् । बिक्री कक्ष रहेको भवनमा मगर सङ्ग्रहालयसमेत सञ्चालन गर्ने उनीहरुको योजना छ । सङ्ग्रहालय सञ्चालनका लागि मगर समुदायको दैनिक जीवनयापनमा प्रयोग हुने परम्परागत सामग्री संकलन गर्न थालिएको छ ।

नांगीका उद्यमीलाई लघुउद्यम विकास कार्यक्रम र गरिबी निवारण कोषले तालीम, घुम्ती कोष र बजारीकरणमा सघाउँदै आएको छ । द्वन्द्व प्रभावितका लागि बजार निर्माण परियोजनाअन्तर्गत २ वटा उत्पादन समूहमा आबद्ध उद्यमीलाई गरिबी निवारण कोषले घुम्ती कोष सञ्चालनका लागि रु. ४ लाखभन्दा बढी उपलब्ध गराएको छ ।

यसैगरी परम्परागत सीपको संरक्षण, व्यावसायिक उत्पादन र आधुनिक औजारको प्रयोगसम्बन्धी तालीमका साथै विभिन्न ठाउँमा प्रदर्शनीको व्यवस्था मिलाएको धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रका कार्यक्रम संयोजक रमेश पौडेलले बताए ।

(Visited 22 times, 1 visits today)

टिप्पणी

comments