Main Menu

कोमल ओलीको डाह गर्ने कि राजनीतिको दिशाबारे चिन्तित हुने ?

komal-oli-political-course

राजाको शासन कालमा राजाको गुनगान गाउँनेदेखि युवाहरुलाई यौनमा रुमल्याउने गीत तथा नाच देखाउँदै प्रतिक्रियावादी शासक वर्गको सेवा गर्दै आएकी चर्चित कलाकार कोमल ओलीलाई खड्ग ओलीको पार्टी नेकपा एमालेले पार्टीमा भित्र्याएको मात्र नभई अहिले राष्ट्रिय सभामा उम्मेदवार बनाई नेतृ नै बनाएपछि नेपाली कम्युनिस्ट राजनीति तरङ्गित भइरहेको छ । एमाले एवं माओवादी वृत्तका कम्युनिस्ट कार्यकर्ताहरुले मात्र होइनन् वामपन्थलाई रुचाउने थुप्रैले आफ्ना फेसबुक पेजहरुमा नेताहरुलाई गाली गर्दै शब्दहरु पोखिरहेका छन् ।

कसैले भने ‘जिन्दगी भर जनताका गीत गाएर हिँडेका रामेश रायनले पाएनन्, जनबिरोधी हिजोका पञ्च कोमल ओलीले पाइन्’ । कसैले फेसबुक पेजमा एकसाथ फोटाहरु राखी भने, ‘जीवन शर्माले पाएनन्, कोमल ओलीले पाइन्’ ।

राज्य व्यवस्थाका अङ्गहरुमा जाने कुरालाई पुरस्कारको कोणबाट हेर्ने हो कि जिम्मेवारीको कोणबाट हेर्ने ?

कोमल ओलीलाई राष्ट्रिय सभामा एमालेले पठाएकोमा धेरैधरैले भनेका र लेखेका कुराहरुमा अर्थको हिसाबले एउटा समानता भेटिन्छ, त्यो हो ‘काम गर्ने कालु मकै खाने भालु ?’ भन्ने उखान चरितार्थ भयो । यो भनेको दौडमा भाग लिने एउटा पुरस्कार पाउने अर्को भनेको हो । अर्थात् हामी के बुझिरहेका छौं भने राष्ट्रिय सभामा जाने, प्रतिनिधिसभामा जाने वा मन्त्री बन्नेजस्ता कुराहरु पुरस्कृत हुने कुराहरु हुन् । अर्थात् ती भनेका निजी लाभ पाउने वा दिने कुराहरु हुन् । ‘ऊजस्ताले पाउने, अनि मजस्ताले नपाउने ? ऊजस्ताले पाउने, अनि तीजस्ताले नपाउने ?’ यी र यस्तै भावमा अहिले चर्चा परिचर्चा भइरहेका छन् ।

‘अर्कोले पायो, मैले पाइनं, उनी जस्ताले पाएनन् ।’ भन्ने भाव र आग्रह काम नगर्नेले होइन गर्नेले पुरस्कार पाउनुपर्छ वा दिइनुपर्छ भन्ने कोणबाट बेठिक होइनन् । तर, राज्य व्यवस्थाका अङ्गहरुमा जाने कुरालाई पुरस्कारको कोणबाट हेर्ने हो कि जिम्मेवारीको कोणबाट हेर्ने ? यो दृष्टिप्रति कम्युनिस्ट आन्दोलनमा कमै छलफल भएको पाइन्छ ।

पदहरुमा जाने कुरालाई जब पुरस्कारको कोणबाट हेरिन्छ, तब पुरस्कृत हुनेको त्यो निजी प्राप्तिको विषय बन्दछ । निजी प्राप्तिको चीजको हकदार त निजी नै हुन्छ । त्यसैले यो मानसिकताबाट जब कोही पदमा जान्छ वा कसैलाई पठाइन्छ, तब उसले आफ्नो निजी लाभका लागि काम गर्नु अनैतिक नभएको बुझ्नुमा अनौठो मान्नु नपर्ने हुन्छ । ‘मैले आन्दोलनमा २० वर्ष लगानी गरेको छु, जेलनेल भोगेको छु, परिवार गुमाएको छु, त्यसैले अहिले मलाई यो पद दिई पुरस्कृत गरिएको छ ।’ भन्ने भावमा जब कोही राज्यको कुनै पदमा पुग्दछ, तब उसमा कामको जिम्मेवारी कम निजी लाभको आकांक्षा बढी हुने मानसिकता जन्म हुन्छ ।

कोमल ओली, ल्हारक्यार लामा, दिपक मनाङ्गेलगायतकाहरु वामपन्थका प्रतिनिधि हुन सक्दैनन् । तिनीहरुलाई पुरस्कृत गरेको मानेमा होइन कि उनीहरु वामपन्थका प्रतिनिधि हुन पुगेकोमा वामपन्थीहरु बढी गम्भीर बन्नुपर्ने स्थिति हो ।

चाहे ०४६ को जनआन्दोलनपछि बहुदलीय राजनीतिक प्रणाली भित्रको सरकारमा गएकाहरुको सन्दर्भमा होस् चाहे दशवर्षे जनयुद्ध र ०६२/६३ को जनआन्दोलनपछि स्थापित गणतान्त्रिक सरकारमा गएकाहरुको सन्दर्भमा होस्, धेरै नेता–कार्यकर्ताहरु यही मानसिकताबाट ग्रसित भए र उनीहरुले राज्यका अङ्गहरुमा गएर निजी लाभ उठाए पनि । यो प्रवृत्तिबाट वाम कार्यकर्ताहरु आजित छन्, आमजनता दिक्क छन् ।

तर, फेरि पनि के कुरा आइरहेछ भने आन्दोलनकारीलाई पदको पुरस्कार दिइएन, आन्दोलन एवं जनविरोधीहरुलाई दिइयो । पक्कै पनि जनबिरोधी एवं प्रतिक्रियावादीहरुलाई आफ्नो मान्छे बनाई राजकीय पदहरुमा पठाउने काम उनीहरुलाई पुरस्कृत गरिएको नै हो । त्यसरी पुरस्कृत गरिनुले वाम राजनीति ठिक दिशामा अगाडि बढिरहेको छैन भन्ने नै संकेत गर्दछ । तर, ०४६ सालदेखि ०७४ सालसम्म आउँदा सत्तामा पुगेका र पुग्न खोजेका कम्युनिस्ट पार्टीहरुले कोमल ओली प्रकारकाहरु थुप्रैलाई पुरस्कृत गरेको दृष्टान्त छ ।

पुरस्कृत गर्नु र नगर्नुको न्यायिक तार्किकता आफ्नै ठाउँमा छ । तर, निरन्तर क्रान्तिमा लागेकाहरुलाई छाडी कोमल ओली र उनीजस्तालाई राजनीतिक एवं राजकीय पदमा राख्नु भनेको क्रान्ति बाहक उनीहरुलाई बनाउनु हो । कुखुरा चोरलाई कुखुरा फार्ममा रेखदेखकर्ता बनाउनु जस्तै हो । जङ्गलमा बाघ भालुलाई मृगहरुको हेरचाह गर्ने जिम्मा दिनुजस्तै हो ।

कोमल ओली एउटी गायिका हुन् । उनले सयौं गीत गायकी छिन् । अब उनी एउटा कम्युनिस्ट पार्टीकी सभासद भएपछि उनी कम्युनिस्ट पार्टी र बिचारका प्रतिनिधि बन्ने भइन् । अब आम मानिसले संंगीतमा कम्युनिस्ट वा वामपन्थको प्रतिनिधि रामेश, रायन वा जीवन शर्मा होइनन् कोमल ओलीलाई देख्ने भए । किनकि, कोमल ओलीको परिचय भनेको गायिकाको रुपमा थियो । त्यही परिचयबाट उनी अहिले कम्युनिस्ट पार्टीको प्रतिनिधि भई राष्ट्रिय सभामा पुग्दैछिन् । त्यसैले कम्युनिस्ट बिचार, कार्यक्रम, नीति र कार्यक्रमको राम्रो प्रतिनिधि रामेश, रायन वा जीवन शर्माले भन्दा कोमल ओलीले गर्न सक्छिन् भन्ने बुझाइ वाम नेतृत्वमा रहेको आम मान्छेले बुझ्दा भयो । तर, सत्य यो हो ? अवश्य होइन ।

त्यसैले ‘कोमल ओलीले पद पाइन्, मैले पाइनं, उहाँले पाउनु भएन’ भन्ने कुरा गर्दा उसले पद पाएकोमा डाह गरिएको जस्तो हुन्छ । जीवन भर इमान्दारपूर्वक आन्दोलनमा लागेकाहरुले नै आन्दोलन र क्रान्तिको भावना बुझ्दछन्, त्यसैले राजकीय पदमा आन्दोलन र क्रान्तिको अधिकतम प्रतिनिधि उनीहरुले मात्र गर्न सक्छन् भन्ने हो । जनताले पनि जो आन्दोलनमा लागेका हुन् तिनीहरु नै राजकीय पदमा जाँदा नै उनीहरुको सही प्रतिनिधित्व भएको महसुस गर्दछन् भन्ने कुरा नै सही हो । पदमा जानु र पठाउनुलाई पुरस्कारसँग दाँज्नु हुँदैन ।

कोमल ओली, ल्हारक्यार लामा, दिपक मनाङ्गेलगायतकाहरु वामपन्थका प्रतिनिधि हुन सक्दैनन् । तिनीहरुलाई पुरस्कृत गरेको मानेमा होइन कि उनीहरु वामपन्थका प्रतिनिधि हुन पुगेकोमा वामपन्थीहरु बढी गम्भीर बन्नुपर्ने स्थिति हो ।

अहिले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकता हुन गइरहेछ । गत संसद र प्रदेशको चुनावमा यी दुई पार्टीले गठबन्धन बनाएर मैदानमा उत्रँदा राम्रो नतिजा हासिल गरेका छन् । त्यो गठबन्धनले अहिले राष्ट्रिय सभाको चुनावमा खडा गरेका उम्मेदवारहरुको सवालमा भइरहेको टिकाटिप्पणीको सन्दर्भमा नेकपा (एमाले) तर्फबाट कोमल ओलीको उम्मेदवारीलाई लिई अहिले बहस चलिरहेको अवस्था छ । कोमल ओली एक प्रतिनिधि पात्र मात्र हुन् । संसदीय राजनीतिमा कम्युनिस्ट पार्टीहरुले चुनावी प्रभाव, आर्थिक लाभ तथा सत्ता समीकरणका लागि कम्युनिस्ट राजनीतिभन्दा नितान्त फरक दिशामा लागेका र प्रतिक्रियावादी चरित्रका समेतहरुलाई पार्टीभित्र प्रवेश गराउने, नेतृत्व तहमा नै राख्ने र आफ्नो तर्फबाट राजकीय पदमा नै पठाउने अभ्यास बहुदलीय कालदेखि अहिले गणतन्त्रको कालसम्म पनि अभ्यास गर्दै आएका छन् । यस मामिलामा न नेकपा (एमाले) बाहिर छ न त नेकपा (माओवादी केन्द्र) नै । सायद निकट भविष्यमा एक हुन गइरहेका यी दुई कम्युनिस्ट पार्टीहरुमा भएका कुरुप समानताहरुमध्ये पहिलो नम्बरमा यही पर्छ कि ?

  • तुल्सीदास महर्जन
(Visited 36 times, 1 visits today)

टिप्पणी

comments