Main Menu

काष्ठमण्डप पुनःनिर्माण कछुवाको गतिमा

पुस २३, काठमाडौँ

kasthamandap-reconstruction-snails-paceउपत्यकाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण काष्ठमण्डप समुदायको सहभागितामा पुनःनिर्माण हुने सम्झौता भएको ९ महिनासम्म पनि काम हुन सकेको छैन ।

काष्ठमण्डप पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने गरी गत वैशाख २९ गते काष्ठमण्डप पुनःनिर्माण गर्न दिने सम्झौता भएको थियो ।

सम्झौता लगत्तै स्थानीय तह निर्वाचन भई महानगरपालिकामा पदाधिकारी निर्वाचित भएपछि आफैँ बनाउने भन्दै काम गर्न नदिएको अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले जानकारी दिए ।

“असार ६ गते महानगरपालिकाले पुनःनिर्माणका लागि शुरु गरिएको काष्ठमण्डप क्षेत्रमा ताला लगाई साँचो लिएर हिँड्यो । त्यसपछि महानगरपालिकाले आफूले पनि बनाएन, हामीलाई पनि बनाउन दिएन,” उनले भने । अभियानले पहिलेकै स्वरुपमा काठमाडौँको नामकरण भएको ऐतिहासिक स्थल पुनःनिर्माण गर्ने १५ बुँदे सम्झौता पत्रमा उल्लेख थियो ।

जननिर्वाचित स्थानीय सरकारले आफैँ बनाउँछु भनी दिएको धिकरण ९ महिना बित्दा पनि काम नभएकामा चिन्तित छ । समझदारीपत्रमा प्राधिकरणका तर्फबाट सहसचिव यमलाल भुसाल, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, काठमाडौंँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेल र काष्ठमण्डप पुनःनिर्माण अभियानका अध्यक्ष श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

काष्ठमण्डप नेपालकै मौलिकता र इतिहास झल्काउने एवं संस्कृतिसँग जोडिएकाले सबैको मन जितेर, पारदर्शी रुपमा निर्माणलाई नमूना बनाउनुपर्ने स्थानीयवासीको माग छ । पुनःनिर्माणका लागि अभियानलाई दुई वर्षको समय दिए पनि ९ महिनासम्म केही काम भएको छैन ।

पुनःनिर्माणमा विवाद भई आपसी समझदारी कायम हुन नसकेमा प्राधिकरणको कार्यकारी समितिबाट गरिने निर्णय अन्तिम हुने सम्झौता पत्रमा उल्लेख थियो । महानगरले ताला लगाएर काम गर्न नदिएपछि अभियानले प्राधिकरणलाई पत्र लेखी जानकारी गराएको थियो । त्यसपछि प्राधिकरणमा बसेको बैठकले महानगरलाई नै काम गर्न दिने निर्णय गरेपनि काम गर्न सकेको छैन । महानगरपालिकाले वर्खामा सम्पदा सुरक्षित गर्न ओत समेत लगाउन नसकेपछि अभियानले नै किनेर ल्याएको बाँसको प्रयोग गरेर ट्रस बनाएको थियो ।

सम्झौता अनुसार महानगरपालिकाले काष्ठमण्डप पुनःनिर्माणमा लाग्ने काठ लगायतका जिन्सी सामग्री उपलब्ध गराउनुपर्ने थियो । महानगरपालिकालाई दिएको जिम्मेवारी अनुसार काम नभएपछि पुरातत्व विभागले पुस १८ गते पत्र लेखी छिटो काम शुरु गर्न भनेको छ ।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की विभागबाट नक्सा बनेर आई पास गरिसकिएकाले स्थानीयवासीसँग छलफल गरी काम अघि बढाउने तयारीमा लागेको बताउँछन् । भूकम्पपछि विभाग, बेलायतको दुरहाम विश्वविद्यालय, संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को पहलमा काष्ठमण्डपमा भएको उत्खनन्ले सातौँ शताब्दीमै यो ऐतिहासिक स्थल बनेको तथ्य फेला परेको छ ।

यसअघि काष्ठमण्डप १२औँ शताब्दीमा बनेको सङ्गीति ग्रन्थमा फेला परेको प्राधिकरणका पुरातत्व अधिकृत भीष्मराज बाँस्कोटाले जानकारी दिए । १२औँ शताब्दीमा बनेको तथ्य फेला पर्नुअघि १७औँ शताब्दीमा तत्कालिन राजा लक्ष्मीनरसिंह मल्लको पालामा विसेत नाम गरेका मानिसले एउटै रुखबाट काष्ठमण्डप निर्माण गरेको तथ्य पाठ्यपुस्तकमा समावेश गरिएको थियो ।

  • पूर्णप्रसाद मिश्र
(Visited 5 times, 1 visits today)

टिप्पणी

comments