Main Menu

दर्शन

न्याय दर्शनका अगाडि तेर्सिएका ज्ञानका समस्याहरु

  • समिर सिंह

justice-philosophy-problemsज्ञान के हो ? सही ज्ञान कसरी प्राप्त हुन सक्दछ ? ज्ञान सही छ या गलत, त्यो जाँच्ने कसौटी के हो ? यी प्रश्नहरु समाधान गर्न दार्शनिकहरु विभिन्न प्रकारले प्रयासरत छन् । प्राचीनकालका दार्शनिकहरुदेखि लिएर आधुनिक दार्शनिकहरुसम्म एउटा निश्चित मापदण्डका आधारमा अथवा एउटा निश्चित तत्वमीमांसीय दृष्टिकोण (पदार्थ अथवा चेतनालाई प्राथमिकता दिँदै तयार भएको दृष्टिकोण)का आधारमा ज्ञानमीमांसा (ज्ञानको सिद्धान्त)को गहिराइसम्म पुग्ने प्रयास गर्दै आइरहेका छन् । आदर्शवादीहरु, चेतना अथवा ईश्वरलाई प्रमुखता दिँदै ज्ञानका समस्याहरु समाधान गर्न प्रयासरत रहे भने भौतिकवादीहरु, पदार्थलाई प्राथमिकता दिँदै । न्याय दर्शन पनि यस प्रकारको बहसबाट पछाडि हटेन । निश्चित मापदण्ड अर्थात् पदार्थ नै प्रमुख हो भन्ने धारणा राख्दै यो दर्शन ज्ञानका समस्याहरु समाधान गर्न अग्रसर रह्यो । न्याय दर्शनअन्तर्गतका अन्य दार्शनिकहरुभन्दा पनि गौतम अक्षपादको न्यायसूत्रको त्यो दिशामा महत्वपूर्ण योगदान रहेको छ ।

गौतमको न्यायसूत्रमा सम्पूर्ण चीजहरुलाई विशेष गरेर दुई भागमा विभाजित गरिएको छ– चेतन र अचेतन । जसको प्राण हुन्छ, जसमा परिवर्तन हुन्छ, त्यो चेतन भयो भने त्यसको विपरीत स्वरुप भएकाहरु अचेतन भए । यहाँ चेतन र अचेतनलाई एकअर्कासित स्वतन्त्र भएको पनि भनिएको छ, त्यसका साथै यी दुवैबीच अभिन्न सम्बन्ध रहेको पनि बताइएको छ । अचेतन (वस्तुगत यथार्थ), चेतन (मानसिक यथार्थ)भन्दा स्वतन्त्रमात्रै हुने होइन, मानसिक जीवनका विभिन्न क्रियाहरुको लागि आवश्यक शर्त पनि भएको यहाँ बताइएको छ । ती कुरा न्याय दर्शनले निम्न उदाहरणबाट स्पष्ट पार्ने प्रयत्न गर्छ :

ग्रीष्म ऋतुको शुरुवातसँगै हामीलाई गर्मीको अनुभूति हुन्छ । यहाँ हामीलाई ‘गर्मी अनुभूति हुनु’ (चेतना), मानसिक यथार्थ भयो, जुन अनुभूति, ग्रीष्म ऋतु (अचेतन) भएका कारणमात्रै सम्भव भएको हो । त्यस्तै यहाँ अचेतन पक्ष चेतनभन्दा स्वतन्त्र प्रकारले अस्तित्वमा रहेको हामी सहजै स्पष्ट हुन सक्दछौँ, जुन तथ्यलाई लेनिनले आफ्नो पुस्तक भौतिकवाद र अनुभवसिद्ध आलोचनामा पनि पुष्टि गर्दै भनेका छन्– “यो संसार, यसको परिवेश तथा अन्य थुप्रै वस्तुहरु हाम्रा इन्द्रीयबोध, हाम्रो चेतना, हाम्रो आत्मा र आमरुपमा स्वयं मनुष्यबाट पनि स्वतन्त्र हुन्छ ।”

न्याय सूत्रअनुसार चेतन पक्षको अस्तित्व केवल अचेतन पक्षको क्रियाशीलताबाट मात्रै सम्भव हुन्छ । अर्थात् यदि ग्रीष्म ऋतुको शुरुवात नहुँदो हो त हामीलाई कहिल्यै पनि गर्मीको अनुभूति हुने थिएन; आँधी, हुरी, वर्षात् (जो अचेतन हुन्)जस्ता प्राकृतिक प्रकोपहरुको सामना गर्नु नपर्दो हो त हामीलाई कहिल्यै पनि सुरक्षाको लागि ‘घर बनाउनु पर्दछ’ भन्ने अनुभूति हुने नै थिएन । यसरी ‘घर बनाउनु पर्दछ’ भन्ने चेतना, अचेतन पक्षको कारणले मात्रै सम्भव भयो । त्यसको विपरीत अचेतन वस्तुको अस्तित्वको लागि चेतन वस्तुको अस्तित्व रहोस् या नरहोस् त्यो कुनै सरोकारको विषय हुँदैन । हामीलाई गर्मीको अनुभूति होस् वा नहोस्, तर ग्रीष्म ऋतु आएकै हुन्छ । हाम्रो चेतनाले त्यसको अस्तित्वलाई समाप्त गर्न सक्दैन ।

यसरी चेतन र अचेतनबीचको सम्बन्धलाई प्रष्ट्याउन यो दर्शनले भौतिकवादी र द्वन्द्वात्मक मान्यतालाई आंशिक रुपमा भए पनि पक्रन सकेको हामीले सहजै देख्न सक्दछौँ, किनभने भौतिकवादी द्वन्द्ववादको सार पनि के हो भने वस्तुगत यथार्थ चेतनाभन्दा स्वतन्त्र रुपमा अस्तित्वमा रहन्छ । भौतिक वस्तुको अस्तित्वको लागि चेतन वस्तुको अस्तित्व आवश्यक कुरा होइन । तर, चेतनाको लागि भौतिक वस्तु नभई हुँदैन । दुईवटा विरोधी पक्षहरुको संघर्षका कारण एउटा तेस्रो पक्ष निकासको रुपमा स्थापित हुन्छ । त्यस्तै, द्वन्द्ववादको सार के पनि हो भने कुनै दुईवटा पक्षहरुको बीचमा एकता पनि हुन्छ, संघर्ष पनि हुन्छ । यो नियम दुनियाँको कुनै पनि चीजमा लागू हुन्छ ।

आदर्शवादीहरु चेतनालाई प्राथमिकता दिन्छन्, ज्ञानको स्रोत ईश्वर अथवा विशुद्ध चेतनालाई बताउने गर्दछन् । तर, न्याय दर्शनले अघिसारेका माथिका उदाहरणबाट हामी सहजै स्पष्ट हुन सक्दछौँ– ‘घर बनाउनु पर्दछ’ भन्ने चेतना कसरी प्राप्त भयो त ? स्वतःस्फूर्त चेतना अथवा अलौकिक सत्ताका आधारमा त्यस प्रकारको ज्ञान अवश्य पनि भएको होइन, बरु मानिस र प्रकृतिबीचको संघर्षको फलस्वरुप नै त्यसप्रकारको चेतना हामीलाई भयो । यसरी न्याय दर्शनले ‘चेतन पक्षको अस्तित्व, अचेतन पक्षको क्रियाशीलताबाट मात्रै सम्भव भएको’ बताएर भौतिकवादी धारलाई प्रतिनिधित्व गर्न सक्षम भएको हामी मूल्यांकन गर्न सक्दछौँ ।

न्याय दर्शनका अनुसार ज्ञान प्राप्तिको उद्देश्य, दुःख तथा पीडाहरुबाट मुक्ति पाउनको लागि हो । यो दर्शनको दृढ मत के रह्यो भने विश्व र वस्तुहरुको सही ज्ञान प्राप्त गर्नुपर्दछ, अन्यथा विभिन्न दुःख र कष्टहरुको भागीदार बन्नुपर्दछ । विभिन्न प्रकारका कष्टहरुबाट मुक्ति पाउन वैशेषिक दर्शनमा ७ वटा पदार्थहरुको विवेचना गरिएको छ भने यहाँ १६ वटा पदार्थहरुको बारेमा चर्चा गरिएको छ । तर वैशेषिकका द्रव्य, गुण, कर्म आदि ७ पदार्थहरुलाई यहाँ ज्ञान प्राप्त गर्ने वस्तु (ज्ञातव्य वस्तु)को रुपमा केवल एउटा पदार्थको रुपमा सीमित गरिएको छ, जसलाई यहाँ प्रमेय भनिएको छ । गौतमको न्याय सूत्रमा उल्लेख गरिएका १६ वटा पदार्थहरु यसप्रकार छन्– प्रमाण, प्रमेय, संशय, प्रयोजन, दृष्टान्त, सिद्धान्त, अवयव, तर्क, निर्णय, वाद, जल्प, वितंडा, हेत्वाभास, छल, जाति र निग्रहस्थान । यी पदार्थहरुमध्ये दुई पदार्थ– प्रमाण र प्रमेयलाई नै यो दर्शनले विशेष महत्व दिएको छ । त्यस्तै, अन्य पदार्थहरुलाई यहाँ ज्ञान प्राप्तिको साधन भनिएको छ; जसद्वारा विभिन्न त्रुटि तथा भ्रमहरुबाट मुक्ति पाउँदै सत्यको नजिक पुग्न सकिन्छ ।

न्यायसूत्रमा प्रमाणलाई विशेष महत्व दिँदै चर्चा गरिएको छ । प्रमाण ४ प्रकारका हुन्छन्– प्रत्यक्ष, अनुमान, उपमान र शब्द । संक्षेपमा भन्नुपर्दा प्रत्यक्ष ज्ञान त्यो हो जो कुनै इन्द्रीय (आँखा, कान आदि)को कुनै वस्तुसित सम्पर्कको फलस्वरुप हुन्छ । अनुमान त्यो हो, जुन कुनै वस्तुको ज्ञान प्राप्त गर्नुभन्दा पहिले गरिन्छ । उपमान त्यस्तो ज्ञान हो, जो कुनै वस्तुको बारेमा पहिलेबाटै प्राप्त ज्ञानसित अन्य कुनै वस्तुहरुको तुलनाबाट प्राप्त हुन्छ । तथा शब्द, कुनै विश्वसनीय व्यक्तिहरुद्वारा संचारित ज्ञान हो ।

न्यायसूत्रमा प्रत्यक्ष ज्ञानलाई यसरी परिभाषित गरिएको छ– इन्द्रियार्थ सन्निकर्षोत्पन्न ज्ञान मव्य पदेश्याभिचारि व्यवसायत्वकं प्रत्यक्ष् । अर्थात् प्रत्यक्ष त्यो ज्ञान हो, जुन कुनै इन्द्रीयको कुनै वस्तुसित सम्पर्कको फलस्वरुप प्राप्त हुन्छ, तथा जुन शब्दमा व्यक्त गर्न योग्य तथा त्रुटिहीन हुन्छ । त्यस्तै, न्यायसूत्रभाष्यमा वात्स्यायनले प्रत्यक्ष–प्रक्रियाको वर्णन यसरी गरेका छन्– आत्माको मनसित संयोग हुन्छ, मनको ज्ञानेन्द्रीयहरुसित सम्पर्क हुन्छ, ज्ञानेन्द्रीयहरुको वस्तुसित सम्पर्क हुन्छ, त्यसपछि जब बाह्य प्रकाश आदिको उपस्थिति हुन्छ; प्रत्यक्ष हुन्छ । गौतमको प्रत्यक्षसम्बन्धी परिभाषालाई हामी ४ भागमा विभाजित गर्न सक्दछौँ – पहिलो, इन्द्रीयहरु, दोस्रो अर्थ अथवा जुन वस्तुको ज्ञान प्राप्त गर्नुपर्ने हो, तेस्रो सन्निकर्ष अथवा ती वस्तुहरुको इन्द्रीयसित सम्पर्क र अन्तिम, सम्पर्कद्वारा प्राप्त ज्ञान ।

गौतमले सही ज्ञान प्राप्त गर्नका लागि निम्न पाँचवटा कुराहरु आवश्यक हुनुपर्ने बताउँछन् – एक, त्यो वस्तु जसको ज्ञान प्राप्त गर्नुपर्ने हो, दुई, बाह्य उपकरण (प्रकाश आदि), तीन, इन्द्रीयहरु, चार, मस्तिष्क, जसको बिना इन्द्रीयहरु क्रियाशील हुँदैनन् र पाँच, निरीक्षक अर्थात् ज्ञान प्राप्त गर्नेवाला । यीमध्ये कुनै एकको अभावमा पनि ज्ञान प्राप्त हुन नसक्ने सूत्रमा उल्लेख गरिएको छ । जस्तै – प्रकाशको अभावमा कुनै वस्तुलाई राम्ररी देख्न सकिँदैन । त्यस्तै, आँखा कुनै रोगबाट पीडित भयो, जस्तै पीलिया आदि रोग भयो भने दृष्टिमा केही त्रुटि हुनसक्छ । मस्तिष्क अशांत अथवा एकाग्र छैन भने हाम्रो निरीक्षण गलत हुन सक्दछ ।

विद्यमान परिस्थितिसित मेल नखाने विशुद्ध चिन्तन प्रक्रियाको वकालत गर्दै आइरहेका आदर्शवादीहरुलाई गौतमका यी तथ्यहरुले सशक्त चोट पुर्याएको हामी सहजै अनुमान गर्न सक्दछौँ । अर्थात् वस्तुगत यथार्थलाई सबैभन्दा बढी महत्व दिइन्छ । यो कुरालाई गौतमले आफ्नो सूत्रमा बारम्बार जोड दिएका छन् । गौतमका कतिपय तथ्यहरु अहिलेका दिनहरुमा त्यति सान्दर्भिक नभए पनि ‘हाम्रा विचार तथा सिद्धान्तहरु बाह्य परिस्थितिअनुकूल हुनुपर्दछ’ भन्ने मान्यतालाई अहिलेको सन्दर्भमा पनि महत्वपूर्ण पृष्ठभूमिको रुपमा स्वीकार गर्नुपर्ने नै हुन्छ ।

साभार – मूल्याङ्कन मासिक, पूर्णाङ्क १२२

(Visited 127 times, 1 visits today)

टिप्पणी

comments