Main Menu

न्याय दर्शन के हो ?

  • समिर सिंह

(गत हप्ता हामीले न्याय दर्शनका अगाडि तेर्सिएका ज्ञानका समस्याहरुबारे लेखक समीर सिंहको बिचार प्रकाशित गर्यौं । पूर्वीय ज्ञान विकासमा न्याय दर्शन एउटा महत्वपूर्ण ऐतिहासिक उपलब्धी हो । तसर्थ यसबारे प्रारम्भिक तहमै जानकारी हासिल गर्नु उपयुक्त देखिन्छ । आज हामी सोही न्याय दर्शनलाई सुरुबाटै चर्चा गर्ने उद्देश्य अनुरुप लेखक समीर सिंहको अर्को रचना यहाँ प्रस्तुत गरिन्छ ।–सम्पादक)

justice-philosophy-definitionभौतिक व्याख्या गर्ने सन्दर्भमा हाम्रो जुन अवधारणा तयार हुन्छ, त्यो नै दर्शन हो । ‘संसारको संचालक ईश्वर हुन्’– यो एक प्रकारको दर्शन भयो । ‘ईश्वर होइन, भौतिक तत्वबाट नै जगतको सृष्टि भएको हो’– यो अर्को प्रकारको दर्शन भयो । यी दुई विपरीत मान्यताहरुलाई आत्मसात् गर्दै चलाइएको बहसका आधारमा नै अहिलेसम्म दार्शनिक व्याख्या निरन्तर रुपमा अगाडि बढ्दै आइरहेको छ । यस प्रकारको विश्लेषण तथा वहसमा न्याय दर्शनको भूमिका के छ त ? यहाँ विषयवस्तुलाई त्यही कुरामा नै केन्द्रित गरिनेछ ।

ईशापूर्व चौथो शताब्दीमा एउटा अत्यन्तै लोकप्रिय दार्शनिक प्रणाली पैदा भयो । त्यो प्रणाली भनेको न्याय दर्शन हो । यो प्रणालीका प्रणेता गौतम अक्षपाद मानिन्छन् । यो दर्शनको उत्पत्ति बुद्ध दर्शका मान्यताहरुको खण्डन गर्नको लागि नै भएको थियो । त्यो बेला बौद्ध धर्मका अनुयायीहरु आफ्नो घर परिवार सबै छाड्दै भिक्षुको रुपमा परिवर्तित हुँदै गइरहेका थिए । दुःखबाट मुक्ति पाउन हिँडेका युवाहरु त्यसरी यताउता डुल्दै हिँडेको समाजका कतिपय व्यक्तिहरुलाई सह्य भएन । तर्क–वितर्कमा मात्रै विश्वास गर्ने ती युवाहरुलाई पुनः कौटुम्बिक जीवनतर्फ फर्काउन तर्कहरुको नै सहारा लिइयो । र, यसरी सर्वप्रथम बुद्ध दर्शनको प्रतिक्रियास्वरुप गौतमले तर्कशास्त्रको रचना गरे, जसलाई न्यायशास्त्र अथवा न्यायसूत्र भन्ने गरिन्छ । बुद्ध दर्शन जस्तै यो दर्शनले पनि ‘दुःखबाट कसरी मुक्ति सम्भव छ त ?’ त्यो विषयमा नै आफूलाई केन्द्रित गर्यो । त्यसको साथै ‘सही ज्ञान प्राप्त गरेपछि नै दुःखबाट मुक्ति पाउन सकिने ठहर गर्दै’ दार्शनिक व्याख्यालाई त्यतातिर नै लक्षित गरियो ।

गौतमको न्यायसूत्र पाँच अध्यायमा विभाजित छ र प्रत्येक अध्यायलाई २-२ परिच्छेदमा विभाजित गरिएको छ । न्याय दर्शनलाई सर्वप्रथम गौतमद्वारा सूत्रवद्ध गरिएता पनि पछिका दिनहरुमा वात्स्यायन, वाचस्पति मिश्र, उदयनाचार्य, भासर्वज्ञ, जयन्त भट्ट र बाह्रौं शताब्दीतिर गंगेशले यो दर्शनलाई आधुनिक रुप दिँदै गए । यस सन्दर्भमा वात्स्यायनको न्यायसूत्रभाष्य, वाचस्पतिको न्यायसूचिनिबन्ध, उदयनाचार्यको न्यायकुसुमांजलि, भासर्वज्ञको न्यायसार, जयन्तको न्यायमंजरी तथा गंगेशको तत्व चिन्तामणिलाई महङ्खवपूर्ण उपलब्धिको रुपमा लिन सकिन्छ ।

सामान्यतः ‘न्याय’ शब्दको अर्थ वादविवाद गर्नु मानिन्छ । दार्शनिक स्तचेर्बात्सकीका अनुसार यो दर्शनको उद्भव सामान्य वादविवादबाट नै भयो । अर्थात् दुई विपरीत विचार तथा मान्यताहरुलाई तर्कका आधारमा एक अर्काको प्रतिवाद गर्दै, न्यायोचित निकास कसरी सम्भव छ त ? त्यो दिशामा नै यो प्रणालीका पक्षधरहरु लक्षित रहे । जस्तो कि प्राचीन बौद्ध प्रणालीमा त्यस्तो पद्धति अपनाइएको हामी पाउँछौँ । न्यायले अपनाएको यस प्रकारको पद्धतिका कारण नै यसलाई प्राचीन पूर्वीय दर्शनको तर्क विज्ञानको रुपमा चिनिन्छ । यसलाई कहिलेकहिले हेतुविद्या अर्थात् कारणहरुको विद्याको रुपमा पनि प्रकट गर्ने गरिन्छ । तार्किक पद्धतिद्वारा सही ज्ञान प्राप्त गर्नु नै यो दर्शनको उद्देश्य रह्यो । न्याय दर्शनलाई परिभाषित गर्दै न्यायसूत्रभाष्यमा वात्स्यायन भन्दछन्– ‘तार्किक प्रमाणका नियमहरुद्वारा ज्ञानका वस्तुहरुको आलोचनात्मक परीक्षा नै न्याय हो ।’ यो परिभाषाबाट पनि स्पष्ट छ– सत्यको पहिचानको सन्दर्भमा देखापरेका विभिन्न प्रकारका भ्रम तथा गलत तर्कहरुका विरुद्ध नै यो दर्शनले आफूलाई केन्द्रित गर्यो । र, त्यही आधारमा दार्शनिक व्याख्यालाई अगाडि बढाउँदै लगियो ।

अन्तिम अविभाज्य कण परमाणुबाट नै भौतिक जगतको संरचना भएको वैशेषिक दर्शनको मत थियो । न्याय दर्शनले पनि ब्रम्हाण्डको सृष्टिको सम्बन्धमा उक्त पारमाणविक सिद्धान्तलाई नै स्वीकार गर्दछ । अर्थात् मष्तिष्कभन्दा स्वतन्त्र, अपरिवर्तनीय, कारणहीन, शाश्वत् (जो कहिल्यै नष्ट हुँदैन), सूक्ष्म परमाणु नै अन्तिम सत्य भएको यो दर्शनको ठहर छ । यस प्रकारका परमाणुहरुको क्रिया–प्रतिक्रियाको फलस्वरुप नै ब्रम्हाण्डको निर्माण भएको यो दर्शनको मान्यता रह्यो । यसरी ब्रम्हाण्डको उत्पत्तिको कारण कुनै ईश्वर अथवा कुनै अलौकिक शक्ति नभएर परमाणु नै भएको बताएको हुनाले गौतमको न्यायसूत्रलाई भौतिकवादी दर्शनको रुपमा नै स्वीकार गर्नुपर्ने हुन्छ ।

‘ब्रम्हाण्डको सृष्टि ईश्वरद्वारा गरिएको होइन’ –यस प्रकारका अवधारणाको लागि न्यायसूत्रले के तर्क प्रस्तुत गर्दछ भने ‘पारमाणविक तत्वहरु शाश्वत् र यथार्थ हुन्छन् ।’ अतः शाश्वत् तत्वको कुनै स्रष्टा हुने प्रश्न नै उठ्दैन । तर परमाणुहरु शाश्वत् हुन्छन् भन्नको लागि वैज्ञानिक आधार के त ? त्यति प्राचीनकालमा आवश्यक वैज्ञानिक तथ्यहरुको अभावमा यो प्रश्न समाधान हुन संभव नै थिएन तर पनि अनुभवको आधारमा भए पनि गौतमको यो अवधारणालाई महत्वपूर्ण उपलब्धिको रुपमा लिनुपर्ने हुन्छ ।

महत्वपूर्ण कुरा के छ भने पृथ्वी, जल, अग्नि, वायु र आकाशलाई नै यो दर्शनले मूलभूत तत्वको रुपमा स्वीकार गर्दछ । तथा यी तत्वहरुको क्रिया–प्रतिक्रियाको फलस्वरुप नै ब्रम्हाण्डको उत्पत्ति भएको; विभिन्न प्रकारका जीव तथा अजीवहरुको अस्तित्व सम्भव भएको यो दर्शनको ठहर छ । यो ठहर भौतिकवादी छ ।

त्यस्तै, यहाँ पाँच आधारभूत तत्वबाहेक चार अन्य तत्वहरुको अस्तित्व पनि स्वीकार गरिएको छ– समय, अवकाश, मष्तिष्क र आत्मा । यहाँ आत्माको अर्थ वेद तथा उपनिषदहरुमा उल्लेख गरिएको जस्तो आत्मा नभएर घृणा, दुःख, द्वैष, इच्छा, आनन्दजस्ता भावनात्मक पक्षहरुलाई आत्मा भनिएको छ । सूत्रमा के पनि बताइएको छ भने शरीरको अभावमा न त आत्माको अस्तित्व सम्भव छ न त त्यसले कुनै कार्य गर्नसक्दछ । न्याय दर्शनको यो सोच भौतिकवादी देखिन्छ । मानिसको मृत्यपछि ‘आत्माको परमात्मासित मिलन हुन्छ’ जस्तो कुतर्कलाई यहाँ विश्वास गरिएको छैन । त्यस्तै, शरीरलाई विभिन्न प्रकारका क्रियाहरुको विभिन्न प्रकारका अनुभवहरुको आवासको रुपमा लिइएको छ ।

ज्ञानलिंगत्वादात्मनो नानवरोधः अर्थात् गौतमको न्यायसूत्रमा हामीले प्राप्त गर्ने ज्ञानलाई आत्माको लक्षण भनिएको छ । बुद्धिलाई मनको यस्तो शक्तिको रुपमा लिइएको छ, जसले वस्तुलाई बुझ्दछ तथा त्यसका गुण र दोषहरुको विवेचना गर्दछ ।

यसरी स्पष्ट छ– कुनै अलौकिक सत्ताको सम्बन्धमा वैशेषिक दर्शनको जुन अवधारण थियो, न्याय दर्शनको पनि लगभग त्यही प्रकारको अवधारणा रहेको छ, जुन भौतिकवादी छ । अर्थात् त्यति प्राचीनकालमा पनि गौतमद्वारा ब्रम्हाण्डको गठन प्रक्रियाको सम्बन्धमा ईश्वरको सत्तालाई स्वीकार गरिएन, जुन कुरालाई दार्शनिक रिचार्ड गार्वेले आफ्नो पुस्तक Philosophy of Ancient India मा पनि स्वीकार्दै बताएका छन्– ‘यी दुवै प्रणालीहरुको मूल पाठ्यपुस्तकमा ईश्वरको अस्तित्वलाई स्वीकार गरिएन । यो कुरालाई स्वीकार गरिएन कि पदार्थको कुनै स्रष्टा पनि हुन्छ । पछि नै यी दुवै प्रणालीहरुमा परिवर्तन भयो र त्यहाँ ईश्वरवाद आयो ।’

प्रमुख तत्व के हो ? वैशेषिक दर्शन, यस प्रकारको अध्ययनमा नै बढी केन्द्रित रह्यो । (यस प्रकारको अध्ययनलाई दार्शनिक भाषामा तत्वमीमांसा भनिन्छ) तर न्याय दर्शनले वैशेषिकको त्यस प्रकारका दार्शनिक मान्यतालाई आधार मान्दै ज्ञानका समस्याहरु समाधान गर्नेतर्फ नै आफूलाई लक्षित गर्यो । प्रकृतिका नियमहरुलाई आधार मान्दै मानव मष्तिष्कका समस्याहरु समाधान गर्ने दिशातर्फ यो दर्शन अग्रसर भयो ।

ज्ञानमीमांसा (ज्ञानको सिद्धान्त) दर्शनशास्त्रको एउटा महत्वपूर्ण अंग हो । तर यो मीमांसा त्यो अवस्थामा नै सत्यको घेराभित्र पर्न सक्दछ, जब यसको तत्वमीमांसीय अधार सही हुन्छ । अर्थात् प्रमुख तत्व के हो ? यो प्रश्नलाई हामी सही रुपमा समाधान गर्न सक्दैनौँ भने ज्ञानका समस्याहरुलाई पनि सही प्रकारले समाधान गर्न सकिँदैन । यदि हामी कुनै अलौकिक सत्तालाई प्रमुख सत्ताको रुपमा स्वीकार गर्दछौं भने हामीले प्राप्त गर्ने ज्ञान पनि असत्य र काल्पनिक मात्रै हुन्छ । तर न्यायको तत्वमीमांसीय आधार भौतिकवादी प्रकारको रह्यो । त्यसैले ज्ञानमीमांसाको क्षेत्रमा न्याय प्रणालीले यथार्थतालाई पहिचान गर्न सक्षम भएको हामी सहजै दावी गर्न सक्छौं, जुन कुरा गौतम अक्षपादको न्यायसूत्र अध्ययन गर्दा पनि प्रष्ट हुन्छ ।

दर्शनले समग्रता त्यो अवस्थामा नै लिन सक्दछ, जब त्यसले तत्वमीमांसाका साथै ज्ञानमीमांसालाई समेत समेट्न सक्दछ । कुनै पनि दार्शनिक सोचाइ तथा मान्यता त्यो अवस्थामा नै सत्यको घेराभित्र पर्न सक्छ, जब भौतिकवाद तथा द्वन्द्ववाद दुवैलाई आत्मसात् गर्न सक्दछ । न्याय दर्शन, यी विभिन्न पक्षहरुको गहिराइमा पुग्न नसके पनि अनुभवका आधारमा भए पनि उसको ठम्याइ सही भएको हामीले मूल्यांकन गर्नुपर्ने हुन्छ । के सही हो ? के गलत हो ? यी प्रश्नहरु समाधान गर्न वेद र उपनिषदहरुमा उल्लेख गरिएका काल्पनिक शब्दजालहरु तर्क केन्द्रित नभएर न्याय प्रणाली, भौतिक जगततर्फ नै केन्द्रित भए । विशेष गरेर गौतमको न्यायसूत्रको त्यो दिशमा उल्लेखनीय भूमिका रह्यो ।

न्याय दर्शनको यस प्रकारको दार्शनिक चिन्तनले गर्दा पनि भविष्यमा एउटा व्यावहारिक तथा वैज्ञानिक दार्शनिक पद्धतिको निर्माणको लागि महत्वपूर्ण पृष्ठभूमि तयार हुँदै गयो । सत्यताको पहिचानको दिशामा न्याय लगायतका दार्शनिक प्रणालीहरुको यस प्रकारको विश्लेषणले गर्दा नै होला एंगेल्सले आफ्नो पुस्तक ड्यूरिंग मतखण्डनमा भनेका छन्– “दार्शनिक प्रणालीलाई अझ उच्च रुप दिन योभन्दा राम्रो कुनै उपाय छैन कि पहिलेका दर्शनहरुको अध्ययन गरियोस् ।”

(Visited 271 times, 1 visits today)

टिप्पणी

comments