Main Menu

जुम्लामा ३ सय शय्याको अस्पताल

माघ ३, जुम्ला

jumla-3-hundred-bed-hospital-construction३ सय शय्याको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएको छ । पश्चिम नेपालकै ठूलो आयोजनामा सो अस्पताल जुम्लामा निर्माण भएको हो ।

७६ करोड रुपैयाँको लागतमा अस्पतालको भवन पूर्णरुपमा निर्माण कार्य सम्पन्न भएको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले बताए ।

केही उपकरण जडान र सरसफाइका कार्य अहिले जारी रहेकाले १५ माघबाट कम्पनीले अस्पताल हस्तान्तरण गर्ने भएको छ भने सोही मितिमा अस्पतालको उद्घाटन गरी सेवा विस्तार गर्ने कार्ययोजना रहेको उनले बताए । अत्याधुनिक सुविधा सम्पन्न सेवा प्रवाहमा प्रतिष्ठान हरसम्भव जुटिरहेको पनि रजिष्टार काफ्लेले जानकारी दिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिम नेपालको चिकित्सा क्षेत्रमा आधुनिक, पहिलो र ठूलो अस्पताल हो । सो अस्पताल तीन वर्षमा निर्माण गर्ने गरी रसुवा कन्ट्रक्सन कम्पनीसँग सम्झौता भएको र तोकिएको मिति भित्रै निर्माण कार्य सम्पन्न भएको प्रतिष्ठानका रजिष्टार काफ्ले बताए ।

अहिले प्रतिष्ठानले १०० शैय्याको अस्पताल, १७ जना विशेषज्ञ डाक्टरसहित १ सय ५० जना जनशक्तिले सेवा प्रवाह गर्दै आएका छन् । प्रतिष्ठानका रजिष्ट्रार काफ्लेका अनुसार गतवर्ष २९ हजार ९ सय ३४ जना विरामीले अस्पतालबाट सेवा लिएका थिए, जसमध्ये २ हजार ४ सय ९१ जनाको ठूलो शल्यक्रिया भएको थियो ।

त्यसैगरी, विपन्नलाई निःशुल्क उपचार, स्वास्थ्य बीमा सुरु, स्टाफ नर्स चौंथो र हेल्थ असिष्टेन्ट तेस्रो व्याज सञ्चालन गरिहेको उनले बताए ।

‘ऐनले व्यवस्था गरे बमोजिम ४५ प्रतिशत पिछडिएको क्षेत्रका व्यक्तिले अध्ययन गर्ने अवसर प्राप्त गर्दै आएका छन्,’ उनले भने ।

स्वास्थ्य क्षेत्रमा अनुसन्धान

स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ स्थापना गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यमा अनुसन्धान गरिरहेको छ ।

प्रतिष्ठानले कर्णालीमा स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा प्रभावकारी सञ्चालन गरिरहेको अवस्थामा स्वास्थ्यमा अनुसन्धान गरेको हो । प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्लेले स्वास्थ्य सेवासँगै स्वास्थ्य शिक्षा र स्वास्थ्य अनुसन्धान अघि बढाएको जानकारी दिए ।

उपकुलपति वाग्लेले भने,‘साविकको कर्णाली अञ्चलका मुगु, जुम्ला र कालिकोट जिल्लामा अनुसन्धान सम्पन्न भइसक्यो । अब प्रतिष्ठानको कार्य क्षेत्रअन्तर्गत तत्कालिन पिछडिएको ९ वटा जिल्लामा स्वास्थ्य सर्वेक्षण गछौँ ।’

प्रतिष्ठानले सबै जिल्लाको स्वास्थ्य अवस्थाको तथ्यांक लिएर तथ्यांक अनुसार उपचार सेवाको मार्ग खोल्न अनुसन्धान प्रक्रिया अगाडि बढाउने प्रतिष्ठानले बताएको छ ।

सिनेट बैठक उपलब्धिमूलक

प्रधानमन्त्रीको अध्यक्षता रहेको प्रतिष्ठानको सिनेट बैठक उपलब्धिमूलक हुँदै गएका छन् ।

दुई वर्षसम्म सम्पन्न हुन नसकेको सिनेट बैठकमा बहुसरोकारको स्थानीयवासीले निःशुल्क दिएको १ हजार ५ सय रोपनी जग्गा पास गराउन पहल गर्ने निर्णय भएको छ ।

त्यसैगरी, स्वास्थ्य शिक्षाको ब्याचलर अफ मिडवाफ्री सञ्चालन गर्ने, ६ नं प्रदेशमा विशेषज्ञ सेवा शुरु गर्ने, महत्वपूर्ण बहिरंग विभाग सञ्चालन गर्ने जस्ता महत्वपुर्ण निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।

यसैगरी प्रतिष्ठानले नेपालगञ्जबाट आपूर्ति गर्दै आएको अक्सिजन प्लान्ट र ब्लड बैंक जुम्लामा पनि व्यवस्था गर्ने पनि प्रतिष्ठानले जनाएको छ ।

  • मानदत्त रावल

नयाँ पत्रिका दैनिकबाट

 

(Visited 11 times, 1 visits today)

टिप्पणी

comments