Main Menu

अन्तरक्रिया

एक्काइसौं शताब्दीमा समाजवादको यात्रा कतातिर ?

गत बीसौं शताब्दी समाजवादी क्रान्तिको युग थियो । सन् १९१७ मा संसारमा पहिलो पटक रुसमा लेनिन र बोल्शेविक पार्टीको नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न भयो । दोश्रो विश्वयुद्धको समापन पश्चात सोभियत संघको समर्थन र सहयोगमा पूर्वी युरोपमा पूर्वी जर्मनी, रुमानीया, युगोश्लाभिया, अल्वानीया, चेकोश्लाभाकियालगायत थुप्रै देशहरुमा पनि समाजवादी क्रान्ति सम्पन्न भयो । चीनमा १९४९ मा नौलो जनवादी क्रान्ति भयो । त्यस क्रान्तिले समाजवादका लागि आधार निर्माण गर्यो र लगतै चीनले पनि क्रान्तिपछि समाजवादी कार्यक्रमहरुलाई लागु गर्दै गयो । उता ल्याटिन अमेरिकाको देश क्युवामा सन् १९५९ मा फिडेल क्यास्ट्रो र चे ग्वे भाराको नेतृत्वमा सशस्त्र संघर्ष भई क्रान्ति सम्पन्न भयो । क्रान्ति पश्चात त्यहाँ पनि समाजवादी कार्यक्रमहरु लागु गरिए । त्यस्तै गरी यता दक्षिणपूर्वी एशियाका मुलुकहरु भियतनाम, क्याम्वोडिया र लाओसमा पनि बीसौं शताब्दीको उत्तराद्र्धमा क्रान्ति सम्पन्न भई समाजवादी कार्यक्रम लागु गर्न थालियो ।

समाजवादले मुलतः श्रमिक जनता तथा न्यून आयका जनताहरुको जीवन सुरक्षा गर्न थाल्यो । समाजवादी मुलुकहरुमा जनताका आधारभूत सवालहरु शिक्षा, स्वास्थ्य, रोजगार आदि मौलिक हकको रुपमा परिभाषित गरी त्यसको पूर्ति राज्यको दायित्व अन्तर्गत पारियो । जनताको गाँस, बास र कपासको ब्यबस्था राज्यको पहिलो दायित्व अन्तर्गत पारियो । जल, जमिन, जङ्गल, खानीलगायत सम्पूर्ण प्राकृतिक सम्पदा राष्ट्रियकरण गरी उत्पादनका दृष्टिमा उपयोगिताको आधारमा राज्यको नियन्त्रणमा वितरण गर्ने वा राज्यले सिधै उपयोग तथा विकास गर्ने गरियो । सम्पूर्ण उद्योग तथा कलकारखानाहरु पनि राष्ट्रियकरण गरी राज्यबाट प्रत्यक्ष संचालनमा ल्याइए ।

समाजवादमा पुँजीवादमा जस्तो व्यापार तथा उद्योग व्यवसायमा लगानी गरी नाफा कमाउने पुँजीवादी प्रणालीलाई निषेध गरियो । जो काम गर्छ, उसले माम पायो । अर्कालाई काम गराई त्यसबाट नाफा लिई धनी बन्ने प्रथाको अन्त्य समाजवादमा भयो । अर्थात् प्रत्यक्ष पुँजीजिवी वर्गको अन्त्य गरियो ।

समाजवाद स्थापना भइसकेपछि सोभियत रुस ‘संघीय सोभियत समाजवादी गणतन्त्र’ अर्थात् ‘सोभियत संघ’ मा बदलियो । छोटो समयमा नै सोभियत संघ विश्व महाशक्ति देशमा परिणत भयो । दोश्रो विश्वयुद्धमा हिटलरको जर्मनी पराजित भएपछि विश्व महाशक्तिमा सोभियत संघ र अमेरिकाको उदय भयो । संसार दुई महाशक्तिको प्रभावमा विभक्त भयो । अर्थात् विश्व दुई ध्रुवीय शक्तिहरुमा बिभाजित भयो । एउटा ध्रुव सोभियत संघको नेतृत्वमा ‘वार्साप्याक्ट’ सैनिक गठन्धन बनाई पूर्वी युरोपका समाजवादी मुलुकहरु सम्मिलित समूहको रुपमा संगठित भयो भने अर्को ध्रुव संयुक्त राज्य अमेरिकाको नेतृत्वमा ‘नेटो’ सैनिक गठबन्धन बनाई पश्चिमी पुँजीवादी मुलुकहरु सम्मिलित समूहको रुपमा संगठित भयो । ती दुई ध्रुवहरुबीच सन् १९९१ मा सोभियत संघको विघटन नहुँदासम्म सैनिक शक्ति बढाउने, आम विनाशकारी पारमाणविक वम बनाउने र आआफ्नो प्रभाव क्षेत्र बनाउने, बढाउने एवं एकले अर्कालाई धम्क्याउने, खुइल्याउने गरी वाक युद्ध चल्यो । यसलाई ‘शितयुद्ध’ नामाकरण गरियो । यो युद्ध वास्तवमा अन्तर्राष्ट्रिय रुपमा समाजवाद र पुँजीवादबीचको लडाईं थियो ।

विश्वमा उभारकै रुपमा अगाडि आएको समाजवादको हुरीबाट जोगिनका लागि पश्चिमा पुँजीवादी मुलुकहरुले पुँजीवादमा केही सुधार ल्याए । उनीहरुले पुँजीवादमा समाजवादका केही अंश घुसाए । जसअनुसार राज्यको ढुकुटीबाट केही रकम खर्च गरी आमजनताको जीवनस्तर उकास्ने गरी शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा विशेष अनुदानको व्यवस्था गर्ने प्रणालीलाई भित्र्याइयो । अनिवार्य र निःशुल्क शिक्षा, बिमा प्रणालीबाट आम जनतालाई निःशुल्क स्वास्थ्य सेवा, रोजगारी हुन नसक्दासम्म बेरोजगार भत्ताको व्यवस्था, बालबालिका तथा बृद्धबृद्धाहरुको जीवन सुरक्षाका लागि राज्यबाट विशेष व्यवस्था आदिजस्ता लोककल्याणकारी प्रणाली पुँजीवादी मुलुकहरुले पनि गर्न थाले । उनीहरुले आफ्ना मुलुकहरुमा समाजवादी क्रान्ति नहोस् भनी श्रमिक वर्गको सम्भावित क्रान्तिकारी कदमलाई रोक्नका लागि ती सुधारहरु गरेका हुन् ।

सन् १९२४ मा लेनिनको मृत्युपछि स्टालिनको उदय भएपश्चात नै सोभियत संघको कम्युनिस्ट पार्टीभित्र धेरै उतारचढावहरु भए । सोभियत क्रान्तिको समयमा लेनिनपछिका नेता लियोन ट्राट्स्की थिए । उनी रुसी मजदूरहरुको लाल सेनाका प्रमुख पनि थिए । तर, लेनिनको निधनपछि उनी नेतृत्वमा आउन सकेनन् । दोश्रो विश्वयुद्ध सुरु हुनुपूर्व नै पार्टीभित्र क्रान्तिविरोधी तत्वहरु भनी हजारौं पार्टी नेता, कार्यकर्ता, सरकारी कर्मचारी एवं सेनाहरुलाई पदबाट हटाउने, निर्वासनमा पठाउने र मृत्युदण्ड समेत दिने गरियो । स्टालिनको नेतृत्वमा भएको यस कदमलाई ‘महान पर्ज’ भनियो । त्यस ‘महान पर्ज’मा सोभियत नेता लियोन ट्राट्स्की पनि परे । उनी भागेर उत्तर अमेरिकी देश मेक्सिकोमा पुगे । त्यहीँ उनको २१ अगस्त १९४० मा हत्या भयो ।

सन् १९५३ मा स्टालिनको मृत्युपछि सोभियत संघको नेतृत्व सम्हाल्न निकिता ख्रुश्चेव आए । उनले सर्वहारा वर्गको पार्टी सोभियत कम्युनिस्ट पार्टी र सर्वहारा वर्गको अधिनायकत्वको सोभियत राज्यसत्तालाई नयाँ अवधारणामा बदले । उनले सम्पूर्ण जनताको पार्टी र राज्यसत्ताको अवधारणालाई अगाडि ल्याए । सोभियत पार्टी र राज्य क्रमशः पार्टी नोकरशाहहरुको मौजाको रुपमा परिणत हुन थाल्यो । यो क्रमलाई १९७१ मा ख्रुश्चेवको मृत्यु पश्चात सत्तामा आएका ब्रेझनेभले झन अगाडि बढाए । र, १९८२ मा ब्रेझनेभको पनि मृत्यु भएपछि सत्तामा आएका मिखाइल गोर्भाचोवले सोभियत पार्टी र राज्यमा आएका समस्याहरुलाई हल गर्ने भनेर ‘पेरेस्ट्रोइका र ग्लास्नोस्ट’ को नीतिलाई अगाडि सारे । यसले सोभियत संघलाई खुला गर्ने र त्यस अनुकूलको संरचनामा ढाल्ने गर्थ्यो । गोर्भाचोभको त्यस नीति कम्युनिस्ट र समाजवादविरोधी हो भनी तत्कालीन सोभियत उपराष्ट्रपति गेन्नाडी यानायाभले असफल सैनिक ‘कू’ गरे । र, यही क्रममा यानायाभ पक्राउ परे । रुसी गणतन्त्रमा पश्चिमाहरुको समर्थनमा वोरिस यल्तसिन नेतृत्वमा आए । कम्युनिस्ट राजनीतिबाट नै सत्तामा आएका भए पनि उनले सोभियत कम्युनिस्ट पार्टी र राज्यसत्ताबिरुद्ध धावा बोले । खासगरी यानायाभको असफल सैनिक ‘कू’ को समयमा कम्युनिस्टहरुको विरोधमा जनतालाई सडकमा उतारी उनी हिरो नै बने ।

यानायाभको ‘कू’ असफल भएपछि गोर्भाचोभले सोभियत कम्युनिस्ट पार्टी र सोभियत संघलाई सम्हाल्न सकेनन् । उनले पदबाट राजीनामा दिए । २६ डिसेम्बर १९९१ मा सोभियत संघ विघटन भएको घोषणा गरियो । र, १९९१ मा रुसी राष्ट्रपति बनेका बोरिस यल्तसिनलाई पूर्व सोभियत संघको सम्पूर्ण अधिकार सुम्पियो । सोभियत संघमा संगठित भएका गणतन्त्रहरुलाई फुकुवा गरिए । क्रेमलिनमा रहेको सोभियत झण्डालाई सदाका लागि तल झारियो । बोरिस यल्तसिनले सोभियत कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध समेत लगाए । यसरी सन् १९१७ को अक्टोबर क्रान्तिबाट स्थापित भएको सोभियत समाजवादी राज्यसत्ता सत्तरी वर्षपछि पूर्णत विघटन हुन पुग्यो ।

सोभियत कम्युनिस्ट पार्टी र सोभियत राज्यसत्ताको अवसानपछि ‘वार्साप्याक्ट’ पनि विघटन हुन पुग्यो । अब विश्व दुई ध्रुवीयबाट केबल अमेरिकी ध्रुव मात्र बाँकी बसी एकल ध्रुवमा परिणत भएको छ । पूर्वी युरोपका समाजवादी मुलुकहरु पनि धमाधम ढल्न थाले । संसारभरि समाजवाद अब रक्षात्मक स्थितिमा आइपुग्यो ।

तर, पुँजीवादी साम्राज्यवादी अमेरिकाको एकल ध्रुवको प्रभावमा रहेको वर्तमान विश्वमा चीनमा आफ्नै खालको समाजवादी व्यवस्था चलिरहेको छ । ल्याटिन अमेरिकी देश क्युवामा पनि समाजवादी राज्यसत्ता कायम नै छ । भेनेजुयलामा चुनावैबाट सत्तामा आएका बितेका बोलिभारियन नेता ह्युगे चाभेजले जनमत सङ्ग्रहको माध्यमबाट समाजवादी संविधान निर्माण गरी सन् २००८ मा समाजवादको स्थापना गरे । अहिले उनकै उत्तराधिकारी राष्ट्रपति निकोलस मदुरोले अमेरिकी साम्राज्यवादको निरन्तरको अवरोधको बावजुद पनि समाजवादी व्यवस्थालाई बलियो बनाउँदै लगिरहेका छन् । ल्याटिन अमेरिकी अन्य देशहरु बोलिभिया, निकारागुवा, होण्डुरस लगायत गरी झण्डै एक दर्जन देशहरुमा निर्वाचनबाटै आ–आफ्नै प्रकारले समाजवादको अभ्यास गरिरहेका छन् ।

अहिलेको २१ औं शताब्दीको युग विज्ञान–प्रविधिको युग हो । अब उद्योग कलकारखानाहरु मानव श्रमले भन्दा पनि डिजिटल यन्त्र र रोबोटहरुद्वारा चल्न थालेका छन् । १९ औं र २० शताब्दीमा मार्क्स, ऐङ्गेल्स र लेनिनहरुले देखेका भोगेका क्रान्तिकारी सर्वहारा वर्ग प्रत्यक्ष रुपमा देखिन छोडिएको छ । उत्पादक शक्तिमा अब मानव ज्ञान अगाडि आएको छ । पुँजीवादीहरुले आफूलाई बलियो बनाउन विज्ञान–प्रविधिलाई भरपुर प्रयोग गरेका छन् । विज्ञान पनि अब न्युटनको यन्त्रवाद र आइन्स्टाइनको सापेक्षतावाद हुँदै अहिले पदार्थको क्वान्टम सिद्धान्त र हकिङ्गसको ब्लाय्क होल बिकिरण एवं विश्वब्रम्हाण्डीय सिद्धान्तसम्म आइपुगेको छ । यस अवस्थामा दर्शन, सिद्धान्त, बिचार र अवधारणाहरु अब अध्यावधि हुनु जरुरी भएको छ । समाजवाद, समाजवादी क्रान्ति र साम्यवादसम्मको यात्रालाई नयाँ युगमा पुनः परिभाषित गरी बाटोलाई सफा र स्पष्ट बनाउनु परेको छ । रुसी अक्टोबर समाजवादी क्रान्तिको (१९१७–२०१७) सतवार्षिकी मनाइरहँदा २१ औं शताब्दीका नयाँ मान्छेहरुले नयाँ ढङ्गले सोच्नु जरुरी छ । विगतमा गरिएको समाजवादी यात्राको समीक्षा, वर्तमानको अवस्था र भविष्यका लागि गरिनुपर्ने यात्राको योजना निर्माणको विषयमा नयाँ अवधारणा बनाउने, बहस छलफल गर्ने र नयाँ बाटो खन्ने काम अहिलेको आवश्यकता हो ।

यसै कुरालाई महसुस गरी ‘मार्क्सवाद अध्ययन–अनुसन्धान प्रतिष्ठान’ले प्रकाशन गरेको रमेश सुनुवारद्वारा लिखित ‘समाजवादको यात्रा’ शिर्षकको रचना पुस्तिका बहसका लागि यहाँ प्रस्तुत गरिन्छ । – सम्पादक

समाजवादको यात्रा

 

(Visited 588 times, 1 visits today)

टिप्पणी

comments