Main Menu

प्रदेश नं. १ र २ का पत्रकारलाई निर्वाचन सम्बन्धी प्रशिक्षण

 

असोज २७, जनकपुरधाम

आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा यहाँका पत्रकारलाई निर्वाचन आयोगले निर्वाचन र सञ्चार विषयक क्षेत्रीय प्रशिक्षक प्रशिक्षण दिएको छ ।

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन, संबैधानिक तथा कानूनी व्यवस्था, निर्वाचन कार्यक्रम, निर्वाचनमा सञ्चार माध्यमको भूमिका, आचारसंहिता र आम सञ्चारसँग निर्वाचन आयोगको अपेक्षा, मतदान तथा मत गणनाबारे जानकारी गराइने एक दिने सो प्रशिक्षणमा प्रदेश नं २ का ८ जिल्लाका सञ्चारकर्मीको सहभागिता थियो ।

निमित्त प्रमुख जिल्ला अधिकारी दिपक कर्णले प्रशिक्षण शुभारम्भ गर्दै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन र आचारसंहिताको पालना र सचेतनामा सञ्चार क्षेत्रको गहन भूमिका रहेको बताए ।

निर्वाचन आयोगका उपसचिव मुकुन्द शर्मा र धनुषा जिल्ला निर्वाचन कार्यालय प्रमुख पुष्पाकुमारी झाले आगामी निर्वाचनलाई राष्ट्रिय महापर्वका रूपमा लिई यो अभिभारालाई सबै मिलेर सम्पन्न गर्न जरुरी भएको बताए ।

त्यस्तै, विराटनगर क्षेत्रीय कार्यालयले पनि प्रदेश नं १ का पत्रकारलाई एकदिने निर्वाचन र सञ्चार प्रशिक्षक प्रशिक्षण दिएको छ ।

उक्त प्रदेशका १४ जिल्लाका २८ पत्रकारको सहभागिता रहेको सो प्रशिक्षणमा निर्वाचनसम्बन्धी समाचार लेखन, विश्वसनीयता, निष्पक्षता, आधिकारिक स्रोत, समाचारका माध्यमबाट मतदातालाई सुसूचित गराउनेलगायतका विषयमा जानकारी दिइएको थियो ।

प्रशिक्षणमा जिल्ला समन्वय समितिका अध्यक्ष नरेशप्रसाद पोखरेलले जनताले मतदानको माध्यमबाट अन्तरमनको अभिमत प्रकट गर्ने भएकाले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहितरूपमा गराउनुपर्नेमा जोड दिए ।

क्षेत्रीय कार्यालय प्रमुख प्रेमप्रसाद सञ्जेलले स्थानीय तहको निर्वाचनमा मत बदरको संख्या अत्यधिक रहेकाले अब हुने निर्वाचनमा बदर मत हुन नदिनका लागि मतदाता शिक्षा तहगतरूपमा शुरु गरिने जानकारी गराए ।

निर्वाचन आयोगका उपसचिव चन्द्रबहादुर शिवाकोटीले निर्वाचनका लागि आवश्यक कानून र निर्देशिका तयार भइसकेको उल्लेख गर्दै समानुपातिकका लागि मतपत्र छपाइको काम शुरु भइसकेको बताए ।

(Visited 41 times, 1 visits today)

टिप्पणी

comments