Main Menu

लोभ, डर र राजनीति

jhalak-subedi-article-5

  • झलक सुवेदी

‘आफूलाई समाजसेवक ठान्छौ भने पार्टीबाट निक्लन परे पनि, चुनाव नजिते पनि किसानकै सेवामा लाग । अन्यथा, राजनीति छाड र आफ्नो पेट भर्ने अर्कै काममा लाग । जनसेवक बन्ने भए लोभ र डर छाडेर किसानको पक्षमा लाग । जनसेवक बन्ने भए लोभ र डर छाडेर किसानको पक्षमा लाग । स्वार्थपूर्तिका लागि आफ्नै पेट मात्र भर्ने भए सामन्तको पछि लाग ।’

नेपालमा भूमिसुधारसम्बन्धी बहस गर्दा भक्तपुरका किसान नेता जगन्नाथ आचार्यका प्रयास पनि सम्झनुपर्ने हुन्छ । उनले तत्कालीन नेपालमा जग्गावाल र मोहीबीचको सम्बन्धबारे उल्लेख गरेको एउटा प्रसंग बडो मार्मिक छ । ०१६ सालमा तत्कालीन प्रधानमन्त्री बिपी कोइराला र त्यतिवेला भक्तपुरबाट कांग्रेसका सांसद जगन्नाथ आचार्य सँगसँगै भक्तपुरको एउटा कार्यक्रममा जाँदै रहेछन् । बाटोछेउछाउमा किसानले गाग्रीमा पानी भरेर खेतमा ल्याई कुटोले कप्दै पानी राखेर धान रोपिरहेको प्रधानमन्त्रीले देखेपछि त्यसबारे जगन्नाथ आचार्यसँग जिज्ञासा राखेछन् । जगन्नाथले आफ्ना मतदाता पनि रहेका किसानबारे विस्तारमा बताउँदै बिपीलाई भनेछन्, ‘पानी नपरेकाले किसानले यसरी धान रोप्दै छन् । रोपिएन भने पनि तल्सिङले झन् धेरै कुत ठेकेर लिन्छ । यसरी रोपियो भने तीन भाग तल्सिङ र दुई भाग किसानको हुन्छ । किसानको कुत मिनाहा हुने कानुन छैन ।’

यस्तो सुनेर हैरान भएका बिपीले तत्काल यता सिँचाइको व्यवस्था गर्न आफूले सहयोग गर्ने वचन दिँदै भनेछन्, ‘अब तिमी किसान संगठन बनाऊ । जमिन जसले जोत्छ, उसैको नाममा दर्ता होस् भनी माग गर ।’

जगन्नाथ र बिपीको सवालजवाफ गजबको छ । जगन्नाथ अगाडि भन्छन्, ‘यता सामन्त र बिर्तावालका छोराहरू नै कम्युनिस्ट छन् । किसानहरू सीधा छन्, कम्युनिस्टको भ्रममा पर्छन् । यस्ता नक्कली कम्युनिस्टको भ्रममा परेर जुलुसमा जाने र पैसामा भोट दिने गर्छन् । मध्यमस्तरका बिर्तावाल र जमिनदार कांग्रेस छन् । जमिन जोत्नेको नारा दियो भने त म पार्टीबाटै निक्लनुपर्ने हुन सक्छ ।’

त्यसको जवाफमा बिपीले एउटा गम्भीर राजनीतिक वक्तव्य दिएका रहेछन् । उनले भनेछन्, ‘तिमी आफूलाई समाजसेवक ठान्छौ भने पार्टीबाट निक्लन परे पनि चुनाव नजिते पनि किसानकै सेवामा लाग । अन्यथा, राजनीति छाड । आफ्नो पेट भर्ने अर्कै काममा लाग । किसानका हितका लागि चेतनशील माग सबै पूरा गर्न म तिमीलाई मद्दत गर्छु । जनसेवक बन्ने भए लोभ र डर छाडेर किसानको पक्षमा लाग । स्वार्थपूर्तिका लागि आफ्नै पेट मात्र भर्ने भए सामन्तको पछि लाग ।’

जगन्नाथ आचार्यले कम्युनिस्टमाथि जस्तोसुकै आरोप लगाएका भए पनि भक्तपुरका हकमा मोहीलाई जमिनको मालिक बनाउने काममा भने त्यहाँका कम्युनिस्टकै महत्वपूर्ण भूमिका रहेको देखिन्छ । अहिलेको निर्वाचनबाट संसद्मा नउठेर राजनीति बिसाउँदै गरेका नारायणमान बिजुक्छेको मुख्य राजनीतिक जग नै त्यहाँका मोहीलाई मोहियानी हक दिलाउन गरिएका प्रयासमा आधारित मानिन्छ । नेपालभर नै ०२१ सालको भूमिसुधारबाट सबैभन्दा बढी फाइदा लिन सकेको भक्तपुरका किसानले नै हो भन्ने विषय स्थापित भइसकेको छ ।

बिपी किसानको हितलाई समाजवादको आधार मान्थे । बिर्ता उन्मूलन ऐन ल्याउने र वनलाई राष्ट्रियकरण गर्ने उनको अभ्यासले उतर्सिएका जमिनदारले दरबारलाई बिपीको शासन ढाल्न उक्साउन निकै प्रयास गरेका थिए । जगन्नाथ आचार्यचाहिँ भूमिसुधारका मामिलामा सधैँ प्रगतिशिल विचारका रहे । उनले ०४८ मा भूमिसुधारमन्त्री भएका वेला ठूला पुँजीपति र जमिनदारले ओगटेको जमिन राज्यको नियन्त्रणमा लिन गरेका प्रयास, भूमिसुधारका लागि गरेका पहलबाट जमिनदार र दरबारमा पर्न गएको दबाबकै कारण ०४९ मा उनलाई राजीनामा दिन बाध्य बनाइएको थियो । उनले दरबारका सचिव ऋषिकुमार पाण्डे, पूर्वप्रधानमन्त्रीहरू नगेन्द्रप्रसाद रिजाल, सूर्यबहादुर थापा, आफ्नै क्याबिनेटका सदस्य वीरमणि ढकाल तथा कुमार खड्गविक्रम शाहको हदभन्दा बढी विभिन्न बहानामा लुकाइएको जमिन खोस्ने निर्णय गराएपछि नै उनको राजनीतिक जीवन ओरालो लागेको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादले सामन्तहरूको दबाब झेल्न नसकेर आफ्ना मन्त्रीलाई नै बर्खास्त गरेका थिए । यतिवेला त बजार र निजी क्षेत्रको ठूला लगानीकर्ता नवउदारवादी नीतिका कारण भूमि सुधारको प्रश्न थप जेलिँदै गएको छ ।

तर, यहाँ भूमिसुधार या भूमि र किसानका सम्बन्धबारे चर्चा गर्न लागिएको चाहिँ होइन । केवल प्रसंगवश उप्काइएको हो । यो लेखको मुख्य छलफलको विषय भने बिपीले त्यतिवेला जगन्नाथ आचार्यसँग गरेको कुरा र अहिलेको राजनीतिमा त्यसको लिइँदै गरेको हुर्मतको सम्बन्धमा मात्र हो ।

‘तिमी आफूलाई समाजसेवक ठान्छौ भने पार्टीबाट निक्लन परे पनि, चुनाव नजिते पनि किसानकै सेवामा लाग । अन्यथा राजनीति छाड । आफ्नो पेट भर्ने अर्कै काममा लाग । जनसेवक बन्ने भए लोभ र डर छाडेर किसानको पक्षमा लाग । स्वार्थपूर्तिका लागि आफ्नै पेट मात्र भर्ने भए सामन्तको पछि लाग ।’ यो राजनीतिलाई कसरी बुझ्ने भन्ने एउटा गम्भीर अवधारणागत भनाइ हो । दुनियाँमा निजी उत्थानका लागि गर्न सकिने धेरै पेसा र व्यवसाय छन् । धन पनि मान सम्मान र मर्यादा पनि पाइने पेसाको कमी छैन यहाँ । शिक्षक, चिकित्सक, नर्स, किसान, कालिगढ, इन्जिनियर, व्यापारी, पत्रकार, उद्योगपति, वैज्ञानिक, कलाकार, चित्रकार, लेखक, साहित्यकार, प्राध्यापक, अनुसन्धाता, निजामती कर्मचारी, प्रहरी, सैनिक या सामाजिक कार्यकर्ता आदि अनेक क्षेत्रबाट समाजको सेवा गर्न सकिन्छ । राजनीति नै गरे मात्र समाजसेवा हुने पनि होइन । तब राजनीति नै चाहिँ किन गर्ने त ? यस प्रश्नको जवाफ बडो जटिल छ ।

राजनीतिसँग राज्यसत्ता र त्यसमा निहित शक्तिको अभ्यास जोडिएर आउँछ । यस्तो सत्ता र शक्तिले व्यक्तिलाई आर्थिक लाभ दिन्छ । अरूको भविष्य बनाउने र बिगार्ने हैसियतमा पुर्‍याउँछ । एक प्रकारको ग्ल्यामर छ राजनीतिमा पनि । यस प्रकारको ग्यालमर सम्भवतः अरू सबै पेसामा भन्दा बढी छ । यही शक्ति र सत्ताका कारण प्राप्त हुने ग्ल्यामरले पुरुष र स्त्रीहरू एकअर्काप्रति नजिक हुन्छन् । व्यापारी या धनाढ्यहरू आफ्नो धन बढाउन र व्यापारिक लाभ लिन यस्तै सत्ता र शक्तिवालाको पछि लाग्छन् । हाम्रो हिन्दूधर्ममा पुजिने यावत् देवता यस्तै सत्ता निःसृत शक्तिका प्रतिनिधि देखिन्छन् । समाजले शक्तिको पूजा गर्छ । समाजलाई नियन्त्रण निर्देशन गर्न सक्ने हैसियत दिने भएकाले नै परम्परादेखि नै राजनीति द्वन्द्वको मुख्य केन्द्रमा रहिआएको छ ।

पिताले पुत्रलाई, पुत्रले पितालाई, दाजुले भाइलाई, सेनापतिले राजा या राज्यप्रमुखलाई बर्खास्त गर्ने हत्या गर्ने र शक्ति हातमा लिने सामन्तवादी राज्यसत्ताको विशेषता नै देखिन्छ । पछिल्लो समय उदारवादी लोकतन्त्रले शक्तिको हिस्सा केही न केही रूपमा नागरिकसँग बाँडफाँड गरेकाले मात्र यस्तो सत्ताका लागि हिंसात्मक बाटो कम अवलम्बन हुने गरेका हुन् । तर, विश्वमा जे–जति संघर्ष भइरहेका छन्, ती सत्ताका लागि नै भएका छन् ।

निरंकुश या सामन्ती व्यवस्था भएको ठाउँमा लोकतन्त्रका लागि, पुँजीवादी समाजबाट समाजवादतिर लैजाने उद्देश्यका लागि, उपनिवेश भएका देशमा उपनिवेशबाट मुक्तिका लागि गरिने राजनीतिको मूल्य बेग्लै हुन्छ । कसैले पिछडिएको देशलाई अग्रगतिमा लैजान्छु भनेर राजनीति गर्छ भने त्यसको अर्थ राम्रो र सकारात्मक हुन्छ । कसैले किसान र मजदुर या महिला या दलित अथवा कुनै सीमान्तकृत समुदायलाई अरूसरह अधिकार दिलाउन संघर्ष गर्दै राजनीतिमा सामेल हुन्छ भने त्यसको पनि आदर्श अर्थ लगाउन सकिन्छ । बिपीले जगन्नाथलाई दिएको राजनीतिक शिक्षाको अर्थ र महत्व यसैमा छ । राजनीति जनताको सेवाका लागि हो । तिमी सहमत छौ राजनीति गर, छैनौ अरू नै पेसा रोज ।

आजको कुन कांग्रेसी या साम्यवादी नेता, कार्यकर्ता यो आदर्श वाक्यमा दीक्षित होला ? अहिले सक्रिय सबै पुस्ताका नेता या कार्यकर्तासँग तुलना गर्दा यस्तो राजनीतिक आदर्शप्रति समर्पित कोही भेटिएला ? बडो खडेरीको अवस्था जो छ । राजनीति गर्नेहरू लोभ र डर दुवैको अत्यधिक सिकार भएका छन् । सत्ताको मोह र सत्ताबाट बाहिरिएला कि भन्ने भयले ग्रस्त नेता अनेक छलछाम र भ्रमलाई राजनीतिको नाम दिइरहेका छन् । जे–जस्ता प्रवृत्ति पछिल्ला ६ महिनामा नेपाली राजनीतिले देखेको छ, त्यसले यहाँ लोभको नग्न प्रदर्शन मात्र देखाउँछ । दल र नेताहरूको नाम लिनैपर्दैन ।

यसपालिको निर्वाचनमा दलबीच देखिएको गठबन्धन र एक दलबाट अर्को दलमा फट्याङ्ग्राझैँ फड्कनेहरूको ताँती देख्दा र ठेकेदार, व्यापारी, गुन्डा, र अन्य पेसाबाट कमाएको पैसाले पुगेर शक्ति खरिद गर्न आएकाहरूको लाम र तिनलाई दलहरूले दिएको संरक्षणले एउटा निराशालाग्दो अवस्था सिर्जना गरेको देखिन्छ । हामीभन्दा एक छिमलअघिसम्म बिपीका आदर्शको अर्थ थियो भन्ने पत्याउन मुस्किल हुने क्षण आएको छ ।

साभार – नयाँपत्रिका दैनिक

(Visited 35 times, 1 visits today)

टिप्पणी

comments