Main Menu

यथास्थितिमा रमाएर बसेकाहरुबाट नयाँ कुरा आएन र आउँदैन पनि- शिव फुयाल

(वाइ सिएल नेपालको एकताको दोश्रो राष्ट्रिय सम्मेलन भोलि भदौ २ बाट काठमाडौंमा सुरु हुँदैछ । माओवादीको युवा अग्रदस्ताको रुपमा युवा कम्युनिस्टहरुको यो संगठनका कारणले माओवादी बलियो बनेको ठानी पहिलो संविधानसभाको समयमा विपक्षी पार्टीहरुले यसको विघटन नभई शान्ति प्रकृया अगाडि बढ्न नसक्ने र संविधान पनि बन्न नसक्ने अडान लिएपछि माओवादीले संविधान निर्माण गर्ने शर्तमा यसलाई निश्क्रिय पारेको थियो । तर, त्यस पछाडिको लामो समयमा पनि संविधान चाहिँ बन्न सकेन । अहिले हिजोको माओवादी पार्टीकै निरन्तरतामा पुनर्गठित माओवादी केन्द्र पार्टीमा वाइसिएललाई पुनः क्रियाशील बनाउनुपर्ने माग अनुरुप अहिले यसको सम्मेलन हुँदैछ ।

पुरानो माओवादी पार्टी र एकता केन्द्र मिलेर एकीकृत माओवादी पार्टी बन्दा माओवादी पार्टी सम्बद्ध वाइसिएल र एकता केन्द्र सम्वद्ध जनवादी युवा लिग पनि एकता भयो । एकतापछि त्यसको नाम पुनः वाइसिएल नेपाल नै रह्यो । युवा लिगबाट वाइसिएलमा आवद्ध हुन आएका एक सशक्त युवा नेता शिव फुयाल पनि हुन् । २०५० सालमा मदन भण्डारीको रहस्यमय हत्यापछिको आन्दोलनको क्रममा खुलामञ्चमा आयोजित आमसभामा तत्कालीन एकता केन्द्रका नेता लीलामणि पोखरेलको भाषण सुनी आन्दोलनमा आकर्षित भएको बताउने नेता फुयाल २०५४ सालदेखि तत्कालीन जनवादी युवा लिगमा पूर्णकालीन कार्यकर्ता बनेका थिए । २०५५ को लाहानमा भएको जनवादी युवा लिगको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य बनेका नेता फुयाल पछि २०६५ सालमा एकतापछि बनेको वाइसिएल नेपालको सचिवालय सदस्य बने । उनी २०७२ सालमा काठमाडौंमा सम्पन्न वाइसिएलको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भए । उनै युवा नेता शिव फुयालसँग मूल्याङ्ककन अनलाइनले वाइसिएल नेपालको एकताको दोश्रो राष्ट्रिय सम्मेलनको सन्दर्भलाई लिई लिइएको अन्तवार्ता संक्षेपमा यहाँ प्रस्तुत गरिन्छ । – सम्पादक)

शिव फुयाल

तपाईं वाइसिएलका एक सक्रिय नेता हुनुहुन्छ । भदौ २ बाट वाइसिएलको राष्ट्रिय सम्मेलन हुँदैछ । यस परिप्रेक्षमा पार्टीले यसलाई कुन दिशातिर हिँडाउन खोजेजस्तो लाग्छ ?

– दोश्रो जनआन्दोलन पश्चात २०६४/६५ मा आएर शान्ति प्रक्रियामा प्रवेश गरेपछि माओवादीले आफ्नो ठूलो बलको रुपमा रहेको युवा शक्तिलाई फौजीकरणबाट राजनीतिकरणको दिशामा ल्यायो । र, त्यो शक्तिले नेपाली युवाहरुको ठूलो पङ्तिलाई आकर्षण गर्न पनि सफलता हासिल गर्यो ।

माओवादीको त्यो युवा शक्तिले सुरुमा आउने वित्तिकै काठमाडौं शहरको फोहरमैला सफा गर्नेदेखि गुण्डागर्दी गर्दै हिँड्ने गुण्डाहरुलाई नियन्त्रण गर्ने काम समेत गर्यो । त्यस्तै गरी तस्कर तथा भ्रष्टाचारीहरुलाई जनकार्वाहीहरु गरी जनतामा एउटा राम्रो छवि बनाउनमा पनि माओवादी युवा शक्ति सफल भयो । माओवादीलाई लोकप्रिय बनाउन, जनतामा भरोसायोग्य बलको रुपमा स्थापित गराउन र संविधानसभामा पहिलो शक्तिको रुपमा बिजयी गराउन वाइसिएलको महत्वपूर्ण भूमिका रह्यो । त्यसैले विपक्षी पार्टीहरु वाइसिएलबाट भयभित भए । उनीहरु वाइसिएलको फौजीकरणले नै आफूहरु निर्वाचनमा हारेको र त्यस्तै भइरहने हो भने आउँदा दिनहरुमा आफूहरुको अस्तित्व नै समाप्त हुने भन्ने बुझी भयग्रस्त हुन थाले । र, उनीहरुले पार्टी शीर्ष नेताहरुको हरेक बैठकमा वाइसिएल शान्ति प्रक्रिया र संविधान निर्माणका लागि वाधक भएकोले त्यसको विघटनको माग गर्न थाले । माओवादी पार्टीले पनि यदि वाइसिएललाई निश्क्रिय बनाई संविधान निर्माणको कामलाई सुनिश्चित गर्न सकिन्छ भने त्यसो किन नगर्ने भन्ने सोची त्यसलाई निश्क्रिय बनायो । वाइसिएललाई हिजोजस्तो आन्दोलनको अग्रदस्ताको रुपमा नराखी सामान्य संरचनामा मात्र राखी जीवित सम्मन राख्ने काम पार्टीले गर्यो ।

तर, उल्टो के भइदियो भने वाइसिएल निश्क्रिय भएपछि संविधान पनि बनेन, त्यो सङ्ठनले निकै कठिनाइ सहित बिभिन्न उतारचढाव पनि व्यहोर्यो । र, यस कुरालाई महसुस गरी हामी माओवादी युवाहरुले २०६९ सालमा वाइसिएलको सम्मेलन गर्यौं । त्यस बावजूद पनि यसले सांगठनिक गति लिन सकेन । साथै यसमा बिचारधारात्मक समस्या पनि जटिल नै बन्यो । तत्कालीन अवस्थामा वाइसिएलका संयोजक माओवादी युवा नेता गणेशमान पुन थिए । लामो समयसम्म उनको संयोजकत्वमा वाइसिएललाई क्रियाशील बनाउने काम हुन सकेन । त्यही क्रममा २०७२ साल माघ ८ देखि १० सम्म काठमाडौंमा वाइसिएलको सांगठनिक सम्मेलन भयो । त्यस सम्मेलनले रामचन्द्र शर्मा ‘विज्ञान’लाई अध्यक्ष बनाई उनको नेतृत्वमा वाइसिएलको पुनर्गठन गर्यो । लक्ष्मीप्रसाद चौलागाईं, लीला शर्मा, शिव फुयाल, हरेन्द्र राय, शिखर कडेरिया, दुर्गादत्त अधिकारी उपाध्यक्ष र रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई महासचिव बनाई यस संगठनले आफ्ना कार्यक्रमहरु सुरु गर्यो । यसले संगठित र व्यवस्थित ढङ्गले कामहरुलाई अगाडि बढायो । सबै प्रदेशहरुमा बैठक तथा भेलाहरुको आयोजना गरी वाइसिएलको त्यस नेतृत्वले संगठनलाई पुनः क्रियाशील बनायो ।

यही बीचमा यसअघि फुटेर माओवादीकै बिभिन्न घटकहरुमा बिभाजित पार्टीहरु पुनः एकता प्रक्रियामा आउन थाले । मोहन वैद्य किरणले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी) बाट अलग्गिएर रामबहादुर थापा बादलहरु माओवादी केन्द्रमा मिसिन आएपछि पुनः वाइसिएलमा दरार पैदा हुन थाल्यो । खास गरी एकताका नाममा केही शैद्धान्तिक तथा उमेरका प्रश्नहरु पेचिलो बन्न थाले । त्यस्तै गरी युवा संगठनको चरित्रको प्रश्न पनि उठ्यो । यसले गर्दा करिब ८÷९ महिना पुनः वाइसिएलको सांगठनिक काम कार्वाही अवरुद्ध हुन पुग्यो । यसका बावजूद पछिल्लो समयमा ८ वटा युवा संगठनहरुको एकता भेला गरी नेपबहादुर कुँवरको संयोजकत्वमा एक संयोजन समिति बनाउने काम भयो । त्यस समितिले चाँडोभन्दा चाँडो राष्ट्रिय सम्मेलन गरी नयाँ नेतृत्व निर्माण गर्ने कार्यक्रम तय गर्यो । त्यही अन्तर्गत नै अहिले भोलि भदौ २ बाट वाइसिएलको एकताको दोश्रो राष्ट्रिय सम्मेलन सुरु हुन गइरहेको छ ।

सम्मेलनको मुख्य पक्ष भनेको अहिलेको राजनीतिक परिवेशमा वाइसिएलमा नेपाली युवाहरुलाई बिचारधारात्मक एवं राजनीतिक रुपमा नै संगठित गर्ने हो । अहिले युवाहरुमा राजनीतिक रुपमा नै वितृष्णा हुने जुन परिस्थिति निर्माण भइरहेको छ, यसलाई बदल्नु छ । अहिले बिभिन्न राजनीतिक पार्टीहरुका युवा संगठनहरु सत्ता वरिपरि नै केन्द्रित भइरहेको स्थितिले गर्दा आम नेपाली युवाहरुमा राजनीतिप्रति नकारात्मक भावना पैदा भएको हो । त्यसैले अबको युवा आन्दोलन त्यस्तो प्रवृत्तिबाट मुक्त हुने गरी समाजवाद उन्मुख हुँदै समाजवादी बिचारमा केन्द्रित भई सामुहिक जीवन पद्धतिमा जाने युवाहरुलाई समाजवाद निर्माणका लागि अगाडि लाने प्रयासमा यो सम्मेलन हुँदैछ ।

वाइसिएल नेपालको माउपार्टी माओवादी केन्द्रभित्र नै भ्रष्टीकरणको कुरा प्रमुख रुपमा उठिरहेको छ । नेताहरु व्यक्तीकरण हुँदै कमी कमाउको धन्दामा लागिरहेको आरोप लाग्ने गरेको छ । अनि, वाइसिएलले मात्र समाजवादको कुरा गरेर हुन्छ र ?

– माओवादी पार्टीले वाइसिएललाई सहायक संगठन भन्दछ । कम्युनिस्ट पार्टीको सहायक संगठन भनिसकेपछि यसले पार्टीले गर्ने काम नै गर्ने हो । माओवादी पार्टी जुन वर्ग, जुन समुदायमा आधारित भई र जसको लागि यसले आन्दोलन गरेको हो ती सबै कुरालाई हेर्दा अहिले यसले गरिराखेका काम कार्वाहीहरुमा सन्तोष लिने ठाउँ छैन । तर, यसको विकल्प के हो त ? भन्ने वहस पनि अहिले छ । पछिल्लो समयमा यो पार्टीले गर्ने गरेको काम भनेको दस्तावेजीकरण हो । दस्तावेजमा राम्रा कुरा लेखिन्छ, तर व्यवहारमा केही पनि हुँदैन । निर्णय गरिन्छ, लागु गरिँदैन । पार्टीमा मुख्य समस्या यही नै हो । भन्ने बेलामा समाजवाद उन्मुख र समाजवाद निर्माणका लागि भनेर भन्ने, तर चरित्र भने सामन्तवादमा आधारित देखिनेजस्ता कुराले गम्भीर संकट ल्याएकै छ । तर, सबै नेताहरु नै त्यस्ता छन् भन्न पनि मिल्दैन । त्यहाँ निष्ठा, मूल्य र मान्यताका लागि लडिराखेकाहरु पनि छन् । अहिले समाजवाद उन्मुख हुने कि नहुने भन्ने सवालमा लडाईं त पार्टी केन्द्रमा चलिराखेकै छ । यसै कुरालाई लिई कि पार्टी फेरिनुपर्यो होइन भने पार्टी विघटन हुनुपर्छ भन्ने सम्मको वहस पनि चलेकै छ । मलाई के लाग्छ भने नेताहरुको चरित्र कतिको फेरिने हुन्छ त्यो त म भन्न सक्दिनं तर युवाहरुको चरित्र भने फेरिनेछ वा बदलिनेछ । त्यसैले हामी युवाहरुले के सोच्यौं भने माओवादी पार्टी नै बदलेर आयो भने त भइनै हाल्यो, तर यदि त्यसो हुन सकेन भने युवाहरु त्योसँगै सति जाँदैनन् । युवाले बदल्ने प्रयत्न गर्छ, बदलिएन भने उसले समाजवादलाई केन्द्रमा राखेर नयाँ ढङ्गले अगाडि बढ्ने बाटो तय गर्छ । कहिले पनि यथास्थितिमा रमाएर बसेकाहरुबाट नयाँ कुरा आएन र आउँदैन पनि ।

नेपाली आन्दोलनको इतिहास हेर्ने हो भने राणाशाहीबिरुद्धको आन्दोलनदेखि नै नेपाली युवाहरुले बिद्रोहको झण्डा बोक्दै आए । प्रचण्ड गोर्खा दलको निर्माणमा होस्, नेपाली राष्ट्रिय कांग्रेसको गठन होस् या नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको कुरा होस्, सबैमा युवाहरुको नै भूमिका रह्यो । त्यसैले अहिलेको परिस्थितिमा समाजवाद उन्मुख आन्दोलन र समाज निर्माणका लागि उपयुक्त संगठन र आन्दोलनको विकास गर्न पनि युवाहरु नै अघि सर्नेछन् । युवाहरु भनेका इतिहास निर्माता हुन् । उनीहरु यथास्थितिमा बस्न चाहँदैनन् । पार्टीका नेताहरु जसलाई समाजवाद उन्मुख दिशामा अगाडि बढ्न कुनै समस्या हुँदैन तिनीहरुसँगसँगै हामीलाई जान कुनै कठिनाइ भएन, तर जो यथास्थितिमै रमाउन चाहन्छन् र व्यवहारतः समाजवादको दिशामा अगाडि बढ्न चाहँदैनन् अब युवाहरुले त्यस्ता नेताहरुलाई बाटामै छाडेर जानेछन् । यो विषय वाइसिएलको यो सम्मेलनमा एउटा वहसको विषय बन्दैछ ।

तपाईं पनि नेतृत्वका दावेदार हुनुहुन्छ ?

– मैले अहिले जुन कुरालाई वहसको विषय बनाइरहेछु, त्यस हिसाबले हेर्दा पनि मैले व्यक्ति र व्यक्तिगत इच्छालाई केन्द्र बनाएर सोच्नु हुन्न । अहिले मुख्य कुरा व्यक्ति होइन । हामीले समाजलाई केन्द्र बनाई सामाजिक हितका लागि काम गर्ने हो । हामीले नै अहिले वहसको विषय बनाएको कुरा भनेको युवा चरित्र हो । यो भनेको उमेर हो । उमेर ४० भन्दा बढीको मान्छेलाई हामी वाइसिएलको नेता मान्न सक्दैनौं र मान्नु पनि हुन्न । यो बिचारको पक्षमा लामो समयदेखि लड्दै पनि आयौं । त्यसैले अहिले म नेतृत्वको प्रतिस्पर्धामा छुइन । तर, सामुहिक नेतृत्व बनाई संगठनलाई अगाडि लाने क्षमताका युवा नेताहरु हामी माझ छन् । यसकै सेरोफेरोमा वाइसिएलको टिम निर्माण गर्ने र हामीले छोड्दा कम्तीमा वाइसिएल भनेको बिचारधारात्मकं राजनीतिक संगठन र समाज परिवर्तनको अभियान अन्तर्गत आफूलाई बदलेर अगाडि बढ्ने राजनीतिक रुपले सचेत युवाहरुको टिम हो भन्ने कुरालाई स्थापित गर्ने तर्फ यो सम्मेलनमा हाम्रो वहस केन्द्रित हुनेछ । नेतृत्वमा व्यक्ति को हुन्छन् मुख्य कुरा हुन्न । मुख्य कुरा नेतृत्वको बिचार के हुन्छ र संगठन उसले कस्तो बनाउँछ भन्ने हुन्छ । बिचारको आधारमा संगठन र संगठनको आधारमा समाज रुपान्तरण । हाम्रो काम भनेको नेपाली समाजलाई नयाँ बनाउने हो । नयाँ समाज बनाउने भनेको परम्परागत रुपमा चल्दै आएको समाजको संरचनालाई बदलेर आजसम्म मानव समाजले हासिल गरेको ज्ञान राशि वा ज्ञान विज्ञानको आधारमा संश्लेषण गर्दै समाजलाई नयाँ बनाउनका लागि राजनीतिक आन्दोलन छेड्नु हो । यो समाज रुपमान्तरणकै कुरा हो र यो साँस्कृतिक आन्दोलनसँग पनि जोडिन्छ । त्यसैले अहिले सम्मेलनले नयाँ नेतृत्वमा को ल्याउँछ भनी व्यक्तिका कुरा गर्नु महत्वको विषय होइन ।

जनयुद्ध कालमा वाइसिएलले आफ्नो पक्षमा ल्याउन सर्वसाधारण जनतालाई धम्क्याउने पनि गरेको सुन्नमा आउँथ्यो । यो हिसाबले जनताको मनमा नकारात्मक रुपमा रहेको छविलाई सुधार्ने योजना के रहेको छ ?

– हरेक कुराका सकारात्मक र नकारात्मक दुबै रहने भएकोले वाइसिएलको पनि नकारात्मक पक्ष पनि नरहेको भन्ने होइन । तर, यसको नकारात्मकको तुलनामा सकारात्मक पक्ष धेरै बलियो छ । नेपालको राजनीतिक आन्दोलनमा सचेततापूर्वक पुरानो सत्तालाई बदल्नुपर्छ भनेर २०५१ सालमा राजनीतिक संगठनले सचेततापूर्वक सशस्त्र संघर्षको सुरुवात गरेर नेपाली समाजलाई अगाडि बढाउन दश वर्षसम्म जुन प्रयत्न भयो, त्यो आफैमा एक ऐतिहासिक महत्वको घटना थियो । त्यो आन्दोलन राजनीतिक पार्टीले संचालन गरेको भए पनि युवाहरुको बिद्रोहको चेतको कारणले नै अगाडि बढ्न सकेको हो । लाखौं युवाहरु त्यो आन्दोलनमा आफूलाई बलिदान गर्ने भाव सहित लामवद्ध भए । र, त्यसले नेपाली समाजमा राजनैतिक रुपले विद्यमान सामन्तवादलाई नष्ट गर्ने काम गर्यो । युद्ध पूरा जित्न चाहिँ जितिएन, तर पूरा हारेको स्थिति पनि रहेन ।

हामीले जुन बिचारधाराका आधारमा राजनीतिक आन्दोलनमा लाग्यौं, त्यसलाई फौजीकरण सशक्त ढङ्गले गर्यौं, तर त्यसलाई राजनीतिकरण गर्नमा हामी चुक्यौं कि ? फौजीकरण र राजनीतिकरण बिचारधारात्मक रुपमा सँगसँगै लान नसकिएको कारणले नै पछिल्लो समयमा समस्या देखापर्यो भन्ने लाग्छ ।
जहाँसम्म सर्वसाधारणलाई वाइसिएलले धाक धम्की दिएर पैसा असुल्नेजस्ता नकारात्मक काम पनि गर्यो भन्ने छ, त्यो मूल संस्था वा नेतृत्वबाट भएको देखिन्न र यो वाइसिएलको मूल प्रवृत्तिको रुपमा पनि रहेको देखिन्न । केही ठाउँमा केही व्यक्तिहरुबाट गलत काम भएका कुराहरुलाई नकार्न सकिन्न । त्यस्ता थोरै घटनालाई शहरका हुनेखाने वर्गले, एनजिओ आइएनजिओहरुले रेडियो, टेलिभिजन, पत्रपत्रिका एवं सामाजिक सञ्जालहरु प्रयोग गरी अतिरञ्जनापूर्वक प्रचारप्रसार गरेको तर त्यसलाई नेतृत्वले चिर्न नसक्दा जनतामा केही भ्रम फैलिएको सत्य हो । नेतृत्वमा पद, प्रतिस्था र व्यक्ति स्वार्थहरु अलि प्रवल हुनपुग्दा प्रतिपक्षीहरुको गलत प्रचारलाई चिर्न अलि समस्या भएको हो । हामी यस सम्मेलनमार्फत् नेतृत्वमा भएका त्यस्ता समस्याहरु हटाउन प्रयत्नरत छौं ।

अहिले यो सम्मेलनबाट वाइसिएलले लिन खोजेको बैचारिक पक्ष के हो ?

– हाम्रो बिचारको मूल पक्ष भनेको माक्र्सवाद, लेनिनवाद र माओवाद हो । अर्को कुरा अहिले समाजमा दुईटा प्रवृत्ति एकसाथ छन् । एउटा समाजवादी र अर्को पुँजीवादी प्रवृत्ति । पुँजीवादमा पुँजी उत्पादक शक्ति हुन्छ, सामन्तवादमा जमिन उत्पादक शक्ति थियो । सामन्तवादको बिचारधारा धर्म थियो, राजनीतिक प्रणाली निरंकुश राजतन्त्र थियो । पुँजीवादको बिचारधारा चाहिँ ‘आजसम्म परिवर्तन भयो, अब परिवर्तनको कुनै गुञ्जायस छैन’ भन्ने रहेको छ । यो अभिधूतवाद हो । पुँजीवादको राजनीतिक प्रणाली चाहिँ प्रतिनिधिमूलक संसदीय व्यवस्था हो । यो व्यवस्थामा स्वामित्व व्यक्तिमा केन्द्रित हुन्छ । हामीले अहिले समाजवादको कुरा गरिरहेछौं, यसको बिचारधारा द्वन्द्वात्मक भौतिकवाद हो । यसमा उत्पादक शक्ति विज्ञान र प्रविधि हुन्छ । राजनीतिक प्रणाली चाहिँ जसले जहाँ काम गर्ने हो त्यहाँ प्रत्यक्ष सहभागितामूलक प्रतिनिधित्व हुने हो । यसको अर्थ जसले जहाँ जे काम गर्ने हो त्यहाँ उसले काम पनि गर्छ र छलफल गरी निर्णय प्रक्रियामा सहभागी पनि हुन्छ । यो राजनीतिक प्रणालीमा राज्यले समन्वयकारी भूमिका मात्र खेल्छ । बिभिन्न ठाउँमा समुदायले काम गर्छ र समुदायलाई जोड्ने काम राज्यले गर्छ । राज्य हस्तक्षेपकारी नभई समन्वयकारी हुन्छ । त्यसैले समाजवादमा स्वामित्व समुदायमा केन्द्रित हुन्छ । त्यसैले समाजवादी सामाजिक एवं राज्य व्यवस्था स्थापनाका लागि बैचारिक काम गर्नु नै हाम्रो बिचारधारात्मक काम हुनेछ ।

मानव विकासको ७० हजार वर्षको इतिहास हेर्ने हो भने सभ्यताको इतिहास भनेको ७/८ हजार वर्षभन्दा बढी पुरानो छैन । त्यस क्रममा जङ्गली युगबाट दास युगमा प्रवेश गरी मानव सभ्यताको सुरुवात भएको देखिन्छ । दास युग ३/४ हजार वर्ष चली पछि सामन्तवाद सुरु भयो । सामन्तवाद मोटामोटी २ हजार वर्षसम्म चल्यो । पुँजीवादचाहिँ विगत ६ सय वर्षदेखि चलिरहेको छ । समाजवादको कुरा गर्दा कार्लमाक्र्सले सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र लेखिसकेपछि यो वैज्ञानिक समाजवादको रुपमा अगाडि आयो । कार्लमाक्र्सभन्दा अगाडि सेन्ट साइमोनहरुले पनि समाजवादको कुरा गरेका थिए । तर, त्यो काल्पनिक समाजवाद थियो । यानी कि त्यो यथार्थमा नभई कल्पनामा आधारित समाजवाद थियो ।

वैज्ञानिक समाजवादबारे माओवादी पार्टीले समेत त्यति चासो नराखेको अहिलेको परिवेशमा वाइसिएलको यस राष्ट्रिय सम्मेलनले यसबारे वहस छलफल चलाउँदैछ । र, यो कुरा नै सम्मेलनको मुख्य बैचारिक पक्ष हो ।
नेपालको सन्दर्भमा वैज्ञानिक समाजवादबारे आधारभूत रुपमै वहस छलफलका लागि माक्र्सवाद अध्ययन अनुसन्धान प्रतिष्ठानमार्फत केही साथीहरु त्यसमा पनि मुख्य रुपमा रमेश सुनवारले प्रयत्नहरु जारी राखेको देखिन्छ । र, हामीलाई यी वहस छलफलहरु उचित नै भएको लागेको छ ।

(Visited 232 times, 1 visits today)

टिप्पणी

comments