Main Menu

पार्टी र संगठनहरू बेला–बेला विघटन हुनुपर्छ : राम कार्की

बौद्धिक र अध्ययनशील नेताका रूपमा परिचित राम कार्की एकीकृत माओवादीका पोलिट्ब्युरो सदस्य हुन् । उनी व्यवस्थापिका–संसद सदस्य पनि छन् । विश्व कम्युनिस्ट आन्दोलनलाई सन्दर्भमा राखेर उनले नेपाली माओवादी आन्दोलनको नवीकरण र पुनर्गठनका विषयमा लेख्दै–बोल्दै आएका छन् । नोभेम्बर ७ अर्थात् अक्टुबर क्रान्ति दिवसको अवसर पारेर मूल्याङ्कन अनलाइनका लागि कार्कीसँग सङ्गीत श्रोताले गरेको कुराकानी :

एमाओवादी नेता राम कार्की

एमाओवादी नेता राम कार्की


अक्टुबर क्रान्तिलाई विश्वभरिका कम्युनिस्टहरूले आदर्श इतिहासका रूपमा सम्झन्छन् । तपाईं त्यसलाई कसरी सम्झनुहुन्छ ?

कार्की : रुसमा आजभन्दा ९८ वर्षअघि भएको अक्टुबर क्रान्ति संसारका सबै कम्युनिस्ट क्रान्तिहरूभन्दा सबैभन्दा धेरै प्रभावशाली रह्यो । रुस युरोपको ठूलो देश भएकाले र क्रान्तिपछि सोभियत संघको विश्व राजनीतिमा भएको भूमिकाले गर्दा पनि यसको प्रभाव शक्तिशाली रहन गएको हो । कम्युनिस्ट अन्तर्राष्ट्रिय गठन भएपछि भने क्रान्तिलाई त्यसले नियन्त्रण गर्न खोजेजस्तो देखियो । सोभियत संघ स्वयम्ले क्रान्तिलाई निर्यात गर्ने सोच राख्यो । स्टालिनले शासन–सत्ता सञ्चालन गर्न थालेपछि उनका जे–जति कमीकमजोरी रहे, त्यसलाई लेनिनमै भएको प्रवृत्ति पछि झाँगिएको भनेर विश्लेषण गर्नेहरू पनि छन् । लेनिनमा नेतृत्वमा हुनुपर्ने जुन गत्यात्मकता देखिन्छ, त्यो असाध्यै अनुकरणीय थियो । तसर्थ पनि अक्टुबर क्रान्ति र लेनिनको नेतृत्वको कालान्तरसम्म पनि चर्चा हुन्छ । तर, कम्युनिस्ट आन्दोलनले संसारमा सफल भएका नेता वा क्रान्तिबाट मात्रै पाठ सिक्ने होइन । असफल भएका क्रान्ति र असफल बनेका प्रतिभाहरूबाट हामीले झन् धेरै पाठ सिक्न सक्छौँ ।

अक्टुबर क्रान्तिले हल नगरेको र अहिलेको कम्युनिस्ट आन्दोलनले सम्बोधन गर्नुपर्ने मुख्य विषय के हो ?

कार्की : लेनिनको समयमा राजनीतिक सत्ताको सवालमा कम्युनिस्ट आन्दोलनमा केही रिक्तता थिए । लेनिनले प्रतिक्रियावादी राज्य भत्काएर सर्वहारावर्गको अधिनायकत्वको राज्य बनाउने विचारमा बढी जोड दिएका छन् । पुरानो राज्य भत्काउँदा पाखा पारिएका शासक वर्ग फेरि आक्रामक भएर आउने भएकाले लेनिन सर्वहारावर्ग अझै सतर्क भएर संघर्ष गर्नुपर्छ भन्नेमा दृढ देखिन्थे । सत्ता सम्हालेका सर्वहारावर्गका प्रतिनिधिहरू नै प्रतिक्रान्तिकारी भए भने के गर्ने ? कम्युनिस्टहरूको हातमा सत्ता आएपछिको संक्रमणकालमा हुने विचलन र विघटनको विकल्प खोज्ने काम लेनिनको समयमा भएन । संक्रमणकालमा राज्य कस्तो हुन्छ, त्यसको काम गर्ने चरित्र कस्तो हुन्छ, क्रान्तिकारीहरू नै भ्रष्ट हुँदै नजाने संयन्त्र कस्तो हुन्छ भन्ने विषयमा लेनिनले सोचेनन् । किनभने उनको समयमा व्यवहारतः यस्ता समस्या झेल्नुपरेको पनि थिएन । तर, सोभियत संघमा पछि व्इवहारमा त्यस्तै देखियो । यता आजको कम्युनिस्ट आन्दोलनले ध्यान दिनुपर्छ । मेरो विचारमा पार्टी, पार्टी संगठन, सेना वा पार्टीका अन्य संरचनाहरू आंशिक वा आवधिक विघटन पनि हुनुपर्छ । त्यसो गरिएन भने यसले नयाँपन पाउँदैन । बेलाबेला ठूल्ठूलो आन्दोलन वा झड्का निकालेर त्यसलाई विघटन गर्नुपर्ने हुन्छ । एकपटक कुनै सन्दर्भमा बनाएका संगठनका संरचना वा पदक्रमहरूलाई नै बलियो बनाउँदै जाने वा जोगाइराख्ने हो भने त्यसमा नवीनता आउने कुनै सम्भावना रहँदैन । एउटा ऐतिहासिक सन्दर्भमा एउटा मापदण्डमा बनेको पार्टी संरचना अर्को ऐतिहासिक सन्दर्भमा पुग्दा अर्कै मापदण्डमा गठन हुनुपर्ने हो । एकपटक श्रेष्ठ वा पदक्रममा माथि रहेको व्यक्ति वा नेता अर्को मापदण्डमा श्रेष्ठ नै नहुन सक्छ । अनि बल्ल त्यसमा नयाँपन हुन्छ । कम्युनिस्ट आन्दोलने यसरी सिर्जनात्मक रूपमा सोचेको देखिएन । माओले अन्तिम–अन्तिमतिर आएर पार्टीभित्रै गडबडी देखिएपछि त्यसलाई आवधिक र आंशिक विघटनको आँट गर्न खोजेको देखिन्छ । तर राज्य संरचनालाई नै धक्का दिन वा विघटन गर्न उनले पनि सकेनन् । किनभने माक्र्सवाद त्यहीँ कमजोर छ । यसमा माक्र्सवादले दिशानिर्देश गर्दैन । आज पनि यो हाम्रा लागि चुनौती हो ।

अक्टुबर क्रान्तिलाई क्रान्तिको मोडलका रूपमा पनि लिने गरिन्छ नि ?

कार्की : हरेक आन्दोलन र क्रान्तिले आफ्नै मौलिक बाटो र ढाँचा बनाउँछ । क्रान्तिको प्रक्रियाले एउटा पद्धति निर्माण गर्छ, नेताहरू पैदा गर्छ र मौलिक बाटो निर्माण गर्छ । मैले माथि भनेजस्तै एउटा समयमा बनेका तरिका वा संरचना अर्को समयमा क्रान्तिको निरन्तरताका लागि बाधक बन्छन् । अर्को समय र अर्को परिस्थितिमा क्रान्तिको नयाँ पद्धति, नयाँ नेतृत्व र नयाँ बाटो निर्मित हुनुपर्छ । त्यसका लागि लिकबाट हटेर सोच्ने नेतृत्व चाहिन्छ । कुनै एउटा देशको क्रान्तिलाई मोडलका रूपमा सोच्ने र त्यसलाई हुबहु उतार्ने तरिकाले विश्व कम्युनिस्ट आन्दोलनाई क्षति मात्रै पुग्ने गरेको छ । एक समय रुसी र चिनियाँ क्रान्तिका दुई मोडल प्रचलनमा थिए । पछि क्युबामा बेग्लै मोडल आयो । जहाँ नयाँ मोडलको विकास भयो, त्यहाँ क्रान्ति भयो । जहाँ नयाँ मोडल आएन, त्यहाँ क्रान्ति भएन । पुरानै मोडलको वरिपरी मात्रै घुम्न खोज्ने प्रवृत्तिका कारण क्रान्तिमा विराम लाग्यो । अहिले नेपालमा पनि जसले क्रान्ति गर्ने कुरा गरिरहेका छन्, उनीहरू पनि नयाँ मोडलमा जाने होइन बरु दोहो¥याउने कुरा गरिरहेका छन् । इतिहासले के कुरा पुष्टि गरिसक्यो भने हिजो हामीले तयार पारेको ढाँचा, पद्धति, शैली, संस्कृति आदि आजको क्रान्तिका निम्ति बाधक बनिसकेका छन् ।

एमाओवादी नेता राम कार्की

एमाओवादी नेता राम कार्की

नेपाली माओवादी आन्दोलनले अक्टुबर क्रान्तिलगायतका ऐतिहासिक विरासतहरूबाट के पाठ सिक्न सक्छ ?

कार्की : विश्व कम्युनिस्ट आन्दोलनमै एउटा कमजोरी के देखियो भने नेतृत्वले आफू छँदै आफ्नो उत्तराधिकारी बनाउन खोजे । लेनिनले पनि र माओले पनि जीवनकालमै आफ्ना शिष्यहरूलाई उत्तराधिकारी बनाउने अभ्यास गरे । आफूप्रति आलोचक वा आफ्ना सीमाहरूबारे पनि कुरा गर्ने व्यक्तिलाई आन्दोलनमा अघि सार्ने प्रवृत्ति उनीहरूमा पनि देखिएन । माक्र्सका उत्तराधिकारी लेनिन हुन् तर लेनिनमा माक्र्सको अनुयायीपन पाइँदैन । त्यही भएर एकथरी अनुयायीहरूले लेनिनको योगदानलाई माक्र्सवाद होइन, लेनिनवाद हो समेत भन्छन् । यसको कारण के हो भने माक्र्सले भन्दा नयाँ तरिकाले लेनिनले सोचेका थिए । तसर्थ लेनिन माक्र्सका सही उत्तराधिकारी हुन् । तर लेनिन र माओले आफ्ना उत्तराधिकारीका बारेमा सोच्दा अनुयायीहरूकै सेरोफेरोभित्र सोचे । लेनिनले ट्राटस्की र स्टालिन दुवै एकठाउँ भइदिए हुन्थ्यो भनेको कुरा आयो । उता माओले पनि पहिला ल्युशाओचीलाई र पछि लिन प्याओलाई उत्तराधिकारीका रूपमा अगाडि बढाउन खोजे । यो कुरा गलत थियो । हुँदाहुँदै कोरियामा त बाउको छोरा, छोराको नाती उत्तराधिकारी हुने स्तरमा गयो । अघिल्लो नेतृत्वका अपूर्णताबारे जसले आलोचनात्मक दृष्टि र सुझबुझ राख्ने सक्ने मात्रै नयाँ समयको नेता हुन सक्छ र कम्युनिस्ट आन्दोलनको नेतृत्व पनि उसैका हातमा जानुपर्ने हो । अनि बल्ल आन्दोलन ठीक ठाउँमा जान्छ जस्तो मलाई लाग्छ ।

तपाईंले असफल भएका क्रान्तिबाट पनि पाठ सिक्नुपर्छ भन्नुहुन्छ । तर हाम्रोमा त जित्नेलाई मात्रै पछ्याउने चलन छ नि ?

कार्की : संसारमा थोरै क्रान्तिहरू मात्रै बुद्धिमता, सही रणनीति र संयोगहरू मिलेर विजयी भए । कैयौँ आन्दोलनहरू असाध्यै बुद्धिमतापूर्वक अगाडि बढाउन खोज्दाखोज्दै पनि असफल भएका छन् । ती असफल क्रान्तिबाट पनि हामीले शिक्षा लिनुपर्छ । मेरो विचारमा असफल क्रान्तिबाट झन् धेरै शिक्षा लिन सकिन्छ । पराजित नायकहरू, जो सत्तामा पुग्न सकेनन्, उनीहरूलाई विस्मृतिमा पुर्याउने र तिनको गन्ती नै नगर्ने खतरनाक र घातक प्रवृत्ति कम्युनिस्ट आन्दोलनमा विद्यमान छ । त्यसैले रोजा लक्जेम्बर्ग, आन्तोनियो ग्राम्स्की जस्ता प्रतिभाहरूको योगदानलाई हामीले कम आँक्नु हुँदैन । अहिले पनि जहाँजहाँ प्रयास भए, तर सफल हुन सकेनन्, ती कम्युनिस्ट आन्दोलनहरूलाई हामीले अध्ययन गर्नुपर्छ र मनग्ये शिक्षा लिनुपर्छ भन्ने मलाई लाग्छ । किनभने कम्युनिस्ट आन्दोलनहरू सफल हुनेहरूको मात्रै आन्दोलन होइन । कम्युनिस्टहरु विजेता मात्रै होइनन् । तसर्थ मलाई कम्युनिस्टहरू सबैभन्दा बढी विनम्र र आत्मालोचक हुनुपर्छ । नेपालको माओवादी आन्दोलन पेरुको आन्दोलनको आत्मश्लाघाबाट धेरै प्रभावित भयो जस्तो लाग्छ । हाम्रा कम्युनिस्टहरु नेताहरु आत्मप्रशंसा र आत्मश्लाघा बढी गरिरहेका तर आत्मनिरीक्षण र आत्मालोचक कम भएको महसुस हुन्छ । हाम्रो आन्दोलन आत्मश्लाघाको बढी शिकार भएको देखिन्छ । तसर्थ संसारमा असफल भएका क्रान्तिहरूको अध्ययन गर्ने हो भने हामी आत्मश्लाघामा रमाउने होइन, विनम्र हुनुपर्ने हो ।

(Visited 1,261 times, 1 visits today)

टिप्पणी

comments