Main Menu

अभिलेख/अन्तर्वार्ता

क्रान्ति सिंगो राष्ट्रले गर्छ, केवल एउटा पार्टीले मात्र गर्ने होइन– कार्ल मार्क्स

कार्ल मार्क्स

सन् १८७९ मा अमेरिकी रिपब्लिकनहरुको अखबार ‘शिकागो ट्रिब्युन’ का एक सम्वाददाताले कार्ल मार्क्ससँग उनको लण्डनस्थित आफ्नै घरमा अन्तर्वार्ता लिए । धेरै वर्षसम्म ‘ट्रिब्युन’ समाजवाद र उदीयमान ट्रेड युनियनहरु दुबैको भावनात्मक झड्काको बिस्फोटन बनेको थियो (तिनीहरु समान ठानिएका र हरेक रचनाले मार्क्सलाई विश्व षडयन्त्रको मास्टरमाइन्डको रुपमा स्थिर रुपले चरितार्थ गर्यो ।) (‘षडयन्त्र’ तत्कालीन बुर्जुवाहरुले प्रयोग गरेको शब्द हो । – मूल्याङ्कन) एउटा रुढीवादी अखबारमा मार्क्सको यही नै एउटा लामो अन्तर्वार्ता हो, जुन उनले यस्तो कहिल्यै दिएका थिएनन् । यो आकर्षक छ, तर अझ रोचक कुरा त के रह्यो भने सन् १९६४ सम्म यसबारे मार्क्सवादी विद्वानहरुलाई वास्तविक जानकारी भएन ।

मार्क्सको यो अन्तर्वार्ता सन् १८७९, जनवरी ५ आइतवार तत्कालीन समयमा ३३ हजारभन्दा बढी सङ्ख्यामा छापिने ‘ट्रिब्युन’ को प्रभातकालीन संस्करणमा पहिलो पटक देखियो । एक हप्ताभित्र त्यसलाई दुई जर्मन–अङ्ग्रेजी मजदुर अखबारहरु ‘न्यु योर्क भोल्क्सजेतुङ’‘शिकागो भोर्बोट’ ले छापे । दुबै अखबारहरुले अपूर्ण र अशुद्ध जर्मन अनुवादमा छापे, जसमा साम्प्रदायिक उद्देश्यका लागि पुनर्संयोजन र पुनर्लेखन गरिएको थियो । जनवरी ११ मा शिकागोको ‘समाजवादी मजदुर पार्टी’ को साप्ताहिक मुखपत्र ‘समाजवादी’ मा अन्तर्वार्ताको अन्तिम परिच्छेद छापियो । अन्तमा अप्रिलमा आएर डानिस दैनिक ‘सामाजिक जनवादी’ ले ‘शिकागो भोर्बोट’ मा छापिएको अनुदित रचनालाई पुनरप्रकाशित गर्यो । (www.marxists.org मा दिइएको फुटनोटबाट– मूल्याङ्कन)

सन् १८८३ मा निधन भएका दार्शनिक तथा क्रान्तिकारी नेता कार्लमार्क्सले आफ्नो जीवन कालको झण्डै अन्तिमतिर सन् १८७९ जनवरीमा आधुनिक समाजवादको स्थापना, श्रमिक वर्गको मुक्ति र मानव समाजबाट शोषण प्रथाको अन्त्य गर्नेबारे बिचारोत्तेजक अन्तर्वार्ता दिए । अमेरिकी रिपब्लिकनहरुको अखबार ‘शिकागो ट्रिब्युन’ का लागि त्यसका एक सम्वाददातालाई लण्डनस्थित आफ्नै निवासमा कार्लमार्क्सले दिएको अन्तर्वार्ता सन् १८७९ जनवरी ५ आइतवार त्यस अखबारको प्रभातकालीन संस्करणमा छापियो । उक्त अन्तर्वार्तालाई लेखनमा उतार्ने काम इलेन स्च्वाच्र्जले गरेका थिए भने सम्पादन थोमस डब्ल्यु पोर्टरले गरेका थिए । “द अमेरिकन इन्स्टिच्युट फर माक्र्सिस्ट स्टडिज” मा संकलित गरिराखिएको उक्त अन्तर्वार्ताको प्रतिलिपि ‘मार्क्सिस्ट्स डट अर्ग’ बाट प्राप्त भएको हो । मूल्याङ्कन मासिकको पूर्णाङ्क ९२ मा छापिसकिएको कार्लमार्क्सको यस अन्तर्वार्तालाई यहाँ पुनः प्रकाशित गरिन्छ । – मूल्याङ्कन सम्पादक)

शिकागो ट्रिब्युन, जनवरी ५, १८७९

(‘शिकागो ट्रिब्युन’ का सम्वाददाता बेलायत पुग्दा – मूल्याङ्कन) लण्डन, १८ डिसेम्बर, १८७८ । आधुनिक समाजवादका संस्थापक कार्ल मार्क्स लण्डनको उत्तरी भागमा हेवरस्टक हिलस्थित एउटा सानो घरमा बस्नुहुन्छ । आफ्ना क्रान्तिकारी विचारहरुको प्रचारको कारणले सन् १८४४ मा उहाँले आफ्नो देश जर्मनीबाट निर्वासित हुनुपर्यो । सन् १८४८ मा उहाँ पुनः जर्मनी फर्कनुभयो । तर केही महिनाभित्रै उहाँलाई जर्मनीबाट बाहिर निष्काशित गरियो । त्यसपछि उहाँ पेरिसमा बस्न थाल्नुभयो । तर, आफ्ना क्रान्तिकारी राजनीतिक विचारको कारणले उहाँले सन् १८४९ मा पेरिस पनि छाड्नुपर्यो । त्यसबेलादेखि नै लण्डन उहाँको बस्ने र काम गर्ने केन्द्र हुँदै आएको छ ।

आफ्ना क्रान्तिकारी विचारहरुको कारणले उहाँले क्रियाशील जीवनको शुरुवातदेखि नै बाधा व्यवधानहरुको सामना गर्नुपर्यो । उहाँ बसिरहनु भएको घर हेरेर सजिलै अनुमान गर्न सकिन्छ– आफ्नो विचारधाराका लागि उहाँले धेरै ठूलो मूल्य चुकाउनुपरेको छ । र, जीवनका साधारण सुख–सुविधाहरुबाट समेत बञ्चित हुनुपरेको छ । यस्ता सबै व्यवधान र झंझटहरुका बावजूद पनि हालैका वर्षहरुमा उहाँले अत्यन्त लगन र दृढताका साथ आफ्ना विचारहरुको प्रचार लगातार गरिरहनुभएको छ । के कुरा स्पष्ट छ भने– यस्तो लगन भनेको विचारहरुप्रति गहिरो संकल्पबाट मात्रै उब्जिन्छ । भलै हामीले त्यस विचारधाराको प्रचारको आलोचना गर्यौं, तर त्यस व्यक्तिको आत्मत्यागप्रति सम्मानको भावना त जान्छ नै ।

हाम्रा सम्वाददाताले दुई–तीनपटक यस विलक्षण व्यक्तिसँग भेटिसकेको छन् । र, हरेकपटक डा. माक्र्स आफ्नो पुस्तकालयमा एउटा हातमा किताब र अर्को हातमा चुरोट लिएर काम गरिरहेको बेला भेटिन्थे । उहाँको उमेर ७० वर्षभन्दा बेसी होला । (यो साक्षात्कारको बेला १८ डिसेम्बर, १८७९ मा माक्र्सको उमेर ६०–६१ वर्षको बीचमा मात्र थियो । किनकि माक्र्सको जन्म ५ मे, १८१८ मा भएको थियो । – सम्पादक) उहाँ सुगठित, शानदार र सीधा जीउ–डाल भएको प्रभावशाली व्यक्ति हुनुहुन्छ । उहाँको शिर एउटा दार्शनिकको जस्तो छ र उहाँको अनुहार एउटा सुसंस्कृत यहूदीको जस्तो छ । उहाँको शिर र दाह्रीको रौं लामो र खैरौ रंगको छ । घना आँखीभौंले ढाकिएका उहाँका आँखाहरु काला, तेजिला र चम्किला छन् ।

कुनै अपरिचित व्यक्तिसँग भेट्नुपर्यो भने उहाँ धेरै नै सावधानीका उपायहरु प्रयोग गर्नुहुन्छ । कुनै पनि अपरिचित व्यक्तिले उहाँसँग पक्कै पनि भेट्न सक्दछ, तर भेटन् आउनेहरुको रेखदेखका लागि तैनाथ बूढी जर्मन महिला (हेलेन डेमुठ)लाई के चेतावनी दिइएको छ भने जर्मनीबाट आएका कुनै पनि व्यक्तिलाई तबसम्म भित्र ल्याइनु हुँदैन, जबसम्म उसले परिच–पत्र देखाउँदैन ।

आफ्नो पुस्तकालयमा उहाँ चश्माको सिसा भित्रबाट आफ्ना तेज आँखाहरुले त्यहाँ आउनेहरुलाई यसरी हेर्नुहुन्छ, मानौं उहाँ त्यहाँ आउनेहरुको ज्ञानको ब्यापकता र गहिराइ नापिरहनुभएको छ । उहाँ आत्मसंयमसमेत छाडेर पाहुनाहरुको रुचि अनुकूल संसारभरका वस्तुहरु र व्यक्तिहरुका बारेमा आफ्नो अगाध ज्ञानको प्रवाहले त्यस व्यक्तिलाई चकित पार्नुहुन्छ । उहाँको कुराकानी कुनै एउटा दिशामा मात्र अगाडि बढ्दैन, बरु उहाँको पुस्तकालयमा सजिएका विविध खाले किताबहरुझैं उहाँको चर्चा–परिचर्चामा पनि ब्यापक विविधता हुन्छ । कुनै व्यक्तिद्वारा पढिएका किताबहरु हेरेरै त्यस व्यक्तिको बारेमा राय बनाउन सकिन्छ । तपाईं त्यस व्यक्तिको बारेमा आफ्नो राय आफैं बनाउन सक्नुहुन्छ, जसको पुस्तकालयमा एकनजर सर्सर्ती हेर्दा शेक्सपीयर, डिकेन्स, थैकरे, मोलियर, रेसिन, मानितेन, बेकन, गेटे, भोल्तेयर, पेन आदि अंग्रेज, अमेरिकी र फ्रान्सिसी लेखकहरुका किताबहरु देख्न सक्नुहुन्छ । साथै रुसी, जर्मन, स्पेनीस, इटालियन आदि भाषाहरुमा दर्शन र राजनीतिका पुस्तकहरु पनि त्यहाँ सजिएका छन् ।

उहाँसँगको कुराकानीका क्रममा अमेरिकी समाजका गत बीस वर्षका सर्वाधिक ज्वलन्त प्रश्नहरु र समस्याहरुका बारेमा उहाँको गहिरो जानकारी देखेर म चकित भएँ । अमेरिकी समस्याहरुसम्बन्धी उहाँको जानकारी र राष्ट्रिय तथा राज्यहरुका कानूनहरुको बारेमा उहाँको प्रामाणिक आलोचना सुनेर मैले अनुमान गरें– अमेरिकाको बारेमा उहाँको जानकारी अमेरिकी आन्तरिक स्रोतहरुबाटै प्राप्त भएको हुनुपर्दछ । उहाँको ज्ञानको प्रामाणिकता, गहिराइ र ब्यापकता केवल अमेरिकासम्म मात्रै सीमित छैन, बरु पूरै यूरोपको बारेमा उहाँको ज्ञान समान रुपले प्रामाणिक, गहिरो र ब्यापक छ ।

आफ्नो जीवनको विशेष सोखको रुपमा रहेको समाजवादको विषयमा चर्चा गर्दा पनि उहाँ त्यस अति नाटकीयताको शिकार हुनुभएन, जुन अति नाटकीयताको आरोप उहाँमाथि धेरैजसो लगाइन्छ । बरु उहाँ ‘मानव जातिको मुक्ति’ सम्बन्धी आफ्ना काल्पनिक योजनाहरुका बारेमा यति दृढतापूर्वक चर्चा गर्नुहुन्छ कि उहाँको सिद्धान्त यस शताब्दीमा नभए अर्को शताब्दीमा त जरुर सही सावित हुनेछ । (बीसौं शताब्दीको शुरुमै सन् १९१७ मा रुसको समाजवादी क्रान्तिले माक्र्सको सिद्धान्तको सत्यतालाई सिद्ध गरेको तथ्य स्मरणीय देखिन्छ ।– सम्पादक)

अमेरिकामा डा. मार्क्स पुँजीको लेखक र अन्तर्राष्ट्रिय समाजका संस्थापक वा त्यसका प्रमुख नेताको रुपमा परिचित हुनुहुन्छ । (अन्तर्राष्ट्रिय समाज वास्तवमा सन् १८६४ मा स्थापित अन्तर्राष्ट्रिय मजदूर संगठन नै थियो । – सम्पादक) उहाँले यस साक्षात्कारमा यस संगठनको वर्तमान स्वरुपमाथि प्रकाश पार्नुभएको छ । फेरि पनि इन्टरनेशनलको साधारण परिषदको अनुमतिमा सन् १८७१ मा प्रकाशित इन्टरनेशनलका सामान्य नियमहरुका केही अंशहरु तपाईंहरुको लागि पठाइरहेको छु, ताकि ती नियमहरु हेरेर स्वयं तपाईंहरु यस संगठनका उद्देश्यहरु र नियतहरुको बारेमा आफ्नो राय बनाउन सक्नुहुनेछ । यसको प्रस्तावनाअनुसार ‘मजदूर वर्गको मुक्तिको लागि संघर्षको अर्थ वर्ग–विशेषाधिकारहरु र वर्ग–एकाधिकारहरुको प्राप्तिको लागि संघर्ष होइन, बरु समान अधिकार र कर्तब्यहरुको स्थापना र सबै खालका वर्ग–शासनहरुलाई पूर्णतः समाप्त गर्नका लागि संघर्ष गर्नु हो । जीवनको मूल स्रोत–श्रमको साधनमाथि एकाधिकार कायम राखिराख्ने पूँजीपति वर्गको हातबाट निचोरिएको मजदूरवर्गको सार्वभौम दासता नै हरेक किसिमका दासता, सामाजिक दुर्दशा, मानसिक पतन, राजनीतिक पराधीनताको मूल कारण हो । र संसारभरका मजदुरवर्गको मुक्तिका लागि भएका अहिलेसम्मका प्रयासहरु विभिन्न देशका मजदुरहरुको आपसी फुट अनि एकताको अभावको कारणले नै असफल भएका छन् ।’ यस प्रस्तावनामा ‘अहिलेसम्म परस्पर अलग–थलग भइरहेका आन्दोनहरुबीच तुरुन्त एकता कायम गर्नका लागि’ आह्वान गरिएको छ । प्रस्तावनाका अनुसार यस संगठनमा ‘कर्तब्य बिना अधिकार र अधिकार बिना कर्तब्य’ को लागि कुनै ठाउँ छैन । यसको मतलब हो– संगठनको हरेक सदस्य मजदुर नै हुनुपर्दछ ।

(यसपछि संवाददाताले इन्टरनेशनलका साधारण नियमहरु, काम गर्ने तौरतरिकाहरु, त्यसका विभिन्न समितिहरु र परिषदहरुको बारेमा लेखेका छन् र साधारण परिषदका सदस्यहरुको नामावली दिएका छन् । यसका साथै सी. ब्रैंकोफ्ट डेविसको १८७७ को सरकारी रिपोर्टको आधारमा १२ वटा मागहरु पनि उल्लेख गरिएका छन् । कार्ल माक्र्सका अनुसार, ती मागहरु मे १८७५ को गोथामा भएको समाजवादी सम्मेलनको रिपोर्टबाट लिइएका हुन् । यो भाग बेसी नै लम्बिने र वर्तमान स्थितिमा अति जरुरी नभएको ठानेर यहाँ प्रस्तुत गरिएको छैन ।
डेविसको रिपोर्ट अुनसार १२ वटा मागहरुमध्ये अन्तिम माग चाहिँ हो– ‘प्रजातान्त्रिक तरिकाबाट औद्योगिक संस्थाहरुलाई सरकारी सहायता र ऋण दिनुपर्दछ ।’ माक्र्सले चर्चाको क्रममा यो अन्तिम मागलाई छाड्नुभएको थियो, किनकि यो एउटा बुर्जुवा माग हो । संवाददाताले डेविसको रिपोर्टका बाह्रौं मागको चर्चा गर्दै माक्र्ससँग के सोधे भने उहाँले यो मागलाई किन छाड्नुभयो ? – सम्पादक)

डा. मार्क्सले भन्नुभयो– १८७५ मा जब गोथामा समाजवादी सम्मेलन भएको थियो, त्यसबेला सोशल डेमोक्रेट्सका समर्थकहरु इन्टरनेशनलका कार्यक्रमहरुलाई सामान्यतः स्वीकार त गर्दथे, उनीहरुलाई आइजेनेक पार्टी पनि भनिन्थ्यो । बाह्रौं मागलाई सम्मेलनको सभाले स्वीकार गरेको थिएन, बरु त्यसलाई केही मानिसहरुको सन्तोषका लागि राखिएको थियो । त्यसपछि यो मागको बारेमा कहिले पनि चर्चा भएन । तर, डेविस यसलाई मनको सन्तोषको लागि कार्यक्रममा राखिएको हो भन्ने कुरा स्वीकार्दैनन्, बरु उनी यसलाई कार्यक्रमको मूलभूत सिद्धान्तमध्ये एउटा पक्षको रुपमा प्रस्तुत गर्दछन् ।

संवाददाता– तर समाजवादीहरुको आन्दोलनको अन्तिम उद्देश्य श्रमका साधनहरुलाई समाजको सार्वजनिक सम्पत्तिको रुपमा फेर्नु नै त हो नि ?

डा. मार्क्स : हो, पक्कै हो, हामी के भन्छौं भने आन्दोलनको परिणाम यस्तै हुनेछ । तर त्यसको लागि समय, शिक्षा र उच्चस्तर भएका सामाजिक संस्थाहरुको जरुरत हुनेछ ।

संवाददाता : तपाईंहरुको यो घोषणापत्र र मोर्चा केवल जर्मनी वा केही त्यस्तै एक–दुईटा देशहरुको लागि मात्र उपयोगी हुनेछन् ।

डा. मार्क्स : वाह ! यदि तपाईं यही घोषणापत्र मात्रै पढेर हाम्रो बारेमा नतिजा निकाल्ने प्रयास गर्नुहुन्छ भने म भन्छु– तपाईं हाम्रो संगठनका गतिविधिहरुको बारेमा केही पनि जान्न सक्नुहुन्न । स्पष्ट छ– यस घोषणापत्रका कैयौं कुराहरुको जर्मनीभन्दा बाहिर कुनै महत्व छैन । स्पेन, रुस, बेलायत र अमेरिकामा ती देशका आ–आफ्ना विशेष कठिनाइ अनुरुप मोर्चा र संगठनहरु बनेका छन् । ती सबै संगठनहरुबीच समानता भनेको केवल उद्देश्य मात्रै हो, जुन हामी सबै प्राप्त गर्न चाहन्छौं ।

क्रमश:………………

(Visited 1,800 times, 1 visits today)

टिप्पणी

comments