Main Menu

सोभियत समाजवादी क्रान्तिको सय वर्ष (१९१७–२०१७)

फेब्रुअरी क्रान्ति पूर्ण थिएन

(गत हप्ता हामीले रुसमा १ सय वर्षअगाडि क्रान्तिको सुरुवात कसरी भएको थियो भन्ने विवरण प्रस्तुत गरेका थियौँ । निरंकुश जारशाहीको शासन फाल्नु क्रान्तिको पहिलो खुड्किलो थियो । त्यो काम रुसी क्रान्तिकारीहरुले १९१७ को फेब्रुअरीमा सम्पन्न गरे । तर, रुसी मजदुर–किसानका लागि जारशाही फाल्नु नै पर्याप्त थिएन । त्यसैले फेब्रुअरी क्रान्तिपछि तुरुन्तै वोल्शेविक पार्टीले अर्को क्रान्तिका लागि तयारी थालनी गर्यो । यस हप्ता हामी यसै विषयमा सामग्री प्रस्तुत गर्दैछौँ ।–सम्पादक)

incomplete-february-revolutionफरवरी २७ (मार्च १२) १९१७ मा चौथो राज्य दूमाका उदारवादी सदस्यहरुले समाजवादी—क्रान्तिकारी र मेन्शेविक नेताहरुसित गुप्त सम्झौता गरेर दूमाका अध्यक्ष, जमिन्दार तथा राजतन्त्रवादी रोदज्यान्कोको नेतृत्वमा राज्य दूमाको अस्थायी कमिटी बनाए । केही दिनपछि राज्य दूमाको अस्थायी कमिटी र मजदुर तथा सैनिक प्रतिनिधिहरुको सोभियतको कार्यकारिणी समितिका समाजवादी—क्रान्तिकारी र मेन्शेविक नेताहरु, बोल्शेविकहरुले थाहा नपाउने गरी नयाँ रसियाली सरकार बनाउने सम्झौता गरे । यो पूँजीवादी अस्थायी सरकार थियो र यसका प्रमुख प्रिंस ल्वोव थिए । उनी त्यही व्यक्ति थिए, जसलाई जार निकोलस दोस्रोले फरवरी क्रान्तिअघि पनि आफ्नो सरकारको प्रधानमन्त्री बनाउन लागेका थिए । अस्थायी सरकारमा संवैधानिक—प्रजातन्त्रवादीहरुका नेता मिल्यूकोव, अक्टोवरपन्थीहरुको नेता गुचकोव, पूँजीपतिवर्गका अन्य प्रमुख प्रतिनिधिहरु र ‘प्रजातन्त्र’को प्रतिनिधिको हैसियतबाट समाजवादी—क्रान्तिकारी करेन्सकी सामेल थिए ।

यसरी सोभियतको कार्यकारिणी समितिका समाजवादी—क्रान्तिकारी र मेन्शेविक नेताहरुले पूँजीपतिवर्गको हातमा सत्ता सुम्पिदिए ।

तर, पनि जब मजदुर र सैनिक प्रतिनिधिहरुको सोभियतलाई यो कुरा थाहा भयो, त्यसको बहुमतले बोल्शेविकहरुबाट विरोध हुँदाहुँदै समाजवादी—क्रान्तिकारी र मेन्शेविक नेताहरुको कार्यलाई औपचारिक रुपमा समर्थन गरे । 

यसरी, रुसमा एउटा नयाँ राज्य—सत्ताको उदय भयो र यसमा लेनिनको शब्दमा ‘पूँजीपतिहरु र पूँजीपति बनेका जमिन्दारहरु’का प्रतिनिधिहरु थिए ।

तर, पूँजीवादी सरकारसँगसँगै अर्को सत्ता पनि विद्यमान थियो—मजदुर र सैनिक प्रतिनिधिहरुको सोभियत । सोभियतमा सैनिक प्रतिनिधिहरुमध्ये धेरैजसो युद्धको लागि भर्ति गरिएका किसानहरु थिए । मजदुर र सैनिक प्रतिनिधिहरको सोभियत जारशाही शासनको विरुद्ध मजदुर किसानहरुको मेलको संस्था थियो र साथै त्यो उनीहरुको सत्ताको संस्था, मजदुरवर्गको र किसानवर्गको अधिनायकतन्त्रको संस्था पनि थियो ।

यसको नतिजास्वरुप दुईटा सत्ता, दुईटा अधिनायकतन्त्र अनौठो ढंगबाट आपसमा देखिन पुगे—एउटा अस्थायी सरकारद्वारा प्रतिनिधित्व गरिएको पूँजीपतिवर्गको अधिनायकतन्त्र र अर्को मजदुर र सैनिक प्रतिनिधिहरुको सोवियतद्वारा प्रतिनिधित्व गरिएको सर्वहारावर्ग र किसानवर्गको अधिनायकतन्त्र ।

नतिजास्वरुप द्वैत सत्ता हुन गयो ।

शुरुमा सोभियतमा मेन्शेविक र समाजवादी क्रान्तिकारीहरुको बहुमत रहेको कुरालाई कसरी व्याख्या गर्ने ?

विजयी मजदुर र किसानहरुले पूँजीपतिवर्गका प्रतिनिधिहरुको हातमा स्वेच्छाले सत्ता सुम्पिदिएको कुरालाई कसरी व्याख्या गर्ने ?

लेनिनले यसको व्याख्या गरेर के बताउनुभयो भने राजनीतिमा अनुभव नभएका लाखौं जनता जागृत भएर राजनीतिक गतिविधिमा भाग लिन अघि बढेका थिए । उनीहरुमा धेरैजसो स–साना सम्पति—मालिक, किसान, हालसालसम्म किसान रहेका मजदुर, पूँजीपतिवर्ग र सर्वहारावर्गको बीचमा रहेका मानिसहरु थिए । त्यसताका रुस सबै ठूला यूरोपेली मुलुकहरुमा सबभन्दा निम्न—पूँजीवादी थियो । र, यस मुलुकमा ‘एक विशाल निम्न पूँजीवादी लहरले हर चीजलाई व्याप्त पारेको छ र त्यसले संख्याको दृष्टिबाट मात्र होइन, विचारधारात्मक दृष्टिबाट पनि वर्ग सचेत सर्वहाराहरुलाई प्रभावित पारेको छ । अर्थात् त्यसले मजदुरहरुको निकै ठूलो हिस्सालाई निम्न—पूँजीवादी राजनैतिक दृष्टिकोणबाट दूषित र प्रेरित पारेको छ ।’ (लेनिन चुनिएका रचनाहरु, अंग्रजी संस्करण, मास्को १९४७, भाग २, पृष्ठ २९)

लेनिनले बताउनुभएअनुसार त्यसको अर्को कारण के हो भने युद्धको बेलामा सर्वहारावर्गको बनोटमा हेरफेर भयो र क्रान्तिको शुरुमा सर्वहारावर्गका वर्ग—चेतना र संगठन अपर्याप्त थिए । युद्धको बेलामा खुद सर्वहारावर्गभित्र ठूलो हेरफेर भएको थियो । नियमित मजदुरहरुमा ४० प्रतिशतजति सेनामा भर्ति गरिएका थिए । मनोस्थिति विपरितका धेरैजना साना सम्पत्ति—मालिक, कालिगढ र पसलेहरु भर्तिबाट जोगिनका लागि कारखानामा काम गर्न गएका थिए ।

मजदुरहरुको यिनै निम्न—पूँजीवादी हिस्साबाट बनेको माटोमा निम्न—पूँजीवादी राजनीतिज्ञहरु अर्थात् मेन्शेविक र समाजवादी—क्रान्तिकारीहरु हुर्केका थिए ।

यही कारणले गर्दा ठूलो संख्यामा राजनीतिमा अनुभव नभएका मानिसहरु शक्तिशाली निम्न—पूँजीवादी भूमरीमा परे । क्रान्तिको पहिलो सफलताबाट लठ्ठ भएर उनीहरुले शुरुका महिनामा आफूलाई सम्झौतावादी पार्टीहरुको प्रभावमा पाए र राज्यसत्ता पूँजीपतिवर्गको हातमा सुम्पन मञ्जूर गरे । उनीहरुको सीधासादा विश्वास के थियो भने पूँजीवादी सत्ताले सोभियतहरुको काममा बाधा हाल्नेछैन ।

अब बोल्शेविक पार्टीको काँधमा आइपरेको अभिभारा थियो—धैर्यपूर्वक व्याख्या गरेर र मेन्शेविकहरुको विश्वासघातको पोल खोल्नु र अस्थायी सरकारको ठाउँमा सोवियतहरुको सरकार स्थापना नगरेसम्म शान्ति हासिल गर्न सकिन्न भन्ने कुरा देखाउनु ।

र, उक्त काममा बोल्शेविक पार्टी पूरा शाक्तिकासाथ लाग्यो ।

त्यसले आफ्ना कानूनी पत्रकारहरुको प्रकाशन फेरि शुरु गर्यो । फरवारी क्रान्तिको पाँच दिनपछि पेट्रोग्राडमा ‘प्राब्दा’ अखबार निस्क्यो, र केही दिनपछि मास्कोमा ‘सोभियत डेमोक्रेट’ निस्क्यो । पार्टीले आम जनताको नेतृत्व सम्हाल्न थाल्यो । आम जनताले उदार पूँजीपतिवर्गमाथि र मेन्शेविक तथा समाजवादी—क्रान्तिकारीहरुमाथि विश्वास गर्न छाड्दै गए । मजदुरवर्गसित मिली संयुक्त कार्वाही गर्नु आवश्यक छ भन्ने कुरा पार्टीले धैर्यपूर्वक सिपाही र किसानहरुलाई बुझायो । त्यसले उनीहरुलाई कुन कुरा बुझायो भने क्रान्तिलाई अरु अगाडि नबढाएसम्म र पूँजीवादी अस्थायी सरकारको ठाउँमा सोभियतहरुको सरकार स्थापना नगरेसम्म किसानहरुले न शान्ति हासिल गर्नेछन् न जमिन नै ।

पूँजीवादी मुलुकहरुको अपमान विकासले गर्दा, मुख्य शक्तिहरुबीच सन्तुलन खतम भएकोले गर्दा र युद्धद्वारा विश्वको पुनर्विभाजन गर्नुपर्ने र नयाँ सन्तुलनको सिर्जना गर्नुपर्ने साम्राज्यवादीहरुको खाँचोले गर्दा साम्राज्यवादी युद्ध शुरु भयो ।

यदि खोस्रो इन्टरनेशनलका पार्टीहरुले मजदुरवर्गको लक्ष्यप्रति विश्वासघात नगरेको भए, यदि तिनीहरुले दोस्रो इन्टरनेशनलका महाधिवेशनहरुका युद्ध—विरोधी फैसलाहरुको उल्लंघन नगरेको भए, यदि तिनीहरुले आफ्ना साम्राज्यवादी सरकारहरुको विरुद्ध युद्धवाजहरुको विरुद्ध कार्वाही गर्न र मजदुरवर्गलाई जगाउन हिम्मत गरेको भए युद्ध यतिको विध्वंकारी हुने थिएन र त्यसले सायद यत्रो व्यापक रुप लिने थिएन ।

बोल्शेविक पार्टी नै एकमात्र यस्तो सर्वहारा पार्टी थियो, जसले समाजवाद र अन्तर्राष्ट्रवादको लक्ष्यप्रति सच्चा रहेर आफ्नै साम्राज्यवादी सरकारको विरुद्ध गृहयुद्धको संगठन गर्यो । दोस्रो इन्टरनेशनलका अरु सबै पार्टीहरु आफ्ना नेताहरुमार्फत पूँजीपतिवर्गसित बाँधिएका थिए । त्यसैले तिनीहरु साम्रावादको प्रभावमुनि परे र साम्राज्यवादको पक्षमा गए ।

युद्ध पुँजीवादको आम संकटको प्रतिविम्ब थियो, र त्यसका साथै त्यसले उक्त संकटलाई चर्कायो र विश्व पूँजीवादलाई कमजोर पार्यो । संसारमा सबभन्दा पहिले रुसका मजदुरहरु र बोल्शेविक पार्टीले पूँजीवादको कमजोरीबाट सफलतापूर्वक फाइदा उठाए । उनीहरुले साम्राज्यवादी मोर्चामा चिरा पारिदिए, जारलाई खतम पारे र मजदुर र सैनिक प्रतिनिधिहरुका सोभियतहरुको स्थापना गरे ।

क्रान्तिको पहिलो सफलताबाट लठ्ठ भएर र अबदेखि सबै कुरा राम्रो हुनेछ भन्ने मेन्शेविक र समाजवादी—क्रान्तिकारीहरुको आश्वासनमा निश्चिन्त रहेर निम्न पूँजीपतिवर्गको ठूलो हिस्सा, सिपाहीहरु र साथै मजदुरहरुले अस्थायी सरकारप्रति विश्वास गरी त्यसलाई समर्थन गरे ।

बोल्शेविक पार्टीको सामू पहिलो सफलताबाट लठ्ठ भएका आम मजदुर र सिपाहीहरुलाई कुन कुरा बुझाउने अभिभारा रहेको थियो भने क्रान्तिको पूर्ण विजय अझसम्म निकै टाढा छ, पूँजीवादी अस्थायी सरकारको हातमा सत्ता रहेसम्म र सोवियतहरुमा सम्झौतावादीहरुको मेन्शेविक र समाजवादी—क्रान्तिकारीहरुको प्रभुत्व रहेसम्म जनताले न शान्ति हासिल गर्नेछन् न जमिन न रोटी र पूर्ण विजय प्राप्त गर्नका लागि अर्को एक पाइला चाल्नुपरेको छ र सत्ता सोभियतहरुको हातमा जानुपरेको छ । 

साभार – सोभियत संघको कम्युनिस्ट पार्टी (वोल्सेविक) को इतिहास अनुवादक – कृष्णदास श्रेष्ठ

(Visited 202 times, 1 visits today)

टिप्पणी

comments