Main Menu

सन् २०१७ का महत्वपूर्ण विज्ञान खोज-अनुसन्धानहरु – १

गत हप्ताको सुरुमा हामीले २०१७ लाई बिदा गर्यौं । नयाँ वर्ष २०१८ लाई स्वागत गर्दै गर्दा गत वर्षलाई एकचोटी फर्केर हेरौँ । गत वर्ष विज्ञानको क्षेत्रमा संसारमा थुप्रै महत्वपूर्ण खोज–अनुसन्धानहरु भए । यस लेखमा तीमध्ये केही अति महत्वपूर्ण खोज–अनुसन्धानहरुको बारेमा केही चर्चा गर्न चाहन्छु ।

१. अघि बढ्दै गुरुत्व तरङ्ग

important-science-stories-2017-1१४ सेप्टेम्बर २०१५ मा वैज्ञानिकहरुले पहिलोपटक गुरुत्व तरङ्ग पत्ता लगाए । अमेरिकामा अवस्थित लेजर इन्टरफेरोमिटर ग्राभिटेस्नल–वेभ अब्जर्भेटोरी (लाइगो) र इटालीमा अवस्थित भर्गो इन्टरफेरोमिटरको संयुक्त प्रयासमा गुरुत्व तरङ्ग पत्ता लागेको त्यहाँका वैज्ञानिकहरुले सन् २०१६, फेब्रुअरी ११ मा घोषणा गरेका थिए ।

अरबौँ प्रकाशवर्ष टाढाका दुईवटा ब्ल्याक होलहरु ठोक्किँदा उत्पन्न भएका ती गुरुत्व तरङ्गहरुको आंकलन वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले आफ्नो सामान्य सापेक्षतावादको सिद्धान्तमा १०० वर्ष अगाडि नै गरेका थिए ।

गुरुत्व तरङ्ग पत्ता लागेबाट अन्तरिक्ष विज्ञान, र त्यसमा पनि विशेष गरी नक्षत्र विज्ञानको क्षेत्रमा अध्ययन गर्नको लागि एक नयाँ विधिको आविष्कार भएको वैज्ञानिकहरुले बताएका थिए । सन् २०१७ यसमा एक नयाँ युग साबित भयो ।

२०१७ को अक्टोबर १६ मा लाइगोका वैज्ञानिकहरुले दुई न्युट्रोन ताराहरु ठोक्किएको पत्ता लागेको कुरा सार्वजनिक गरे । ती ताराहरुको टकरावबाट उत्पन्न गुरुत्व तरङ्गको अध्ययनले त्यस्ता टकरावहरुबाट गामा विकिरणहरुका साथै युरेनियम र सुनजस्ता गह्रौँ तत्वहरु कसरी उत्पन्न हुन्छन् भन्ने कुराको आंकलनमा सहयोग पुग्ने वैज्ञानिकहरु बताउँछन् ।

सन् २०१८ मा गुरुत्व तरङ्गहरुको अध्ययनले अन्तरिक्षका थप रहस्यहरु उजागर हुँदै जाने हामी अपेक्षा राख्न सक्छौँ ।

२. ट्रम्प र विज्ञान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०१७ को सुरुवातमै २० जनवरीमा कार्यालय सम्हाले । यसले विश्व राजनीति मात्र नभएर विज्ञान जगतमा पनि खैलाबैला मच्चियो । राष्ट्रपति निर्वाचन अभियानका दौरान ट्रम्पले अभिव्यक्त गरेका विज्ञानविरोधी (विशेष गरी जलवायु परिवर्तन तथा खोप विरुद्धका) भनाइहरुका कारण उनी राष्ट्रपति भएपछि विज्ञान जगत सशंकित भएको थियो ।

नभन्दै, ट्रम्पले अमेरिकी राष्ट्रपतिको शपथ लिएको केही घण्टापछि नै ह्वाइट हाउसको वेभसाइट www.whitehouse.gov बाट जलवायु परिवर्तनसम्बन्धी सम्पूर्ण पृष्ठहरु हटाइए । र, यसको अन्तिम कडीको रुपमा गत जुनमा ट्रम्पले सन् २०१५ को पेरिस जलवायु सम्झौताबाट अमेरिका पछि हटेको घोषणा गरे ।

पेरिस सम्झौता २०१५ मा अमेरिकालगायत १८७ राष्ट्रहरुले औद्योगीकरणपश्चात बढ्न थालेको पृथ्वीको औसत तापक्रमलाई २ डिग्रीभन्दा कममा सीमित राख्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । तर, पेरिस सम्झौताले अमेरिकालाई कुल गार्हस्थ उत्पादनमा ३० खर्ब डलर घाटा लाग्ने र ६५ लाख अमेरिकीहरुको जागिर खोसिने दाबी गर्दै ट्रम्प प्रशासनले उक्त सम्झौताबाट अमेरिका पछि हटेको घोषणा गर्यो ।

राष्ट्रपति ट्रम्पका विज्ञानविरोधी अभिव्यक्ति तथा गतिविधिहरुविरुद्ध वैज्ञानिकहरु चुप लागेर भने बसेनन् । गत अप्रिलमा संसारभर ६ सयभन्दा बढी स्थानमा ट्रम्पका विज्ञानविरोधी अभिव्यक्ति तथा गतिविधिहरुको विरोधमा दशौँ लाख मानिसहरु विज्ञानको समर्थनस्वरुप सडकमा उत्रिए । ‘मार्च फर साइन्स’ नाम दिइएका ती प्रदर्शनीहरु विज्ञान जगतमा पहिलोपटक भएको मानिन्छ ।

३. कसिनीको अन्त्य

सन् १९९७, अक्टोबर १५ मा शनि ग्रह, त्यसका रिङ्गहरु तथा उपग्रहहरुको अध्ययन गर्ने प्रमुख उद्देश्यका साथ नासा, युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) र इटालियन अन्तरिक्ष एजेन्सी (एएसआई)को संयुक्त प्रयासमा कसिनी मिसन प्रक्षेपण गरियो । र, करिब २० वर्षको मिसनपछि गत सेप्टेम्बर १५ मा कसिनी अन्तरिक्ष यान शनि ग्रहमा ठोक्काइयो ।

किन ठोक्काइयो कसिनी शनि ग्रहमा ?

कसिनीलाई शनि ग्रहमा ठोक्काउनुबाहेक वैज्ञानिकहरुसँग अर्को विकल्प पनि थिएन । कसिनी यान चालु राख्नको लागि आवश्यक इन्धन सकिन लागेको थियो । र, यदि त्यसलाई इन्धन नसकुन्जेल चलाएर त्यसै अन्तरिक्षमा छोड्ने हो भने शनिका कुनै उपग्रहमा ठोक्किने सम्भावना हुन्थ्यो । वैज्ञानिकहरुले शनिको एक उपग्रह इन्सेलिडसमा पृथ्वीइतर जीवनका लागि आवश्यक संघटक पाइने सम्भावना देखेका छन् । यदि कसिनी यान इन्सेलिडस या अन्य कुनै उपग्रहमा ठोक्कियो भने पृथ्वीबाट कसिनी यानमा टाँसिएर गएका सूक्ष्म जीवाणुहरु सो उपग्रहमा पुग्ने सम्भावना हुन्छ । र, यदि भविष्यमा हामीले ती उपग्रहहरुको विस्तृत अध्ययन गर्यौं र सूक्ष्म जीवाणुहरु पत्ता लगायौँ भने ती जीवाणुहरु पृथ्वीबाट त्यहाँ पुगेका हुन् कि त्यही उपग्रहमै उत्पत्ति भएका हुन् भन्ने कुरा निर्क्यौल गर्न कठिन हुनेछ । त्यसैले कसिनी यान शनिका कुनै उपग्रहमा ठोक्कियोस् भन्ने वैज्ञानिकहरुले चाहेनन् ।

मिसन सुरु गर्दा सन् २००४ देखि सन् २००८ सम्म ४ वर्षको लागि मात्र भनेर प्रक्षेपण गरिएको कसिनी यान आफ्नो समयसीमाभन्दा १० वर्ष बढी टिक्यो । र, त्यस दौरान कसिनीले शनि र त्यसका उपग्रहहरुका बारेमा थुप्रै रहस्यहरु उजागर गर्यो ।

कसिनीले शनिका थुप्रै नयाँ उपग्रहहरु पत्ता लगायो भने शनिको सबैभन्दा ठूलो उपग्रह टाइटनमा रहेको तरल मिथेनले भरिएका तालहरु पत्ता लगायो ।

तर यसको सबैभन्दा महत्वपूर्ण अध्ययन भने उपग्रह इन्सेलिडसको रह्यो । कसिनीले इन्सेलिडसको सतहबाट पानीका फोहरा निस्किरहेको पत्ता लगायो । पानीको फोहरा बाहिर निस्किनुको मतलब हुन्छ, सो उपग्रहको सतहमुनि तरल पानीको सागर छ । यति मात्र होइन, वैज्ञानिकहरुका अनुसार ती समुद्रहरुको पीँधमा जियोथर्मल भेन्ट (प्वाल) हरु हुनसक्छन् । त्यस्ता जियोथर्मल भेन्टहरु हाम्रै पृथ्वीका समुद्री पीँधहरुमा पनि पाइन्छन् र ती भेन्टहरुमा अक्सिजन र जैविक तत्वहरुको अनुपस्थितिमा पनि सूक्ष्म जीवाणुहरु उत्पन्न भई उद्विकास भइरहेको पाइएका छन् । त्यसैले इन्सेलिडसमा पनि त्यस्ता भेन्टहरु नहोलान् भन्न सकिन्न ।

अहिलेसम्म हाम्रो सौर्यमण्डलमा पृथ्वीइतर जीवनको खोजीका लागि मंगल ग्रह सबैभन्दा महत्वपूर्ण आकाशीय पिण्डको रुपमा थियो । तर, कसिनीको यो डिस्कभरीपछि वैज्ञानिकहरुको ध्यान इन्सेलिडसतर्फ तानिएको छ । यदि इन्सेलिडसमा सूक्ष्म जीवहरुको अवशेष मात्र भेट्टिए पनि त्यो विज्ञान जगतको सबैभन्दा ठूलो उपलब्धी हुनेछ । र, कसिनी मिसन त्यो उपलब्धीको जगको रुपमा उभिनेछ ।

(Visited 46 times, 1 visits today)

टिप्पणी

comments