Main Menu

पतिको उपचार खर्च जुटाउन टेम्पो चलाउँदै शान्ता

  • चन्द्रकला भण्डारी
ill-husband-driving-wife

दुवै मिर्गौला खराब भएर विगत एक वर्षदेखि डायलासिस गरिरहेका पतिको उपचार खर्च जुटाउन अर्जुनधारा–७ की २६ वर्षीया शान्ता राईले टेम्पो चलाउँदै । तस्बिर : चन्द्रकला भण्डारी, काँकडभिट्टा(झापा), रासस

वैशाख २६, काँकडभिट्टा (झापा) । दुवै मिर्गौला खराब भएर विगत एक वर्षदेखि डायलासिस गरिरहेका पतिको उपचार खर्च जुटाउन अर्जुनधारा–७ की २६ वर्षीया शान्ता राईले टेम्पो चलाउन थालेकी छन् ।

शान्ताका पति ३६ वर्षीय भूपिन राईको दुवै मिर्गौला खराब छ । आर्थिक अवस्था ज्यादै नाजुक भएकाले दाताबाट आर्थिक सहयोग जुटाएर उनको उपचार भइरहेको छ ।

सातामा तीनपटक डायलासिस गर्नुपर्ने अवस्था भएका भूपिनलाई उपचारका लागि सहयोग जुटाउन स्थानीयवासीले युवा नेता चतुर्भुज काफ्लेको संयोजकत्वमा ‘भूपिन राई बचाऊ अभियान’ गठन गरेका थिए । सोही अभियानबाट सङ्कलित रकमले टिभिएस कम्पनीको टेम्पो आइतबार खरिद गरिएको हो ।

‘सधैँभरि चन्दा मागेरमात्र साध्य नभएपछि उहाँ (पति)को उपचार खर्च जुटाउन टेम्पो चलाउने निर्णय लिएकी हुँ’ – शान्ता भन्छिन् ।

सहयोग जुटाउन गठित अभियानले विगत ६ महिनामा रु. १६ लाख सङ्कलन गरेको थियो । काठमाडौँ, धरान र बिर्तामोडमा उपचार गराउँदा खर्च भएर अब सो अभियानको नाममा बैंकमा रु. ११ लाखमात्र बाँकी रहेको संयोजक काफ्ले बताउँछन् ।

बारम्बार सहयोग नजुट्ने र दिगो स्रोतको खोजी नगर्दा भएको ढुकुटी पनि रित्तिने भएकाले बेलैमा आय आर्जनको बाटो पहिल्याउँदै भूपिनकी पत्नी शान्तालाई टेम्पो किनेर दिएको उनको भनाइ छ ।

मजदुरी गर्ने भूपिनका दुवै मिर्गौला खराब भएपछि परिवारकै अबस्था पनि नाजुक हुँदै आइरहेको थियो । हाल बिर्तासिटी अस्पतालमा सातामा तीनपटक डायलासिस गराइरहेका भूपिनलाई पत्नी शान्ता र आफन्तहरुले एउटा मिर्गौला दान गर्न मञ्जुर भएपनि परीक्षण गर्दा फरक देखिएको अभियानका सदस्य चन्द्रलाफा मगर बताउँछन् ।

मिर्गौला प्रत्यारोपण हुन नसक्ने अवस्था भएकाले समितिले हाल उठेको सहयोग रकम परिवारका सदस्यलाई हस्तान्तरण गर्न चाहेपनि परिवारको सल्लाहमा दिगो आर्थिक स्रोतको पहिचान गर्ने क्रममा त्यही रकमबाट टेम्पो किनिएको हो ।

टेम्पोको बजार मूल्य ५ लाख ३५ हजार हो । तर सहारा नेपालले रु. २५ हजार छुट गरिदिएकाले शान्ताले रु. ५ लाख १० हजारमा टेम्पो पाएकी हुन् । टेम्पो कुदाएर दैनिक रु. १ हजारदेखि १५ सय सम्म आम्दानी हुने शान्ताको अपेक्षा छ । त्यसबाट उनले सातामा तीनपटक पति भूपिनको डायलासिस र परिवारको भरणपोषण खर्च पुर्याउनुपर्छ । शान्ता र भूपिनका १० वर्षकी एक छोरी सगुन कक्षा ४ मा पढ्छिन् भने ६ वर्षका छोरा तान्छोप्पा एलकेजीमा पढ्छन् ।

शान्ताले बिहानै उठेर परिवारका सबैलाई खाना पकाएरमात्र टेम्पो लिएर बजारतिर आउने गर्छिन् । बिरामी भूपिनले छोराछोरीलाई भात खुवाएर स्कुल पठाउने गर्छन् । भूपिन अरु काम गर्न नसक्ने हुँदा बेलुका शान्ता छिट्टै घर फर्किन्छिन् ।

आर्थिक स्थिति कमजोर भएकाले वैदेशिक रोजगारीका लागि कतार पुगेपनि भूपिनको अवस्था ज्यादै नाजुक भएपछि ७ महिना पछि उनी नेपाल फर्केर पतिको उपचारमा जुटेकी थिइन् । 

“भूपिन बचाऊ अभियान”का संयोजक काफ्लेले अब टेम्पो चलाएर गरेको आम्दानीले भूपिनको उपचार र परिवारको पालनपोषणमा सहयोगी हुने बताए ।

(Visited 28 times, 1 visits today)

टिप्पणी

comments