Main Menu

डायनोसरको समयको इक्थायोसरको जीवाष्म भारतमा पहिलोपटक भेटियो

कात्तिक ८, गुजरात, भारत

ichthyosaur-fossil-discovered-indiaभारतमा वैज्ञानिकहरुले १५ करोड २० लाख वर्ष पुरानो इक्थायोसरको जीवाष्म भेट्टाएका छन् । गुजरातमा भेटिएको उक्त जिवाष्म भारतमा भेटिएको इक्थायोसरको पहिलो जीवाष्म हो ।

कच मरुभुमिको एक चट्टानभित्र भेटिएको उक्त जीवाष्म मेसोजोइक कालको भएको वैज्ञानिकहरु बताउँछन् ।

अध्ययनको नेतृत्व गरेको प्रा. गन्टुपाली भीआर प्रसादका अनुसार ५.५ मिटर लामो उक्त जीवाष्म लगभग पूर्ण छ । खप्परको केही भाग र पुच्छरको केही हड्डीहरु मात्र नभेट्टिएको उनी बताउँछन् ।

अध्ययन प्लोस वन नामक विज्ञान जर्नलमा प्रकाशित छ ।

‘यो निकै नै उल्लेखनीय डिस्कभरी हो,’ प्रसाद थप्छन्, ‘भारतमा पहिलोपटक भेटिएकोले मात्र मैले यसो भनेको होइन । यसले इन्डो–माडागास्कन क्षेत्रमा (भारत र माडागास्कारबीचको समुद्री क्षेत्र) इक्थायोसरहरुको उद्विकास कुन रुपमा भयो भन्ने कुरामा यसले प्रकाश पार्नमा मद्दत गर्छ । यति मात्र होइन, जुरासिक कालमा भारतको जैविक इतिहास अन्य महादेशहरुसित कुन रुपमा जोडिन्छ भन्ने कुराको उत्तर पाउन पनि यसले मद्दत गर्छ ।’

अध्ययनमा भारत तथा जर्मनीका वैज्ञानिकहरुको संयुक्त सहभागिता थियो ।

कस्ता प्राणी हुन् इक्थायोसर ?

इक्थायोसरलाई धेरैले ‘पौडिने डायनोसर’को रुपमा लिन्छन् । तर यिनीहरु डायनोसर भने होइनन् । यी प्राणीहरु ट्राएसिक कालमा (२५ करोड १० लाख वर्षदेखि १९ करोड ९० लाख वर्षपहिले) पृथ्वीमा देखा परेका थिए ।

‘इक्थायोसर’ शब्दको अर्थ माछा–छेपारो हुने भए पनि यिनीहरु माछा होइनन् । मध्ये १९ औँ शताब्दीदेखि यिनीहरुलाई समुद्री सरिसृप जीवको रुपमा वर्गीकरण गरिएको छ ।

यिनीहरुको शरीरको आकारमा निकै भिन्नता पाइन्छ । कुनै प्रजाति १ मिटरसम्म साना पनि हुन्छन् भने कुनैकुनै प्रजाति १४ मिटरसम्म लामो पनि पाइएका छन् । तर सबैको निकै तीखा र बलिया दाँतहरु हुन्छन् ।

इक्थायोसरहरु डायनोसरहरु लोप हुनुभन्दा अगाडि नै लोप भएका थिए । यिनीहरु क्रिटासियस काल (१४ करोड ५५ लाख वर्षदेखि ६ करोड ५५ लाख वर्ष) को अन्त्यतिर पृथ्वीबाट लोप भएका थिए ।

बिबिसी

(Visited 73 times, 1 visits today)

टिप्पणी

comments