Main Menu

राशिफल : रामभरोसे संस्कृतिको उपज

  • डी.आर. पोखरेल

हामीकहाँ प्रचलित ज्योतिषशास्त्र र यसको तीन स्कन्धमध्येको जातक स्कन्धको अर्थात् राशिफलको व्यापक बजार देखिन्छ । परम्परागत ढंगका पण्डा–पूजारी, पुरोहित, ज्योतिष, धामी–झाँक्री, तीर्थयात्री र भिखारीसम्मका मानिसले राशिफलको धन्दा गरेकोमा त त्यति आश्र्चय छैन । तर आज सबैखालका संचारका साधनहरुसमेतले राशिफललाई आफ्नो अनिवार्य स्तम्भ बनाएकोमा र धर्मभिरुदेखि धर्मभेदीसम्मका तमाम खालका, विभिन्न विचार समूह, जातजाति समूहसमेतका मानिसहरु राशिफलतर्फ आकर्षित भएको देख्दा भने धेरै अचम्म मान्नुपर्ने भएको छ ।

ज्योतिषशास्त्रको गणित स्कन्ध धेरै विकसित मानिन्छ । यसकै कारणले आज ज्योतिषका कतिपय भविष्यवाणीहरु मिलेका पनि छन् । चन्द्रग्रहण, सूर्यग्रहणका भविष्यवाणी मिलेकाले जनसमूहमा ज्योतिषप्रति आस्था पनि छ । यही कारणले आज राशिफलको धन्दा फष्टाएको देखिन्छ । तर यो धन्दा फस्टाउँदा समाजको संस्कृतिमा, चिन्तन प्रणालीमा भने दूरगामी असर परेको छ, किनभने राशिफलको भाव भूमि भाग्यवादी प्रकारको छ । यसले वैज्ञानिक जिज्ञासा जगाउनुको सट्टा भाग्यभरोसे हुन सिकाएको छ । बाहिरको कुरामा भरपर्ने, आफ्नो कर्ममा अडिग नरहने, विचारहीन विश्वास गर्नेजस्ता प्रवृत्तिको विकास भएको छ । यस प्रवृत्तिले मानवजातिलाई दुर्वल बनाउँछ, मनोवलहीन बनाउँछ ।

horoscope-cultureसैगरी ज्योतिषमा गणितको भूमिका रहेतापनि ब्रम्हाण्डसम्बन्धी यसको धारणा अर्थात् सौर्य जगतप्रतिको यसको मूल अवधारणा भ्रमात्मक छ । आज पनि हाम्रो ज्योतिषको मूल आधार भू–केन्द्रित (Geo-centric) छ । पृथ्वी अहिले पनि अचल नै मानिन्छ । पृथ्वीले सूर्यको परिक्रमा गर्ने नभई सूर्य, चन्द्र आदिले पृथ्वीको परिक्रमा गर्दछन् भन्ने धारणा छ । यस्तैगरी हाम्रो ज्योतिषशास्त्रका अनुसार ‘सूर्य’ तारा नभएर ग्रह हो । चन्द्रमा उपग्रह नभएर ग्रह हो । त्यस्तैगरी यी अकाशीय पिण्डहरुलाई हाम्रो ज्योतिषले दैवीकरण, मानवीय आकृतीकरण गरेको छ । ग्रह, ताराको प्रश्नलाई, गणितको वस्तुगत प्रश्नलाई समेत मिथकिय रुप दिएको छ । सत्य–तथ्य र मिथकलाई एकै ठाउँमा छ्यासमिस गरेर ज्योतिषलाई धार्मिक–रुपक बनाइएको छ ।

अर्को कुरो, यो पन्ध्र सय वर्षअगाडि जस्तो रुपमा थियो, जुन आधारमा खडा थियो, त्यसमा कुनै सुधार, परिमार्जन, वैज्ञानिकीकरण भएको छैन । हाम्रो ज्योतिषको आधारमा कुनै ग्रह, तारा, उल्काहरुको यथाभूत अध्ययन गर्न सम्भव छैन । किनभने ग्रीसमा भन्दा पनि पहिले शुरुवात भएको हाम्रो ज्योतिष जहिँको त्यहीँ छ । राशिफलको धन्दामै व्यस्त छ । हाम्रो ज्योतिषले न चन्द्रमामा पुग्ने आकांक्षा राख्नसक्छ न मंगलमा ‘पुष्पक विमान’ पठाइने योजना बनाउँछ । आज पनि यो साँच्चै भन्ने हो भने ‘नाडी बजेर भुत्ला मिनेट’ जाने युगमै छ । बेअर्थको जन्म–पत्रिका बनाउने र दुनियाँलाई उल्लु बनाएर पैसा लुट्ने बाजारु धन्दामा हाम्रो ज्योतिष थला परेको देखिन्छ ।

हामीकहाँ वौद्धिककालमै यस विद्याको शुरुवात भएको र ‘वेदाङ्गजोतिष’ नामाकरण गरिएको मानिन्छ । त्यतिखेर आजको जस्तो घडी थिएन । दिनमान सूर्योदयलाई मानिएता पनि उज्यालो हुनुको प्रमाण मानक केही थिएन । यस परिप्रेक्ष्यमा विहान उठेर नाडीको भुत्ला देखिने भएपछिका समयलाई उज्यालो भएको मानक मान्न थालिएको हुनुपर्छ । ‘नाडी बजेर भुत्ला मिनेट’ गयो भन्ने भनाइ वा नाडीमा घडी बाँध्ने प्रचलनको पछाडि यही नाडीको भुत्लाको राज छ । त्यसपछि धूपघडी (सूर्यको छाया नापेर समयको गणना गर्ने पद्धति) आयो । ‘पानी घटी’ आयो । यसरी समयको गणना शुरु हुन पुगेको देखिन्छ ।

यस्तैगरी सूर्य र चन्द्रको उदय र अस्त, चन्द्रकला, रातदिन, ऋतु परिवर्तन, जाडो गर्मी, सूर्य र चन्द्र ग्रहण, उल्का र पुच्छ्रेताराहरुको उपस्थिति, औंसी र पूर्णिमा समुद्रमा ज्वारभाटा आदि-आदि भौतिक घटनाहरुले हाम्रा पूर्वजलाई आकाशप्रति कौतुहलमय तुल्यायो । खगोलप्रतिको जिज्ञासाले तिनलाई बेचैन तुल्यायो ।

तिनले सर्वप्रथम चन्द्रमाको आकार फेरिने दिनहरु गने, पृथ्वीको परिधि र परिभ्रमणकाल (३६५.२ दिन)को पत्तो लगाए । आफ्नो छायाँ सूर्यको उत्तर चढावसँगै ठूलो सानो भएको अवलोकन गरेर तिनले धूपघडीको पत्तो लगाए । एउटा लम्बमा १८० डिग्री (अंश) र वृत्तमा ३६० डिग्री (अंश) हुन्छ भन्ने माने । जंगलमा फल्ने रातीगेडीको एउटा दानाको बराबर तौललाई एक लाल माने । जौका दुईवटा दानालाई तौलको अर्को इकाई ठाने । आँखाको एक पलक (एक झिम्काइ)लाई एक पल ठाने । अर्थात् समयको इकाई माने । यसरी नै एक अंगुललाई एउटा इकाई घोषणा गरे । यसरी समयको दुरीको, तौलको र अवस्थितिको इकाई स्थापना हुनपुग्यो । रेखा, विन्दु, कोणको जग बस्यो । आफ्नो दुई बाहाँको नाप लिँदा आफ्नो उचाइ आएको देखेर हाम्रो पूर्वजको उर्वर मस्तिष्कमा रेखागणित वा ज्यामितीय रहस्यको राज खुल्दैगयो । अर्ध आधार गुणन उँचाइ (1/2 bxh) लामो भूजा अर्थात् लम्वाई निस्कियो । यसैगरी आधारमाथिको लम्बको एकापट्टिको कोण ९० अंशको हुने र त्यस लम्बबाट आधारमा तानिएको भूजाका माथि र तलका दुई कोणहरुको योगफल र लम्बको एकापट्टि कोण, बराबर हुने रहस्य थाहा भयो । यसरी नै आकाशीय पिण्डहरुलाई वर्षौंसम्म अध्ययन गर्दा तिनीहरुमा निश्चित समयावधिमा पूर्व घटनाहरुको पुनरावृत्ति हुने सत्यतथ्यको पनि ज्ञान भयो । यी सबै आधारमा प्राचीन गणितको प्रादुर्भाव भयो । हाम्रा पूर्वजका यस महान् कार्यबाट हामी कृतकृत भएका छौं ।

तर समस्या कहाँनिर छ भने हामी पूर्वजका त्यही कमाइको व्याज अहिलेसम्म खाइरहेको छौँ । त्यही एउटा गणित ठीक भएकाले हामीले आजसम्म अरु केही नगरिकन धन्दा चलाउन पाएका छौँ । ज्योतिषप्रति नकारात्मक भाव फैलाउन यो भनिएको होइन । तर हामी कति कर्तव्यच्यूत भएका रहेछौँ, कति कामचोर भएका रहेछौँ भन्ने कुराको जनाउ मात्र हो, किनभने हाम्रा पूर्वका पूर्वजहरुभन्दा पनि पछि यस क्षेत्रमा ध्यान लगाउने पश्चिमका पूर्वजहरुका प्राप्तिलाई आज पश्चिमले सम्वृद्ध गर्दै चन्द्रमा, मंगललगायत ग्रहताराहरुको खोजी, चन्द्रमामा मानिसको अवतरण, मंगलमा अवतरण गर्ने हदसम्म विकास गरिसके भने हामी चाहिँ ‘हाम्रो ज्योतिष कस्तो अद्भूत हो– ग्रहणको भविष्यवाणी गर्छ’ भन्दै मख्ख परेर बसेका छौँ । जावो ग्रहणको कुरा आज विज्ञानले सहजै हिसाव गरेर सबैलाई भन्नसक्छ । यो कुन ठूलो कुरो भयो र ! विज्ञानले १ लाख प्रकाश वर्ष टाढाका ताराहरुबारे पनि रेडियो तरंगको आधारमा धेरै कुरा बताउन सक्ने भएको छ । पूर्वको ज्योतिषमा उल्लेख भएका पृथ्वीको परिभ्रमण कक्ष (orbit) मा पर्ने १२ वटा तारामण्डल (राशि) का एक-एकका विस्तृत जानकारी, तस्वीरहरु इत्यादि विज्ञानसित प्राप्त छ । त्यतिमात्र नभई ८८ वटा तारामण्डल (constellations) को जानकारी छ । हाम्रो सौर्यमण्डलमा

१. ग्रहहरु

क) बुध (Mercury)
ख) शुक्र – (Venus)
ग) पृथ्वी – (Earth)
घ) मंगल (Mars)
ङ) वृहस्पति (Jupiter)
च) शनि (Saturn)
छ) अरुण (Uranus)
ज) वरुण (Neptune)
झ) यम (Pluto) (सन् २००६ मा यमलाई पुड्को ग्रहको रुपमा पुनःवर्गीकरण गरिएको -सम्पादक)

२) उपग्रह या चन्द्रमाहरु 

पृथ्वीमा १
मंगलमा २
बृहस्पतिमा १३ (पछिल्लो तथ्यांक अनुसार ६९ वटा भएको पुष्टि । – सम्पादक)
शनिमा १६ (पछिल्लो तथ्यांक अनुसार ६२ वटा भएको पुष्टि । – सम्पादक)
अरुणमा ७ (पछिल्लो तथ्यांक अनुसार २७ वटा भएको पुष्टि । – सम्पादक)
बरुणमा ४ (पछिल्लो तथ्यांक अनुसार १४ वटा भएको पुष्टि । – सम्पादक) गरी अहिलेसम्म पुष्टि भएका  ४१ उपग्रहहरू (पछिल्लो तथ्यांक अनुसार १७२ वटा), 

३) चट्टानहरु, हिउँ, उल्काहरु, पुच्छ्रेताराहरु, धूलकण, ग्याँसहरु तथा मंगल र वृहस्पतिबीचमा रहेका लाखौँ छुद्र ग्रहहरुको तह र,

४) सूर्य 

छन् ।

हाम्रो सौर्यमण्डलभित्रका ९ ग्रह (यमलाई सन् २००६ मा पुड्को ग्रहमा पुनःवर्गीकरण गरिएपछि ८ ग्रह), तिनका उपग्रहहरु, चट्टानहरु, वरफहरु, उल्काहरु, पुच्छ्रेताराहरु, धूलकण, ग्याँस, मंगल र बृहस्पतिको बीचमा रहेका लाखौँ छुद्रग्रहहरुको क्षेत्र, बृहस्पति भीमकाय ग्रह भएको र यसमा पृथ्वी जत्रो अाकारका ग्रहहरु ३१८ वटा अट्नसक्ने, प्लुटो ग्रह अति टाढा भएको र यी सबै ग्रहहरुमा अवस्थित, परिभ्रमणकाल, सूर्यबाटको दूरी, आफ्नो कक्षमा घुमाइ, घुमाइको गति, तिनीहरुको सूर्यतर्फ फर्किएको भाग र अँध्यारो भाग आदिबारे विज्ञानले विशिष्ट जानकारी हासिल गरिसकेको छ । 

त्यस्तै, चन्द्रमा र मंगल ग्रहमा रुस र अमेरिकाले पटक-पटक रकेटहरु पठाएर धेरै अध्ययन गरिसकेका छन् । मंगल ग्रह केले बनेको छ ? त्यहाँ जीवहरू छन् कि छैनन् ? त्यहाँ पृथ्वीको जस्तो हावापानी, माटो, बनस्पति, जीवजन्तु छन् कि छैनन् भनेर विज्ञानले व्यापक खोजी गरिसकेका छन्, गरिरहेका छन् । उस्तै परे अब चन्द्रमा र मंगलमा मानववस्ती बसाल्ने तैयारी पनि विज्ञानले गर्नसक्छ । विज्ञानसित यति विशालकाय अध्ययन र अनुभव छ ।

तर, हाम्रो ज्योतिष आफ्नो प्राचीनकालकै अवधारणामा खुम्चिरहेको छ । अरु त अरु, प्राचीन गणितले समेत सूर्यको परिधिको नाप लिन सकेको थिएन । पृथ्वी पश्चिमबाट पूर्वतर्फ परिभ्रमण (आफ्नै कक्षमा)गर्दा पूर्वबाट पश्चिमतर्फ सूर्य र चन्द्रमा कुदेको देखिन्छ भन्ने कुरा हाम्रा पूर्वजलाई वोध भएको थिएन । अहिले हामी कुदेको रेल गाडीबाट हेर्दा बाहिर रुख उल्टो दिशामा कुदेको देख्दछौँ । यो त भ्रम न हो । यस्तै भ्रम हाम्रा पूर्खालाई थियो । उनीहरुले सूर्य, चन्द्र पूर्वबाट पश्चिमतर्फ कुदेको देखे ।

सर्वसाधारण जनसमूहमा हाम्रो ज्योतिषले निर्माण गरेको पात्रो, जन्म कुण्डली र त्यसको आधारमा व्यक्ति–व्यक्तिको जीवन र घटनाहरुको शुभारम्भको भविष्यवाणी आदिले गर्दा यसप्रति ठूलो विश्वास छ । तर के थाहा छैन भने यो सबै त लगभग २ हजार वर्षपहिले नै पत्ता लागेको कुरो हो । यो गणितको गणनाबाट आउने कुरा हो, जुन कुरा आज अलिकति ध्यान दिने हो भने जो कोहीले पनि गर्नसक्छ किनभने फर्मुला त तयार नै छ, बाँकी त्यसअनुसारको गणना गर्नु न हो ।

अरुको त के कुरा यस पंक्तिका लेखकले समेत १५ दिनको अध्ययन र अभ्यासबाट जन्मपत्रिकाको फल बताउन सक्ने भएको छ । उस्तै परे जन्मपत्रिका नै बनाउन सकिन्छ । यो कुनै असाध्य काम होइन । किनभने जन्मको समय ठीक पत्तो लागेपछि त्यस मिति र दिनको पात्रोमा त्यस दिनभरिको ग्रह, नक्षत्र र लगनको उल्लेख हुन्छ । बार, तिथि, नक्षत्र, करण र योग यी ५ अंगलाई पञ्चाङ्ग अर्थात् पात्रो भनिन्छ । यी पाँचै अंग त्यहाँ उल्लेख हुन्छ । लगन कुण्डली पनि पात्रोमै हुन्छ । जन्मपत्रिका बनाउने भनेको तिनकै गन्ती र हिसाव मिलान गरेर कुण्डली फर्मेटमा भर्नु हो । यो सजिलै भर्न सकिन्छ । जन्म कुण्डलीका ग्रहहरुको अवस्थिति र तिनको फलबारे पनि बताउन सकिन्छ । जस्तो यहाँ पृथ्वीनारायण शाहको जन्मकुण्डलीका ग्रहहरुको अवस्थितिबारे केही प्रकाश पारिएको छ ।

horoscope-cultureजातकको नाम : पृथ्वीनारायण शाह
जन्म : वि.सं. १७७९, पौष २७, कृष्ण, अमावश्या, घडी ४/२ उप्रान्त प्रतिपदा पूर्वषाका– नक्षत्र, व्याघात घडी २/२ उप्रान्त कृर्षण योग, ववकरण वृहस्पतिवार ।

लगनमा– सूर्य

पाँचौ स्थानमा सारा ग्रहहरु छन् । पाँचौ स्थान भनेको पुत्र, यश, कृतिको भाव स्थान हो । यो सिंह राशिको घर हो । यसका मालिक सूर्य हुन् । सूर्य स्वग्रही भएर, उच्च भएर, बलवान भएर रहेका छन् । बृहस्पति र मंगल भित्रको घरमा छन् । यी दुवै सूर्यका मित्र हुन् । बुध पनि यसै स्थानमा छन् । बुध सूर्यका न मित्र हुन् न शत्रु हुन् । ठीकै छन् । यस स्थानमा शनि पनि छन् । शनि सूर्यका शत्रू हुन् । जातक अति बलवान भएको बेलामा, अतिकृति फैलिएको चरम अवस्थामा शत्रूले अर्थात् शनिले जरा उखेल्छन् । चन्द्रमा बुधको घरमा मित्रगृही भएर रहेका छन् । शुक्र पनि मित्रगृही छन् ।

मूल कुण्डलीका ग्रहहरु यी भए । अब यिनको कहिले कहिले पालो आउँछ ? जातक कति वर्ष भएपछि कुन ग्रह, नक्षत्र र योगको पालो आउँछ ? तिनले कति-कति वर्ष भोग गर्छन् ? आदि चर निकालेर अध्ययन गरिन्छ । अर्थात् यस कुण्डलीको अझै सूक्ष्ममा अध्ययन गरिन्छ । यसका लागि केही फर्मेटमा ग्रह गणना गरेर भर्नुपर्ने हुन्छ । बस् यही हो जन्मपत्रिका बनाउने भनेको । (स्रोत : शंकरमान राजवंशी, “श्री ५ वडामहाराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी र जन्मकुण्डली व्याख्या” प्राचीन नेपाल (संख्या–१२, २०२७)

विज्ञानले आज विकास गरेको सौर्य जगत र त्यसभन्दा पनि पर ब्रम्हाण्डका ज्ञान, अनुभव र प्रविधिको प्रारम्भिक स्रोत भने प्राचीन ज्योतिष नै हो । प्राचीन ज्योतिषको उदय पूर्वमा वौद्धिककालमा भएजस्तै पश्चिममा (ग्रीसमा) तोलेमेइकले [AD 90 – 168] र अरीसतारचुस [310 –  230 BC] ले पृथ्वीकेन्द्रित ज्योतिषको धारणा अघिसारेका थिए । पूर्वका वराह मिहिर (वि.सं.४००/५००) जो भारतका प्रख्यात महाराज विक्रमादित्यको दरवारमा नवरत्नमध्येका एक थिए,ले पनि सौर्य जगतको अध्ययनको निम्ति पृथ्वीलाई नै केन्द्र मानेका थिए । पृथ्वीको वरिपरि चन्द्र, सूर्य, बुध, शुक्र, मंगल, बृहस्पति र शनि घुम्छन् भन्ने मान्यता थियो । पूर्व र पश्चिम दुवै ठाउँमा शुरुको सिद्धान्त एउटै थियो । दुवैले पृथ्वीलाई केन्द्र मानेका थिए । सूर्य, चन्द्र, बुध, शुक्र, मंगल, बृहस्पति, शनि दुवैका ग्रहहरु थिए । दुवैको वर्षारम्भ माघमा हुन्थ्यो भन्ने देखिन्छ किनभने इस्वी सम्वत् आज पनि जनवरी (पुष–माघ)मा शुरु हुन्छ । तिनको नयाँ वर्ष त्यही हो । नेपालमा पनि वैदिककालमा माघदेखि नै नयाँ वर्ष शुरु हुन्थ्यो भन्ने कुरा नयराज पन्तले उल्लेख गरेका छन्– “वेदाङ्गकालमा माघादि वर्षको चलन थियो । तिनताक वेदाङ्ग ज्योतिषबाट पञ्चाङ्ग गणना हुन्थ्यो । वेदाङ्ग ज्योतिषअनुसार माघदेखि शुरु गरी ३० महिनामा आउने आषाढमा र त्यसपछि ३० महिनामा आउने पौषमा गरी ६० महिना अर्थात् ५ वर्षमा २ अधिमास मान्ने चलन थियो ।” (नयराज पन्त, ‘लिच्छवी संवत्को निर्णय’ पृ. ४२२)

पूर्वमा पछि यसमा राहु र केतु नामका ग्रहहरु थपिए । र, एकसे एक ज्योतिषाचार्यहरुले खगोललाई कवितामा उतारे । पूर्वको विकास मिथक र सत्यको सम्मिश्रण गर्नेतर्फ उद्यत भयो भने पश्चिममा कपरनिकस (सन् १४७३–१५४३)ले ज्योतिषलाई भूकेन्द्रित (Geo-centric) बाट निकालेर सूर्यकेन्द्रित (Heliocentric) अवधारणामा ल्याए । यो सिद्धान्त विज्ञानको विकासमा कोशेढुंगा सावित भयो । भन्नाले आजको विज्ञानको खगोलीय सिद्धान्त पनि सूर्यकेन्द्रित नै छ । करिब हजार बाह्रसय वर्षसम्म एकछत्र रुपले रजाइँ गर्न पाएर पनि पृथ्वीकेन्द्रित सिद्धान्तले खासै विकास गर्न सकेन । यो पूर्वमा आजसम्म मिथककै रुपमा रहेको छ । पश्चिममा पनि खासगरी डेनिस खगोलविद् तिचो ब्राहे (सन् १५४६–१६०१)ले भने सोह्रौं शताब्दीमा आएर पनि पृथ्वीकेन्द्रित सिद्धान्त नै अघिसारे । तर विज्ञान त्यसमा अल्मलिएन । चन्द्र धरातलमा मानवलाई अवतरण गरेरै छोड्यो ।

हामीकहाँ भने प्राचीन गणितलाई टीका भाष्यको रुपमा नयाँ संस्करणमा ल्याउनेभन्दा बढी केही भएन । पश्चिममा पनि एकथरिका ज्योतिषाचार्यहरु पुरानै लिकमा हिंडिरहेका छन् । यीमध्ये किरो (Cheiro)१० प्रख्यात छन् । उनी हस्तरेखाविद्को रुपमा परिचित देखिन्छन् । तर जातक स्कन्धमा भने मध्ययुगमा धार्मिक भावनाको आरोपण भयो । शनि, रवि, सोम, मंगल, बुध, बृहस्पति र शुक्र साथै राहु र केतुलाई दैवीकरण गर्ने, तिनलाई मानवीय आकृतिमा ढाल्ने र धर्मको भारवहन गर्न लगाउने कार्य भयो । ‘नवग्रह स्तोत्र’को रचना भयो । आकाशीय पिण्डहरुलाई पृथ्वीमा झारियो । तिनलाई अङ्ग, वङ्ग, कलिङ्ग उज्जैन देशका नागरिक बनाइयो । विभिन्न पशुपंक्षी तिनका बहान बने वा बनाइयो । तिनलाई पृथ्वीको खासगरी भारतका केही ठाउँका बासिन्दा बनाइयो । जस्तो– सूर्यको देश कलिङ्ग, गोत्र कश्यप, वाहन सातघोडा लागेको बग्गी । यस्तै मंगलको बाहन भेडा, उज्जैन देशको बासिन्दा भारद्वाज गोत्र आदि मिथकहरुको रचना गरियो ।११ यसको उल्लेख नेपालका पञ्चाङ्गहरुमा पाइन्छ ।

पञ्चाङ्गकर्ता ज्योतिषाचार्यहरु र पञ्चाङ्ग निर्णायक समिति, बाल्मिकी क्याम्पसका खगोल (ज्योतिष) विभागका आदरणीय प्राध्यापकज्यूहरु सबैसित सोध्न मन लागेको छ– यो ज्योतिषको नाममा के-के धन्दा भइरहेको छ ? नवग्रहलाई भारतका विभिन्न प्राचीन राज्यहरुमा लगेर नागरिकता दिनु, गोत्र दिनु र अचेल प्याजेरो युगमा पनि जाबो गिद्ध, हाँस, भेडो, ठेलागाडामा त्यत्रा-त्यत्रा ‘देवताहरु’लाई टक्स्याउनु कति उचित होला ? के सौर्य जगतका नवग्रहहरु एशियाका त्यसमाथि पनि उत्तर भारतका मात्रै पेवा हुन ? यस्तो मिथकलाई हाम्रो पञ्चाङ्गबाट हटाउन सकिन्न ? यस्तो मिथकीय राशिफललाई सरकारी संचारका माध्यमहरुबाट प्रचार नगरे हुँदैन ? हामीलाई त विज्ञानतर्फ अगाडि बढाउने शिक्षा–संस्कृतिको पो जरुरत छ ।

अब प्रश्न उठ्छ, आजभन्दा १५/१६ सय वर्षअगाडि आजको जस्तो कुनै वैज्ञानिक संशाधन नभएको, कुनै शास्त्रहरु (खगोल, भूगोल, ज्यामिति भौतिक, रसायन) पैदा नभइसकेको त्यस युगमा हाम्रा यी महान् पूर्खाहरुले केको आधारमा खगोलको अध्ययन गरे होलान् ? कसरी पृथ्वी र यसको परिधिलाई नापे होलान् ? कसरी सूर्य र चन्द्रमाको गति पत्तो लगाए होलान् ? केले पृथ्वी र चन्द्रमाको, पृथ्वी र सूर्येको दुरी नापे होलान् ? यी प्रश्नहरु हाम्राअगाडि ठिङ्ग उभिन्छन् । हाम्रा आजका पण्डित, पुरोहित, पादरी, ज्योतिषाचार्य, धामीझाँक्री, वैद्य सबैको अगाडि यो प्रश्न उभिएको छ । तर यही प्रश्नलाई उनीहरु उल्टाएर र कुतर्क अघि सारेर राशिफलको धन्दालाई उचित कार्य ठहर्याउँछन् । उनीहरु भन्छन्– “ज्योतिष असत्य कसरी हुन्थ्यो ? हुन्थ्यो भने ‘यै’ दिन ग्रहण लाग्छ भनेको नपुग्नुपर्ने पुग्छ कसरी ? त्यसो भएकाले हाम्रो ज्योतिषसम्बन्धी धन्दा उचित छ, सत्य छ, वैज्ञानिक छ ।” अझ “वैज्ञानिकको बाउ छ” भन्ने गर्दछन् । गणित ज्योतिषको एउटा हिसाव मिलेको आधारमा उनीहरुले आफ्ना तमाम ठगी धन्दालाई सही सावित गराउँदै आएका छन् । ग्रहणको गणित मिलेको व्याज खाएर तमाम मानिसलाई उल्लु बनाएका छन् ।

horoscope-culture“टि.भि., एफ्.एम्.हरुका राशिफलहरु आपसमै बाझिएका हुन्छन् । एउटा टि.भि.च्यानलले फलानो राशिका मानिसको राम्रो दिन भनेकै दिन अर्को च्यानलले अत्यन्त नराम्रो दिन बताउँछ । टेलिभिजन वा अन्य कुनै माध्यममा प्रकाशित राशिफल देख्दा वा पढ्दा कहिलेकाहीं हाँसो उठ्छ । त्यसमा उमेर, लिंग, योग्यता, पेशा, पद, क्षेत्र आदि विचारेर फल बताइएको हुँदैन । सोलो डोलो गोरु मोलाइको रुपमा अर्थात् अर्थशास्त्रीहरुले प्रतिव्यक्ति आय आंकलन गरेसरह हुन्छ । यसले गर्दा त्यसबाट सही र सत्य कुरा प्रकट नभएर नितान्त भ्रमात्मक मिथ्या कुरा हात लाग्ने संभावना नै बढी हुन्छ । यसमा भर्खर जन्मेको शिशुको ‘प्रेमीसँग’ भेट हुने, जागीर व्यापार आदिबाट प्रशस्त लाभ प्राप्त हुने तथा बृद्धहरुको पढाइ वा जागिरमा प्रगतिको शुभ संकेत, विवाह बन्धनको सम्भावनाजस्ता असंगत कुराहरु आउने गर्दछन् ।” (भागवत शरण न्यौपाने, ‘राशिफलः एक संक्षिप्त टिप्पणी’ सिर्जना, त्रैमासिक पत्रिका, अंक २, २०५३)

यतिमात्र नभई व्यक्ति विशेषलाई भूगोलले पनि प्रभाव पारेको हुन्छ । अक्षांश र देशान्तरको हिसावविना कसैको पनि राशिफल बताउन नसकिने र हाल प्रचलित बजारु एवं व्यावसायिक राशिफलको धन्दा बेठीक हो र यो वाहियात छ भन्ने मत पाइन्छ वरिष्ठ ज्योतिषाचार्य त्रिकालदर्शी कमलराज भण्डारीको । हामीलाई थाहा नै छ कि कमलराज भण्डारी नेपालमा पहिलोचोटि पत्रिकामा राशिफल भित्र्याउने ज्योतिषी हुन् । राजा महेन्द्रको मृत्युको भविष्यवाणी गरेवापत उनले जेल पनि भोगिसकेका छन् । आज यस्ता व्यक्ति त संचार क्षेत्रको राशिफलको धन्दालाई वाहियात बताउँछन् भने वैज्ञानिकहरु एवं वैज्ञानिक चिन्तन राख्ने व्यक्तिहरुले यस धन्दालाई कति लाजमर्दो कुरा ठानेका होलान् ? अलिकति वस्तुवादी चिन्तन राख्ने र सुसंस्कृत व्यक्तिले यस्तो धन्दा गर्ने वा यसको फन्दामा पर्ने कुराबाट लाज मान्नुपर्ने हो ।

भूगोलले जस्तै समाज र संस्कृतिले पनि राशिफललाई निर्देशित गर्दछ । जस्तो, भनौं एउटा इमान्दार र सोझो मानिस छ, ऊ विद्वान पनि छ, तर ऊ चालु नभएकाले आजको दुनियाँमा पछि परेको छ । ऊ सभ्य छ, शिष्ट छ, नैतिक छ, सत्यवादी छ, तर उसित पैसा छैन भने समाजले उसलाई कति पनि मान्यता दिँदैन । किनभने आज रुपियाँको मूल्य नै एकमात्र प्रमुख मूल्य भएको छ । समाजले उसलाई कुनै स्थान नै दिँदैन । तर उसको लगन कुण्डलीमा भने उच्च-उच्च ग्रहहरु हुनसक्छन्, राज ग्रहहरु हुनसक्छन् । मेष लगनमा सूर्य, मकरमा मंगल, कर्कटमा चन्द्रमा, बृषमा शुक्र, दशौं भावमा शनिश्चर, बृहस्पति चन्द्रमाको घरमा अर्थात् कर्कटमा हुनसक्छन् । तर यी राशिले हाम्रोजस्तो मूल्यहीन समाजमा के गर्दथे अर्थात् समाजले चोरी गरेर भए पनि धन कमाउने, अरुलाई दुःख दिने, सामन्त्याइँ गर्ने, अर्काको स्वतन्त्रताको हनन गर्ने, आफूमात्र मालिक बन्ने, काम नगर्ने, व्यभिचार गर्ने, तर राज्यको बागडोर समात्ने नै गर्दा माथिको राजयोगका कारणले भने के उसलाई वास्तविक रुपमा राम्रो भनिन्छ ? त्यसकारण युगसँगै मूल्य–मान्यताहरु फेरिएका छन् । हिजो प्राचीन युग वा मध्ययुगमा जुन-जुन कुरालाई उच्च मानिन्थ्यो, आज त्यसलाई उच्च त के उचित पनि मानिँदैन । हिजो निरंकुशतालाई शक्तिको प्रतीक मानिन्थ्यो; राजयोगभित्र परिन्थ्यो । आज त्यसलाई राम्रो मानिँदैन । आज त हिजो समान्ती युगमा बनेका ‘राशिफल’लाई ठीक उल्टाएर हेर्नुपर्ने भएको छ । आज त ‘राशिफल’ वकवासमात्र भएको छ । भ्रष्टाचार गरेर कोही हवेलीको मालिक हुन्छ भने त्यसलाई आज दण्ड दिइन्छ, त्यो नीच राशिको मानिन्छ, तर हिजो उसलाई उच्च राशिको, राजयोग परेको भनिन्थ्यो । त्यसकारण राशिफललाई सत्ताधारीहरुले आफ्नो रक्षाकवच बनाएका छन् । चोरीको धनलाई भाग्यको फल बताएका छन् । अत्याचारलाई शक्तिको प्रतीक मानेका छन् । वास्तविक रुपमा कहाँ छ र ज्योतिष ? 

आज हामी कहीँ जानु परेमा साइत हेर्ने हेराउने गर्छौं, केही गर्नु परेमा ज्योतिष देखाउँछौँ । जन्मपत्रिका बनाउँछौँ, त्यो बोकेर पण्डित–पुरोहितहरुकहाँ धाउने गर्छौं । यहाँसम्म कि घर बनाउँदा, नहर बनाउँदा, धारा बनाउँदा र चर्पी बनाउँदासमेत साइत नपुर्याई काम अघि बढ्दैन । लम्फू छोरो पास हुन्छ कि हुँदैन भनेर हात देखाउन जान्छौँ । गाउँको सामन्तले घरखेत सबै खाइदिँदा पनि हामी उसलाई दोष दिन्नौँ । आफ्नो भाग्यमा खोट देख्छौँ । आफ्नै ग्रहहरुमा खोट देख्छौँ । सूर्य तुला राशीमा, मिनको घरमा चन्द्रमा बसेकाले आफ्नो हानी भएको निचोड झिक्छौँ । अर्थात् जहाँतहीँ हामी भाग्यभरोसे भएका छौँ । यसलाई हामी सहनशीलताको संस्कार भन्ने नाम दिन्छौँ । ‘ठूलो रुखको ओत लाग्नुपर्दछ’ भन्छौँ । सर्मपणको संस्कृतिलाई महत्वपूर्ण कुरा ठान्छौँ । आत्महीनतालाई समेत महानता भन्ने गरिदिन्छौँ । बडाको आदरको नाममा चाकरी गर्छौं । धनको लागि जे-जे नगर्नुपर्ने काम पनि गरिदिन्छौँ । पछि पुलिसले अँठ्यायो भने कर्ममै यस्तो लेखेको, राहु वा केतुको खेल अर्थात् सूर्य, चन्द्र, बृहस्पति शत्रूगृही भएर कुण्डलीमा रहेकाले यस्तो भएको ठानेर चित्त बुझाउँछौँ ।यसरी सबैतिरबाट व्यक्तिलाई हीन तुल्याउने संस्कृतिको झण्डा उठाएर हामी अघि बढ्न खोजिरहेका छौँ ।

सन्दर्भ सामग्री

१) महर्षि, भृगु, भृगुसंहिता, दिल्ली : साधना पाकेट बुक्स्– प्रस्तुति, राकेश शास्त्री, सन् १९९८, पृ. क
२) पन्त नयराज, लिच्छवि संवत्को निर्णय, काठमाण्डौ, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, वि.सं. २०४३, पृ. ४२२
३) Mitchel, James and Jess Stein [Editors], The Random House Encyclopedia, New York : Random House, 1997, Page 38
४) Mitchel, James and Jess Stein [Edt.] abid – Page 38
५) मिश्र, अतुल ‘६० हजार वर्षपछि मंगलग्रह, आउँदैछ नजिक’, कान्तिपुर, (२३ श्रावण २०६०, वर्ष १, अंक १७१)
६) राजवंशी, शंकरमान, “श्री ५ वडा महाराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी र जन्मकुण्डलीको व्याख्या” प्राचीन नेपाल, संख्या १२, २०२७
७) Mitchel James – abid- page 42
८) मिहिर, बराह, बृहज्जातकम, बनारस : मास्टर खेलाडी लाल एण्ड सन्स, (द्वितीय संस्करण), पृष्ठ २
९) Mitchel, James, abid – page 48
१०) Cheiro [count Louis Hamon], Fate and Fortune, Britain : Barrie and Jenkins 1971,
११) पन्त, तोयानाथ, पञ्चाङ्ग– २०६०, पृ. ७५–७७

(Visited 100 times, 1 visits today)

टिप्पणी

comments