Main Menu

हकिङ भन्छन् – ‘मानव जाति अब ६ सय वर्षसम्म’ ! जोगाउने कसरी ?

बेइजिङमा गत २०१७ को नोभेम्बरमा भएको ‘टेन्सेन्ट विश्व पर्यावरण सम्मेलन’ Tencent WE Summit मा विश्वविख्यात भौतिकशास्त्री विलियम स्टेफेन हकिङले मानव जाति आगामी ६ सय वर्षमा समाप्त हुँदैछ भनी चेतावनी दिएका छन् । उनी भन्छन्, “हामी सबै छ सयभन्दा कम वर्षमा मर्दैछौं, जुनबेला यहाँ यति धेरै मानिसहरु हुन्छन् जसले गर्ने अपार ऊर्जा उपभोगले यो पृथ्वी ग्रह रातो हुने गरी बल्नेछ” ।

बिचारहरु आदानप्रदान गर्न विश्वभरिका वैज्ञानिकहरु भेला भएको सो विश्व वैज्ञानिक सम्मेलनमा वर्तमानका सर्वाधिक ‘मास्टर माइन्ड’ कहलिएका वैज्ञानिक हकिङको कुरा सुनी सहभागी सबै वैज्ञानिकहरु स्तब्ध भए । वैज्ञानिक हकिङले झण्डै वर्ष दिनपहिले पनि यस्तै बिचार दिएर विश्वभरि सनसनी फैलाएका थिए । उनले त्यतिखेर ‘मानव जाति आगामी १ हजार वर्ष पनि यो पृथ्वीमा रहन सक्ने स्थिति हुन्न, त्यसैले बस्ती बसाल्न अर्कै ग्रह खोज्नुपर्छ’ भन्ने सुझाएका थिए । अहिले उनी अर्को ४ सय वर्ष घटाएर यो सम्पूर्ण पृथ्वी नै आगामी छ सय वर्षमा जीवनविहीन बन्ने नयाँ चेतावनी दिन पुगेका छन् ।

स्टेफेन हकिङ भन्छन्, “सन् २६०० सम्ममा विश्व जनसङ्ख्या यति बढ्नेछ कि मानिसहरु कुम जोडेर उठ्ने जमिनको पनि अभाव हुनेछ र उनीहरुले गर्ने बिजुलीको उपभोगले यो पृथ्वीलाई लाल तातोमा चम्काउनेछ” । उनी भन्छन्, “मानिसले आफूलाई जोगाउन अमेरिकी टेलिश्रृङ्खला ‘स्टार ट्रेक’ मा देखाएझैं पृथ्वी बाहिर जान लामबद्ध हुनुपर्ने हुन्छ र साहसपूर्वक कहिल्यै नगएको ठाउँमा जानुपर्ने हुन्छ” । उनले यसको लागि वैज्ञानिकहरुले प्रकाशको गतिमा यात्रा गर्ने प्रविधिको विकास गर्न सुझाएका छन् ।

hawking-earth-prediction-600-years

विज्ञान र प्रविधिको विकासले अहिले विश्वमा यन्त्र मानव अर्थात् रोवोटको प्रयोगमा बृद्धि हुँदैछ । वैज्ञानिकहरुले मानिसजस्तै आकारप्रकार, रुपरङ्ग र बोलीचालीको मात्र होइन, हामीले जस्तै सोच्ने एवं बिचार विमर्श गर्ने, भावना पोख्ने, रुने, हाँस्ने, दुःखी हुने र आनन्दित हुने रोवोट बनाउँन थालेका छन् । हुँदाहुँदा अब राज्यसत्ता हातमा लिएकाहरुले आफ्नो सत्ता जोगाउन वा एक देशको सत्ताधारीले अर्को देशलाई सैन्य शक्ति या अरु कुनै कुरामा पनि जित्नका लागि खुफिया प्रणाली र संरचनामा बुद्धिमान यन्त्र मानव प्रयोग गर्न थालेका छन् । यसै कुरालाई संकेत गर्दै बेलायतको ‘वायर्ड डटको डटयूके’ लाई दिएको एक अन्तर्वार्तामा वैज्ञानिक स्टेफेन हकिङ भन्छन्, “हामी कृत्रिम खुफिया (अर्थात् बुद्धिमान यन्त्रमानव)को विकासको बाटोमा त अगाडि बढ्नु नै छ, तर यस साथसाथै हामीले यसको वास्तविक खतराबारे पनि दिमाग भर्नु जरुरी छ” ।

सोही अन्तर्वार्तामा वैज्ञानिक हकिङ भन्छन्, “मलाई डर लाग्छ कहिँ ‘एआई’ (Artificial Intelligence) अर्थात् कृत्रिम बुद्धिमान यन्त्रमानवले हामी मानव सबैको स्थान त लिने होइन ! यदि कोहीले कम्प्युटर भाइरसको डिजाइन गर्छन् भने कोहीले ‘एआई’ को डिजाइन गर्नेछन्, जसले स्वतः स्वयंजस्तैका अरु पुनरुत्पादन गर्नेछन् । यिनीहरु नयाँ प्रकारका जीवन हुनेछन्, जसले मानवलाई निकम्मा बनाउनेछन्” ।

सन् १९४२ मा जन्मेका वैज्ञानिक स्टेफेन हकिङले गत २०१७ मा ७५ औं जन्मदिवस मनाए । आफ्नो जन्मदिवसको अवसरमा बिबिसिले लिएको अन्तर्वार्तामा वैज्ञानिक हकिङ भन्छन्, “मलाई डर लाग्छ कहिँ उदविकास (evolution) ले मानव वंशाणुपट (genome) भित्र त लोभ र आक्रमणको वृत्ति अन्योन्याश्रित गरेको होइन ?” ।

वैज्ञानिक स्टेफेन हकिङले झण्डै एक वर्ष पहिलेदेखि लगातार पृथ्वी खतरामा रहेको र यसलाई जोगाउने उपाय पत्ता लगाउन आफ्नो सुझाव सहित सम्पूर्ण मानव जातिलाई अनुनय विनय गरिरहेका छन् । उनले पृथ्वी र यसभित्रका मानवलगायत सम्पूर्ण जीवनको नै अस्तित्वको खतरा प्राकृतिक कारणभन्दा पनि मानवीय क्रियाकलाप नै प्रमुख रहेको स्पष्ट संकेत गरेका छन् ।

उनी भन्छन्, “संसारमा द्वन्द्व न्यूनीकरणको कुनै संकेत नै छैन । सैन्य प्रविधि र आम विनाशका हतियारहरुको विकासले सम्पूर्ण ध्वंशको दुर्घटना हुन सक्छ” । त्यसैले उनी थप्छन्, “मानव जातिलाई जोगाउने सबभन्दा उत्तम आशा भनेको अन्तरिक्षमा स्वतन्त्र उपनिवेशहरु बनाउनु हुन सक्छ” ।

वैज्ञानिक हकिङले आगामी १ सय वर्षभित्र अर्को ग्रहमा बस्ती बसाल्ने उपाय निकाल्नु आवश्यक भएको बताएका छन् । उनका अनुसार यदि हामीले मौसम परिवर्तन, अत्यधिक जनसङ्ख्या, महामारी र युद्ध प्रवृत्तिबाट हुने विनाशबाट जोगिन सुरक्षित स्थानमा बस्ती बसाल्न अर्को ग्रहको खोजी नगर्ने हो भने हाम्रो अन्त्य निश्चित छ ।

बिबिसिसँगको अन्तर्वार्तामा वैज्ञानिक विलियम स्टेफेन हकिङले भनेका छन् कि उनलाई के विश्वास छ भने हाम्रो यो पृथ्वी पछाडि फर्कन नसक्ने बिन्दुमा पुगिसकेको छ । उनले यसको जिम्मेवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रवृत्ति रहेको संकेत गरेका छन् । वैज्ञानिक हकिङले गत २०१७ को मे महिनामा पेरिसमा भएको मौसम परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले भू–तापमान वृद्धि (Global Warming) नियन्त्रण सम्झौतामा हस्ताक्षर गर्न अस्विकार गरेकोप्रति कडा आलोचना गरेका छन् । उनी भन्छन्, “पेरिस सम्झौताबाट पछि हट्ने ट्रम्पको निर्णयले पृथ्वीलाई विनाशको सङ्घारमा पुर्याएको छ” ।

अत्यधिक तापमान वृद्धि हुँदा रातो हुनेगरी तातो ग्रहमा बदलिएको पृथ्वीको अलेक्सी ओडिन्टसोभले तयार पारेको काल्पनिक चित्र 


हकिङ भन्छन्, “हामी यस्तो उत्कर्ष बिन्दु नजिक आइपुगेका छौं जहाँ भू–तापमान बृद्धि अपरिवर्तनीय हुन्छ । ट्रम्पको क्रियाकलापले पृथ्वीलाई विनाशको सङ्घारमा धकेल्ने काम हुन सक्छ, जस्तो कि यो शुक्र ग्रहको रुपमा परिणत हुन सक्छ जहाँ तापक्रम २ सय ५० डिग्री हुन्छ र सल्फ्युरिक अम्लको वर्षा हुन्छ” ।

“मौसम परिवर्तन अहिले हामीले सामना गरिरहेको मध्ये सबभन्दा भयानाक खतरा हो र अहिले नै हामी केही गर्छाैं भने मात्र यसलाई रोक्न सकिन्छ” हकिङ चिन्ता पोख्छन् ।

प्रश्न उठ्छ सम्पूर्ण पृथ्वी र जीवनलाई नै ध्वस्त पार्ने काम कसले गरिराखेको छ ? वैज्ञानिक हकिङले त अहिलेको लागि त्यस्तो विनाशका कारकमध्ये प्रमुख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भएको संकेत गरेका छन् । तर, उनी त एक व्यक्ति न हुन् ।

वैज्ञानिक स्टेफेन हकिङले संसारका सम्पूर्ण मानव जातिलाई विनम्र जानकारी गराउँछन्, “डोनाल्ड ट्रम्पले मौसम परिवर्तनको तथ्यलाई अस्विकार गरेर र आफूलाई पेरिस मौसम सम्झौताबाट बाहिर राखी हाम्रो यो सुन्दर ग्रहलाई पन्छाउनै नसकिने पर्यावरण विनाशको कारण आफूलाई बनाउनेछन् । उनले हामी र हाम्रा सन्तानका लागि हाम्रो यो प्राकृतिक संसारलाई खतरामा पार्नेछन् ।

वैज्ञानिक स्टेफेन हकिङले झण्डै एक वर्ष पहिलेदेखि लगातार पृथ्वी खतरामा रहेको र यसलाई जोगाउने उपाय पत्ता लगाउन आफ्नो सुझाव सहित सम्पूर्ण मानव जातिलाई अनुनय विनय गरिरहेका छन् । उनले पृथ्वी र यसभित्रका मानवलगायत सम्पूर्ण जीवनको नै अस्तित्वको खतरा प्राकृतिक कारणभन्दा पनि मानवीय क्रियाकलाप नै प्रमुख रहेको स्पष्ट संकेत गरेका छन्, ती हुन्–विकासको नाममा पर्यावरणको विनाश र प्राकृतिक स्रोत–साधन एवं उत्पादन र धनमाथि कब्जा जमाउन हुँदै गरेको युद्धहरु जसमा भू–तापमान बृद्धि गर्ने तथा सम्पूर्ण पृथ्वी नै ध्वस्त गर्ने क्षमता राख्ने परमाणु बमहरुको समेत प्रयोग हुने खतरा रहेको छ ।

प्रश्न उठ्छ सम्पूर्ण पृथ्वी र जीवनलाई नै ध्वस्त पार्ने काम कसले गरिराखेको छ ? वैज्ञानिक हकिङले त अहिलेको लागि त्यस्तो विनाशका कारकमध्ये प्रमुख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भएको संकेत गरेका छन् । तर, उनी त एक व्यक्ति न हुन् । उनी एक्लै विनाशको कारण बन्न सक्लान् ?

यस्तो अवश्य होइन । डोनाल्ड ट्रम्पलाई अमेरिकी जनताले मत दिएर राष्ट्रपति बनाएका हुन् । के त्यसो भए अमेरिकी जनता पृथ्वी ध्वस्तको कारण बन्न सक्लान् ?

निर्वाचनमा बिजय भनेको बहुमत पाएपछि हुने हो ? त्यसकारण ट्रम्पले गर्ने विनाशकारी कामको दोषी उनलाई मत नदिने अमेरिकी जनता पनि हुन्छन् ? अर्को, विकासको नाममा भू–तापमान बृद्धि गर्ने मानवीय क्रियाकलाप र युद्धमा श्रेष्ठता हासिल गर्न परमाणु बनाउने होड त ट्रम्पभन्दा धेरैअगाडि नै सुरु भएको हो नि ! दोश्रो विश्वयुद्धको अन्त्यतिर तत्कालीन अमेरिकी राष्ट्रपति त्रुम्यानको आदेशमा अमेरिकी वायुसेनाले सन् १९४५ मा जापानका दुई ठूला शहरहरु हिरोशिमा र नागाशाकीमा परमाणु बमहरु खसालेर लाखौं निर्दोष जापानीहरुलाई एकै चिहान बनाएको हो नि ! यसका दोषी सम्पूर्ण अमेरिकी जनता हुन् ?

दोश्रो विश्वयुद्धमा हिटलरले ६० लाखभन्दा बढी यहुदीहरुलाई ग्याँस च्याम्बरमा राखी खरानी बनाए । त्यस युद्धमा कुल ३ करोड मानिसहरुले ज्यान गुमाएको आँकडा छ । दोश्रो विश्वयुद्ध मूलतः हिटलरको विश्व बिजय महत्वाकांक्षाबाट सुरु भएको हो । तर, उनलाई जर्मन चान्सलर त जर्मन जनताले गरेका हुन् नि ! के त्यो विनाशका दोषी जर्मन जनता हुन् ?

इतिहासलाई फेरहस्ती श्रृङ्खलामा राखी सम्झनामा राख्ने हो भने मानव इतिहासको हरेक कालखण्डमा भएको हरेक भिषण युद्धमा राज्यसत्ताको नेतृत्वमा पुगेका व्यक्तिहरुको महत्वाकांक्षा, स्वार्थ, लिप्सा र भय कारक बनेको तत्य प्रमाणित हुन्छ । चाहे त्यो ब्रिटिश साम्राज्यवादलगायत युरोपेली साम्राज्यवादी देशहरुले अफ्रिका, एशिया र ल्याटिन अमेरिकामा उपनिवेश बनाउनका लागि गरिएका असङ्ख्य युद्धहरु किन नहोउन्, चाहे उपनिवेश बनाउने होडमा साम्राज्यवादीहरुबीच छिनाझपट भई भड्किएका पहिलो र दोश्रो विश्वयुद्ध होउन्, चाहे नेपालको आधुनिक इतिहासमा राज्य विस्तारकै क्रममा पृथ्वीनारायण शाहले दर्जनौं साना राज्यहरुलाई आफ्नो राज्य मिलाउन चलाइएका थुप्रै युद्धहरु होउन्, चाहे अलि अगाडिको विश्व इतिहासमा युनानका अलेक्जेण्डरले भारत वर्षसम्म आफ्नो भूमि बनाउन गरिएका असङ्ख्य युद्धहरु होउन्, ती सबै सबै नै विनाशकारी नै थिए । ती सबै नै शासकहरुको स्वार्थ पूरा गर्न वा जोगाउन गरिएका युद्धहरु हुन् । आमजनताको स्वार्थ, विकास र समृद्धिका लागि गरिएका क्रियाकलाप थिएनन् ।

त्यसो त हजारौं वर्षपहिले दासहरुले स्पार्टाकसको नेतृत्वमा आफ्नो मुक्तिको चाहना गर्दा त्यसलाई बिद्रोहको संज्ञा दिई तत्कालीन राज्यसत्ता कब्जा गरी बसेका दास मालिकहरुले हिंशात्मक रुपमा दबाउँन सिर्जना गरेको युद्ध पनि विनाशकारी नै थियो ।

दासकालीन समाजदेखि अहिलेसम्मका युद्धहरु सबै नै विनाशकारी नै रहे । र, ती सबै युद्धहरुमा शासकहरुले आमजनतालाई हतियारको रुपमा प्रयोग गरेका छन् ।

शान्ति नै मानव जाति, मानव समाज, सम्पूर्ण जीवन र यो सुन्दर पृथ्वीलाई जोगाउने अचुक उपाय हो । तर, बुद्धले सुझाएको निर्वाण प्राप्तिको मार्ग इतिहासमा न दास मालिकहरुले लिन सके, न सामन्त राजा महाराजाहरुले लिन सके, न त आधुनिक युगका हिटलर र बुसहरुले लिन सके ।

इतिहासलाई केलाउँदा हरेक युगमा आमजनता भन्नाले उत्पादन गर्ने श्रमिक वर्ग बुझिन्छ भने शासकहरु भन्नाले ती श्रमिक वर्गलाई आफ्नो अधिनमा पारी श्रम चोरेर खाने श्रमचोर वर्ग बुझिन्छ । दासकालीन समाजमा श्रमिक वर्गका रुपमा दासहरु रहे भने श्रमचोर वर्गका रुपमा दास मालिकहरु रहे । सामन्तकालीन समाजमा किसानहरु श्रमिक वर्गको रुपमा रहे भने सामन्त वा जमिन्दारहरु श्रमचोर वर्गका रुपमा रहे । सामन्ती राज्यहरुलाई प्रजातान्त्रिक राज्यहरुमा बदलेर क्रान्तिकारी देखिएका पुँजीवादी समाजका शासकहरु पनि श्रमचोर वर्गमै परिणत भए । पुँजीवादी समाजमा कारखानालगायत वस्तु तथा सेवा उत्पादन गर्ने हरेक कम्पनीमा काम गर्ने कामदारहरु श्रमिक वर्ग भए भने ती कम्पनी मालिकहरु श्रमचोर वर्गका रुपमा रहेका छन् । चाहे दास मालिकहरु होऊन् चाहे सामन्ती राजा महाराजाहरु होऊन्, चाहे कारखाना मालिकहरु होऊन् चाहे कम्पनीका मालिकहरु होऊन्, ती सबैले राज्यसत्ता मार्फत् आमजनताको हिस्सालाई नै हतियार बनाई आम श्रमिक जनतालाई दबाउने युद्ध चलाए चाहे त्यो गृहयद्ध होस् चाहे त्यो राष्ट्रहरु बीचको युद्ध होस् । जित्ने सधैँ श्रमचोर शासक वर्ग र हार्ने श्रमिक वर्ग । अहिलेसम्मको इतिहासको नियति यही भइरहेछ ।

यो नियति बदल्ने उद्देश्यले नै १९ औं शताब्दीमा मार्क्सवादको जन्म भयो । मार्क्सवादले मानव समाजमा भएका सम्पूर्ण शोषण र दुःखको अन्त्यको दर्शन, सिद्धान्त र बिचारलाई जन्माएको छ ।

इसापूर्व ६ औं शताब्दीमा बुद्धले मानव समाजभित्रको दुःखको स्रोत मानिसमा भएका काम (यौन), क्रोध, माया, मोह, ईर्ष्या र घृणाको प्रवृत्ति देखे । उनले ‘यी प्रवृत्तिलाई वोध गरी न्यूनीकरण गर्ने उपायहरु छन्’ भने । उनको शिक्षा अनुसार त्याग त्यस उपायको सुरु पाइला हो । तैपनि ती प्रवृत्तिहरु मानिसभित्र अन्योन्याश्रित (inbuilt) हुने भएकोले दुःखबाट पूर्ण मुक्ति भनेको निर्वाण प्राप्त गरेपछि नै हुने उनले सुझाए । उनका अनुसार दुःख जन्माउने प्रवृत्तिहरु मानिसभित्र अन्योन्याश्रित हुने भएकोले पुनः नजन्मिने प्रक्रियामा जानु वा अभ्यास गर्नु (पूर्ण त्यागको अभ्यास) नै निर्वाण प्राप्तिको मार्ग हो । बुद्धले काम, क्रोध, माया, मोह, ईर्ष्या र घृणाको प्रवृत्तिले नै मानिसलाई ह्रिंशक बनाउँछन् । त्यसैले उनले निर्वाण प्राप्तिको मार्ग नै शान्तिको मार्ग हो भने । वर्तमानमा विश्वभरि नै बुद्धलाई शान्तिको प्रतिकका रुपमा मानिन्छ ।

युद्धको विकल्प शान्ति हो । शान्ति नै मानव जाति, मानव समाज, सम्पूर्ण जीवन र यो सुन्दर पृथ्वीलाई जोगाउने अचुक उपाय हो । तर, बुद्धले सुझाएको निर्वाण प्राप्तिको मार्ग इतिहासमा न दास मालिकहरुले लिन सके, न सामन्त राजा महाराजाहरुले लिन सके, न त आधुनिक युगका हिटलर र बुसहरुले लिन सके । त्यस्तै त्यस्तो मार्ग न अहिलेका ट्रम्पले लिन सक्छन् न त संसारभरिका बहुराष्ट्रिय कम्पनीहरु जो पृथ्वी नै ध्वस्त गर्ने क्षमताका परमाणु बममाथि अप्रत्यक्ष कब्जा जमाएर बसेका छन् तिनीहरुले नै !

मार्क्सवादले शान्तिका लागि वर्ग तथा वर्गीय शोषणको अन्त्यको बाटो सुझाएको छ । वर्ग, वर्गविभेद, वर्गीय शोषण रहेसम्म युद्धलाई कसैले रोक्न सक्दैन । वर्ग बिभाजित समाज नै युद्धको स्रोत हो । मार्क्सवादले यही सिकाउँछ । त्यसैले संसारबाट युद्ध समाप्त गर्ने हो भने वर्गरहित समाज निर्माणको विकल्प छैन । बुद्ध शान्तिका अग्रदूत हुन् । उनी महान छन् । उनले भनेजस्तो शान्ति मानवीय वोधबाट आउने कुरामा कुनै शङ्का छैन । तर, त्यो वोध वर्गीय समाजका एकाध शासक एवं शोषक वर्गभित्रका पात्रमा आउने अदभुत घटना घट्न सके पनि त्यो आम प्रवृत्ति भई समाज बदल्ने मार्ग हुन सक्दैन । बुद्धको सीमा यहिँनिर छ ।

मार्क्सवादले वर्गविहीन समाजमा जानका लागि पुँजीवादी समाजको अन्त्य भई वैज्ञानिक समाजवादी समाजको स्थापना हुनुपर्ने सिद्धान्त पेश गरे । तर, यो गर्न जनतालाई (समाज निर्माता श्रमिक वर्गलाई) पुँजीजीवि वर्गको कब्जामा रहेको राज्यसत्ताले दिँदैन । त्यसैले वैज्ञानिक समाजवादी समाज स्थापना गरी वर्गविहीन साम्यवादी समाज स्थापना गर्ने र युद्धलाई सदाका लागि अन्त्य गरी स्थायी शान्ति स्थापना गर्न पुँजीवादी राज्यसत्तालाई क्रान्तिद्वारा फाल्नुको विकल्प नभएको मार्क्सवादले सुझाएको छ ।

तपाईंले मानव जातिलाई जोगाउन अर्को ग्रहमा जान वर्तमान र भविष्यका पुस्तालाई सुझाउनु भयो । तर के अर्को ग्रहमा जान सक्षम हुने अवस्थामा ट्रम्प जन्मिँदैन त ? अर्को ग्रहमा परमाणु बम बनाउँदैनन् ? हिटलरका सन्तानहरु अहिले युरोपमा सलबलाइरहेका छन् । के उनीहरु अर्को ग्रहमा जान सक्दैनन् ? विश्वमा युद्ध ल्याउने पुँजीजीबि वर्ग अर्को ग्रहमा जान सक्दैनन् ?

मार्क्सवादलाई प्रयोग गरी लेनिनको नेतृत्वमा १९१७ मा रुसमा सोभियत समाजवादी क्रान्ति भयो । तर, त्यसको आयु ७० वर्षभन्दा बढी हुन सकेन । त्यो समाजवाद ७० वर्षको उमेरमा यति कुरुप हुन पुग्यो पुँजीजीवि वर्गले त्यसलाई हत्या गर्दा रुसमा कोही श्रमिक वर्गले आँसु खसालेन, कसैले बिरोध गरेन, त्यसको अन्त्यष्ठिमा कोही श्रमिक मलामीसम्म पनि गएन । रुसपछि बिसौं शताब्दी भरिनै संसारमा समाजवादी क्रान्तिको भेल नै आयो । अहिले पनि विश्वका दर्जनौं मुलुकहरुमा फरकफरक खालका समाजवादी व्यवस्थाहरु कायम छन् । तर, विश्व शान्तिको मार्गमा होइन, युद्धको मार्गमा लम्किरेछ । वैज्ञानिक स्टेफेन हकिङको चासो र चिन्ता यहीँ देखिन्छ ।

वर्तमान विश्वमा मार्क्सवाद सर्वत्र छ । समाजवादी क्रान्ति पनि सर्वत्र छ । तर, के हामी वैज्ञानिक समाजवादको बाटोमा छौं ? के हामी वर्गविहीन समाज निर्माणको प्रक्रियामा छौं ? के हामी स्थायी शान्ति निर्माणको मार्गमा छौं ? अहिले विज्ञान, अर्थशास्त्र, मानवशास्त्र, राजनीतिशास्त्र, समाजशास्त्र, सौन्दर्यशास्त्र गरी मानव समाजका लागि आविष्कार भएका जति पनि शास्त्रहरु छन् ती सबैको सरोकार यसैमा हुनु जरुरी भइसकेको छ । किनकि, यो पृथ्वी रहेमा हामी मानव रहने हो । अनि हामी मानव रहेमा हाम्रा शास्त्रहरु रहने हुन् । यो विश्व ब्रम्हाण्डको नियम अनुसार आइन्स्टाइनको भाषालाई प्रयोग गरी भन्ने हो भने एउटा निश्चित अन्तरिक्ष–समयमा यो पृथ्वी रहेको छ, रहनेछ । तर, अर्को कुनै अन्तरिक्ष–समयमा यसको भविष्यबारे हामीले अहिले नै केही भन्न सक्दैनौं । पृथ्वी त करोडौं र अरबौं वर्षसम्म पनि रहला । तर, यसको भविष्य हामी मानवकै कारणले अहिले नै समाप्त पो हुने होइन ? वैज्ञानिक स्टेफेन हकिङको चिन्ता यसैमा रह्यो ।

आदरणीय वैज्ञानिक स्टेफेन हकिङ !

तपाईंले मानव जातिलाई जोगाउन अर्को ग्रहमा जान वर्तमान र भविष्यका पुस्तालाई सुझाउनु भयो । ठीक छ, उहाँहरुले त्यस्तो प्रविधि पनि बनाउनु होला रे । के त्यस अवस्थामा ट्रम्प जन्मिँदैन त ? ट्रम्पलाई जिताउने जनता जन्मिँदैनन् ? तिनीहरुले अर्को ग्रहमा परमाणु बम बनाउँदैनन् ? हिटलरका सन्तानहरु अहिले युरोपमा सलबलाइरहेका छन् । के उनीहरु अर्को ग्रहमा जान सक्दैनन् ? ट्रम्प, हिटलर लगायत विश्वमा युद्ध ल्याउने पुँजीजीबि वर्ग अर्को ग्रहमा जान सक्दैनन् ? सक्छ र सक्छन् भने अर्को ग्रहमा पनि युद्ध त भइहाल्छ । यो पृथ्वी बस्न लायक भएन भनेर अर्को ग्रहमा पुगेका मानव जातिले त त्यो ग्रहलाई पनि ध्वस्त बनाउन सक्ने हुन्छ । यसको उत्तर हामीले कहाँबाट पाउने ?

यसको उत्तर वैज्ञानिक समाजवाद स्थापनाको अभियानमा छ । बुद्धले कोरेको शान्तिको मार्गले पनि वैज्ञानिक समाजवादमा मात्र मूर्त रुप लिन सक्छ । स्टेफेन हकिङको चिन्ताको सम्वोधन पनि वैज्ञानिक समाजवादले गर्न सक्दछ । आगामी छ सय वर्षभित्र मानव जातिको अन्त्यको सम्भावनालाई कल्पनामा मात्र सिमित गर्ने मार्ग भनेको वैज्ञानिक समाजवादको बाटो हो ।

तर, यो कसरी सम्भव हुन्छ त ?

यसको सम्भावनालाई विश्व समाजमा विद्यमान वर्गहरुको यथार्थ अवस्थालाई वस्तुनिष्ठ ढङ्गले विश्लेषण गरी युद्धलाई रोक्ने गरी गरिने वर्गीय अभियानले जन्माउँछ ।

विश्वमा अहिले विज्ञान प्रविधिले एकातिर आम विनाशकारी हतियारहरु निर्माण गर्दैछ भने अर्कातिर विश्वभरिका मानिसहरुलाई सेकेण्डभरिमा एकै ठाउँमा ल्याउने सूचना प्रविधिको विकास गरेको छ । विज्ञान प्रविधिका कारणले विश्वभरिका श्रमिक वर्गलाई, मानवतावादी मानव समुदायलाई छिनभरिमा एकत्रित हुन सक्ने अवस्थालाई अब न अहिलेको ट्रम्पले रोक्न सक्छन् न त भविष्यको ट्रम्पले नै । विज्ञान प्रविधिले अहिले कम श्रममा नै अपार वस्तु उत्पादन गर्ने क्षमता मानवलाई प्रदान गरेको छ । विज्ञान प्रविधिले अहिले मानव समाजलाई कम्प्युटर र डिजिटल प्रविधिको युगमा पुर्याएको छ । अब मेशिनहरु स्वचालित हुन पुगेका छन् । गाडी, हवाईजहाजहरु बिना मानव चालक गुड्न र उड्न थालेका छन् । सम्भवतः निकट भविष्यमै विशालभन्दा विशाल पानीजहाज पनि बिना मानव चालक समुद्र र महासागरहरुमा चल्न थाल्नेछ ।

हिजो १९ औं र २० सौं शताब्दीमा उद्योग कलकारखानाहरु मानव चालित मेशिनहरुद्वारा संचालन हुन्थ्यो । अहिले मेशिनहरु कम्प्युटर र डिजिटल प्रविधिका कारण दूरनियन्त्रणमा स्वचालित हुन थाल्दा हिजो हज्जारौं कामदारहरुले जति परिमाण र गुणस्तरको वस्तु उत्पादन गर्थे आज त्यो केही दर्जन कामदारहरुले कम्प्युटरको की बोर्ड, माउस र स्विच मात्र दबाएर बढी परिमाण र उच्च गुणस्तरको वस्तु उत्पादन गर्न सक्छन्, गरिरहेका छन् । २० औं शताब्दीको आधाआधीबाट सुरु भएको कम्प्युटर र डिजिटल प्रविधिले अहिले २१ औं शताब्दीको सुरुसम्म आउँदा यो अब विश्वभरका मानिसहरुको पहुँचको विषय भइसक्यो ।

सन् २०१० मा अरबी देश ट्युनिसियाबाट सुरु भएको ‘अरब बसन्त क्रान्ति’ को आँधी फैलिँदै इजिप्त, लिबिया हुँदै सिरियासम्म फैलियो । अघिल्ला तीनवटा देशहरुमा त्यस क्रान्तिले छोटो समयमै दशकौंदेखि राज्यसत्ता चलाइरहेका शासकहरुलाई सत्ताबाट ओराल्यो । सिरियामा त्यो क्रान्ति अझै चलिरहेको छ । भलै ती क्रान्तिहरुबाट सिर्जित वातावरणमा पुनः आफ्नो फाइदा, नाफा र बर्चश्व जोगाउन अमेरिकालगायत विश्व पुँजीवादी देशहरु र वहुराष्ट्रिय कम्पनीहरु भरमग्दुर प्रयास गरे पनि एउटा पुष्टि के भइदियो भने अबको नयाँ पुस्ताले छिनभरमै विश्व डगमगाउने क्रान्ति गर्न सक्दो रहेछ ।

कसरी त्यस्तो सम्भव भयो त ?

फेसबुकका आविष्कारक एवं संस्थापक मार्क जुकरबर्ग २५ वर्षमै अरबपति त भए, तर उनको त्यो आविष्कारले छिनभरमै अरबमा ‘बसन्त क्रान्ति’ का लागि त्यहाँका युवाहरुलाई एकत्रित हुने क्षमता प्रदान गरिदियो । हो, फेसबुकले नै त्यो क्रान्ति हुन सम्भव भएको थियो ।

अस्ति भर्खरकै कुरा हो, गत जनवरीमा इरानमा २-३ दिनमै मुलुकभरका सयौं शहरहरुमा युवाहरुले वर्तमान सरकारको जनतामारा नीतिबिरुद्ध स्वतस्फूर्त आन्दोलन चर्काए । इरानजस्तो कट्टर मुस्लिम देशमा ज्यानको बाजी राखी युवाहरु राज्यसत्ताबिरुद्ध २-३ दिनमै एकत्रित हुने स्थिति केले सम्भव तुल्यायो ? इन्स्टेग्रामले । हो, फेसबुकजस्तै श्रब्यदृश्यसहित सूचना आदानप्रदान गर्ने इन्स्टेग्रामले नै इरानभरका युवाहरुलाई सरकरको जनतामारा नीतिबिरुद्ध एकत्रित गरी आन्दोलनमा उतार्यो ।

२० औं शताब्दीको उत्तराद्र्धमा सुरु भई २१ औं शताब्दीको सुरुमै उत्कर्षमा पुगिरहेको सूचना प्रविधिको विश्वव्यापी जालोलाई अब कोही पनि हिटलर वा ट्रम्पले चाहेर पनि रोक्न सक्दैनन् ।

वैज्ञानिक हकिङले के चिन्ता व्यक्त गरका छन् भने आगामी ६ सय वर्षमा त यो पृथ्वीमा मान्छेहरुको जनसङ्ख्या यति धेरै हुनेछन् कि तिनीहरु कुमकुम जोडेर बस्ते ठाउँको पनि अभाव हुनेछ । तर, आदरणीय वैज्ञानिक हकिङको चिन्तालाई अबको नयाँ पुस्ताले अहिले नै सम्वोधन गर्ने स्थिति बन्दैछ ।

हो, अबको विश्व नयाँ पुस्ता भनेको वैज्ञानिक समुदाय हो । अहिलेसम्म पुँजीवादी, साम्राज्यवादीहरुले वैज्ञानिकहरुलाई आफ्नो फाइदाका लागि, नाफा बढाउन र जोगाउन पैसाले किनी प्रयोग गर्दै आए । अब यो स्थितिको अन्त्य हुनु जरुरी र सम्भव दुबै छ ।

महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले परमाणु ऊर्जाको सूत्र (E=mc2) बिसौं शताब्दीको सुरु शताब्दीमा आविष्कार गरे । तत्कालीन विश्व तानाशाह हिटलरले संसार ध्वस्त बनाउने खतरा बढेको कुरामा सहमत भई उनले त्यो सूत्र परमाणु अस्त्र बनाउन अमेरिकालाई सुम्पे । वैज्ञानिक ओपन हाइमरले सन् १९४५ सम्ममा परमाणु बम बनाएर अमेरिकी राष्ट्रपतिलाई सुम्पे । आइन्स्टाइन र ओपनहाइमर दुबै ती परमाणु बमहरु मानव संहारका लागि प्रयोग गर्न नभई हिटलरलाई धम्क्याउनमा मात्र सिमित गर्ने पक्षमा रहेको पुष्टि पछि उनीहरु आफ्नो बाँकी पूरै जीवन काल परमाणु हतियार प्रयोगबिरुद्धको अभियानमा लागेर गरे । अमेरिकी पुँजीवादी साम्राज्यवादी राज्यसत्ताले युद्धमा श्रेष्ठता हासिल गर्ने नाममा लाखौं जापानीहरुलाई एक चिहान बनाउने गरी हिरोशिमा र नागाशाकीमा जुन परमाणु बम खसाले, त्यो घटनाले आइन्स्टाइन र ओपनहाइमर दुबैलाई गल्ती र पश्चाताप महसुस गरायो ।

अहिले अमेरिका, रुस, चीन, भारत, पाकिस्तान, उत्तर कोरियालगायतका देशहरुमा भएका हजारौं परमाणु बमहरुले संसारलाई कयौं पटक ध्वस्त गर्ने क्षमता राख्दछन् । ती बमहरुको चाबी वैज्ञानिकहरुको हातमा छैन, शासकहरुको हातमा छ । त्यसैले यो पृथ्वी अहिले अस्तित्वको खतरामा रहेको छ । पुँजीवादी साम्राज्यवादी शासकहरुको स्वार्थ र अहङ्कारको एक सनकमा यो पृथ्वी छिनभरमा ध्वस्त हुने संघारमा छ । अझै विश्वका अरबौं निर्दोष मानिसहरु यसबारे बेखबरमा छन् ।

तर, अहिलेको विज्ञान प्रविधिले विश्व नयाँ पुस्तालाई यो विश्व जोगाउने, यो पृथ्वी जोगाउने औजार र अवसर दुबै प्रदान गरेको छ । विश्वभरका मानवतावादी र यो पृथ्वी एवं संसारलाई जोगाउनुपर्छ भन्ने सर्वसाधारण श्रमिक वर्ग, वैज्ञानिक एवं विज्ञ, बिचारक, दार्शनिक, राजनीतिक, अर्थविद आदि सबैलाई भौतिक रुपमा एक ठाउँमा नआई एकत्रित हुन सक्ने स्थिति विज्ञान प्रविधिले जन्माएको छ । यो स्थितिलाई कसैले पनि समाप्त गर्न सक्ने स्थिति छैन ।
युद्ध पुँजीवादी साम्राज्यवादीहरुको नाफा र अहङ्कारको कारण हुन्छ । तिनीहरुले नाफाका लागि नै विकासको नाममा पृथ्वीको प्राकृतिक वातावरणलाई जथाभावी विनाश गरी विश्वतापमान बढाएका हुन् । र, यो स्थिति जारी छ । तर, अब विश्व नयाँ पुस्ता, जो वैज्ञानिक छन् उनीहरुले यसलाई बुझ्नु जरुरी छ । अब शोषण रहित विश्व समाज बनाउनका लागि हिजोको प्रविधि, रणनीति र शैलीमा राज्यहरुमा राजनीतिक क्रान्ति गरेर मात्र हुन सक्ने स्थिति छैन । मार्क्सवादले परिकल्पना गरेको वैज्ञानिक समाजवाद हिजोको विज्ञानले मात्र सम्भव हुने स्थिति छैन । सँगसँगै हिजो एउटै मुलुकमा सीमित भएर मात्र गर्न सकिने क्रान्ति अब विश्वभर फैलिएर विश्व क्रान्ति गर्ने अवसरको जन्म भएको छ ।

नेपालमा वामगठबन्धनले विकास, समृद्धि र समाजवादको सपना बाँड्दैछ । वामगठबन्धन विश्व पुँजीवादको विकास र समृद्धिले विश्व समाज र यो समग्र पृथ्वी नै नष्ट हुने पर्यावरणीय विनाश एवं युद्ध निम्त्याइरहेको कुराप्रति कतिको सजग छ ? अमूर्त समाजवादले वैज्ञानिक समाजवादको स्थान लिन नसक्ने कुरामा कतिको प्रष्ट छ ? कसलाई प्रधानमन्त्री बनाउने, कसलाई अध्यक्ष भन्ने कुरामा नै अलमलिएको राजनीतिले विकास, समृद्धि र समाजवाद के हुन्, कसका लागि र कसरी भन्ने सवालको जवाफ दिन सक्छ ?

शोषण रहित विश्व समाज निर्माण नगरी वैज्ञानिक हकिङको चिन्ता सम्वोधन हुन सक्ने स्थिति छैन । शोषण रहित विश्व समाज निर्माणका लागि मार्क्सवादले परिकल्पना गरेको वैज्ञानिक समाजवादको बाटो समात्नुको कुनै विकल्प छैन । तर, त्यो वैज्ञानिक समाजवाद कुनै एउटा देशमा राज्यसत्ता परिवर्तन गरेपछि नै सुरु हुन्छ भन्ने अवधारणा अहिलेसम्म जुन छ, त्यो रुस, पूर्वी युरोप, एशियालगायतका देशहरुमा असफल हुन पुगेको विश्व कम्युनिस्ट आन्दोलन र विश्व पुँजीवादले आफूलाई भूमण्डलीकृत गरी विश्वको कुनै पनि स्थानमा छिनभरमा नै आफूलाई विज्ञान र प्रविधिले आविष्कार गरेको उच्चतम प्रविधि सहितको सामरिक बल पुर्याउन सक्ने क्षमता हासिल गरिसकेकोबाट लागु हुन नसक्ने भयो भन्ने बुझ्नु जरुरी छ ।

एउटा भनाइ छ, आइरन कट्स आइरन । अर्थात्, जेलाई नष्ट गर्नु छ, त्यसैलाई त्यसबिरुद्ध औजार बनाई प्रयोग गर्नुपर्छ । विश्व पुँजीवादले विज्ञान प्रविधिलाई प्रयोग गरी आफ्नो स्थितिलाई मजबुत बनायो । अबको पुँजीवादविरोधी अभियान विज्ञान प्रविधियुक्त हुनुपर्यो । विश्व पुँजीवादले आफूलाई टिकाउन भूमण्डलीकृत अर्थव्यवस्था, राज्यव्यवस्था र संस्कृतिको अवधारणा अगाडि ल्यायो र प्रयोग गर्दैछ , अबको विश्व श्रमजीबि वर्गले पनि अर्थनीति, राज्यविप्लब र मानव संस्कृतिलाई विश्वव्यापी परिधिमा राखेर नयाँ अवधारणा बनाउने र लागु गर्ने गर्नुपर्यो । विश्व पुँजीवादले बहुराष्ट्रिय कम्पनीहरु मार्फत् विश्वबजार कब्जा गर्दैछ । अबको उत्पादक श्रमजीबि वर्गले राष्ट्रब्यापी त भयो भयो विश्वव्यापी नै आफ्नो सञ्जाल बनाई वैकल्पिक बजार निर्माण गर्नु जरुरी छ । विश्व पुँजीवादको हरेक अवयवको विकल्प सहितको अभियानले नै अहिलेको भूमण्डलीकृत पुँजीवादलाई कमजोर बनाउँन सकिन्छ र अन्तिममा विश्वबाट पुँजीवादलाई समाप्त गरी शोषणरहीत समाजउन्मुख वैज्ञानिक समाजवादको जग खडा गर्न सकिन्छ ।

नेपालमा अहिले वामगठबन्धनको सरकार बन्दैछ । त्यसले विकास, समृद्धि र समाजवादको सपना बाँड्दैछ । वामगठबन्धन विश्व पुँजीवादको विकास र समृद्धिले विश्व समाज र यो समग्र पृथ्वी नै नष्ट हुने पर्यावरणीय विनाश एवं युद्ध निम्त्याइरहेको कुराप्रति कतिको सजग छ ? अमूर्त समाजवादले वैज्ञानिक समाजवादको स्थान लिन नसक्ने कुरामा कतिको प्रष्ट छ ? कसलाई प्रधानमन्त्री बनाउने, कसलाई अध्यक्ष भन्ने कुरामा नै अलमलिएको राजनीतिले विकास, समृद्धि र समाजवाद के हुन्, कसका लागि र कसरी भन्ने सवालको जवाफ दिन सक्छ ? जनयुद्ध र जनआन्दोलनमार्फत् प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्थालाई अहिले उपयोग गर्नुको विकल्प त नहोला वर्तमान नेपाली राजनीतिमा, तर नयाँ पुस्ताले अब यो सबथोक भयो भनेर सोच्नु गल्ती हुन्छ ।

वामपार्टीहरु भित्र र बाहिरका, नेता र कार्यकर्ता, मार्क्सवादले देखाएको आदर्श र बाटो नै मानव कल्याणको बाटो हो भनी आत्मसात गरेका जो कोही व्यक्ति, व्यक्तित्व र समुदाय, जो वैज्ञानिक हकिङको चिन्तालाई पनि मध्यनजर राख्छन्, ती सबैले अहिले ठण्डा दिमागले सोची वर्तमान युगको वैज्ञानिक समाजवादी अभियानबारे चिन्तन गर्ने र त्यस अभियानमा लाग्ने अठोट गर्नुपर्ने स्थिति आएको छ ।

कोही अमूक पार्टी बाहिर बसेर कम्मर कसी यस अभियानका लागि छुट्टै साङ्गठनिक संंरचना नै बनाई अगाडि जान्छ भने त्यसलाई स्वागत गरिनु जरुरी छ । र, त्यसलाई कुनै छुट्टै परम्परागत पार्टी बनाएको ठानी आफूहरुको प्रतिद्वन्द्वी ठान्नु वाम पार्टीहरुले सोच्नु गल्ती हुन्छ । भूमण्डलीकृत पुँजीवादविरुद्ध वैज्ञानिक समाजवादको अभियानमा आफूलाई सामेल गर्नु सम्पूर्ण मार्क्सवादी र साँचो अर्थका मानतावादीहरुको अहिलेको आवश्यकता हो, चाहे नेपाल मुलुकभित्रका होऊन्, चाहे अन्य अमूक मुलुकका होऊन् र चाहे समग्रमा विश्वभरिका होऊन् । यही बाटोबाट नै मानव जाति, यो विश्व र यो पृथ्वीलाई जोगाउन सकिन्छ, आदरणीय वैज्ञानिक हकिङको चिन्तालाई सम्वोधन गर्न सकिन्छ ।

(Visited 1,029 times, 4 visits today)

टिप्पणी

comments