Main Menu

‘हरेक भाषाको सिनेमा राष्ट्रिय हो’

गौतम घोष (जन्म १९५०) भारतका एकजना प्रख्यात चलचित्रकर्मी हुन् । उनले ‘पार’, ‘पतङ्ग’, ‘पद्म नदिर माझी’ र ‘मोनेर मानुष’ जस्ता बहुचर्चित सिनेमाका निर्देशन गरेका छन् । भारतका १६ वटा राष्ट्रिय र थुप्रै अन्तर्राष्ट्रिय अवार्डबाट पनि उनी विभुषित छन् । सत्यजीत रे, उस्ताद विस्मिल्लाह खान, दलाई लामा लगायतका थुप्रै विषयमा उनले डकुमेन्ट्री पनि निर्माण गरेका छन् । घोषसँग गरिएको कुराकानीमा आधारित यो लेख अङ्ग्रेजी पत्रिका ‘फ्रन्टलाइन’को भारतीय सिनेमाको सय वर्ष विषयक विशेषाङ्क (अक्टुबर २०१३) बाट अनुवाद गरिएको हो ।
………………………………………
अहिले हामीसँग उपलब्ध ‘राजा हरिश्चन्द्र’ सिनेमालाई नै भारतको पहिलो पूर्ण सिनेमा मान्ने गरिन्छ । तर, त्यसभन्दा अगाडि पनि सन् १९०३ देखि १९०७ को बीचमा प्रसिद्ध इन्जिनियर हीरालाल सेनले कलकत्तामा सिनेमा निर्माणको काम सुरु गरेका थिए । थिएटरमा मञ्चित नाटकलाई बहुक्यामेराको प्रयोगद्वारा पूर्ण रूपमा खिचेर सेनले त्यसलाई फिल्म बनाएका थिए भन्ने कुरा तत्कालीन पत्रपत्रिकामा प्रकाशित सामग्री पढेर थाहा पाउन सकिन्छ । त्यसकारण भारतीय सिनेमाको सय वर्ष भन्ने मापन पनि आफैमा बहसको विषय हो । यति हुँदाहुँदै पनि हामीलाई एउटा मापन वा प्रस्थानविन्दु चाहिन्छ नै । यो लुमिएर दाजुभाइले सन् १८९६ मा पेरिसमा देखाएको लघु सिनेमालाई नै सिनेमा इतिहासको प्रस्थानविन्दु मानेजस्तै कुरा हो, जब कि त्योभन्दा अगाडि नै एडिसन, डिकिन्सन लगायतका वैज्ञानिकहरूले चित्रहरूलाई चलाउने प्रविधिमा काम गरिसकेका थिए ।

सजिलोका लागि हामी यसैलाई भारतीय सिनेमाको सय वर्ष भन्न सक्छौँ । यसमा सम्बोधन गर्नुपर्ने प्रश्न के छ भने आखिर यो भारतीय सिनेमा भनेको के हो ? कसरी यो भारतीय सिनेमा ‘भारतीय’ हो ? युरोपेलीहरूले यस प्रकारको सिनेमा भनिने नयाँ चमत्कारका लागि यहाँ ठूलो बजार भएको अनुमान लगाएका थिए । सुरुमा उनीहरूले भारतीय दर्शकको रुचिको मापन गरे र प्राचीन नाटक तथा मिथकहरूबाट विचारहरू बटुले । फिल्महरू त्यतिबेला बंगाल, बम्बई, लाहोर र अलिपछि चेन्नईमा निर्माण हुन्थे । सन् १९२० बाट सिनेमाको केन्द्रहरूमध्ये कलकत्ता एक प्रमुख केन्द्र बन्यो । पृथ्वीराज कपुर, केएल सैगल लगायतका देशका विभिन्न ठाउँका प्रतिभाहरू कलकत्ता आउन थाले । न्यू थिएटर, काली फिल्म, मदन थिएटर कलकत्तामा काम गर्ने ठूल्ठूला कम्पनीहरू थिए । उनीहरूले एकैपटक बंगाली र हिन्दी गरेर दोहोरो भर्सनका फिल्म बनाउँथे, कहिलेकाहीँ मराठी पनि हुन्थ्यो । वास्तवमा तेलुगु र तमिल फिल्महरू पनि सन् १९३० र ४० दशकमा कलकत्तामै निर्माण हुन्थे ।

सन् १९४७ पछि यहाँको हालत खराब हुन थाल्यो । पूर्वी बंगालको विशाल फिल्म बजार हामीले गुमायौँ । विमल रोय, हेमन्तकुमार, सचिनदेव बर्मन, सलिल चौधरीजस्ता प्रसिद्ध सङ्गीत निर्देशकहरू बम्बईतिर बसाइ सरे । भारत सरकारले हिन्दी भाषाप्रति देखाएको लगाव वा झुकावका कारण पनि यस्तो हुनमा धेरै काम गरेको छ । अहिले यहाँ दुर्दान्त अवस्था सिर्जना भएको छ । राष्ट्रिय सिनेमा भन्नाले हिन्दी सिनेमा बुझिन थालेको छ । यस्तो किन भयो ? मेरो प्रश्न यही हो । मेरो विचारमा जुनसुकै भाषामा बन्ने सिनेमा क्षेत्रीय सिनेमा हो, सँगसँगै त्यही राष्ट्रिय सिनेमा हो र अहिलेको व्यापक डायस्पोराको युगमा त्यही सिनेमा अन्तराष्ट्रिय सिनेमा हो ।

कहिलेकाहीँ म भन्ने गर्छु, अहिलेको ‘शताब्दी–वर्ष’ तथाकथित बलिउड सिनेमाको हो । बलिउड एउटा भिन्नै शैली हो, यसमा देशका विभिन्न भागका कलात्मक तत्वहरूको मिसमास छ । तर हिन्दी भाषामा बन्ने तथाकथित बलिउडे सिनेमामा बिहार, उत्तर प्रदेश, मध्य प्रदेश जस्ता हिन्दीभाषी क्षेत्रको कुनै पनि जीवनशैली वा संस्कृति तपाईं मुस्किलले देख्न पाउनुहुन्छ । केही अपवाद त छन् नै । तर मलाई लाग्छ, भारतीय सिनेमाको शताब्दी वर्षको जुन उत्सव छ, त्यसले जवाफभन्दा बढी प्रश्नहरू झेल्नुपर्छ ।

मेरो विचारमा हिन्दी सिनेमा एक्लै राष्ट्रिय सिनेमाको मापक हुन सक्दैन । हामीले हाम्रो मुलुकको विशेषता बुझ्नैपर्छ– विशाल सांस्कृतिक विविधता, यसको बहुभाषिक चरित्र आदि । म हिन्दी सिनेमाको विरोधी होइन । हिन्दीमै मैले थुपै्र सिनेमा बनाइसकेको छु । चुरो कुरो के हो भने, यदि हामीले कुनै खास विशेषतालाई नै राष्ट्रिय सिनेमाका रूपमा स्थापित गर्ने वा कुनै विशेष संस्कृति मात्रैलाई राष्ट्रिय संस्कृतिका रूपमा मान्यता दिने हो भने त्यसबाट हामीले सांस्कृतिक असहिष्णुतालाई बढावा दिन्छौं र समस्या निम्त्याउँछौँ । कथित भारतीय सिनेमाको शतवार्षिकी मनाउनुअघि हामीले बृहत्तर रूपमा अनुसन्धान गर्नु आवश्यक छ । निधार खुम्च्याएर हामीले सोच्नुपर्छ, मणिपुरको एक कुनामा के भइरहेको छ ? कुनैबेला उनीहरू पनि सिनेमा बनाउने गर्थे । के भइरहेको छ गुजरातमा, पन्जाबमा, कर्नाटकमा र देशका अन्य विभिन्न भागमा ? लाहोरको स्टुडियोमा के हुने गथ्र्यो, त्यो पनि हामीले खोज्नैपर्छ । महान् कलाकार प्राण साहेबले आफूले लाहोरबाट आफ्नो कलाकारिता सुरु गर्नुभएको मलाई सुनाउनुभएको थियो । थुप्रै पन्जाबी कलाकारहरू भारत विभाजनपछि लाहोरबाट आएका थिए । भारतीय सिनेमाको उत्सव मनाइरहँदा हामीले यतातिर पनि ध्यान पु¥याउनैपर्छ । हाम्रो देशको समस्या के हो भने हामी प्रचारात्मक काम एकदमै राम्रोसँग गर्छौं, जस्तै रवीन्द्रनाथ टैगोर र स्वामी विवेकानन्दको १५० औं जन्मजयन्ती ! तर एक वर्षभित्रमा बजेट झ्वाम् भएपछि सबै कुरा विस्मृतिमा जान्छ । इन्टरनेटको माध्यमबाट संसारैभरि सबै खुला भइसक्यो तर भारतीय सिनेमामा अहिले पनि किन सेन्सरसिप हुन्छ ? यसले केवल निर्माता–निर्देशक (फिल्म मेकर)हरूमाथि दबाब मात्रै सिर्जना गर्छ । फलतः अधिकांश निर्माता–निर्देशकले सेल्फ–सेन्सरसिप (आत्म–नियन्त्रण)को अभ्यास गर्छन् र अवचेतनमा डर पालिरहन्छन्– ‘मैले सिनेमामा यथार्थ कुरा देखाएँ भने सेन्सर बोर्डले त्यसलाई रोकिदिन्छ ।’

प्रविधिगत हिसाबले भन्ने हो भने अन्तराष्ट्रिय क्षेत्रमा भारतीय सिनेमामा प्रशस्तै सुधारिएको छ । तर हाम्रो बहुल संस्कृतिमा यस्तो सम्पदा छ, साहित्य र अन्य विषयमा पनि यस्तो विविधिता छ, जुन हाम्रा सिनेमामा मुस्किलले प्रतिबिम्बित हुन्छ । मेरो विचारमा भारतीय सिनेमा र विश्व सिनेमालाई आपसमा दाँज्ने हो भने भारतीय सिनेमा दोयम वा सरदर दर्जामा छ । तपाईं हालै बनेका इन्डोनेशिया, इरान, कोरिया र फिलिपिन्सका सिनेमा हेर्नुस्, त्यसमा तपाईं नवीनताको एउटा विशाल फलक देख्नुहुन्छ । हाम्रा सिनेमाहरू त्यस स्तरका छैनन् । मैले विश्वका फिल्म महोत्सवहरूमा पुगेर बटुलेको अनुभव वा भारतबाहिरका साथीहरूबाट पाएको ज्ञान के हो भने उनीहरू भारतीय फिल्ममा मौलिकताको अभाव महसुस गर्छन् । यसले हामीलाई फेरि त्यही प्रश्नमा पुर्याउँछ– आखिर भारतीय सिनेमा कसरी ‘भारतीय’ हो ? निर्विवाद रूपमा हामी अरुकै सिनेमाबाट प्रेरित छौँ, तर हामीलाई हाम्रो आफ्नै सिनेमा र आफ्नै कथावस्तु चाहिएको छ ।

कुवाको भ्यागुतो
अहिले कम्तीमा बङ्गाली सिनेमा सचेत भएको छ, जुन एकदमै सानो उद्योग हो । केही सयमयता चिट फन्ड (ढिकुटी प्रथाजस्तो चलन)बाट पनि थुप्रै सिनेमाहरू बने । कुनै पूर्वाधार बिना, कुनै व्यापारिक नमूना बिना र बंगलादेशतिर फिल्मको बजार खोल्ने कुनै इमानदार प्रयास बिना नै दुई÷तीन वर्षयता संख्यात्मक हिसाबले सिनेमा निर्माणको क्रम बढेको छ । मेरा दुई वटा फिल्म ‘पद्म नादिर माझी’ र ‘मोनेर मानुष’ बंगलादेशमा पनि सँगसँगै निर्माण गरियो र भव्य रूपमा प्रदर्शन भए । सामान्य बंगाली फिल्मको दाँजोमा यी फिल्महरूबाट मेरा निर्माताहरूले धेरै पैसा कमाए । दर्शकहरूको व्यापकताले गर्दा यस्तो सफलता सम्भव भएको हो । मलाई लाग्छ, बंगाली फिल्म उद्योगको मानसिकता नै इनारको भ्यागुताको जस्तो छ, जुन बाहिर आउँदैन । उनीहरूले तमिल र तेलुगु उद्योगमा के भइरहेको छ, थाहा पाउनुपथ्र्यो, आफ्नो फिल्मलाई देशबाहिरको बंगाली डायस्पोरामा लैजानुपथ्र्यो । सम्पूर्ण बंगाली फिल्म उद्योगको आम्दानीभन्दा दक्षिणी कलकत्ताको बिंडी–ब्यापारकोको आम्दानी सायद बढी छ । हुन त यो मेरो ठट्टा हो, तर फिल्म क्षेत्रको आम्दानी निकै न्यून छ ।

फिल्मकर्ममा म सुरुमा किन प्रवेश गरेँ भने म यस क्षेत्रलाई प्रेम गर्थें । म बंगाली फिल्म बनाउन चाहन्थेँ, किनभने मलाई यहाँको परिवेश राम्रोसँग थाहा थियो र हामीसँग बंगालीमा थुप्रै साहित्यिक कृतिहरू थिए । मैले हिन्दीमा पनि फिल्म बनाएँ– ‘पार’, ‘पतङ’, ‘गुडिया’, ‘यात्रा’ । खासगरी हिन्दीभाषी क्षेत्रमा भेटेको गज्जबको स्थानीय परिवेशले मलाई यी फिल्म बनाउन प्रेरित गरेको थियो । मैले आउँदा दिनमा हिन्दीमा फिल्म बनाउनेछु तर मलाई क्षेत्रीय भाषाहरूमा फिल्म बनाउन मन छ । मेरो पछिल्लो फिल्म ‘शून्य अंक’ एउटा बहुभाषी फिल्म हो, जुन बंगाली, हिन्दी, अंग्रेजी र आदिवासी भाषामा छ । तपाईंलाई थाहै छ, भारतमा हामी थुप्रै भाषा बोल्छौँ । त्यसकारण यहाँ थुप्रै बहुभाषी फिल्म हुनु महत्वपूर्ण कुरा हो भन्ने मलाई लाग्छ, जसले फरक–फरक क्षेत्रबीच आपसी सम्बन्ध सांस्कृतिक आदान–प्रदान गराउनेछ । एक–अर्काको भाषाको फिल्म आपसमा डबिङ गरेर प्रदर्शन गर्न सकिन्छ । थुप्रै प्रभावशाली फिल्महरू बनेका छन्, जस्तै– केरला, महाराष्ट्रमा बनेका फिल्महरू नै हेर्न सकिन्छ, तर कलकत्ताका दर्शकहरूले ती फिल्म हेर्ने मौका पाएका छैनन् ।

डकुमेन्ट्री फिल्म मेकरका रूपमा जब मैले सन् १९७० को सुरुतिर आफ्नो सिनेमाकर्म सुरु गरेँ, बंगाली सिनेमा आर्थिक हिसाबले टाटपल्टाइमा थियो । उत्तम कुमार सुपरस्टार थिए, र उनैले सम्पूर्ण उद्योग धानेका र हाँकेका थिए । सन् १९८० मा उनको निधनपछि ठूलो संकट आइलाग्यो । बंगाली सिनेमा वास्तवमा ओरालो लाग्न थाल्यो र मुठ्ठीभर निर्माता–निर्देशकहरू तमिल र अन्य सिनेमाको नक्कल गर्न थाले, जुन जनताको एउटा पंक्तिको रुचि थियो । हामी साथीहरूको एउटा समूह थियो– म, अर्पण सेन, बुद्धदेव दासगुप्ताको, जसले गुणस्तरीय फिल्म बनाउने कोशिस गर्यौँ । त्यसयता लगत्तै ऋतुपर्णो घोष लगायतको हामीपछिको पुस्ता आइहाल्यो, जसले निकै राम्रो काम गरिरहेको छ । म कुन अर्थमा भाग्यमानी हुँ भने मैले कहिल्यै पनि निर्मार्ताहरूका कारण समस्या झेल्नुपरेन । मैले जहिले चाहेँ, फिल्म बनाउन सकेँ । आफ्ना फिल्महरूमा मैले इमानदारीतालाई कायम राख्न प्रयास गरिरहेँ र कहिल्यै पनि अहिलेको नयाँ अर्थतन्त्रको मागसँग आकर्षित भइनँ । त्यसबाहेक मेरो अध्ययन, घुमफिर, भेटघाटमा रुचि छ । म संख्यात्मक रूपमा धेरै फिल्म बनाउँदिन तर डकुमेन्ट्रीहरूमा नियमित काम गर्छु । हालै मैले गुन्टर ग्रास लगायत अन्य प्रख्यात व्यक्तित्वहरूमाथि काम गरिरहेको छु ।
OOO

अनुवाद : सङ्गीत श्रोता

(Visited 201 times, 1 visits today)

टिप्पणी

comments