Main Menu

आफू र आफ्नो परिवेशलाई बुझ्ने यात्रा शुरु गरौं – भाग २

(गिरीराजमणि पोखरेल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का एक वरिष्ठ नेता हुन् । केन्द्रीय समितिका कार्यालय सदस्यसमेत रहेका उनी नेपाल सरकारको पटकपटक मन्त्री पनि बनिसके । सरकारमा रहेर स्वच्छ, कुशल, मेहनती र साहसी मन्त्रीका रुपमा छवि बनाएका उनी पार्टी भित्र पनि विचारशील नेताका रुपमा स्थापित छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका पूर्व अध्यक्ष पनि रहेका नेता पोखरेल आफ्नो समयका चर्चित विद्यार्थी एवं युवा नेता हुन् । सुरुको नेपाल कम्युनिस्ट पार्टी (चौम)बाट राजनीति सुरु गरेका उनी विभाजन पछिको नेकपा (चौम), नेकपा (एकता केन्द्र), नेकपा (एकता केन्द्र मसाल) र एकीकृत नेकपा (माओवादी) हुँदै हाल नेकपा (माओवादी केन्द्र) मा क्रियाशील छन् । पञ्चायतको अन्तिम काल र बहुदल कालमा पत्रकारिता पनि गरेका उनले त्यसताका समसामयिक राजनीतिमा कलम चलाउने गरेका भए पनि हालमा वैचारिक लेख रचना सिर्जनामा नै आफ्नो ज्ञानलाई सदुपयोग गर्ने गरेका छन् । सोही क्रममा उनले नेपाली वाम तथा कम्युनिस्ट आन्दोलनको यात्रालाई लिई लेखेको एक महत्वपूर्ण रचना ‘प्रस्थान’ म्यागाजिनमा छापिएको छ । कम्युनिस्ट आन्दोलनमा लागेका नयाँ पुस्ताका लागि उपयोगी हुने उक्त रचनाकोदोस्रो भाग साभार गरी यहाँ पुनप्रकाशित गरिन्छ । पहिलो भागको लागि यहाँ क्लिक गर्नुहोस् ।– सम्पादक)

 

giriji-bichar-2

  • गिरीराजमणि पोखरेल

३. के हो वैचारिक अभियान ?

जे होस् माथि उल्लिखित केही घटना, केही प्रवृति, केही सोच, केही सांस्कृतिक चर्चाको एउटै आसय हो हाम्रो पार्टी पुननिर्माणका लागि यतिखेर एउटा वैचारिक अभियान जरुरी छ । त्यो अभियानको नाम हो आफूलाई बुझ्ने र आफ्नो परिवेशलाई बुझ्ने यात्रा ।

यो वैचारिक अभियान आफैंसँग र आफ्नै परिवेशसँग गरिने एउटा संवाद हो । यो त्यस्तो संवादको थालनी हो, जसले आफू र आफ्नो परिवेशलाई बुझ्ने वैचारिक सिलसिला सुरु गर्छ । यसमा इमानदारीपूर्ण र सरल ढंगले प्रश्न उठाइन्छ र त्यसको जवाफ खोजिन्छ । सुविचारित रुपमा, कार्यक्रमिक रुपमा, योजनाबद्ध रुपमा दैनिक राजनीतिक र वर्गीय आन्दोलन निर्माण गर्ने क्रममा यस्तो खोजी मानसिकता सुरु हुन्छ, जसले वैचारिक अस्पष्टता र अन्योललाई अन्त्य गर्ने मात्र लक्ष्य राख्दैन, एउटा प्रभावशाली आन्दोलन निर्माणलाई नै आफ्नो गन्तव्य ठान्छ ।

हाम्राअघि चारप्रकारका संघर्षलाई सम्पूर्णतामा बुझ्नुपर्ने र व्यवस्थित गर्नुपर्ने जिम्मेवारी छन् ।

एक, हामीले वर्गसंघर्षसम्बन्धी हाम्रो परम्परागत बुझाइलाई बदल्नुपरेको छ ।सामन्तवादविरुद्धको संघर्षमा केन्द्रित हाम्रो वर्गचेतना नवऔपनिवेशिक उत्पीडनलाई केन्द्रबिन्दुमा राखेर नयाँ ढंगले निर्माण गर्नुपरेको छ । बचेखुचेका सामन्ती उत्पीडनविरुद्धको संघर्षको नयाँ खाका जरुरी छ ।

दुई, हाम्रो प्रकृति, हाम्रो ब्रम्हाण्ड, हाम्रो धर्तीको रक्षाको प्रश्न पनि हाम्रो काँधमा आएको छ । जलवायु र पर्यावरणको क्षेत्रमा आएका परिवर्तनलाई सही ढंगले नबुझ्ने हो र समाधानमा नजाने हो भने मानव जातिले विगतमा नभोगेका र नदेखेका ज्यादै ठूला विकराल समस्या समाना गर्नुपर्नेछ । नाफाका लागि प्रकृतिलाई दोहन गर्ने पूँजीवादी अर्थतन्त्रले सिर्जना गरेका विनाशलीलाले हामी सबैलाई नयाँ प्रकारले सोच्न बाध्य पारेको छ । राजनीतिभन्दा अलि पर तर केही हदसम्म आर्थिक राजनीतिद्वारा नै सिर्जना भएको प्राकृतिक समस्या र मानवताको रक्षाका लागि कार्यक्रम बनाउनु हाम्रै अभीष्ट हुन पुगेको छ ।

तीन, अन्तसंघर्षको अहिलेसम्म अभ्यास गरेको मोडेलले हामीलाई क्रान्तिदेखि प्रतिक्रान्तिसम्म पुर्याएको छ । आखिर गल्ती कहाँ भइरहेको छ ? गहिरो ढंगले समीक्षा गर्नुपरेको छ । के साँच्चै अन्तरसंघर्षलाई पार्टी जीवनको सौन्दर्यका रुपमा विकास गर्न सकिन्छ ? के संघर्ष र एकताको द्वन्द्वात्मक सम्बन्धबारे नयाँ ढंगले सोच्न जरुरी छ ? के पार्टीभित्र र बाहिरको संघर्षलाई सम्मान ढंगले लिने नीति र संघर्ष चलाउने तरिका सही छ ? किन अन्तरसंघर्ष निषेधात्मक भएका छन् ? किन अन्तसंघर्ष सत्य अन्वेषण गर्ने विधिअनुरुप भएका छैनन् ? किन अन्तसंघर्ष विचारका लागि नभएर प्रभुत्वका लागि भएका छन् ? किन अन्तसंघर्षमा भाग लिने नेताहरु निर्व्यैयक्तिक हुन सकिरहेका छैनन् ? यस्तै थुप्रै प्रश्नको उत्तर खोज्न रुपान्तरणमुखी अन्तरसंघर्षको नयाँ व्यवस्था जरुरी छ ।

चार, आत्मसंघर्षलाई व्यवस्थित गरौँ । आफूलाई सामन्ती अहंकार र हद दर्जाको व्यक्तिवादी अराजकतावादी हुनबाट बचाउन जरुरी छ । क्रान्ति भनेको विद्रोहलाई संगठित गर्ने कला हो । एउटा क्रान्तिकारी हरदम रुपान्तरणका दुइटा दिशाबीच उभिएको हुन्छ। उन्नत क्रान्तिकारी बन्ने कि पतनशील क्रान्तिकार बन्ने ? जुझारु, लडाकु, योद्धा कि दब्बु र पिछलग्गु ? सम्पतिसम्बन्धको मोहले हामीलाई शालीन क्रान्तिकारी हुन दिएको छैन । पद र प्रतिष्ठाले पनि हामीलाई तानिरहेको छ । म र मेरो भन्ने छाडेर हामी र हाम्रो भन्ने यात्रामा हिँडेका किन ‘म’ र ‘स्व’ को घेरालाई भत्काउ सकिरहका छैनौँ ? चैतन्यलाई न्युरोनको नेटवर्क भनिन्छ । ‘स्व’ चैतन्यबाटै बनेको छ । ‘स्व’ लाई बुझ्ने भनेको आफैंलाई बुझ्ने, हेर्ने र रुपान्तरण गर्ने प्रक्रिया हो । वर्गीयताको संसारबाट निर्वर्गीयताको संसारमा जाने भनेको हो ।

भनिन्छ ‘स्व’ मा अलिकति रुपान्तरण नहुने आनुवंशिक पक्ष छन् तर कुरा त्यस्तो होइन । यसबारे पनि विज्ञानको संसारमा अध्ययन चलिरहेको छ । स्व को मूल पक्ष् परिवेशद्वारा निर्मित छ । त्यसैले मार्क्सले भन्नुभयो, संसार बदल्नेले पहिला आफूलाई बदल्नुपर्छ । माओले क्रान्तिको पहिलो निशाना आफूलाई बनाऔँ भन्नुभएको छ । के यो वैज्ञानिक क्रान्तिकारी मान्यता हो ? हो भने यसको वैज्ञानिक प्रक्रिया के हो ? एक, क्रान्तिकारी आफूभित्र र बाहिर निरन्तर संघर्ष नगरी र निरन्तर क्रान्तिकारी अभ्यास नगरी उन्नत क्रान्तिकारी र सही अर्थमा विद्रोही हुन सक्दैन । यसले पनि संगठित, योजनाबद्ध र सामूहिक कार्यक्रमको माग गर्छ ।

४. केही सुझाब

(क)वैचारिक संश्लेषण गर्ने केन्द्र निर्माण गरौं

माथि पनि चर्चा भयो, वैचारिक अभियान भनेको प्रश्न उठाउने र उत्तर खोज्ने अभियान हो । राजनीतिलाई केन्द्रविन्दुमा राखेर जीवनका विभिन्न सवालबारे धारण बनाउने केन्द्र जरुरी छ । राजनीतिक पार्टी कार्यनीतिदेखि कार्यनीतिसम्म सीमित रहेकाले यसको विचरको प्रशोधन गर्ने प्रक्रिया कमजोर रहेको छ । संगठित र असंगठित रुपमा रहेका दिमागलाई एकठाउँमा ल्याएर वादविवाद विश्लेषण र संश्लेषण गर्ने काम आवश्यक भयो । यो पार्टी स्कुल होइ चिन्तन गर्ने केन्द्र हो । हाम्रो आन्दोलनलाई व्यवस्थित गर्न यस्तो संरचना चाहिएको छ । यो संरचनात्मक सवाल हो । ब्रह्माण्डदेखि मानिसको प्रज्ञासम्म, दैनिक राजनीतिमा आएका जटिल मुद्दादेखि विज्ञान प्रविधिको क्षेत्रमा आएका नयाँ खोजसम्म अध्ययन मनन गर्नु यो केन्द्रको जिम्मेवारी हो ।

(ख) जीवन जिउने कला सिकौं

विचारधारात्मक क्रान्ति भनेको संसार चिन्ने प्रक्रिया हो । सही बाटोमा नहिँडी गन्तव्यसम्म पुग्न सकिँदैन । सही बाटो छनोटको कुरा विचारको प्रस्टताको कुरा हो । नियत सफा भएर पुग्दैन त्यो त क्रान्तिकारी भाव मात्र हो । तर्कशीलता र सत्य आधारित प्रक्रियासँग नगाँसिएसम्म क्रान्तिकारी भाव अपाङ्ग हुन्छ । यसो पनि भन्न सकिन्छ – विचारधारात्मक प्रस्टता भनेको संसार चिन्ने कला निर्माण गर्ने हो । संसार बदल्न ‘लाल’ र ‘दक्ष’ दुवै हुनैपर्छ । ‘लाल’ बन्नु भनेको आलोचनात्मक हुनु र ‘दक्ष’ बन्नु भनेको जीवन बाँच्ने सामर्थ्य आर्जन गर्नु हो । ‘लाल’ बन्न सत्य पत्ता लगाउने सुरुङ यात्रामा हिँड्नुपर्छ र ‘दक्ष’ बन्न जीवन जिउन कला सिक्नुपर्छ । यसलाई पनि हाम्रो आन्दोलनको कार्यक्रममा समावेश गर्नुपर्छ ।

(ग) विचारधारात्मक संघर्षको निरपेक्षतालाई बुझौँ

अन्तरसंघर्षलाई पार्टीभित्रको सत्ता संघर्षबाट अलग गर्ने कुरा अहिलेसम्मको प्रयोग र आदतको लतको हाँखाबाट हेर्दा असम्भव लाग्न सक्छ । कतिलाई यो सैद्धान्तिक र दार्शनिक रुपमा गलत नै लाग्न सक्छ । तर, विचारधारात्मक अभियान सफल पार्न यसको निरपेक्षतालाई पक्रन सक्नुपर्छ । वस्तुगत विश्लेषण त्यतिबेला मात्र सही हुन सक्छ । जतिबेला हामी स्वार्थ थाती राख्न सक्छौं । महान वैज्ञानिक आइन्स्टाइनले आफ्नो क्षेत्रको सत्य उद्घाटित गर्दै जाँदा समाजवादमा पुग्नुभयो । विचारधारात्मक अभियान भनेको वैज्ञानिक बन्ने कुरा हो । सही वैचारिक सोचको धरातल हुन्छ । सोच्ने र चिन्तन गर्नेको विधि र शैली हुन्छ । निष्पक्षता, तर्कशीलता र क्रमबद्ध सोच नभइकन वस्तुगत विश्लेषण हुन सक्दैन । जसरी स्वस्थ शरीर हुन अनुशासित जीवन चाहिन्छ, त्यसैगरी सही निष्कर्षमा पुग्न सोच पनि अनुशासन हुनुपर्छ । पदका लागि भइरहेको बहस र सत्यका लागि भइरहेका वहोको अन्तर पनि यहीँ छ । यो अभियानको उद्देश्य मानिसको सामान्यीकरणको क्षमताको वृद्धि हो । सामान्यीकरण वैचारिक काम र श्रमसँग जोडिएको जीवनले मात्र सम्भव छ । केही थोरै मानिसले चिन्तनको काम गरिरहेको वर्तमान परिदृश्य बदल्न यो विचारधारात्मक अभियान जरुरी छ । र, यो अभियानलाई सफल पार्न यसको निरपेक्ष र स्वायत्त भूमिकालाई बुझ्न जरुरी छ ।

(घ) व्यवस्थित ढंगले पार्टी स्कुल चलाऔं

विचारधारात्मक अभियान जाँच्ने एउटा कसी पार्टी स्कुल हुन् । हामीले न त पुस्तक जम्मा गरेका छौं न त हामी तालिम गरिरहेका छौं । न त हामी भ्रमणमा छौं । अध्ययन र अवलोकनविना मानिसको ज्ञानको दायरा फैलिँदैन । अझ विज्ञान र प्रविधिले विकास गरेका सीप कलाका आधारमा मानिसको ग्रहणशीलता, तर्कशीलता, मानवीय संवेदना विकास गर्न सकिन्छ । हाम्रो पार्टी स्कुल पहिलो कुरा चलेकै छैनन् । दोस्रो भएका पनि संकीर्ण छन् र तेस्रो राजनीतिमात्र सिकाउने खालका छन् । राजनीतिलाई केन्द्रबिन्दुमा राखेर सोच्ने तरिकालाई पनि यिनीहरुले संकुचित र साँघुरा बनादिएका छन् । पार्टी स्कुलको पुनर्गठन यो अभियानको सर्त नै हो ।

(ङ) अध्ययनलाई संगठित जीवनको अनिवार्य तत्व बनाऊ

माथिदेखि तलसम्म चिन्तनका केन्द्र (thought center), अध्ययन केन्द्र (study center) र पार्टी स्कुल (party school) लाई अनिवार्य गरौं । अध्ययनविना पार्टी सदस्यता नवीकरण गर्न नसकिने नयाँ मापदण्ड विकास गरौं । अध्ययन गर्नु, पढ्नु भनेको अनिवार्य रुपमा पुस्तक पढ्नु पनि भनिएको होइन । सबै आ-आफ्ना ठाउँमा पढ्ने हो । निरक्षरलाई साक्षर बनाउने कार्यक्रम राखौं र पढ्ने तरिकाबारे औपचारिक स्कुल कलेजको डिग्री लिने सोचबाट अलग गरौं । भनिरहनु पर्दैन निरक्षरले अक्षर पढ्दैनन् तर जीवनको पुस्तक पढिरहेकै हुन्छन् । दृष्टिविहीनले पढ्न सक्दैनन् भन्ने सोच बदलिसक्यो । कसैको पनि निरक्षरता अहिलेको सामाजिक व्यवस्थाको उपज हो । यसलाई अन्त्य गर्नेले पार्टी सदस्यलाई पनि निरक्षरताबाट मुक्त पार्नुपर्यो । लेनिनले गठन गरेको मजदुरवर्गको पार्टी अध्ययन चक्रबाट सुरु भएको थियो । माक्सिम गोर्कीको आमा उपन्यासको मोडल पात्र ‘पावेल’ यसको दृष्टान्त हो । अध्ययनलाई संगठित जीवनको अनिवार्य तत्व बनाऔं । आ-आफ्नो तहमा सम्भव हुनेगरी व्यवस्थित गरौं ।

(च) प्राथमिकता निर्धारण गरौं

वैचारिक अभियानलाई व्यवस्थित गर्न प्राथमिकता निर्धारण गर्न जरुरी छ किनकि यो छुट्टै र ठूलो संसार हो । अहिले अध्ययन व्यक्तिको चाह भएको छ । पार्टीले पटक्कै प्रेरित गर्दैन । भनिन्छ – द्वन्द्ववादी भएर सिक्दासिक्दै हुने मृत्युलाई जापानमा सम्मानित रुपमा लिइन्छ । के पढ्ने ? कहाँबाट पढ्ने ? कोसँग पढ्ने ? कसरी पढ्ने ? थुप्रै प्रश्न छन् । तर तिनीहरुले प्राथमिकता क्रम पाएका छैनन् । तिनीहरु एउटा शृंखलामा छैनन् । प्राथमिकता निर्माण भनेको शृंखलामा हेर्ने प्रक्रियाको सुरुवात हो । वौद्धिकको एउटा पंक्तिलाई यो जिम्मा दिइनुपर्छ र श्रमजीवी आन्दोलनसँग जोड्नुपर्छ । कार्यकर्तालाई अन्य कामबाट कटाएर पढ्नुलाई क्रान्तिकारी आन्दोलनको अनिवार्य अंगका रुपमा बुझाउनुपर्छ ।

५. काम कहाँबाट सुरु गर्ने ?

हामी जहाँ छौं, त्यहींबाट अघि बढ्नुपर्यो । विचारमा समस्या कहाँ छ ? जीवनशैलीमा हाम्रा समस्या कहाँ छन् ? संगठनमा हाम्रो समस्या कहाँ छन् ? समस्या जहाँ छन्, त्यहींबाट काम थालौं । हाम्र हरप्रकारका गतिविधि सही विचारले निर्देशित गर्नुपर्यो । विचारको उज्यालोमा हिंडेको व्यवहारमात्र सही हुन्छ । के त्यस्तो सम्भव छ ? त्यसका लागि हरकुरामा आफू सक्षम हुने अभियान थाल्नुपर्यो । यो एक्ला-एक्लै सम्भव छैन । यो त संगठित र सामूहिक रुपले मात्र सम्भव छ । मानिस हुनुका कारणले आफू जिम्मेवार हुनुपर्यो । पढ्नेले समर्थकमात्र खोज्ने होइन, विधि सिकाउनुपर्यो । गुटबन्दी जस्तो खत्तम कुरा केही छैन । पछाडि फर्केर हेरौं, हिँडेका थियौं साम्यवादी बन्न, अभ्यास थियो सामूहिकताको तर जीवनलाई मूल्यांकन गर्दा निजी भइयो । नेता, कार्यकर्ता खोज्ने र कार्यकर्ता पनि निजी भइदिने । उफ कस्तो विडम्बना ? यही विडम्बना भत्काउन वैचारिक अभियान चाहिएको हो । यो अभियान सुदूरभविष्यको होइन र होइन थोरैको पनि । कार्यकर्ताको अध्ययन आन्दोलनलाई आमजनताको अध्ययन आन्दोलनसँ जोड्ने लक्ष्यसहित आज र अहिले नै यो सुरु गर्नुपर्छ ।

६.अन्त्यमा

नयाँ वैचारिक अभियानको महत्वपूर्ण पक्ष दृष्टिकोण निर्माण हो । नाराले मात्र मानिसलाई जागृत, सचेत र बोधको स्तरमा पुर्याउँदैन । आमजनताको जीवनलाई परिवर्तन गर्न संगठित प्रयत्न गर्नुपर्छ । संगठित प्रयत्नलाई नेतृत्वकारी र हस्तक्षेपकारी बनाउन वर्ग सचेत संगठन चाहिन्छ । यस्तो संगठनलाई आन्तरिक रुपमा मजबुत पार्न वैचारिक ऊर्जा चाहिन्छ । यो अभियानले त्यही ऊर्जा प्रदान गर्नुपर्छ । विचार बनाउने भनेको कोठेकर्म होइन, प्राज्ञिककर्म होइन, यो त हाम्रा व्यवहारलाई समग्रमा पथप्रदर्शित गर्नु हो । हाम्रो विचार फेरि जीवनको वास्तविक धरातलमा सही र खरो सावित हुनपर्छ । यसले वर्गसमाजमा हतियारको काम गनुपर्छ ।

७ वैशाख २०७१
आधारशिला

 

(Visited 219 times, 1 visits today)

टिप्पणी

comments