Main Menu

बिचार

आफू र आफ्नो परिवेशलाई बुझ्ने यात्रा शुरु गरौं

  • गिरीराजमणि पोखरेल

giriji-bichar-1(गिरीराजमणि पोखरेल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का एक वरिष्ठ नेता हुन् । केन्द्रीय समितिका कार्यालय सदस्यसमेत रहेका उनी नेपाल सरकारको पटकपटक मन्त्री पनि बनिसके । सरकारमा रहेर स्वच्छ, कुशल, मेहनती र साहसी मन्त्रीका रुपमा छवि बनाएका उनी पार्टी भित्र पनि विचारशील नेताका रुपमा स्थापित छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका पूर्व अध्यक्ष पनि रहेका नेता पोखरेल आफ्नो समयका चर्चित विद्यार्थी एवं युवा नेता हुन् । सुरुको नेपाल कम्युनिस्ट पार्टी (चौम)बाट राजनीति सुरु गरेका उनी विभाजन पछिको नेकपा (चौम), नेकपा (एकता केन्द्र), नेकपा (एकता केन्द्र मसाल) र एकीकृत नेकपा (माओवादी) हुँदै हाल नेकपा (माओवादी केन्द्र) मा क्रियाशील छन् । पञ्चायतको अन्तिम काल र बहुदल कालमा पत्रकारिता पनि गरेका उनले त्यसताका समसामयिक राजनीतिमा कलम चलाउने गरेका भए पनि हालमा वैचारिक लेख रचना सिर्जनामा नै आफ्नो ज्ञानलाई सदुपयोग गर्ने गरेका छन् । सोही क्रममा उनले नेपाली वाम तथा कम्युनिस्ट आन्दोलनको यात्रालाई लिई लेखेको एक महत्वपूर्ण रचना ‘प्रस्थान’ म्यागाजिनमा छापिएको छ । कम्युनिस्ट आन्दोलनमा लागेका नयाँ पुस्ताका लागि उपयोगी हुने उक्त रचनाको पहिलो भाग साभार गरी यहाँ पुनप्रकाशित गरिन्छ । दोस्रो भागको लागि यहाँ क्लिक गर्नुहोस् । – सम्पादक)

१. विषयप्रवेश

नेपालको वाम र कम्युनिस्ट आन्दोलनको कोणबाट हेर्दा सन् १९५० को दशकमा एमाले र साठीको दशकमा एकीकृत नेकपा माओवादीले सरकारको मोर्चामार्फत नेपाली समाजको अग्रगामी रुपान्तरणमा हस्तक्षेपकारी भूमिका खेल्ने ज्यादै महत्वपूर्ण अवसर पाएका थिए । सरकारमा हुनुका कारणले केही न केही काम त भइहाल्छन्, तर आधारभूत परिवर्तनको कोणबाट हेर्दा तिनीहरुले अपेक्षित भूमिका खेल्न सकेनन् । हेर्दाहेर्दै अवसर आफ्नो हातबाट गुमे, उम्किए । एमाले आज पचासको दशकमा पनि छैन । झन्डै बीस वर्ष लगाएर उसले जुन स्थान बनाएको छ, यसक्रममा उसको वर्ग परिवर्तन भएको छ । आज ऊ प्रतिक्रियावादी वर्गस्वार्थ रक्षा गर्ने दोस्रो भरासिलो शक्ति बनेको छ । एकीकृत नेकपा (माओवादी) [अहिले नेकपा (माओवादी केन्द्र)] संविधानसभाको दोश्रो निर्वाचनपछि एउटा त्यस्तो चौतारोमा खडा भएको छ, जहाँबाट रुपान्तरणको खिशा र प्रक्रिया सही ढंगले अघि बढेन भने ऊ पनि इतिहासको विषय बन्न सक्छ ।

गहिरिएर हेर्दा यी पार्टीले ठूल्ठूला अवसर र सम्भावनालाई क्रान्ति, परिवर्तन र जनताको पक्षमा अनुवाद गर्न नसक्नुमा तीनवटा पक्ष मुख्य रुपमा उल्लेखनीय छन् । एउटा जुझारु संघर्ष छाड्नु, दोस्रो वैचारिक अस्पष्टता र तेस्रो नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माणमा उपेक्षा । कम्युनिस्ट आन्दोलनलाई केन्द्रविन्दुमा राखेर मूल्यांकन गर्दा समग्र प्रक्रियामा यसका अरु आयाम नभएका होइनन्, तर यी तीनवटा कडी भने मुख्य रहेका छन् । यो लेख मुख्यतः वैचारिक पक्षसँग सम्बन्धित छ ।

२. अन्योल शंका र अस्पष्टताको महाजाल

आज नेपालको कम्युनिस्ट आन्दोलनमा लागेका कुनै पनि समूहका नेता, कार्यकर्ता आन्तरिक रुपमा सन्तुष्ट छैनन् । वर्ग नै रुपमान्तरण भएर प्रतिक्रियावादी कित्तामा उभिएकाबाहेक सबै एकप्रकारको बेचैनी महसूस गरिरहेका छन् । (हुन त उनीहरु पनि कति सन्तुष्ट होलान् र ?) गणतन्त्र स्थापनासम्मको संघर्षमा आफूले निर्वाह गरेको भूमिका र इतिहासप्रति सबैमा एकहदसम्म गौरवको अनुभूति नै रहेको छ । त्यसपछिका झन्डै सात वर्ष सबैका लागि असन्तुष्टि, क्षोभ, पीडा र ग्लानीका वर्ष बन्न थालेका छन् ।

हुन त आज पनि नेपालको कम्युनिस्ट आन्दोलन अरुसँग तुलना गर्दा मूल आन्दोलनका रुपमा रहेको छ । २०६४ को संविधानसभामा झन्डै ६५ प्रतिशत जनमत कम्युनिस्टको पक्षमा थियो । २०७० को संविधानसभामा पनि झन्डै ५२ प्रतिशत जनमत कम्युनिस्टकै पक्षमा रहेको छ । राष्ट्रियताको पहरेदार कम्युनिस्ट नै रहेका छन् । भूमिसुधारदेखि न्यून वर्गको आन्दोलनको पक्षपाती कम्युनिस्ट नै मानिन्छन् । गणतन्त्र, लोककल्याणकारी राज्य, धर्मनिरपेक्षता, समानुपातिक सहभागिता र संघीयता कम्युनिस्टकै कारणले स्थापित भएका छन् ।

चलिरहेको जातीय, क्षेत्रीय र लैङ्गिक मुद्दालाई वर्गीयतासँग जोड्न पनि कम्युनिस्टले नै अथक प्रयत्न गरिरहेका छन् । यत्रा ठूला र असाध्यै महत्वपूर्ण युगान्तकारी परिवर्तनलाई अघि बढाउने शक्ति कम्युस्टि हुँदाहुँदै आज कम्युनिस्ट कित्ता र शिविरभित्र केन्द्रदेखि गाउँसम्मका नेताहरुको मनोमय जगतमा प्रश्न, शंका, अन्योल र खै के गर्ने भन्ने रोगले घर गरेको छ । वास्तवमा नेतृत्व पंक्ति प्रश्नै प्रश्नको महाजालमा प्रवेश गरेका छन् । उनीहरुको दिमागमा जे-जस्ता प्रश्न उठेका छन्, तिनको समयमै उत्तर नखोज्ने हो भने नेपालको सर्वाधिक लोकप्रिय मानिने कम्युनिस्ट आन्दोलन अन्ततः विर्सजन र विखण्डनको चक्रव्यूहमा फस्ने खतरा छ ।

यो महाजालमा कम्युनिस्ट आन्दोलन त्यतिकै परेका छैनौँ । यो त वस्तुगत प्रक्रियाकै उपज हो । हाम्रो वरिपरिको परिवेश हिजोको जस्तौ छैन । जनता बदलिएका छन् । वर्गचरित्र बदलिएको छ । शोषणका तौरतरिका बदलिएका छन् । असमानता, उत्पीडन र विभेदका नयाँ तरिका प्रवेश गरेका छन् ।

नयाँ र वैज्ञानिकको नाममा, प्रविधि र विज्ञानको नाममा, कला र संस्कृतिको नाममा धेरै विषाक्त कुरा हाम्रै जीवन प्रक्रियाभित्र प्रवेश गरेका छन् । हामी उपभोग गरिरहेका छौँ, प्रयोग गरिरहेका छौँ, त्यसको जालमा फस्दै गइरहेका छौँ । तिनीहरुभित्र रहेका गलत र सही छुट्याउने एक स्तरको ज्ञान आवश्यक पर्छ । तर, हामी यही बिन्दुमा अस्पष्ट र अन्योलमा छौँ । हामीले केही जानेर र केही नजानेर गल्ती गरिरहेका छौँ । दुबै प्रकारका गल्ती अन्ततः गल्ती नै हुन् र हाम्रो कारणले भइरहेका छन् । अस्पष्टता संशोधनवाद जन्मने आधार हो भन्ने माओको विश्लेषण यहाँ स्मरणीय छ ।

यो अस्पष्टता सबैभन्दा धेरै नेतृत्वमा छ । क्रान्तिकारी आन्दोलनमा ज्यादै सुनिने गरेको एउटा आरोप के छ भने नेताहरुले वैचारिक काम छाडे । हेर्दाहेर्दै व्यवहारवादी भए । व्यावहारिक हुने नाममा व्यवहारवादको यस्तो माखेसाङ्लोमा जाकिए, जहाँबाट निस्कन ज्यादै गाह्रो छ । यो आरोप वस्तुतः गलत पनि छैन । किनकि धरै हन्डर र ठक्कर खाएपछि, धेरै ठूला पराजयपछि पनि नेतृत्वले पाठ सिकिरहेको छैन । सिकेको भए, व्यवहारमा त्यसको प्रतिविम्ब देखिनुपर्थ्यो । स-साना कुराको जगमै ठूल्ठूला कुरा अडिएको हुन्छ । माला एउटा-एउटा तर थुप्रै फूल जोडेपछि मात्र बन्छ । विजया ठूला कथा लेख्न सफलताका यस्तै स-साना फूल फुलाउँदै जानुपर्छ । प्रत्येक घटनापछि प्राप्त शिक्षालाई प्रत्येक काम र व्यवहारमा लागू गर्न सक्नुपर्छ । तर, अहिले सफलता हासिल हुनेगरी आन्दोलन भएको देखिँदैनन । यसले अन्तरतलमा वैचारिक अस्पष्टताले नै काम गरेको देखिन्छ ।

कहिलेकाहीँ जति धेरै ठूला नेता त्यति नै ठूलो वैचारिक अराजकताले भरिएको महसूस हुन्छ । वैचारिक अभियान भनेको आफ्नो दिमागमा आएपछि पार्टी कार्यकर्ता र समाजलाई फैसला सुनाउँदै हिँड्ने छरपस्ट अभियान होइन । यो त संगठित रुपमा, नियमबद्ध रुपमा गरिने खोज र अनुसन्धान हो । कम्युनिस्ट क्रान्तिकारी आन्दोलन कुनै व्यक्तिगत अनुसन्धान र प्राज्ञिकको करियरको जस्तो कर्म होइन, जसको दिमाग आफ्नो व्यक्तिगत नामको अग्राधिकारको भुखले भरिएको हुन्छ । त्यो त आन्दोलनमा हिँडेका असंख्य जनता र कार्यकर्ताका हृदयमा उठेका प्रश्नको उत्तर दिने र उत्तरसँगै संगठित रुपमा समाधान गराउने सीप र कला हो । आन्दोलनमा प्रत्यक्ष गाँसिएर, समास्याको पिँधमा गएर र रुपान्तरणको दृष्टान्त बनेर जुन नेतृत्व पंक्ति यो सिँगो प्रक्रियामा जति हेलिन्छ, त्यति नै उसको दिमागमा समाज, वर्ग र क्रान्तिलाई हाँक्ने विचार प्रतिविम्बित हुन थाल्छन् । यस्ता विचार ग्राह्य, अनुकरणी र पथप्रदर्शन योग्य हुन्छन् । यस्तो विचार शक्तिशाली बन्छ । विचारको शक्तिलाई मार्क्सवादीले त्यक्तिकै अजेय शक्ति ठानेका छैनन् ।

हाम्रो नेतृत्वले जनताको हृदयमा ग्रहण गरेको स्थानबाट आफूलाई च्यूत गर्दै जानुमा उनीहरुको परिवारमोह र जीवनशैलीले पनि काम गरेको छ । क्रान्तिकारी आन्दोलनमा हिँडेका माथिल्लो तहका त्यस्ता कैयौँ नेता त्यस्तो पारिवारिक प्रणालीतर्फ फर्किए, जहाँ मेरो परिवार भन्ने निजी सम्पत्तिले सिर्जना गरेको संरचना छाडेर विकल्पको खोजीमा हिँडेका थिए । समाजवाद र साम्यवादको सपना बाँडेर हिँडेका नेताहरुको यो झुकावले एउटा सांसारिक जवाफ त दिन्छ तर त्याग, बलिदान गरेका असंख्य योद्धाको मनले भने चित्त बुझाउँदैन । नेताको परिवारको सदस्य भएकै कारणले समान हैसियतको अर्को सदस्यको विशिष्ट मूल्यांकन हुने, तर आफ्नो नहुने स्थितिले आमकार्यकर्ताको हृदयमा समानताको सन्देश जान सक्दैन । यहाँ अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको सन्दर्भमा मूल्यांकन गर्दा कोरियाली क्रान्तिकारी नेता किम इल सुङको परिवारमोहको आलोचनाको आधार पनि कमजोर हुने देखिन्छ ।

नेपालको राजनीतिमा जनयुद्धलाई एकथरीले अस्वीकार गरे पनि राजतन्त्रविरुद्धको संघर्षको पछिल्लो इतिहासमा विशेषतः युगान्तकारी परिवर्तनको प्रक्रियालाई सफल बनाउने पृष्ठभूमि र आधार तयार पार्न यसले खेलेको भूमिका ज्यादै महत्वपूर्ण रहेको छ । त्याग र बलिदानका असंख्य कीर्तिमान, नेतृत्वको सामुहिकीकरण, जनयुद्धमा महिलाको सहभागिता, अन्तरजातीय विवाह आदि जनयुद्धका यस्ता विम्ब थिए, जसले माओवादी पार्टीलाई वैकल्पिक क्रान्तिकारी शक्ति बनाउन महत्वपूर्ण योगदान गरे । माओवादी नेताहरु सरकारमा गएपछिको भूमिकाले ती विम्बप्रति मूलरुपमा न्याय गर्न सकेन । ल्याटिन अमेरिकन देशका अमेरिकी साम्राज्यवादको विरुद्धको संघर्षमा समाजवादउन्मुख पूँजीवादी राजनीतिले देखाएको शिक्षालाई पनि ध्यान दिँदै माथि र तललाई जोड्दै झन्डै क्रान्तिको नयाँ मोडेल विकास गर्न खोजिएको पृष्ठभूमिमा सरकारमा गएपछिका काम र व्यवहार मूलतः सन्देशमुलक रहेनन् । व्यक्तिको महत्वकांक्षा हदैसम्म बढाउने, गुटलाई प्रश्रय दिने, भ्रष्टाचार विरोधी अभियान चलाउन नसक्ने, पुरानो नोकरशाहीलाई अन्त गर्न नसके पनि त्यसको दुश्चक्रबाट आफूलाई बचाउन नसक्ने र सरकारमा टिक्न जस्तासुकै नीति ल्याउन पनि सम्झौता गर्ने प्रवृत्तिले नकारात्मक दृष्टान्त मात्र खडा भए ।

वैचारिक अन्योल र अराजकताको यो जंगलबाट सजिलै बाहिर निस्कन नदिने एउटा गम्भिर रोग भनेको गुटबन्दी हो । पार्टी कमजोर हुने र गुटहरु मौलाउने समस्याको पछाडि पार्टी निर्माणको आधारभूत प्रकृतिको अस्पष्टताले काम गरेको छ । पार्टीमा जब वैचारिक बहस हुँदैन, जब कार्यकर्तालाई आफ्नो कुराको सुनुवाइ हुँदैन र समस्या सम्बोधन हुँदैन भन्ने लाग्छ र जब वर्गीय रूपमा पार्टी सर्वहाराको अग्रदस्तामा रूपान्तरण हुँदैन, तब विचारको नाममा गुट जन्मन्छन् । गुट भनेको पार्टी संस्थागत ढंगले चलाउन नसक्नुको परिणती हो । गुटबन्दीले अर्काको कुरा सुन्न दिँदैन, अर्को गुटको विचार जति सही भए पनि पहिले नै एउटा लेबल लगाइदिन्छ । कार्यक्रतालाई आफ्नो निजी बनाउँछ र सोच्ने जति जिम्मा माथि थोरैलाई दिन्छ । पार्टीलाई सधैं संयुक्त मोर्चा बनाइरहन्छ । गुटबन्दीको अर्को ज्यादै नकारात्मक पक्ष यसले अन्तरसंघर्षलाई वास्तविक रुपमा वैचारिक हुन दिँदैन । वास्तविक वैचारिक संघर्षले पार्टी जीवनको प्रगति र अग्रगतिका लागि ऊर्जाको काम गर्छ । यो एकप्रकारले पार्टीको प्राण तत्व पनि हो । गुटबन्दीजन्य अन्तरसंघर्षले सत्य अन्वेषणको विधि अपनाउँदैन । प्रत्येक संघर्षलाई पार्टी प्रभूत्व कायम गर्ने विषय बनाउँछ । लेनिनले जनवादी केन्द्रीयतालाई सही रुपमा कार्यकारी हुन पार्टीभित्रको प्रभुत्व सधैं बाधक हुन्छ भन्ने कुरामा जोड दिनुभएको छ । हाम्रो आन्दोलन जति विस्तार भए पनि अन्तरसंघर्षको सवालमा वैज्ञानिक भएको छैन । यसले आन्दोलनलाई प्रकारान्तरले कमजोर बनाइरहेको छ । माओको निधनपछिको चिनियाँ कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारको पराजयमा यो प्रवृतिले पनि काम गरेको विषयलाई बिर्सन हुँदैन ।

परिवर्तनको संवाहकका रुपमा काम गरेका, विचारको प्रशोधन गर्ने यन्त्रका रुपमा सम्मानित, मुक्ति र स्वतन्त्रताको लडाइँमा आस्थाका केन्द्र मानिने पार्टी यति कमजोर र लथालिंग हुनुमा पार्टी प्रणालीमा चल्न नसक्नु हो । संगठनात्मक प्रणालीको अस्पष्टताकै कारणले तिनीहरुले गर्नुपर्ने दैनिक काम पनि गरिरहेका छैनन् । यो पनि विचारकै सवाल हो । वैचारिक सवाल अन्तरसम्बन्धित छ । यसको आफ्नो स्वाधीन र स्वायत्त भूमिका पनि छ । तर, हाम्रो दैनिकी हेर्दा वैचारिक काममा नियमितता छैन । पार्टी स्कुल चलेका छैनन् । दुई कार्यकर्ताको भेटमा विचारको बहस प्रारम्भ हुँदैन । हिजो एउटा यस्तो समय थियो, प्रत्येक पुस्तक पसलमा गएर सोध्यो भने धेरै पुस्तक माओवादीले किन्छन् भन्थे । तर अहिले यो ग्राफ तल झरेको छ । मानिस सत्ता र सुविधावरिपरि यसरी दौडिरहेका छन् कि पढ्ने, चिन्तन गर्ने फुर्सदसमेत छैन । पार्टीका आफ्नै मुखपत्र छैनन् । युरोपमा मुखपत्र या आफ्नो नियमित प्रकाशन नभएको पार्टीलाई पार्टी नै मानिँदैनथ्यो तर अहिले त्यो मापदण्ड गरे बराबर छ । भएका प्रकाशन पनि गुटका निहित स्वार्थ प्रवाहमा मात्र सीमित छन् । जुन पार्टीको महाधिवेशनको कार्यदिशाबारे एकरुप समझदारी छनै, जुन पार्टीको ठोस कार्यक्रम छैन र जसले विनाविधान त्यतिकै हिँड्छ त्यस्तो पार्टीलाई भगवन् भरोसा भन्दा के फरक पर्छ ? यस्तो टीठलाग्दो स्थितिमा पार्टी कमजोर हुनु कुनै अस्वाभाविक परिघटना होइन बरु चामत्कारि सिदान्तप्रतिको मोहको परिणाम हो ।

एक समयमा परिवर्तनको प्राधिकारका रुपमा स्थापित नेताको नेतृत्वमा अहिले संकट आएको छ । सहज ज्ञानका आधारमा पवनि भन्न सकिन्छ, यो त्यतिकै आएको छैन । हाम्रो नेतृत्व प्रणालीमा गम्भीरतम समस्या छन् । राजनीतिक कार्यनीति दायाँबायाँ भइरहन्छ तर नेतृत्व प्रणाली क्षण-क्षण बदलिने विषय होइन । हाम्रा कतिपय नेता कसरी पनि सोच्छन् भने राजनीतिक आचरणले नेतृत्व प्रणाली र कार्यपद्धतिलाई पनि बदलिरहन्छ । यो मान्यता पनि गलत छ । नेतृत्व र त्यसको प्रणालीसम्बन्धी आधारभूत मान्यतामा भएको अस्पष्टताले पनि हामीलाई पूँजीवादी र निम्नपूँजीवादी सोचतर्फ धकेलिरहेको छ । माओले नेतृत्वसम्बन्धी एकमनावादी मान्यताविरुद गरेको संघर्षलाई हामीले सही ढंगले पक्रन प्रयत्न गर्यौं तर यसमा निरन्तर सर्वहारा सांस्कृतिक क्रान्तिको अपरिहार्यतालाई चटक्कै बिर्सियौं । त्यसकै परिणती हामी सर्वहारा र कम्युनिस्ट जीवनशैलीलाई पनि कार्यनीति बनाउन पुग्यौं । यस्तो भूलपछिका भूलले हामीलाई पेसेवर र पूर्णकालीन कार्यकर्ताको विकासमात्र होइन, अंशकालीन कार्यकर्तालाई गर्ने विषयमा पनि गलत ठाउँमा पुर्याएको छ र आत्मनिर्भरताको नाममा हुनेखनेमात्र पार्टीमा टिक्ने दिशातर्फ लगेको छ । यसले वर्ग सचेत पार्टी निर्माणलाई ओझोलमा पारेको छ । पार्टी पुनःनिर्माण गर्ने हो भने यी सबै मान्यतामाथि पुनर्विचार गर्न जरुरी छ ।

हेटौंडा महाधिवेशनको दस्तावेजमा हामीले जोडदार ढंगले प्रस्तुत गरेको र नेताहरुको भाषणमा पटक-पटक प्रतिबद्धता गरिएका विषयमध्ये दुइटा ज्यादै महत्वपूर्ण थिए । एउटा प्रतिक्रान्तिको शिक्षाको महत्व र दोस्रो जनवादको अभ्यास । हेटौंडादेखि विराटनगरसम्म पुग्दा पार्टीमा एउटा पनि पार्टी स्कुल नचलेका र सीमित राजनीतिक सभाबाहेक कतैबाट पनि विचारधारात्मक ऊर्जा प्राप्त नगरेबाट हामी बुझ्न सक्छौं कि हाम्रे हालत कस्तो रह्यो ? परिस्थितिले एक्काइसौं शताब्दीमा अर्को कम्युनिस्ट घोषणापत्र जारी गर्न नेपाली सर्वहारा क्रान्तिकारीको काँधमा यो ऐतिहासिक जिम्मेवारी आएको स्वीकार्यो तर हामी नेताहरु नै ‘हिँड्दै गयौँ पाइला मेट्दै गयौँ’को सिकार भयौँ । त्यतिमात्र होइन महान् जनवादको सिदान्तलाई निकै मार्मिकतासहित स्वीकार्ने हामी नेताहरु महाधिवेशन भएको ६ महिना पनि नबित्दै बहुपदीय संरचनालाई भत्काएर पार्टीलाई तदर्थवादको जुन गतिमा धकेल्यौं यसले जनवाद होइन, अर्कै वादको पक्षपोषण गर्यो । आफूलाई लागेपछि बहुसंख्यक नेता, कार्यकर्ताको राय पनि नसुन्ने प्रवृतिले जनवादबारे व्यावहारिक कार्यान्वयनको तहमा समान बुझाइ थिएन भन्न सकिन्छ ।

क्रमश … (बाँकी अंश अर्को हप्ता)
साभार : ‘प्रस्थान’ अङ्क – १, २०७१

दोस्रो भागको लागि यहाँ क्लिक गर्नुहोस्

(Visited 286 times, 1 visits today)

टिप्पणी

comments