Main Menu

घनश्याम मामा र नयाँ मेच [संस्मरण]

ghanashyam-dhakal-remembrance-sharada-sharma

  • शारदा शर्मा

उहाँलाई मैले माओवादीको सशस्त्र संघर्ष उत्कर्षमा हुँदा मम्मीको घरमा लुकेर बसेको बेला पहिलोपल्ट देखेकी हुँ । भात पकाउँदै हुनुहुन्थ्यो मम्मी, म चुल्होमै पुगेकी थिएँ । मुख कानैनिर ल्याएर सासले भन्नुभयो- घनश्याम मामा छ, माथि कोठामा । हिजो राति अबेला आयो, सेनाले खोजिराखेका छन् रे उसलाई । आतङ्कति देखिनुहुन्थ्यो उहाँ । म छक्क परेर रित्ता आँखाले आफ्नी आमालाई हेरिरहेँ । उहाँको अवस्था सम्झँदा अनौठो लाग्यो । आफू पण्डित बाबुकी निरक्षर छोरी, भाइहरू कम्युनिष्ट छन्, कोही एमाले, कोही माओवादी । ज्वाइँ कांग्रेस, लोग्ने राजा फाल्नु हुँदैन भन्ने । कसरी सन्तुलन मिलाउनुहुँदो हो ? बोलिरहनुभएको थियो, एउटै छोरालाई मारिदिए । मामालाई पनि पटक-पटक कलेजबाट बेपत्ता बनाएर धेरै यातना दिएका छन्, थिलोथिलो परेको छ शरीर । फुत्केर कसरी आएछ बरा । माथि गएर भेट्न एकपल्ट ।

म अल्मलिएँ, माओवादी मामा….कस्ता होलान्, कसरी भेट्नु ? के भन्नु ? अप्ठ्यारो मनका बीच गएँ, माथि कोठामा । मध्यमकाँटीको एउटा सामान्य देखिने सरल मान्छे सिरकमा गुटुमुटु परेर बसिरहेको थियो । उसको अनुहार मम्मीका मैले देखेचिनेका अरू भाइहरू भन्दा अलि बेग्लो थियो । मैले कल्पना गरेको माओवादीमा हुने भनेको जस्तो उग्रता भने केही देखिन, अनुहारमा । त्यहाँ बरु हैरानी थियो, अत्यास थियो, थकान थियो र धेरै पीडा थियो ।

यसअघि कहिल्यै नभेटेको मान्छेसँग खास बोल्ने-सोध्ने कुरा केही थिएन । हामीले एकअर्कालाई हेरिरह्यौं । मेरो उपस्थितिमा केही अप्ठ्यारो मानेझैं लाग्यो, तर ती आँखामा मेराप्रतिको स्नेह अनुभव गर्दा भने अनुभव गरेँ, माओवादी भए पनि उहाँ मामा नै त हो । बस्नोस्, उहाँले ओछ्यान देखाउनुभयो । भाञ्जाभाञ्जीको उमेर आफूभन्दा सानै भए पनि मान गर्न चलन गाउँतिर बढी नै हुन्छ ।

मलाई उहाँसँग बस्न भने अप्ठेरो लाग्यो । जे भए पनि उहाँ माओवादी । माओवादीको एउटा विम्ब थियो मेरा मनमा, निहत्था, निरपराध मान्छे पनि त मारेका थिए तिनले । भुइँमा गलैंचामा बसेँ म । उहाँले एउटा किताप दिनुभयो । पृथ्वीनारायण क्याम्पस पोखरामा पढाउनुहुँदो रहेछ । अठ्ठार वर्षको छोरो विजय ढकाल त्यहीं पढ्दा-पढ्दै भूमिगत भएर माओवादी युद्धमा सामेल भएछ । सेनाले हालसालै जङ्गलमा गोली ठोकेर मारेका रहेछन्, उसलाई । विजय र उसका साथीहरूको सम्पर्क थाहा पाउन पनि मामालाई बारम्बार प्रहरी प्रशासनले दुःख दिँदोरहेछ ।

त्यसपछिको भेट चीन जाँदा भयो, उहाँसँग । यतिखेर भने मुलुकमा गणतन्त्र आइसकेको थियो । उहाँ प्रगतिशील लेखक संघमा अध्यक्ष हुनुहुन्थ्यो । एउटै टोलीमा थियौं हामी । यतिखेर पनि खासै कुरा भएन हाम्रो । उहाँ लगायतका केही मित्रहरूले चीनका विभिन्न साहित्यिक जमघटहरूमा परम्परागत नेपाली प्रगतिशीलताको दृष्टिबाट कार्यपत्र र धारणाहरू प्रस्तुत गरेका थिए । नेपालमा प्रगतिशील कित्ता बाहेकका लेखकहरू यथास्थितिवादी प्रतिगामी हुन् भन्नेजस्ता उनीहरूका निष्कर्षलाई मैले चुप लागेर सुनिरहेँ । एउटै टोलीमा गएकाले चिनियाँका अगाडि विवाद गर्न उपयुक्त लागेन । नेपालमै यस विषयमा बहस विवाद भएकै छन्, यहाँ आएर चिनियाँलाई किन सुनाउनुपरेको होला जस्तोचाहिँ लागिरह्यो । त्यसमाथि चीनको साहित्यिक प्रगतिशीलताले त्यतिखेर निकै फड्को मारिसकेको अवस्था रहेछ । उहाँको टोलीका कतिपयले भने त्यसलाई चिनियाँ साहित्यिक-सांस्कृतिक क्षेत्रमा आएको पुँजीवादी विचलन भने । नेपाल फर्केपछि आफ्नो उकुसमुकुस मैले कान्तिपुरमा लेख लेखेर प्रकट गरेँ ।

कहिल्यै फोन नगर्ने मान्छे, यही मंसिरमा घनश्याम मामाले एकदिन फोन गर्नुभएको थियो- भाञ्जी, बुवा यसै माघ १२ गते असी वर्ष पुग्नुहुन्छ । स्याङजा साहित्य परिषदको पनि अध्यक्ष, धेरै अगाडिदेखि उहाँले साहित्यिक, सामाजिक, प्रशासनिक क्षेत्रमा प्रशस्त योगदान गर्नुभएको छ । यसै मौकामा अभिनन्दन गर्न कसो होला ? सल्लाह गर्नलाई फोन गरेको ।

आफ्नो बुवाको अभिनन्दनको कुरा सुनेर म खुसी भएँ । त्यसपछि हाम्रो थुप्रैपल्ट कुराकानी, भेटघाट भयो । गण्डकी साहित्य परिषदले अभिनन्दन गर्ने कार्यक्रम तय भएको रहेछ । परिषद लगायत गण्डकी अञ्चलका केही अन्य साहित्यिक संस्थाहरूले पनि बुवाको अभिनन्दन गरे । प्रमुख अतिथि एकेडेमीका उपकुलपति गंगाप्रसाद उप्रेती हुनुहुन्थ्यो । अभिनन्दन ग्रन्थ तयारी समितिको घोषणा पनि भयो, चलचित्र निर्देशक चेतन कार्कीका संयोजकत्वमा । घनश्याम मामा पनि सदस्य बन्ने कुरो सुनेकी थिएँ, त्यतिखेर भने नाम सुनिन उहाँको ।

आफूले सुरु गरेको काम राम्ररी सम्पन्न हुँदा मामा प्रसन्न हुनुहुन्थ्यो । कार्यक्रम सकिएपछि मलाई एउटा कुनामा बोलाएर भन्नुभयो, मचाहिँ अहिले समितिमा नबसौं भाञ्जी । वैशाखदेखि मेरो प्रगतिशील लेखक संघतिरको दायित्व सकिन्छ, स्वतन्त्र हुन्छु । यतिखेर यो समितिमा बस्ता केही साथीहरू खुसी नहोलान् । वैशाखबाट भने म समितिमै बसेर काम गर्छु । सामान्य एउटा पुस्तक छाप्ने समितिमा बस्ने निर्णय गर्न पनि आफूले ढुक्कसँग नसक्ने कस्तो बाध्यता हुनेरहेछ, प्रगतिशील भनिने संस्थामा भनेर छक्क परेँ म । समितिमा बस्न किन अप्ठेरो पर्‍यो चाहिँ प्रस्ट भन्नुभएन । लाग्यो, बुवा राजाको पक्षमा बोल्ने मान्छे भएकाले उहाँका साथीहरूले आपत्ति गरे कि ? मनमनै सोचेँ, यदि त्यसै हो भने पनि राजाको साखुल्ले हुन को बाँकी रह्यो र ? गिरिजाप्रसाद भएनन् कि, प्रचण्ड भएनन् कि वा बाबुरामै भएनन् कि ? संसदवादी पार्टीहरूलाई ठीक लगाउन वीरेन्द्रसँग कार्यगत एकता गर्ने माओवादी पार्टी नै त थियो ।

२०६८ फागुन १ गते । वीर अस्पतालको इमर्जेन्सीभन्दा भित्रको कोरिडरको कुनामा एउटा गुड्ने बेडमाथि घनश्याम मामाको मृत शरीर उत्तानो परेर लमतन्न सुतिरहेको थियो । शरीरमाथि सेतो तन्ना ओढाएको, चिम्लिएका आँखा, शान्त अनुहार सुतिरहेझैं देखिनुहुन्थ्यो । नजिक गएँ, नाकबाट बगेको रगतका ससाना सिर्का कानसम्म पुगेको थियो । तन्नाले नछोपिएको ठाउँबाट कोट, खैरो कमिज, गाढा खैरो पाइन्ट र खुट्टामा खरानी रंगका मोजा देखिइरहेथे । टाउकोमा भने सधैं लगाउने टोपी थिएन । हेरेँ, कपाल एउटा पनि फुलेको रहेनछ । भृकुटीमण्डपमा प्रहरी क्लबका अघिल्तिर बाटो काट्दै गर्दा मोटरसाइकलले हानेर भुइँमा ढलेपछि प्रहरीले यहाँ ल्याएको एकैछिनमा प्राण गइहालेछ ।

छक्क परिरहेथेँ म, घनश्याम मामाले स्वतन्त्रता पर्खेको वैशाख आउन दुई महिना पूरै बाँकी हुँदा मामा भने संसारैबाट स्वतन्त्र हुनुभयो । शोकले विह्वल उहाँकी कान्छी छोरी वन्दना सम्झी-सम्झी रोइरहिथी-बाबाले बसेर लेख्न सजिलो हुने नयाँ मेच किनेर ल्याउनुभएको थियो । भन्नुहुन्थ्यो, जीवनमा धेरै संघर्ष गरियो, भागदौड गरियो । अब केही वर्ष शान्तसँग बसेर योजनाबद्ध ढङ्गले लेख्ने-पढ्ने काम गर्छु । जीवनमा राज्यका कुनै मेचमा नबस्नुभएका मामाले आफैं किनेर ल्याएको सुविस्ताको मेचमा बसेर लेख्न भने पाउनुभएन । वन्दना नियति मान्छे कि मान्दिन, थाहा छैन । मलाई भने लाग्छ, हाम्रा योजना हामी कहाँ बनाउँछौं र ?

यो शरीरबाट जे निस्केर उडेपछि मान्छेको सांसारिक भौतिकी सकिन्छ, निस्केर जाने त्यस ऊर्जा तत्त्वप्रति म सधैं जिज्ञासु रहेँ । मैले सधैं नै विश्वास गरेँ, सबै भौतिकीहरू यतै छाडेर त्यो अभौतिक तत्त्व आफ्ना कर्महरू साथ लिएर यात्रामा निस्कन्छ । मान्छेको अर्को जन्म वा अजन्म यिनै कर्मद्वारा निर्धारित हुन्छ । आत्मा भने पनि वा सत्व भने पनि, त्यो अभौतिक अशरीर तत्त्व मर्दैन । रोइरहेकी वन्दनालाई सान्त्वना दिन मन लागेको थियो, पीर नगर बहिनी, शरीर समाप्त भए पनि तिम्रो बाबाको आत्मा मरेको छैन, मर्दैन । कम्युनिष्ट विचारधारामा प्रशिक्षित, कम्युनिष्ट बाबुकी छोरी, के भन्ठान्ली भनेर भन्नचाहिँ सकिन । आफैंलाई आश्चर्य लाग्यो, के भनेर सम्झाउने होला उसलाई ?

हस्याङ-फस्याङ गर्दै आएकी प्रथम महिला हिसिला यमीले भने वन्दनालाई अँगालो हालेर सुम्सुम्याउँदै भनिन्, पीर नगर्नुस्, यस्तो हुन्छ । यो छलाङ हो, युद्धमा पनि हुन्छ छलाङ र जीवनमा पनि हुन्छ । सोचेँ, छलाङ भनेको विशेष प्रयत्न र परिश्रमद्वारा सामान्यभन्दा धेरै छिटो अघि पुग्ने प्रक्रिया हो । पुनर्जन्म मान्ने हो भने एउटा कुरा, नत्र मृत्युलाई सम्पूर्ण समाप्ति मान्ने हो भने यो छलाङ कसरी भयो र ? म बुझिरहेकी थिइन । घनश्याम मामालाई हेर्न आउनेहरूको भीड बढिरहेथ्यो, प्रायः सबैजना वाम साहित्य र राजनीतिमा संलग्न मान्छेहरू नै देखिरहेथेँ । यस्तो किन हुन्छ कुन्नि ? म बुझ्दिन । यस्तैमा भित्रबाट आएका एकहुल मान्छेलाई बाहिर निस्कन बाटो खुलाउन थाले केही ठिटाहरूले । मोहन वैद्यलाई आइरहेको देखेँ, पछाडि सशस्त्र प्रहरीको टोली थियो । एकैछिन अघि प्रचण्ड आएका थिए रे ।

पछाडिबाट बाहिर निस्कने ढोका थियो । शवको पोष्टमार्टम गराउन टिचिङ हस्पिटल लैजानुपर्ने रहेछ । बेड गुडाउँदै बाहिर चोकमा लगे, हामी पनि गयौं । मैले बिहान घरबाट निस्कँदा आँगनमा फुलेका सयपत्रीका केही थुङ्गा चुँडेर लगेकी थिएँ । त्यहाँ आएका कसैले फूल लगेका थिएनन् । के गरुँ भनेर एकछिन अलमल्ल परेँ । ल्याइसकेको फूल कसरी फिर्ता लैजानु भनेर आँट निकालेर सेतो तन्नाले छोपिरहेको शवको छेउमा पुगेँ र खुट्टातिर तन्नामाथि फूलहरू छरिदिएँ । मनमा शान्ति भएजस्तो भयो ।

बिहान सँगै भात खाएर लोग्नेलाई विदा गरेकी माइज्यूलाई लोग्नेको मृत्यु भएको थाहै थिएन । माइज्यूलाई लिन मान्छे पठाउनुभयो त्रिलोचन मामाले, कीर्तिपुर डेरामा । मैले बाबालाई फोन गरेँ, छिटो आऊ भनेर । ऊचाहिँ टोखामा त्यहाँको नेवार समुदायले निकालेको शोभायात्रामा बाजागाजाका बीच फूलमाला लगाएर दुलाहाजस्तो भएर स्कुलतिर कार्यक्रममा हिँड्दै रहेछ । बिहान हामी सँगै शरदको बिहा छिन्ने कार्यक्रममा अन्नपूर्ण होटलमा थियौं । मेरा निधारमा अझै राता अक्षेता थिए । घनश्याम मामा आफैं पनि जनयुद्ध दिवसको शोभायात्रामा सामेल हुन आउँदै गर्दा यो दुर्घटना भएको थियो । जीवनमा शोक र उत्सवका बीच के फरक हुन्छ । शुभ र अशुभ के हो, बुझ्न सकिरहेकी थिइन, यतिखेर । शोभायात्रादेखि शवयात्राको दूरी नै के हुनेरहेछ र जीवनमा ? सभासद भएदेखि नरहरिजीको धेरै समय यसै क्षेत्रका वासिन्दाका सुखदुःखका अवसरमा सामेल हुँदा सकिने गर्छ- पास्नी, व्रतबन्ध, बिहाभोज, बैठक र आर्यघाट जाने अवसरसमेत उसले एउटै रुटमा भ्याएको हुन्छ, प्रायः दिनदिनै जस्तो ।

चिसो स्याँठ चल्न थाल्यो । कालोनीलो भयो आकाश, बादल मडारिन थाले । पानी छिट्याएपछि शवलाई बीचमा बन्दै गरेको सेडमा उकाले । जेठी छोरी सिर्जना एयरपोर्टमा आइसकेकी छन् भनेपछि उनलाई पनि पर्खने कुरा भयो । सिर्जना मामाको शवका छेउमा आउँदा म त्यहीं उभिरहेकी थिएँ । उसले बाबा भनेर एकपल्ट बोलाइ र आफ्नो मृत बाबुको छातीमाथि टाउको राखेर भक्कानिएर रुन थाली । बडो मायाले बेडमाथि चिरनिद्रा सुतिरहेका आफ्ना बाबाको हात एकोहोरो मुसारिरहेकी वन्दना मेचबाट उठी र दिदीलाई अँगालो हालेर रुन थाली । यी बहिनीहरूको क्रन्दनले वातावरण अझ चिसो भयो । केही बेरमा नरहरिजी पनि आइपुग्नुभयो । विपरीत विचार बोक्नेसँग पनि सहज संवाद गर्नसक्ने सामथ्र्य थियो घनश्याम ढकालको भन्ने निष्कर्ष थियो, उहाँको । सुक्सुकाउँदी सानो काँटीकी मानुषी यमी भट्टराई वन्दनाका छेउमा छायाझैं थिई सुरुदेखि नै । सहयोगी र विनम्र स्वभावकी यो सरल केटी घरी आँखाभरि आँसु गर्थी, घरी यताउता घुमेर साथीहरूसँग दह्रोगरी हात मिलाउँथी ।

माइज्यूलाई मामाको मृत्यु भइसकेको कुरा भन्नसकेका रहेनछन्, लिन जानेहरूले । मसिनो रातो बुट्टा भएको सेतो पातलो सारी, खस्रो घरेलुको ओढ्नेले कपालसमेत ढाकेकी दुब्ली, सानी, पचास वर्षजतिकी चप्पल लगाएकी एउटी गाउँले आइमाईलाई समातेर लासतिर ल्याइरहेथे मान्छेहरू, म सन्न भएर हेरिरहेथेँ । चट्याङ खस्न लागेझैं भएको थियो मन लौन, अब के हुने हो ? सेतो कपडाले छोपेको शवछेउ आफूलाई ल्याउँदा उहाँ स्तब्ध हुनुहुन्थ्यो सुरुमा, चेष्टाशून्य, वरिपरिका मान्छेको मुखमा हेर्नुभयो क्वारक्वार्ती । शवको मुखको कपडा हटाउँदा आफ्ना श्रीमानलाई देखेपछि भने करुण आर्तनाद निस्क्यो, उहाँका मुखबाट । रुन, चिच्याउन थाल्नुभयो । ती दुब्ली आइमाईलाई कसैले समाउन सकेनन्, त्यतिखेर । मेरो मन निरन्तर रोइरहेको थियो । मुलुक बदल्छु भनेर पढ्दा-पढ्दै बेपत्ता भएको जवान छोरो राज्यद्वारा मारियो, यतिखेर दुर्घटनामा लोग्ने मरेका छन् । कसरी खप्छिन्, यी स्वास्नीमान्छेले आगोजस्ता वियोगका शृङखला ? मेरो राजा….मलाई छोडेर कहाँ जानुभयो नि मेरो राजा ? तपाईंलाई केही भएकै छैन । बारम्बार बौरँदै होश हराउँदै गरेको अवस्थामा हुनुहुन्थ्यो उहाँ । उहाँले स्वस्फुर्त उच्चारण गरेको राजा शब्द सुनेर सोचेँ, यो शब्दले नेपाली भाषामा ‘मुलुकका ठूला-साना सामन्त’को मात्रै अर्थ बोक्तैन सायद । आफूलाई सबैभन्दा मनपरेको व्यक्तिलाई पनि राजा भन्छन्, नेपालीहरू । नरहरिजी आइपुगेपछि बुवालाई लिएर राजीव र म त्यहाँबाट निस्क्यौं । सोचिरहेकी थिएँ, आफूलाई इच्छा लागेका, मनपरेका कुराहरू गरिहाल्नुपर्ने रहेछ । के थाहा, पर्खिबस्ता दैवले समय दिन्छ कि दिँदैन ?

(Visited 120 times, 1 visits today)

टिप्पणी

comments