Main Menu

मेरो दृष्टिमा घनश्याम ढकाल

ghanashyam-dhakal-my-view-matrika-pokharel

  • मातृका पोखरेल

नेपाली प्रगतिवादी साहित्य र संस्कृतिको क्षेत्रमा सक्रियतापूर्वक योगदान दिइरहेकै बेलामा २०६८ साल फागुन १ गते मोटरसाइकल दुर्घटनामा परेर वरिष्ठ प्रगतिवादी साहित्यकार घनश्याम ढकालको असामायिक निधन भयो । सङ्गठनमा उहाँको सक्रियता, साहित्य लेखनमा निरन्तरता, माक्र्सवादी सौन्दर्य चिन्तनको क्षेत्रमा उहाँको अध्ययनका दृष्टिले हेर्ने हो भने उहाँको यो निधन अपुरणीय क्षति थियो ।

साहित्यकार घनश्याम ढकालसँग मेरो भेटघाट र चिनजान भएको पनि दुई दशकको समय बितिसकेछ । २०४८ सालभन्दा पहिले नै भेट भएको हुनसक्छ । तर मैले यकिन समय सम्झन सकिन । २०४८ सालमा कीर्तिपुरमा अखिल नेपाल जनसांस्कृतिक सङ्घको राष्ट्रिय भेला भएको थियो । उहाँसँग त्यही कार्यक्रममा भेट भएको सम्झना मात्र मसँग छ । कवि कृष्ण सेन ‘इच्छुक’ त्यो भेलाबाट अध्यक्ष निर्वाचित हुनुभएको थियो । त्यो भेलामा घनश्याम दाइले आफ्ना केही विचारहरू राख्नुभएको मलाई राम्ररी सम्झना छ । त्यो भेलाबाट बनेको कार्यसमितिमा उहाँ पनि रहनुभएको थियो । त्यसयताका समयहरूमा उहाँसँग मेरो नियमित भेटघाट भयो । केही सङ्गठनहरूमा उहाँसँग सँगसँगै काम गर्ने मौका समेत मिल्यो ।

त्यसबेलाको समयमा उहाँको मूल जिम्मेवारी सांस्कृतिक सङ्गठनमा थियो तर मेरो चाहिं युवा सङ्गठनको जिम्मेवारी थियो । हामी दुवैजना एउटै पार्टी अन्तर्गतका जनवर्गीय सङ्गठनमा कार्यरत थियौं । तीनवटा पार्टीहरूको एकता पश्चात त्यसबेला भरखरै मात्र ने.क.पा. (एकताकेन्द्र) बनेको थियो । घनश्याम दाइ तत्कालीन ने.क.पा. (मशाल) हुँदै (चौ.म.) मार्फत एकता प्रक्रियामा आउनुभएको थियो । साहित्य र संस्कृति विषयको मेरो रुचिका कारण उहाँसँग सम्पर्क नजिकिदै गयो ।

केही समयको सहकार्यपछि हामी फेरि सँगसँगै रहन सकेनौं । २०५० सालमा एकताकेन्द्रमा फुट आयो । म एकताकेन्द्र तिरै रहें उहाँ माओवादीतिर । एकताकेन्द्रमा ने.क.पा. (माओवादी)ले सशस्त्र सङ्घर्ष सुरु गर्दाका आरम्भिक अवस्थामा उहाँलगायत खुला क्षेत्रमा काय गर्ने साथीहरूका लागि खासै कष्टकर नभएको हामी महसुस गथ्र्यौं । घनश्याम ढकालले आफू सहभागी भएका मञ्चहरूबाट जनयुद्धको पक्षमा बहस गरेको मैले धेरै पटक सुनेको छु । तर उहाँ त्यहाँभित्र देखिएका गलत पक्षहरूको आलोचना गर्न पनि चुक्नु हुन्नथ्यो । यो कारणले पनि हुनसक्छ, हाम्रा बीचको भेटघाट र छलफलका लागि कुनै असहजपन सिर्जना हुँदैनथ्यो ।

घनश्याम ढकाल भिन्न विचार भएका मानिसहरूसँग आफ्ना कुराहरू राखेर साझा विषयहरूमा सँगसँगै काम गर्ने क्षमता राख्नुहुन्थ्यो । २०५४ सालमा भएको प्रगतिशील लेखक सङ्घको चौथो राष्ट्रिय सम्मेलनमा ने.क.पा. (एमाले) पक्षधरका साहित्यकार साथीहरूले साझा मञ्चको मान्यतालाई लत्याएर सङ्घलाई एकलौटी बनाए । निनु चापागाईं, कृष्ण सेन ‘इच्छुक’, घनश्याम ढकाल लगायतका साथीहरूसहित हामीले उक्त सम्मेलन बहिष्कार गर्न बाध्य भयौं । एमालेनिकट साहित्यकार साथीहरूले साझा मञ्चको गौरवमय मूल्यबाट टाढिएको प्रलेस चलाउनु र जनसांस्कृतिक मञ्च चलाउनुमा कुनै भिन्नता महसुस गर्ने कुरा थिएन । आफूले गल्ती गरेको महसुस गर्दै उनीहरू फेरि साझा मञ्चको मान्यताअनुसार चलाउने आग्रहका साथ हामीसँग छलफल गर्न आइपुगे । तीन वर्षे कार्यकाल पूरा नभई २०५६ सालमै प्रगतिशील लेखक सङ्घको पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न भयो । निनु चापागाईको अध्यक्षतामा बनेको उक्त कार्य समितिमा घनश्याम ढकाल उपाध्यक्ष र जीवेन्द्रदेव गिरी महासचिव बन्नुभयो । प्रगतिशील लेखक सङ्घलाई साझा मञ्चको मान्यताअनुसार संचालन गर्न उहाँको ठूलो भूमिका रह्यो । प्रलेसको छैठौं राष्ट्रिय सम्मेलनबाट उहाँ महासचिवमा निर्वाचित हुनुभयो । त्यो समय हामी परिवर्तनकारी स्रष्टाहरूका लागि सबैभन्दा कष्टकर थियो । राज्य आतङ्क तीव्र थियो । प्रगतिशील लेखक सङ्घका कैयौं सदस्यहरू राज्यद्वारा बेपत्ता बनाइएका थिए । राज्यले परिवर्तनकामी साहित्यकारहरूमाथि क्रुर दमन र हत्याको शृङ्खला अघि बढाएको थियो । माओवादी निकट सांस्कृतिक सङ्गठन अखिल नेपाल जनसांस्कृतिक सङ्घको उपाध्यक्ष भएको कारणले घनश्याम ढकाल राज्यको आँखामा झनै ठूलो बैरी हुनुहुन्थ्यो । एकातिर प्रगतिशील लेखक सङ्घको महासचिव भएर देशभरिका प्रगतिशील साहित्यकारहरूलाई नेतृत्व प्रदान गर्नुपर्ने, अर्कोतिर राज्यको गिद्धे दृष्टिबाट बच्नुपर्ने जस्तो त्रासद अवस्थाबाट उहाँले काम गर्नुपर्ने बाध्यता थियो । प्रगतिशील लेखक सङ्घको महासचिव र अखिल नेपाल जनसांस्कृतिक सङ्घको उपाध्यक्ष रहेको कारणले ने.क.पा. (माओवादी)ले पनि उहाँलाई उपत्यकामै रहने गरी पार्टीको जिम्मेवारी दिएको बुझिन्थ्यो । त्यसबेला उपत्यकाको पार्टी काम पटक्कै सहज नभएको हामी जनयुद्धबाट टाढा रहेकाहरू अनुमान गर्ने गथ्र्यौं । एकदिन साँझमा उहाँ मेरो कोठामा आइपुग्नुभयो र सेल्टरको समस्या परेको कुरा बताउनुभयो । सेल्टरको अफ्ठ्यारोले उहाँ केही दिन मेरो कोठामै बस्न चाहनुहुन्थ्यो । माओवादी जनयुद्धबाट पृथक र जनयुद्धप्रति आलोचनात्मक धारणा राख्ने हामी जस्ता लेखकहरू समेत राज्यका लागि खतरनाक नै थियौं । हामीप्रति पनि एक प्रकारको निगरानी छ भन्ने सूचनाहरू कतै कतैबाट हामीसम्म आइपुग्थ्यो । त्यसैले मेरो कोठा दाइका लागि उपयुक्त नहुन सक्छ भनेँ मैले । त्यस रात उहाँ मेरो कोठामा बसेर टेलिफोनबाटै अस्थायी सेल्टरको व्यवस्था गरेर भोलिपल्ट बिहान हिंड्नुभएको थियो ।

घनश्याम ढकाललाई त्यसबेला काठमाडौंमा रहेर काम गर्नु अत्यन्त चुनौतीपूर्ण थियो । अफ्ठ्यारा र जटिलताहरूसँग सामना गर्न सहज नभएरै होला एक दिन टेलिफोन गरेर उहाँले ‘जनएकता’ साप्ताहिकको कार्यालयमा भेटेर केही कुरा गर्न चाहेको बताउनुभयो । आफू जनयुद्धभित्रै रहेको तर खुला रूपमा काम गर्न अफ्ठ्यारो भएकाले प्रतिक्रियावादीहरूको आँखा छल्नका लागि ‘जनएकता’ पत्रिकामा आफूले एउटा वक्तव्य प्रकाशन गर्न खोजेको बताउँदै वक्तव्यको ड्राफ्ट देखाउनु भयो । त्यो वक्तव्यका बारेमा उहाँले धेरै साथीहरूसँग सल्लाह गर्नुभएछ । आखिर ‘जनएकता’मा त्यो वक्तव्य प्रकाशित भयो । आन्दोलनका दृष्टिले हेर्दा त्यो वक्तव्य एउटा सानो कमजोरी थियो । जुनसुकै तरिकाले भए पनि घनश्याम ढकाललाई सिध्याएर आफूमाथि उक्लिन सकिहालिन्छ कि भन्ने भ्रम पालेका केही साथीहरूले त्यो वक्तव्यलाई लिएर आकाश खसेकै जस्तो गरेर प्रचार गरे । तर, त्यही कमजोरीमा टेकेर उहाँ सिद्धिएको टिप्पणी गर्नु जायज छँदै थिएन । एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिले आयोजना गरेको श्रद्धाञ्जली सभामा कमरेड चैतन्यले भनेझैं उहाँ एक महान् क्रान्तिकारी हुनुहुन्थ्यो । ‘जनएकता’ साप्ताहिकमा उहाँको वक्तव्य प्रकाशित भइसकेपछिका कैयौं भेटघाटहरूमा मैले घनश्याम ढकाललाई जनयुद्धप्रति त्यतिकै आस्था र विश्वास भएको एउटा सचेत स्रष्टाका रूपमा पाएको थिएँ । जीवनका कैयौं सांस्कृतिक मूल्यहरूलाई आधारित मानेर उहाँको मूल्याङ्कन गर्ने हो भने उहाँ जनवादी सांस्कृतिक आन्दोलनभित्र विरलै मात्र पाइने व्यक्तित्व हुनुहुन्थ्यो ।

साहित्यकार घनश्याम ढकाललाई मैले केही साहित्यिक सांस्कृतिक प्रसङ्गहरू मार्फत नजिकैबाट बुझ्ने र अध्ययन गर्ने अवसरहरू प्राप्त गरेको छु । पुरस्कार र सम्मानको विषयलाई लिएर मैले घनश्याम ढकालको उन्नत पक्षका बारेमा नजिकैबाट अध्ययन गर्ने मौका पाएको छु । हाम्रो देशका साहित्यकारहरूले पुरस्कार र सम्मानका लागि मरिहत्ते गर्ने गरेका घटनाहरू हामीले बारम्बार पढ्ने सुन्ने र देख्ने समेत गर्ने गरेका छौं । पुरस्कार दाताहरूकहाँ चाकरी गर्न जाने साहित्यकारहरूको सूची बेलाबेलामा हामीले अखबारहरूमा पढ्ने गरेकै छौं । त्यसो नहुँदा पनि पुरस्कारको आशा गर्नेहरू प्रशस्त हुने नै भए । तर, घनश्याम यो जमातका बीचमा धेरै पृथक हुनुहुन्थ्यो । यस्तै विषयको एउटा प्रसङ्गमा घनश्याम दाइसँग म पनि जोडिएको छु । २०६४ सालमा साहित्य सन्ध्याले साहित्य सन्ध्या पुरस्कार सिफारिस गर्न एउटा समिति बनाएको थियो । वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको संयोजकत्वमा बनेको उक्त छनौट समितिमा कवि अनिल पौडेल र मलाई पनि राखिएको थियो । छनौट समितिको पहिलो बैठकमा हामीले एउटा सूची तयार ग¥यौं । त्यो सूची करीब सात आठ जनाको थियो होला । त्यो सूचीभित्र घनश्याम ढकालको नाम पनि परेको थियो । कवि अनिल पौडेलले भनिहाल्नुभयो– ‘यो सूचीमध्ये सबैभन्दा उपयुक्त नाम त घनश्याम ढकाल हो ।’ अनिल पौडेलको कुरासँग मैले तुरुन्तै सहमति जनाएँ । आनन्ददेव भट्टले पनि तुरुन्तै थपिहाल्नु भयो– ‘उहाँले पुरस्कार ग्रहण गरिदिनुभयो भने त त्योभन्दा उपयुक्त मात्र अर्को को हुन्छ र ?’

हामी सबैको मत शतप्रतिशत मिल्यो । तर हामी सबैमा एउटा शङ्का बाँकी थियो, घनश्याम ढकालले यो पुरस्कार ग्रहण गर्नुहुने हो कि होइन भन्ने विषयमा । केही वर्ष पहिले उहाँले राष्ट्रिय प्रतिभा पुरस्कार अस्वीकार गर्नुभएको थियो । यही शङ्काका कारण साथीहरूले घनश्याम ढकालको अनुमति लिएर निर्णय गर्ने जिम्मा मलाई दिनुभयो ।
साँझमा घर गएर घनश्याम ढकाललाई मैले फोन गरें । उहाँ त्यसबेला पोेखरामै हुनुहुन्थ्यो । मैले सबै कुरा भनिसकेपछि निर्णय गर्न मसँग एक दिनको समयावधि माग्नुभयो । उहाँले भनेकै समयमा भोलिपल्ट साँझमा फोन गरेर मसँग पनि साहित्य सन्ध्या पुरस्कार लिन उपयुक्त हुने हो कि होइन भनेर राय माग्नुभयो र मुस्किलैले ल हुन्छ नि त भन्नुभयो ।

यतिबेला पुरस्कार र सम्मान दिने कतिपय संस्थाहरू विकृतिको उद्गमस्थल जस्ता बन्न थालेका छन् । कुन पुरस्कार ठीक र कुन पुरस्कार बेठीक भनेर छुट्याउने धारणा पनि हामीले निर्माण गर्न सकिरहेका छैनौं । बीस हजार चन्दा दिएर दश हजारको पुरस्कार हात पार्दै समाचारहरूमा छाउन लोभ गर्नेदेखि लिएर नगद पुरस्कार घोषण गर्दै पुरस्कृतहरूलाई खाली खाम दिने सम्झौता गर्ने दाताहरूको नेपाली साहित्यिक बजारमा उल्लेख्य उपस्थिति छ । यो बजारभित्र घनश्याम ढकालजस्ता मानिसहरू पनि थिए भन्दा हामीलाई अचम्म लाग्न सक्छ । पुरस्कार र सम्मानका बारेमा चर्चा हुँदा म बारम्बार घनश्याम ढकालको यो प्रसङ्गलाई सम्झने गर्छु । पुरस्कार र सम्मानका बारेको उहाँको धारणालाई हामी सबैले आत्यसात गर्न जरुरी छ ।

मैले घनश्याम ढकाललाई बुझ्न पाएको अर्को पाटो पनि छ । मेरो त्यो बुझाइले उहाँ सांस्कृतिक रूपमा सम्पन्न मानिस हुनुहुन्थ्यो । घनश्याम ढकालका पछिल्ला दिनहरू धेरै अभावमय थिए । उहाँको आर्थिक दुरावस्थाका बारेमा कवि बलराम तिमिल्सिना, कवि गणेश भण्डारी, मलगायतका केही साथीहरू राम्ररी परिचित थियौं । एकातिर उहाँ आर्थिक कठिनाइ भोगिरहनुभएको थियो, अर्कातिर उहाँलाई प्रस्तावित गरिएको नेपाल टेलिभिजनको अध्यक्ष पद अस्वीकार गरिरहनुभएको थियो । उहाँका अगाडि यस्ता थुप्रै सम्भावनाहरू थिए । आफ्नै विचार अनुकूलको सरकार थियो । सरकारले नियुक्त गर्ने र घनश्याम दाइलाई अनुकूल हुने अध्यक्ष तथा महाप्रबन्धक आदि पदहरू प्रशस्तै थिए । तर उहाँले त्यतातिर लोभी आँखा लगाएको मैले कहिल्यै सुन्न पाइनँ । बरु, पछिल्लो समयमा पार्टीमा समावेश भएकाहरू तर आन्दोलनमा कुनै लामो योगदान नभएकाहरूले केही पाइएन भनेर गुनासो गरेको मैले थुपै्र पटक सुनेको छु । तर घनश्याम ढकाल यसको अपवाद हुनुहुन्थ्यो । तीन वर्षअघि जनयुद्धबाट आएका साहित्यकारहरू मात्र सहभागी बन्ने आन्तरिक नीति बनाएर नेपाल प्रज्ञा प्रतिष्ठानलगायत अन्य दुईवटै प्रतिष्ठानमा प्राज्ञहरूको एउटा सूची घोषणा गरियो । त्यो नियुक्तिमा पनि घनश्याम ढकालको नाम पारिएन । जसरी भए पनि आफू मात्र खाने नाममा जनयुद्धको खोलभित्र जनआन्दोलनका विरोधी मण्डलेहरूलाई अटाइयो । साथीहरूको बुद्धि पुगेको भए प्रज्ञा प्रतिष्ठानको त्यो कार्यकाललाई घनश्याम ढकाल जस्ता स्रष्टाहरूको सहभागितामा धेरै समृद्ध र उन्नत बनाउन सकिन्थ्यो । तर, आफ्नो स्तरको भेउ नपाएका साथीहरूको लोभले प्रज्ञाको त्यो सानो गाइजात्रा पर्व आखिर विघटन भयो । यस्ता विषयहरूमा घनश्याम ढकालले आफू नपरेको गुनासो कहिल्यै गर्नुभएन । यस प्रकारका विषयहरूभन्दा समग्र सांस्कृतिक आन्दोलनमा देखिएका समस्याहरूमा उहाँ चिन्ताका साथ छलफल गर्न रुचाउनुहुन्थ्यो । घनश्याम ढकालबाट हामी र नयाँ पुस्ताले सिक्नुपर्ने एउटा महत्वपूर्ण पाटो यो पनि हो ।

घनश्याम ढकाललाई सम्झँदै गर्दा मलाई जहिल्यै पनि अर्को एउटा सानो घटना बारम्बार याद आइरहन्छ । प्रगतिशील लेखक सङ्घको आयोजनमा ०५५÷५६ सालतिर इटहरीमा एउटा गोष्ठी भएको थियो । घनश्याम ढकाल त्यसबेला प्रगतिशील लेखक सङ्घको उपाध्यक्ष हुनुहुन्थ्यो । हामी काठमाडौंबाट पन्ध्र बीसजना इटहरी गएका थियौं । इटहरीको कार्यक्रमको व्यवस्थापनामा कवि अनिल पौडेल लाग्नुभएको थियो । अनिलजी त्यसबेला प्रलेसको केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो । केन्द्रबाट गएका साहित्यकारहरूलाई आउने–जाने खर्च र खाने–बस्ने प्रबन्ध आयोजक स्थानीय समितिले नै मिलाउने चलन प्रगतिशील लेखक सङ्घमा पहिले पनि थियो र अहिले पनि छ । कार्यक्रम सकिएपछि साहित्यकार रुद्र खरेल र म झापातिर जाने भयौं । निनु दाइ, घनश्याम दाइलगायत अरु साथीहरू काठमाडौं फर्कने हुनुभयो । अनिलजीले सबैलाई बस भाडा र खाना खर्च दिनुभयो तर घनश्याम दाइले ‘मसँग पुग्ने पैसा छ, किन लिने ?’ भनेर लिनुभएन । घनश्याम दाइसँगको यो विषयले पनि मलाई कहिलेकाहीं निकै सोचमग्न बनाउँछ । हेर्दा यो घटना सानो लाग्छ, तर यहाँभित्र जीवनमूल्यको उचाइ निकै अग्लो थियो भन्ने मलाई यो घटनाका कारण पनि बारम्बार लागिरहन्छ ।

आन्दोलनमा धेरै मानिसहरू लहैलहैमा आएका छन् । नबुझिकन लहैलहैमा लागेकाहरूमध्ये केहीले आफूलाई रूपान्तरण समेत गरेका छन् तर केहीले भने आन्दोलनमा सरिक हुनुपूर्वको सांस्कृतिक अवस्था जस्तो थियो त्यसमा कुनै परिवर्तन गर्न सकेका छैनन् । कतिपय अवस्थामा उनीहरू आफूलाई कुनै रूपान्तरण नगरीकन नेतृत्व तहमै पुगेका छन् । नेपालको कम्युनिस्ट आन्दोलनभित्र पहिले पनि यो समस्या थियो । यो समस्या झन बढ्दै गएको छ । घनश्याम ढकालको जीवन पढ्दा उहाँ कम्युनिस्ट आन्दोलनमा लहैलहैमा लाग्नुभएको थिएन । उहाँ पहिले नेपाली काँग्र्रेस निकट तरुण दलमा आबद्ध हुनुहुन्थ्यो । त्यसपछि तत्कालीन ने.क.पा. (माले) मा सङ्गठित हुनुभयो । मालेमा रहँदा तत्कालीन सोभियत सङ्घलाई हेर्ने दृष्टिकोणमा उहाँको फरक विचार रह्यो । तत्कालीन सोभियत सङ्घलाई हेर्ने दृष्टिकोणमा मालेमाभन्दा उहाँले आफूलाई तत्कालीन ने.क.पा. (चौम) को नजिक रहेको पाउनुभयो र उहाँ चौमतिर लाग्नुभयो । अध्ययनकै क्रममा उहाँले आफूलाइृ वैचारिक रूपले रूपान्तरित गर्दै लैजानुभयो । त्यति मात्र होइन, सिद्धान्त र विचारअनुसार आफू स्वयम्लाई रूपान्तरणको प्रक्रियामा लानुभयो । यस अर्थमा घनश्याम ढकाल आम कम्युनिस्ट कार्यकर्ताभन्दा पृथक हुनुहुन्थ्यो ।

घनश्याम ढकाल साहित्यिक अभियन्ता र स्रष्टा दुवै क्षेत्रमा समान रूपमा सक्रिय हुनुहुन्थ्यो । यी दुईमध्ये कुनैमा पनि उहाँलाई घटिबढी गर्न सकिंदैनथ्यो । लेखनमा पनि उहाँ त्यत्तिकै सक्रिय हुनुहुन्थ्यो । सङ्गठनात्मक काम र सम्पादनमा उहाँको सक्रियता पनि उल्लेखनीय थियो । जहिलेदेखि उहाँ कम्युनिस्ट आन्दोलनमा आबद्ध हुनुभयो, त्यो बेलादेखि नियामित रूपमा आफूले लिएको जिम्मेवारी इमानदारीताका साथ पूरा गर्नुभयो ।

सांस्कृतिक सङ्गठनका बैठकहरूमा उहाँ आन्दोलनकै साथीहरूमा कमजोर हुँदै गएको सांस्कृतिक पक्षहरूका बारेमा निकै कुराहरू उठाउनुहुन्थ्यो । आफूलाई समर्थन गरे सबैथोक राम्रो, समर्थन नगरे सबैथोक नराम्रो भन्ने वामपन्थी आन्दोलनभित्र हुर्किएको प्रवृत्तिप्रति उहाँ निकै आक्रोश व्यक्त गर्नुहुन्थ्यो । राजनीतिक पार्टीका नेताहरू र सांस्कृतिक आन्दोलनका नेताहरूमा आदर्श जीवन बिताउने क्षमता हुनुपर्छ भन्ने उहाँको धारणा थियो । घनश्याम ढकालले सिद्धान्त र विचारलाई गफ गर्ने विषयका रूपमा मात्र लिनुभएन, त्यसलाई आफ्नो जीवन र कर्ममा ढाल्न पनि प्रयत्न गर्नुभयो ।

माघ २८ गते बिहानै फोन गरेर घनश्याम दाइले केही कुरा गर्न चाहेको बताउनुभयो । त्यसपछि उहाँ साढे दस बजेतिर म काम गर्ने कार्यालयमा आउनुभएको थियो । ‘नेताहरूले हामीलाई टुक्राटुक्रा पारेर खाँदैछन् कि भन्ने लाग्न थालेको छ,’ भेटघाटको सामान्य भलाकुसारीसमेत सकिन नपाउँदै उहाँले वर्तमान राजनीतिक दृश्यप्रति चर्को आक्रोश पोख्नुभयो ।

नेतृत्वमा विकसित हुँदै गएको जीवनशैली र कार्यशैलीप्रति पहिलेपहिले पनि उहाँ निकै आलोचना गर्नुहुन्थ्यो । तर त्यसदिन उहाँको आलोचना अझ कडा थियो । उहाँको छोरा सहिद विजय ढकाल विश्वासको सहादतपछि त्यो क्रम पहिले पहिलेको भन्दा अझै बढेको महसुस गरेका थियौं हामीले । आन्दोलन र पूर्णकालीनकै नाममा मोजमस्तीपूर्ण जीवन बिताउने साथीहरूको ठूलो हिस्सा झल्झली देख्नुभएको थियो उहाँले । उहाँले अत्यन्तै अभावपूर्ण जीवन बिताइरहनुभएको थियो । प्रगतिशील लेखक सङ्घ र अखिल नेपाल लेखक सङ्घको अध्यक्ष जस्तो गरिमामय जिम्मेवारी बोकेको एउटा प्राज्ञिक व्यक्तिले कीर्तिपुरमा भान्सा पनि सँगसँगै भएको एउटा चिसो छिंडीमा जीवन निर्वाह गरेर बस्नुपर्ने बाध्यता थियो उहाँको ।

त्यसदिनको भेटमा हाम्रा बीचमा वामपन्थी आन्दोलनभित्र हुर्कँदै गएको कमजोर सांस्कृतिक पक्षका बारेमा निकै चर्चाहरू भए । उहाँको निधन हुनभन्दा दुईदिन अघिमात्र सांस्कृतिक विषयहरूमा हामीले धेरैबेर छलफल गरेका थियौं ।

२०६८ सालको फाल्गुण १ गते जनयुद्ध दिवस मनाउने तयारीमा थियौं हामीहरू । पौने एघार बज्न लाग्दै थियो । कार्यालयको टेलिफोनबाट कुनै साथीसँग कुरा गरिरहेको थिएँ । मोबाइलको घण्टी बज्यो । कवि अमर गिरीको रहेछ । कार्यालयको टेलिफोन राखेर अमरजीको फोन रिसिभ गरें ।

‘घनश्यामजीलाई के भएको हो ?’ उहाँले नै यसरी मलाई पहिलो प्रश्न गर्नुभयो ।

‘को घनश्याम ?’ उहाँको कुरालाई मैले अझ पुष्ट्याउन खोजें ।

‘घनश्याम ढकाल क्या, घनश्याम ढकाल ।’ उहाँ अलि आत्तिएको स्वरमा बोलिरहनुभएको थियो । ‘के भयो र उहाँलाई ? मलाई केही पनि थाहा छैन त ।’

दुर्घटनामा परेर उहाँलाई वीर अस्पतालको इमर्जेन्सीमा ल्याइएको छ रे । ल तपाईं कुदिहाल्नुस् त ।’ यसपछि अरु केही थाहा नभएको कुरा गर्नुभयो उहाँले ।

वीर अस्पताल नजिकै थियो मेरो कार्यालय । अस्पतालका लागि कुद्दै गर्दा बाटैबाट मैले पहिलो फोन घनश्याम दाइकै छोरी वन्दनालाई गरें र दोस्रो फोन बलराम तिमिल्सिनालाई । वन्दनाले दुर्घटनाको सूचना पाइसकेकी रहिछन् र ट्याक्सीमा आफू अस्पताल आइपुग्नै लागेको जानकारी दिइन् । दुर्घटनाबाट विस्तृत जानकारी उनलाई पनि थाहा रहेनछ ।

वीर अस्पतालको इमर्जेन्सी वार्डमा प्रवेश गर्नेबित्तिकै मैले सोच्दै नसोचेको दृश्य देखें । वन्दना आफ्ना पिता घनश्याम ढकालको मृत शरीरलाई छाँद हालेर रोइरहेकी थिइन् । साथीहरू आउने क्रम सुरु हुँदै थियो ।

मानिस जिवितै रहेको बेलामा उसको अनुपस्थितिले पार्ने प्रभावका बारेमा सोचिंदोरहेनछ । वरिपरिको वातावरणले घनश्याम ढकालको निधन अपुरणीय क्षति हो भन्ने निस्कर्ष निकाल्न झनै हौस्याइरहेको छ । आफैसँग हिंडिरहेका साथीहरू हेर्छु, काम र कुराका बिचमा नाघ्नै नसकिने खाडलहरू फाट्दै गएका छन् । केही साथीहरू अभाव र पीडाका बीचमै क्रान्ति र परिवर्तनको क्षितिज नियालिरहनुभएको छ । तर यस्ता साथीहरूको संख्याभन्दा जुनसुकै तरिकाले अवसर हत्याइहालुँ भन्ने साथीहरूको संख्या बढिरहेको छ । घनश्याम ढकालको निधनका दिनहरू जतिजति बित्दै छन् उहाँको अभाव झनै खट्किँदो छ ।

(पोखरेल हाल प्रगतिशील लेखक संघका अध्यक्ष छन् ।)

(Visited 43 times, 1 visits today)

टिप्पणी

comments