Main Menu

वेदबारे जान्नैपर्ने कुराहरू : देवीप्रसाद चट्टोपाध्याय

लेखक देवीप्रसाद चट्टोपाध्याय

लेखक देवीप्रसाद चट्टोपाध्याय

‘वेद’ शब्दको अर्थ हो ज्ञान, वेद–भक्तहरूको दृष्टिमा यो ज्ञान चरम ज्ञान हो, पवित्र ज्ञान हो, दैवी ज्ञान हो । तर ठोस रूपमा यो शब्द साहित्यिक कृतिहरूको एक विशाल–राशिको बोधक हो, जसको रचना हुन दुई हजार वर्षभन्दा कमको समय लागेको छैन होला । अतः के स्वाभाविक छ भने यी कृतिहरू एउटै रूपका छैनन्, न शैलीका दृष्टिले न त विषयवस्तुका नै दृष्टिकोणले । यीमध्ये सबैभन्दा प्रारम्भिक हुन् मौलिक रूपले रचित गीत र स्तुतिहरू, यिनका रचनाकारले अक्षर–बोधबाट अझै परिचय पाउन बाँकी थियो, त्यस्ता पशुपालक थिए ती –ती पशुपालक, जसले आफूलाई ‘आर्य’ भनेर गर्व गर्दथे र जो समाजविकासको त्यस चरणमा कतै न कतै विद्यमान थिए, जसलाई समाजविज्ञानको पारिभाषिक शब्दावलीमा ‘बर्बर’ (barbarian) भनिन्छ । यी गीत आदिलाई खालि सम्झनाको बलमा पछिल्लो सन्ततिबाट अघिल्लो सन्ततिसम्म पु¥याइने गरियो र यसै कारणले तिनको नाम ‘श्रुति’ अर्थात् ‘सुनेको’ रह्यो । यी अत्यन्त प्राचीन पद्यबद्ध रचनाहरूलाई परम्पराले ‘मन्त्र’ नाम दिन्छ, जुन वेदका दुई भागमा एक हो, दोस्रो भागको नाम हो ‘ब्राह्मण’, यो गद्यमा छ र धेरै पछिको रचना हो ।

यी मन्त्र आज चार ‘संहिताहरू’मा उपलब्ध छन् । यिनको नाम होः ऋग्वेदसंहिता, सामवेदसंहिता, यजुर्वेदसंहिता र अथर्ववेदसंहिता, यिनलाई सङ्क्षेपमा ऋग्वेद, सामवेद आदि पनि भनिन्छ । यीमध्ये ऋग्वेद सबैभन्दा पुरानो हो र स्वयं वैदिक वाङ्मयमा नै यसलाई मूलस्थानीय मानिएको छ । यी संहिताहरूका अनेकौं संस्करण (पारिभाषिक नाम ‘शाखा’) थिए, तीमध्ये थोरै मात्र आजसम्म बचेका छन् । ऋग्वेदको जुन संस्करण हामीलाई उपलब्ध छ, त्यसमा १०२८ गीत (पारिभाषिक नाम ‘सूक्त’) छन् र प्रत्येक गीतमा लगभग १० शृङ्खलाहरू (पारिभाषिक नाम ‘मन्त्र’ छन्, गणना गर्दा यी शृङ्खला वा पद्यको सङ्ख्या १०४६२ पुग्दछ । अनुमान लगाउँदा के पाइयो भने सबै मिलाएर यिनको आकार होमरका सम्पूर्ण उपलब्ध काव्यराशिको बराबरी छ ।

परम्परा विभिन्न सूक्तलाई विभिन्न कविहरूको– जसलाई ‘द्रष्टा’ (देख्ने व्यक्ति) नाम दिइन्छ– रचना मान्दछ तर वस्तुतः यी सूक्त जनगीतहरूको कोटिका रचना भएका कारणले यिनलाई खास व्यक्ति–विशेषहरूको कृति मान्नु सही हुने छैन । जे होस्, एक्लो ऋग्वेदमा सङ्कलित गीतहरूको रचनाले नै ज्यादै लामो अवधि लिएको थियो होला, त्यस्तो स्थितिमा सम्पूर्ण ऋग्वेदलाई एउटा कालविशेष (अर्थात् एक वर्ष, दशक वा शताब्दी–विशेष) को रचना मान्नु भ्रामक हुनेछ । यति मात्र होइन, विद्वान्हरूले ऋग्वेदका आदिम स्तरका रचनाको काल–विशेष तथा त्यसको अन्तिम स्तरका रचनाको काल–विशेषका बारेमा जुन अनुमान लगाएका छन् त्यसमा सम्म पनि ठूलो परस्पर अन्तर छ । विन्टरनित्स– जो वेदहरूको रचनाकाललाई न धेरै अघि र न धेरै पछि लैजाने पक्षमा छन्– ऋग्वेदको प्रारम्भ–काल २००० अथवा २५०० ई. पू. मान्दछन् । यद्यपि यस तिथिलाई अन्तिम रूपबाट निश्चित मान्न सकिन्न, फेरि पनि यसबाट ऋग्वेदको प्राचीनताको अनुमान राम्ररी नै लाग्दछ । पुरातत्त्ववेत्ता आज अधिकाधिक कुन मतमा पुगेका छन् भने ऋग्वेदका रचनाकारहरूले नै आफ्नो भारतप्रवेशपछि सिन्धु–सभ्यताका नगरहरू र दुर्गहरूलाई नष्ट–भ्रष्ट पारेः एकातिर स्वयं ऋग्वेद रणनायक इन्द्रले जहाँबाट सिन्धु–सभ्यताका अवशेष उत्खननबाट निकालेको हो, त्यही भू–प्रदेशमा नगरहरू र दुर्गहरू ध्वंस गरे भन्ने आशयका इन्द्रका स्तुतिहरूले भरिएको छ भने अर्कातिर यी अवशेष बर्बर आक्रमणकारीहरूद्वारा फैलाइएका विनाशका चिह्नहरू लिएर बसेका छन् । यदि प्रस्तुत मत अकाट्य रूपबाट प्रमाणित गर्न सकियो र साथै सिन्धु–सभ्यताका नगरहरूको ध्वंसको तिथि ठीकसँग निर्धारित गर्न सकियो भने वेदहरूको रचना–तिथि निश्चित गर्नका लागि एक प्रामाणिक कुञ्जी हाम्रो हात पर्नेछ ।

तर हामीले आफ्नो विवेचनलाई ऋग्वेदको विषयवस्तुसम्म मात्र सीमित राख्नु छ । वेद–भक्तहरूको अवश्य के दाबी छ भने वेद चरम ज्ञानको भण्डार हो, तर ऋग्वेदलाई साँच्चिकै पढ्दा– र यहाँ  के कुराको सम्झना गराऔं भने वेदहरू पढ्न कठोर वैधानिक बन्देजहरू थिए, शूद्र र स्त्रीहरूलाई वेदहरू पढ्ने कत्ति पनि अधिकार थिएन – पाठकको मनमा कुन छाप नपरी छाड्दैन भने आज हाम्रा बीच बचेका पशु–पालक जातिहरूका गीतहरू र अलापहरूजस्तै यी वैदिक सूक्त पनि दिन–प्रतिदिनका अभिलाषाहरूका अभिव्यक्ति मात्र हुन्, भोजनको अभिलाषा, वर्षाको अभिलाषा, विजयको अभिलाषा, स्वास्थ्यको अभिलाषा, सन्तानको अभिलाषा । यदि निश्चित रूपबाट पछि बनेका एकाध ती सूक्तहरूलाई छाड्ने हो भने, जसमा हामीलाई बढीभन्दा बढी केही सृष्टि–विषयक कल्पना–उडानको दर्शन हुन्छ र जसमा आधुनिक विद्वान्हरूले कहिलेकाहीँ ‘वैदिक दर्शन’का बीजहरू देख्तछन्, दार्शनिक चिन्तनको ऋग्वेदमा नाम पनि छैन । यस्तो स्थितिमा परवर्ती दार्शनिकहरूलाई साँच्चिकै ग्रहण गर्न योग्य कुनै सामग्री वेदहरूमा कदाचित् प्राप्त हुन्थ्यो । फेरि पनि वेदहरूमा एक विचित्र श्रद्धाको भावना हाम्रा दार्शनिकहरूको मनमा जसरी–तसरी बद्धमूल भएका कारणले बारम्बार कुन कुराको प्रयत्न गरियो भने ऋग्वेदको कुनै नगण्यजस्तो गीतांशलाई एउटा व्याख्या लगाइदिएर त्यसबाट अमुक दार्शनिक मन्तव्यको समर्थन हुन्छ भनेर सिद्ध गर्न खोजियो । एउटा नमुनालायक दृष्टान्त हेरौं–

Veda bookन्याय–वैशेषिक परमाणुवादको मण्डन गर्दा उदयनले के युक्ति दिएका छन् भने ऋग्वेदको एउटा वाक्य–विशेषमा ‘पतत्त्र’ शब्द– यो गति–वाचक ‘पत्’ धातुबाट बनेको हो– आएको हुनाले र परमाणुहरूको कल्पना पनि गतिशील रूपमा गरिएको कारणले परमाणुवादलाई वेदहरूको समर्थन प्राप्त छ । तर यो वैदिक वाक्य जुन सूक्तमा आएको छ त्यो सबैभन्दा पछिको स्तरको रचना हो र त्यसमा बढीभन्दा बढी एक किसिमको ईश्वरवादको बीज देख्न सकिन्छः ऋग्वेदका टीकाकारमा सबभन्दा प्रसिद्ध सायणले ‘पतत्त्र’ शब्दलाई– यसको साधारण अर्थ पक्षी हो– यस प्रसड्गमा ‘गतिशील चरण’ अर्थको वाचक मानेका छन् । पूरै सूक्तांशको हिन्दी रूपान्तर निम्नलिखित हुन्छः

 “आफ्नै किसिमको त्यो एक्लो देवताले– जसका आँखा चारैतिर छन्, जसको मुख चारैतिर छ, जसका हातहरू चारैतिर छन्, जसका खुट्टाहरू चारैतिर छन्– यो पृथ्वी र स्वर्ग निर्माण गरेर आफ्ना दुवै हात र आफ्ना गतिशील चरणहरूले तिनलाई आफ्नो नियन्त्रणमा चलाउँछ ।

यो कुन कुराको दृष्टान्त हो भने परवर्ती कालका प्रौढ दार्शनिक मन्तव्यहरूलाई यी प्राचीन गीतहरूको समर्थन दिलाउने प्रयत्न कति क्लिष्टकल्पनामूलक थियो । यति मात्र होइन, ऋग्वेदका साँच्चैका प्राचीन भागहरूमा एक विकसित धार्मिक चेतना वा अध्यात्मवादी दृष्टिकोण जस्तो कुनै वस्तु विद्यमान छ भन्ने कुरामा सम्म सन्देह छ  । केमा सन्देह छैन भने न जाने कति किसिमका देवताहरूको अतिशयोक्तिपूर्ण प्रशंसाले यी वैदिक गीतहरू भरिएका छन् । तर यी देवता अनेकौं पटक त स्पष्ट नै त्यस्ता शूरवीर मानिस हुन् जसले आफ्ना कबीलामा रहेकाहरूका निम्ति पशु र भोजन लुटेर ल्याउँछन् र तिनीहरूमा बाँड्दछन्, उनीहरू तिनकै बीचमा बस्तछन् र ‘मित्र’ अथवा ‘परममित्र’ भनेर प्रेमले सम्बोधन गरिन्छन्…, अनेकौं पटक यी केवल प्राकृतिक क्रियाकलाप मात्र हुन् वा नभए नितान्त निर्जीव पदार्थ हुन्, जस्तो– पहाड (=पर्वत), जडीबुटी (=औषधि), रूख (=वनस्पति), जड्गल (=अरण्यानी), हतियार (=आयुध) आदि । कहिले कहिले यी ‘देवता’ दिन प्रतिदिनका अभिलाषाहरू– उदाहरणका लागि, ‘गर्भपातबाट सुरक्षा’, ‘क्षयरोगबाट सुरक्षा’, ‘दुःस्वप्नहरूबाट सुरक्षा’–का मूर्तिमान् रूप छन् । यस किसिमको एउटा मनोरञ्जनको देवता छ ‘पितु’ अर्थात् भोजन । ‘बर्बर’ कवि, जसलाई अति स्वस्थ भोक लागिरहन्थ्यो होला, पितुको प्रशंसा गर्दछन्– के कारणले भने ऊ स्वादिलो छ, किनभने उसले शरीरलाई मोटो बनाउँछ । न जाने कति पटक परम्पराद्वारा – र आधुनिक युगमा पनि– ऋग्वेदलाई अध्यात्मवादी बुद्धि–वैभवको भण्डार घोषित गरिएको छ, यसलाई दृष्टिगत गर्दै पितुको प्रशंसा गर्ने यस सूक्तलाई सबै नै उद्धृत गर्नु रुचिकर हुनेछः

ऋग्वेद १.१८७ देवता पितु, ऋषि अगस्त्य

म शीघ्रतापूर्वक  महान्, सर्वधारक र मूर्तिमान् बल पितुको स्तुति गर्दछु, जसको सामर्थ्यबाट त्रितले वृत्रलाई टुक्रा टुक्रा पारेर मारे ।। १ ।। हे स्वादु पितु ! मधुर पितु ! हामी तिम्रो सेवा गर्दछौं । तिमी हाम्रो रक्षा गर । हे पितु ! तिमी मड्गलमय होऊ, त्यसैले मड्गलमय रक्षणद्वारा हाम्रो नजिक आऊ र हाम्रो नजिक आएर हामीलाई सुख देऊ । तिमी हामीसँग द्वेष राख्तैनौं र हाम्रा अद्वितीय सुखकर सखा हौ ।। २ ।। जुन किसिमले वायुले समग्र दिगन्तलाई व्याप्त गरेको छ, त्यही किसिमले तिम्रा रसले समस्त जगत्लाई आफ्नो अनुकूलतामा व्याप्त गरिरहेका छन् ।। ३ ।। ए स्वादुतम पितु ! जो सबै मानिसहरू तिम्रो प्रार्थना गर्दछन्, उनीहरू तिम्रो अनुग्रहले तिमीलाई दान गर्दछन् । तिम्रो स्वाद लिनेहरूको घाँटी उच्च हुन्छ ।। ४ ।। हे पितु ! महान् देवतागणले तिमीलाई नै मनमा राखिरहेका छन् । तिम्रो सुन्दर प्रज्ञा र आश्रयद्वारा उनीहरूले अहिको वध गरे ।। ५ ।। हे पितु ! जुन समयमा मेघहरूमध्येका प्रसिद्ध जल आउलान्, त्यतिखेर तिमी भोजनका निम्ति पूर्ण रूपमा हामीकहाँ आऊ ।। ६ ।। किनभने हामी प्रभूत जल र औषधिहरू (अर्थात् अन्नहरू) खान्छौं, त्यसैले हे शरीर ! तिमी मोटाऊ ।। ७ ।। किनभने हे सोम ! हामी दूध आदिबाट मिश्रित तिम्रो अंश ग्रहण गर्दछौं, त्यसैले हे शरीर ! तिमी मोटाऊ ।। ८ ।। … 

गीतको टेको साँच्चिकै ख्याल गर्न लायक छः शरीर तिमी मोटाऊ (वापाते पीव इद् भव) । यसबाट हामीलाई के अनुमान हुन सक्नेछ भने वेदान्त दर्शनसम्म– जसको सबभन्दा पहिलो दाबी के छ भने यो वेदमा आधारित छ– ऋग्वेदका रचनाकारहरूको वास्तविक मनोभावनाहरूबाट कति टाढा पुगेको थियो, किनभने यस दर्शनको एउटा नाम “शारीरक–मीमांसा” पनि हो र “शारीरक” शब्द ‘शरीर’ शब्दको कुत्सावाचक ‘कन्’ प्रत्यय जोडेर बनेको शब्दबाट बनेको हो । यसरी यस नामले आफ्नो कथा आफैँ भन्दछः ‘शारीरक–मीमांसा’को अर्थ भयो त्यो दर्शन, जसले कुत्सित शरीरमा रहने आत्माको स्वरूप–प्रतिपादित गर्दछ । ती मर्द पशुपालकहरूले, जसले ऋग्वेदका गीत रचना गरेका थिए, गाएका थिए र जसलाई सबभन्दा बढी मन फुकाएर खानु–पिउनु मन पर्दथ्यो, यस किसिमका कुराहरूमा कदाचित् कुनै अर्थ देख्तैनथे होला ।

के साँचो हो भने पितु कुनै प्रमुख वैदिक देवता होइन । प्रमुख वैदिक देवता हुन् मित्र, वरुण, इन्द्र आदि, तर तिनका बारेमा तुलनात्मक पुराणकल्पनाशास्त्र (comparative mythology)को विद्यार्थीले नै – वा कदाचित् प्राचीन भारतीय इतिहासको विद्यार्थीले पनि– रुचि लेला । दार्शनिक दृष्टिकोणबाट महत्त्वको कुरो के छ भने भोजन पनि एक वैदिक देवता थियो र गर्भपात, क्षयरोग तथा दुःस्वप्नको रोकथाम पनि वैदिक देवता थिए, किनभने यी के कुराका सूचक हुन् भने आरम्भकालीन वैदिक चिन्तन अमूर्तता (abstraction) को कुनै माथिल्लो चरणसम्म पुग्न सकेको थिएन र यस्तो अवस्थामा जसलाई वास्तविक दार्शनिक मतवाद भन्न सकियोस्, त्यस्तो कुनै वस्तुलाई जन्म दिनु उसका निम्ति असम्भव थियो ।

समालोचक तथा अनुवादक निनु चापागाईं

समालोचक तथा अनुवादक निनु चापागाईं

फेरि अर्को एउटा पनि द्विविधाको कुरो छ । यद्यपि परवर्ती दार्शनिक के भनेर थाक्तैनन् भने उनीहरूको दर्शनलाई वेदहरूको आधार प्राप्त छ, स्वयम् वेद–पाठी परम्पराका अनुसार वेदहरूका ‘संहिताहरू’ को रूपमा सङ्कलनको उद्देश्य दर्शन– वा कुनै किसिमको पनि अमूर्त चिन्तन– कदापि थिएन । यस परम्पराका अनुसार त यी चार संहिता ‘यज्ञ’ अर्थात् वैदिक कर्मकाण्ड गराउने चार श्रेणीका पुरोहितका आआफ्ना वेद हुन्– ऋग्वेद ‘होता’ नामक पुरोहितको, सामवेद ‘उद्गाता’ नामक पुरोहितको, यजुर्वेद ‘अध्वर्यु’ नाम हुनेको र अथर्ववेद ‘ब्रह्मा’ नाम हुनेको । यस परम्परालाई बिटुल्याउने कुनै कारण छैन र त्यसैले के प्रश्न उठ्छ भनेः ‘यज्ञ’ के हो ? जसमा काम लाग्न प्राचीन संहिताहरूमा सङ्ग्रहित यी सूक्त रचना गरिएका थिए । गोर्डन चाइल्डको भनाइ छः ‘यी सूक्त वास्तवमा जादु–टुनाका गीत हुन्, यी दिइने भेटीहरूको फलजनकतामा बृद्धि गर्ने उद्देश्यले गाइन्थे र यी भेटीहरू सह–अनुभूतिमूलक जादुबाट अनुप्राणित त्यस्ता कर्मकाण्डहरूको भूमिका निर्वाह गर्दथे, जसको उद्देश्य थियो वर्षा, धन र विजयको प्राप्ति । तर यदि यी सूक्त टुनाका गीत थिए भने पनि तिनको भूमिका त्यो हुन सक्तैन, जुन एक धार्मिक व्यक्तिका अनुनयहरूका हुन्छन् र अनि सीधा निष्कर्ष के निस्कन्छ भने वैदिक मान्यताहरूको गहिराइमा धर्ममूलक दृष्टिकोण होइन, जादुमूलक दृष्टिकोण विद्यमान छ । यो कुरो जतिखेर हामी ऋग्वेदका अतिरिक्त अन्य संहिताहरूमाथि– विशेष रूपले ‘ब्राह्मण–ग्रन्थहरू’माथि– विचार गर्दछौं अझ राम्ररी स्पष्ट हुन्छ । तर तिनमाथि विचार गर्नुभन्दा पहिले जादु र धर्मका बीचको मौलिक भेदमाथि दृष्टि दिनु सुविधाजनक हुनेछ ।


टिप्पणीहरूः

१. ए. ए. म्याकडोनेल, ए हिस्ट्री अफ संस्कृत लिटरेचर, लन्डन, १९०५, पृ.३१०

२. एम. विन्टरनित्स, ए हिस्ट्री अफ इन्डियन लिटरेचर, ग्रन्थ ८,कलकत्ता, १९२९, पृ.३१०

३. आर. पी. चन्दा, इन मेमायर्स अफ दि आर्केओलोजिकल सर्भे अफ इन्डिया, ग्रन्थ ३१, पृ. ३–५, एम. ह्विलर इन एन्सिएन्ट इन्डिया, ग्रन्थ ३, पृ.७४, एस. पिगोट, प्रि–हिस्टोरिक इन्डिया, लन्डन, १९५०, पृ. २१४–४२, जी. चाइल्ड, न्यु लाइट अन दि मस्ट एन्सिएन्ट इस्ट, (सं., लन्डन, १९५४) पृ.१८८ आदि

४. स्याक्रेड बुक्स अफ दि इस्ट , ग्रन्थ १६, पृ. ९५, ग्रन्थ २५, पृ. १४४, ग्रन्थ २९, पृ. ११६ आदि

५. देवीप्रसाद चट्टोपाध्याय,  लोकायत,  न्यु दिल्ली, १९५९, पृ. ५२९

६. न्यायकुसुमाञ्जलि स्ववृत्ति, ५.३

७. ऋग्वेद १०.८१.३ . श्वेताश्वर उपनिषद् ३.३

८. चन्द्रकान्त तर्कालड्कार,  फेलोसिप लेक्चर, बङ्गला, खण्ड ५, ६६–६७

९. जी. चाइल्ड,  ह्वाट ह्यापेन्ड इन हिस्ट्री, पृ. १६७


 अनुवादक : निनु चापागाईं 

(भारतीय दर्शन सरल परिचय नामक कृतिबाट अनुदित लेख, शीर्षक अनुवादकको । नेपाली पुस्तक समाज र संस्कृतिबाट साभार)

याे पनि पढाै :  भगवत् गीता के हो ? के होइन ?

(Visited 2,035 times, 1 visits today)

टिप्पणी

comments