Main Menu

कविता

एउटा निमुखा बूढाको भविष्य

पारिजात

झिस्मिसेका ताजा जाँगरहरूलाई
छातीभरि कवच जस्तै लपेटी
खेत, आली, सडक र गारोहरूतिर
सल्बलाउने,
पेटिला नसाहरूले जेलिएका
खैरा हातहरूको हतियार भिरी
पसीनाको दहमा एकातिरबाट हामफाल्छ,
एउटा निमुखा बूढा
र क्षितिजलाई राताम्मे पार्दै
अस्ताउने घाम जस्तै
कता–कता निर्माण कार्यहरू हुँदो आफ्नो रगतको टाटो पोत्दै
दिनभरि पौडी खेलेर
साँझ दहको अर्कोतिरबाट निस्केर
लुरुलुरु घर फर्कन्छ
त्यही निमुखा बूढा
उसको विपना बूढो गोरुको बाध्यता
कठै गरोस् के ?
उसको सपना पनि त
बूढो गोरुको संस्कार
सपनामा पनि उसका जोशहरू
बौरी बौरी उठ्छन् रे
हातहरू त्यसै यसै चल्मलाउँछन् रे
उसको विगत
झुत्रो सुकुलमा उसँगै सुत्छ
तीखा काँडाहरू भएर उसलाई विझाउँछ
र उसको भविष्य
हालको वर्तमान भएर
तीन खाप टालेको उसको भोटोसँग
एकाकार हुँदै बाँचेको छ
उसको अलिनो सितन र मलिनो आँखाहरूसँग
विज्ञापन भएर बाँचेको छ

के उसको भविष्य नै थिएन ?
के ऊ भविष्यहीन जन्मेको थियो ?
भविष्यहीन खटिएको थियो ?
र, भविष्यहीन पिल्सिएको थियो ?
के उसको न्वारनमा लेख्न आउने
चोर भावीले यस्तै यस्तै लेखिदियो ?

त्यसैले ए युवा मनहरू हो !
हुरी र आँधीका वेगहरूसँग तिखारिएर आऊ
यस ज्यानमारा भावीको परम्परामा हत्या गरिदेऊ,
संस्कारमा हत्या गरिदेऊ,
धर्ममा भए त्यहीँ हत्या गरिदेऊ,
महान्वाणीहरूमा पनि हत्या गरिदेउ,
किनकि
हामीलाई राम्रैसँग थाहा छ
यस्ता निमुखा बूढाहरूको भविष्य कहाँ हुन्छ भनेर,
यस्ता बूढाहरूको भविष्य,
विकासका फाइलहरूमा दबेर बसेको छ,
कारखानाका शेयरहरूमा जाँदैछ, भरिँदैछ,
सडक, पूल र भवनहरूमा,
योजनाहरूको कापकापमा विकसित भएर बसेको छ,
ठूला मान्छेहरूको पेट–पेटमा, खल्ती–खल्तीमा
ऐश्वर्य र विलासहरूमा
विदेशी बैंकहरूमा पनि
फलेर फुलेर बसेको छ

यो भविष्य
एउटा विन्तिपत्र लेखेर
अलिकति घुस खुवाएर,सोर्सफोर्स लगाएर
अथवा एक झरी वर्षा जस्तो एक झर नारा लगाएर हुने होइन
दुई चारजना मान्छे मारेर पनि हुने होइन
त्यसैले एक जागरुक युवा पाखुराहरू हो !
हावा भरि भरि लहलहराउँदै इतिहासको यसै मोडमा आएर
आफ्ना वर्तमानहरूलाई धरौटी राख
यस व्यवस्थालाई टक्टकाउन थाल
यस व्यवस्थालाई हिसाब माग
यो त पसिनामा नुहाउनेहरूको
मुक्ति आन्दोलन हो
यो त एउटा वर्गको भविष्यको ग्यारेन्टी हो
यो त एउटा भीषण युद्ध हो ।

– पारिजात

(Visited 133 times, 1 visits today)

टिप्पणी

comments