Main Menu

नयाँ बसपार्कभित्र नि:शुल्क स्वास्थ्य सेवा सुरु

पुस १९, काठमाडौँ

free-health-service-naya-busparkलामो यात्रा गरेर काठमाडौँ आएका यात्रु र चालकलाई लक्षित गरेर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नयाँ बसपार्कमा निःशुल्क परामर्श तथा स्वास्थ्य सेवा शुरु गरेको छ ।

अस्पतालले पाँचौँ वार्षिकोत्सवका अवसरमा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सहकार्य गरेर आजदेखि उक्त स्वास्थ्य सेवा केन्द्र शुरु गरेको हो । सेवा केन्द्र शुरुवात्सँगै बिरामीले प्राथमिकस्तरको स्वास्थ्यसेवा नयाँ बसपार्कबाट निःशुल्क पाउने भएका छन् ।

उक्त सेवा शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नयाँ वसपार्कलाई नमूना बसपार्क बनाउनका लागि ल्होत्से बहुउद्देश्यीय प्रा.लि.ले ग्राण्डी अस्पतालसँग मिलेर राम्रो कामको शुरुवात् गरेको बताए ।

“ल्होत्से बहुउद्देश्यीय प्रा.लि.सँग महानगरपालिकाले नयाँ बसपार्कलाई अत्याधुनिक बसपार्क बनाउने भनेर सम्झौता गरेको थियो । त्यो कुरा विस्तारै पूरा हुँदै गएको छ”, उनले भने, “प्रत्येक वडामा एक–एकवटा स्वास्थ्य क्लिनिक भए पनि यो सेवाले थप सहयोग पुग्ने छ ।”

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रा.लि.ले यात्रु र चालकलाई लक्षित गरेर निःशुल्क सेवा दिएर राम्रो कामको शुरुवात् गरेको बताए ।

“अस्पतालले चालक र यात्रुलाई सेवा दिने उद्देश्यले गरेको कामलाई महासंघको भरपुर सहयोग रहन्छ”, उनले भने ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले बिरामी भएर उपत्यका आउने बिरामीलाई थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले आकस्मिक स्वास्थ्यसेवा प्रदान गर्न लागिएको जानकारी दिए ।

काठमाडौँ महानगरपालिका वडा नं २६ का अध्यक्ष ख्याम तिवारीले नयाँ बसपार्कलाई व्यवस्थित बनाउन महानगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ल्होत्से बहुउद्देश्यीय प्रा.लि.का अध्यक्ष दीपक कुँवरले पैसा कमाउनका लागिभन्दा पनि सेवा प्रदान गर्नका लागि उक्त केन्द्र स्थापना गरिएको र लामो समयसम्म सेवा प्रदान गरिने जानकारी दिए ।

स्वास्थ्य सेवा केन्द्रको स्थापनबाट बिरामीले सामान्य उपचार पाउनाका साथै रोगका बारेमा जानकारी पनि लिन पाउने भएका छन् ।

(Visited 15 times, 1 visits today)

टिप्पणी

comments