Main Menu

वैदेशिक लगानीका विषयमा स्पष्ट नीति बनाउन जरूरी – अध्यक्ष प्रचण्ड

माघ २७, भरतपुर

foreign-investment-clear-policy-needed-prachanda

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले वैदेशिक लगानीका बारेमा प्राथमिकताका आधारमा राज्यले स्पष्ट नीति बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल अण्डा उत्पादक संघको १४ औं साधारण सभा तथा ८ औं अधिवेशन एवं भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विदेशबाट आउने लगानीका प्राथमिक क्षेत्र निर्धारण गर्नुपर्ने बताएका हुन् ।

“विश्वव्यापिकरणको यो समयमा हामीलाई कतिपय क्षेत्रमा वैदेशिक लगानी आवश्यक पर्छ,” अध्यक्ष प्रचण्डले भने, “तर कुनकुन क्षेत्रमा लगानी भित्र्याउने भन्ने विषयमा राज्यले स्पष्ट नीति बनाउनु पर्छ । नत्र यसले आम उध्यमी र जनता नै विस्थापित हुने खतरा बढ्छ ।”

अण्डा उत्पादक व्यवशायीहरूले कृषि तथा पशुपालनका क्षेत्रमा वैदेशिक लगानी भित्रिएको खण्डमा स्वदेशी व्यवसायी र किसानहरू मारमा पर्ने भएकोले अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

अध्यक्ष प्रचण्डले कृषि क्षेत्रमा आधुनिकीकरण गरेर देश आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढन सक्ने बताए । यसका लागि राज्यको चरित्र जनपक्षीय हुनुपर्ने उनले बताए ।

“बिडम्बना, राज्यले किसानको पक्षमा काम गर्न सकेको छैन । कतिपय अवस्थामा त राज्यका नीतिहरू नै किसानलाई समस्यामा पार्ने किसिमका पनि छन्” उनले भने, “कतिपय देशहरूको बजेटको ठूलो हिस्सा किसानलाई अनुदान दिन विनियोजन गरिएको हुन्छ । किसानलाई अनुदान दिने, संरक्षण दिने कार्यक्रम हुने गरेका छन । तर हाम्रो राज्यको चरित्र यस्तो हुन सकेन ।”

आफूले समृद्द नेपालको सपना देखेको बताउँदै अध्यक्ष प्रचण्डले देशभक्तिपूर्ण भावनाले जनमुखी भएर सबैले काम गर्नुपर्ने बताए । चुनावमार्फत जनताले यही समृद्दीको अभियानलाई अनुमोदन गरेकोले अब बन्ने सरकारले कृषि लगायतका क्षेत्रमा आम किसान, व्यवसायीहरूको बृहत्तर हितका पक्षमा काम गर्ने उनले बताए । जनताको पक्षमा काम गर्ने सरकार बनेको अवस्थामा वैदेशिक लगानीदेखि अनुदानसम्मका विषयमा जनमुखी नीतिको व्यवस्था गर्न सकिने अध्यक्ष प्रचण्डले विश्वास व्यक्त गरे ।

कार्यक्रमका वक्ताहरूले नेपाल कुखरा र अण्डा उत्पादनमा आत्मनिर्भर भए पनि राज्यका तर्फबाट उचित नीतिसहित सहयोगका लागी अध्यक्षसमक्ष माग गरेका थिए ।

(Visited 11 times, 1 visits today)

टिप्पणी

comments