Main Menu

कला इतिहासका पहिलो महिला कलाकारः सोफोनिस्बा आन्ग्विसोला

पश्चिमा कला इतिहासमा पन्ध्रौँ र सोह्रौँ शताब्दीमा सिर्जना भएका चित्रकला, मूर्तिकला, साहित्य तथा सङ्गीतलाई रेनेसा कला भनिन्छ । यो समयलाई कलाको मात्र नभई दर्शन तथा विज्ञानको पनि रेनेसा काल नै मानिन्छ । रेनेसाको शाब्दिक अर्थ हुन्छ ‘पुनर्जन्म’। ईशाको पहिलो शताब्दीदेखि पन्ध्रौँ शताब्दीसम्म व्याप्त कलात्मक तथा बौद्धिक अन्धकारलाई चिरेर जुन जागरण आएको थियो त्यसलाई इङ्गित गरेर यो नाम राखिएको थियो ।

छ सय वर्षभन्दा अगाडिको त्यो समयको सामाजिक संरचनाको अध्ययन गर्ने हो भने हामी सजिलै थाहा पाउँछौँ कि हरेक सामाजिक संस्थाहरुमा निसन्देह पुरुषहरुको बोलबाला थियो । महिलाहरुको अनिवार्य ‘काम’ भनेको घरभित्रको काम मात्र थियो । बालबच्चा हुर्काउनु, खाना पकाउनु, सिलाइबुनाइ गर्नु, सरसफाइ गर्नु आदि घरका सम्पूर्ण जिम्मेवारी महिलाको मात्रै हुन्थ्यो ताकि पुरुष घर बाहिरको काम आरामले गर्न सकोस् । महिलाहरु भने घरको जिम्मेवारी सम्हाल्नमै व्यस्त हुने र त्यसमै जीवन बित्ने हुँदा उनीहरुले त्यसबाहेकका क्षेत्रमा उपलब्धि हासिल गर्नु असम्भवप्रायः थियो । त्यसमाथि पनि महिलाले औपचारिक शिक्षाको अवसर पाउनु भनेको निकै दुर्लभ थियो ।

यस्तो सामाजिक परिवेशमा कला क्षेत्रमा महिलाहरुको उपस्थिति मात्र हुनु पनि कल्पनाभन्दा बहिरको कुरा थियो । तर यस्तो चरम प्रतिकुल समयका बावजुद र लियोनार्दो दा भिन्ची, माइकलेन्जेलो, टिसियन, राफायल, बोटिसेली आदिजस्ता उच्च मुल्याङ्कन गरिएका प्रख्यात कलाकारहरुको समयमा पनि, औँलामा गन्न सकिने नै किन नहोस्, केही महिला कलाकारहरुले आफ्नो उपस्थिति मात्रै जनाएका थिएनन्, उनीहरूले उल्लेखित प्रत्येक पुरुष कलाकारहरुभन्दा केही कम नभएको बुलन्द रुपमा साबित पनि गरेर कला इतिहासमा आफ्नो स्थान बनाए । ती महिला कलाकारहरुमा सबैभन्दा पहिलो नाम आउँछ, तत्कालिन इटालीका कुलिन परिवारमा जन्मिएकी सोफोनिस्बा आन्ग्विसोलाको ।

सोफोनिस्बा आन्ग्विसोला

सोफोनिस्बाको जन्म सन् १५३२ को वरपर भएको मानिन्छ । उनको जन्म इटालीको क्रेमोना भन्ने शहरका अमिल्केर आन्ग्वीसोला र बियानका पोनजोनको कोखमा भएको थियो । अमिल्केर क्रेमोनका एक जमिन्दार थिए । त्यस समयमा कलाकारितामा इच्छा राख्ने कुलीन परिवारका छोरीहरुलाई सिलाइ–बुनाइ वा सङ्गीत सिक्नमा मात्र प्रोत्साहन गरिन्थ्यो, त्यो पनि विशुद्ध रुपमा घरको लागि मात्र, न कि आफ्नो पहिचान वा पेशाको रुपमा । तर, अमिल्केरले आफ्ना सबै छोरीहरुलाई रेनेसा परम्पराको सर्वोत्तम शिक्षा दिने र चित्रकलालाई पेशाकै रुपमा विकास गर्न प्रोत्साहन गर्ने काम गरेका थिए । फलस्वरुप उनका ६ छोरीहरु र एक छोरामध्ये जेठी छोरी सोफोनिस्बा अन्तराष्ट्र्रिय ख्याति पाउने संभवत पहिलो महिला कलाकार हुन सफल भइन् । उनले आफ्नो क्षमताद्वारा इतिहासका महान् र तत्कालिन समयका उच्चसम्मानित पुरुष कलाकारहरु माईकल एन्जेलो र आन्थोनि भान डायकबाट प्रशंसा पाएकी थिइन् जबकि त्यतिबेला महिलाहरुलाई कलाकारको रुपमा स्वीकारसम्म पनि गरिन्नथे । भान डायकले त सोफोनिस्बालाई बृद्ध उमेरमा मात्र भेटेका थिए र उनले आफुले सोफोनिस्बासँग इटालीका अन्य सबै कला शिक्षकहरुबाट भन्दा पनि धेरै सिकेको स्वीकार गरेका थिए ।

भान डाइकले सोफिनिस्बाको प्रशंसा गर्दै लेखेको आफ्नो डायरीको एउटा पृष्ठ

भान डाइकले आफ्नो डायरीमा १२ जुलाई सन् १६२४ मा पालेर्मोमा प्रत्येक्ष रुपमा उतारेको सोफोनिस्बाको पोर्ट्रेटसँगै लेखेका छन्, ‘९६ वर्षको उमेर भएर पनि सोफोनिस्बाको स्मृति तेज र बुद्धि तीक्ष्ण छ र उमेरका कारण दृष्टि गुमिसकेको भए पनि आफ्ना अगाडि पेन्टिङ्ग राख्दा रमाउँछिन्; आफ्नो नाक पेन्टिङ्गको नजिक लग्दा पेन्टिङ्गमा के छ भन्ने कुरा उनी पहिचान गर्न सक्थिन् ।’ आफ्नो डायरी उनले त्यसअगाडि सोफोनिस्बाले दिएका चित्रकलाका टेकनिक तथा टिप्सहरु पनि उल्लेख गरेका छन् ।

त्यसैगरी कलाकार तथा कला इतिहास लेखनका अगुवा जर्जियो भसारीले उनको कामको प्रशंसा गर्दै ‘वास्तवमै जीवन्त’ चित्र भनी व्याख्या गरेका थिए ।

सोफोनिस्बाका पहिलो कला गुरु बर्नारर्डिनो चम्पि थिए जो मेनरिस्ट कलाकार (mannerist) कलाकार थिए । चम्पिसँग उनले ११ वर्षको कलिलो उमेरमै चित्रकला सिक्न थालेकी थिइन् । उनले सन् १५५० ताका गुरु चम्पिका ‘पिएटा’ नामक एक चित्रको नक्कल उतारेका थिए जसको उतिबेला नै निकै प्रशंसा भएको थियो । त्यस चित्रमा उनले आफ्ना गुरुले जस्तै स्फुमाटो (sfumato) टेकनिक प्रयोग गरेकी छन् । उनले आफ्ना गुरुको भन्दा थोरै आकृतिहरु प्रयोग गरेकी छन् भने गुरूले भन्दा सफल रुपमा स्फुमाटो टेकनिकको प्रयोग गरी रङ्ग भरेकी छन् ।

बर्नारर्डिनो चम्पिको ‘पिएटा’ (बायाँ) र उनको चित्रकलाको नक्कल उतारेको सोफिनिस्बाको चित्रकला

सन् १५४७ र १५५१ को बीचमा बर्नार्दिनो गाट्टी नामका कलाकार सोफोनिस्बाका कलागुरु भए । गाट्टीबाट उनले थप उन्नत कला शिक्षा पाए र उनको कलाकारितामा थप निखारता आयो ।

सोफोनिस्बा आन्ग्विसोलाको “अस्द्रुबेललाई गंगटोले टोक्दा” र उनको यो चित्रबाट प्रभावित भएर काराभाजियोले कोरेको “छेपारोले टोकेको केटो”

सन् १५५४ तिर उनी रोम गए जहाँ उनको भेट मुर्तिकार माइकलेनजेलोसँग भयो । माइकलेन्जेलोले उनलाई ड्रइङ्ग र डिजाइन गर्न प्रोत्साहन गरे । यहाँबाट उनको ड्रइङ्गहरुमा चम्पिको मेनरिजम (manerism)को अप्राकृतिक शरीर संरचनाबाट हटेर माइकलेन्जेलोले सिकाएको प्राकृतिक शरीर संरचनाको प्रभाव देखिन्छ । यसको उदाहरणको रुपमा उनको त्यस समयको ड्रइङ्ग “अस्द्रुबेललाई गंगटोले टोक्दा (Asdrubale being bitten by a crab)” लाई लिन सकिन्छ । यसमा उनले रुँदै गरेका आफ्ना भाइ अस्द्रुबल र मुस्कुराइरहेकी सम्भवतः उनकी बहिनी मिनर्भालाई उतारेकी छन् । उनको यस ड्रइङ्गबाट प्रभावित भएर बोरोक कालका प्रख्यात कलाकार काराभाजियोले सन् १५९७ मा “छेपारोले टोकेको केटो” (Asdrubale being bitten by a crab) शिर्षकको चित्र तयार गरेका थिए ।

स्पेनका राजा फिलिप द्वितीय

सन् १५५९ मा सोफोनिस्बाको बढ्दो ख्यातिसँगै स्पेनका राजा फिलिप द्वितीयले उनलाई माड्रिडमा बोलाए । राजा फिलिपको दरवारमा उनले लगभग २० वर्ष लामो समयसम्म दरवारीया कलाकारको रुपमा काम गरिन् । त्यहाँ उनको काम भनेको राजपरिवारका सदस्यहरुलाई, विशेषगरी रानी इजाबेलालाई चित्रकारिता सिकाउनु, दरवारीया सदस्यहरुको चित्र तयार पार्नु र राजकाजमा उपहारको रुपमा दिइने चित्रहरु तयार पार्नु थियो । त्यस समयका चित्रहरुमा सन् १५७३ मा तयार पारिएको राजा फिलिप द्वितीयको पोर्ट्रेट पनि एक हो, जसमा उनको हातको कुशलता र निपूणता प्रष्ट झल्कन्छ ।

सन् १५७९ मा उनी इटाली फर्किन् । त्यस यात्राको क्रममा भेट भएका जहाजका कप्तानसँग पछि उनले विवाह गरिन् । उनको बाँकी जीवन राजा फिलीप द्वितीयबाट पाएको पेनसनमा आरामले बितेको थियो । उनले ८० भन्दा बढी उमेरसम्म आँखाले साथ देउन्जेल चित्रकलामा आफूलाई समर्पित गरिन् ।

सोफोनिस्बाका केही उत्कृष्ट कलाकृतिहरु

१. बर्नार्दिनो चम्पिले सोफोनिस्बा आन्गुसोलाको चित्र बनाउँदै (Bernardino Campi Painting Sofonisba Anguissola), १५५०

सोफोनिस्बाले सन् १५५० मा तयार पारेको यो सेल्फ–पोर्ट्रेट (self-portrait) निकै असामान्य सेल्फ–पोर्ट्रेट हो । यस चित्रमा सोफोनिस्बाले आफुलाई प्रस्तुत गरेको तरिका, यस चित्रमा चित्रकारको रुपमा देखिएका आफ्ना गुरु चम्पिलाई प्रस्तुत गरेको तरिका, उनको प्राविधिक शिल्पगत निपुणता, उनको चित्रमा रहेका पात्र चम्पि, सोफोनिस्बाको चित्र र चित्र बनाउने सोफोनिस्बा स्वयंको बीचमा स्थापित त्रिपक्षीय सम्बन्ध आदिका कारण हालै मात्र नारीवादी प्रसङ्गमा यस चित्रलाई महत्वका साथ हेर्न थालिएको छ ।

यस चित्रमा सोफोनिस्बा एक चित्रकार पनि हुन् र एक मोडल (चित्रकलाको एक पात्र) पनि । उनले आफूलाई एक मोडलको रुपमा प्रस्तुत गर्दागर्दै एक प्रखर कलाकारको रुपमा पनि प्रस्तुत गरेकी छन् । यस चित्रको प्रशंसा गर्दै इतिहासकार भसारीले ‘मनमोहक सादृश्य’ (breathtaking likeness) को संज्ञा दिएका थिए । उनले चित्रमा उतारिएको जीवनसँग सादृश्य राख्ने चम्पिको आकृतिलाई इंगित गरेका थिए । चित्रमा चम्पिले बनाउँदै गरेको आफ्नै आकृतिलाई भने चम्पिको आकृतिभन्दा केही कम सादृश्य रहेको सोफोनिस्बा अनुभव गर्थिन् ।

त्यस्तै, प्रचलनभन्दा उल्टो, चित्रका पात्र कलाकार चम्पिभन्दा उनले बनाउँदै गरको सोफोनिस्बाको आकृतिलाई ठूलो देखाइएको छ । त्यसैगरी, चित्रित सोफोनिस्बाको हात विश्राम गरेको अवस्थामा छ भने चम्पिको हात चित्र कोर्दै गरेको अवस्थामा छ । तर, चम्पिको हातमा चित्र कोर्ने बेलामा हातलाई स्थिर राख्नको लागि प्रयोग गरिने उपकरण माल स्टिक (mahl stick) को प्रयोग गरेको देखाइएको छ । माल स्टिकको प्रयोग गर्नु भनेको त्यतिबेला निम्नकोटीको कलाकारको पहिचानको रुपमा लिइन्थ्यो । यी कुराहरुलाई संकेतहरुको रुपमा लिई इतिहासकारहरु यस कलाकृतिद्वारा सोफोनिस्बाले आफ्नो महत्व स्थापित गर्न खोजेको हुनसक्ने भनी व्याख्या गर्छन् । केही इतिहासकारहरुले भने चम्पिप्रति सम्मान व्यक्त गर्न मात्रै सोफोनिस्बाले यो कलाकृति सृजना गरेका हुन् भन्छन् ।

२. सेल्फ पोर्ट्रेट, १५५४

सन् १५५४ मा २२ वर्षको उमेरमा तयार पारिएको यो सेल्फ पोर्ट्रेटमा पनि सोफोनिस्बाले आफ्नो असामान्य शैलीलाई निरन्तरता दिएकी छन् । त्यसैगरी लुकेका संकेत तथा सन्देश राख्ने शैलीलाई पनि निरन्तरता दिएकी छन् ।

चित्रमा उनी थ्री क्वार्टर पोजिसन (three quarter positon) मा बसेकी छन् । उनको अनुहार दायाँ फर्केको छ, तर आँखाले भने दर्शकलाई एकटकले हेरेको भान हुन्छ । उनले साधारण लुगा लगाएकी छन् तर त्यो साधारण लुगा निम्नवर्गको लुगाजस्तो पनि देखिँदैन । उनको चट्ट परेको राम्रो कपडाको लुगाले उनी कुलीन परिवारकै हुन् भन्ने देखाइरहेको छ, तर उनको लुगामा साधारण डिजाइन र थोरै मात्र लेस भएकोले उनी सामान्यतया गह्रौं लुगा र गहनामा देखिने कुलीन परिवारकी महिलाजस्तो पनि देखिँदैनन् । उनले आफ्नो वायाँ हातमा एउटा सानो किताब बोकेकी छन् जसमा लेखिएको छः ‘अविवाहित महिला सोफोनिस्बा आन्ग्वीसोलाले आफ्नै चित्र कोरेकी हुन्, १५५४’ (Sofonisba Anguissola virgo se ipsam fecit 1554)। यस किताबलाई इतिहासकारहरु सोफोनिस्बाको बुद्धिमता र सफलताको प्रतिकका रुपमा लिन्छन् । यहाँ उनले आफू अविवाहित भएको उद्घोषलाई इतिहासकारहरु निकै महत्वपूर्ण मान्छन् । यसलाई त्यतिबेलाको पितृसत्तात्मक समाजमा पनि आफू कुनै पनि पुरुषको अधीनमा नरहेको र कहिले पनि नरहने घोषणाको रुपमा लिइन्छ ।

३. चेस खेल (The Chess Game), १५५५

सोफोनिस्बाको असामान्य प्रतिभालाई प्रमाणित गर्ने अर्को कालाकृति भनेको ‘चेस खेल’ नाम दिइएको कलाकृति हो । यो कलाकृति उनले केबल २३ वर्षको उमेरको छँदा सन् १५५५ मा कोरेकी थिइन् । यस चित्रमा उनले आफ्ना बहिनीहरु चेस खेल्दै गरेको र घरमा काम गर्ने महिलाले उनीहरुलाई हेर्दै गरेको क्षणलाई उतारेकी छन् । यस चित्रको प्रसंशा गर्दै इतिहासकार भसारीले चित्रका आकृतिहरु निकै जीवन्त देखिएको उल्लेख गरेका छन् ।

चित्रको बीचमा सबैभन्दा कान्छी बहिनीले दायाँतिरकी आफ्नी दिदीलाई हेरेर हाँसेकी छिन् जसले हात उठाएर आफ्नो हार स्वीकार गरिरहेझैँ लाग्छ । उनले बायाँतिरकी आफ्नी दिदीलाई हेरिरहेकी छन् जसले बायाँ हातमा कालो रङ्गको मन्त्री गोटी समातेकी छन् र दर्शकतिर अथवा चित्र कोर्दै गरेकी सोफोनिस्बातिर हेर्दै छिन् । दायाँ छेउका घरेलु कामदार महिलाले भने यी दिदीबहिनीको खेल हेर्दै छिन् । उनीहरुको अनुहारको जीवन्त अभिव्यक्तिलाई नै भसारीले प्रशंसा गरेका थिए ।

दायाँतिरकी सोफोनिस्बाकी जेठी बहिनीले भर्खरै खेल जितेको क्षणको यो चित्रमा पनि सोफोनिस्बाको शैलीका संकेत र सन्देशहरु लुकेका छन् । चेस खेल खेल्न सुरु भएदेखि यसका नियमहरुमा धेरै परिवर्तनहरु आइसकेका छन् । तत्कालिन समयमा पनि यस्ता थुप्रै नियमहरु परिवर्तनकै क्रममा थिए । यस चित्रमा उनले भर्खरै परिवर्तन भएको नियमअनुसारले मन्त्री गोटीको राजाको भन्दा पनि बढेको शक्ति वा अधिकारलाई संकेत गर्दै समाजमा महिलाको स्थान (पश्चिममा चेसको मन्त्री गोटीलाई क्वीन अथवा रानी गोटी मानिन्छ) चेसमा जत्तिकै उच्चतम नभएपनि कम्तिमा समान हुनुपर्छ भन्ने सन्देश दिन खोजेकी छन् भन्ने इतिहासकारहरुको व्याख्या रहेको छ । उनका अरु कलाकृतिहरुमा झैँ यसमा पनि सोफोनिस्बाले स्फुमाटो टेक्निकको प्रयोग गरेकी छन् । चित्रको पृष्ठभूमिमा दृश्यचित्र कोरेकी छन् जुन उनको वरपरको वातावरण प्रभावित भएको हुनसक्छ । पृष्ठभूमिको यो हल्का नीलो रङ्गको दृश्यचित्रले अग्रभूमिका आकृतिहरुले पहिरिएका आलंकारिक वस्त्रसँग विपरीत तर राम्रो सामान्जस्यता राख्दछ ।

४. सेल्फ–पोर्टेट्र (Self-portrait), १५६१

सोफोनिस्बाका थुप्रै सेल्फ–पोर्ट्रेटहरुमध्ये सन् १५६१ को सेल्फ–पोर्टे«टमा उनले आफुलाई किबोर्ड बजाउँदै गरेको देखाएकी छन् । उनको दायाँतिर एक अधवैंशे महिला उभिएकी छिन् । यस कृतिमा उनले रेनेसा कालको प्रचलनअनुसार आफुलाई कलाकारको रुपमा नभई एक भद्र महिलाको रुपमा प्रस्तुत गरेकी छन् । उनले किबोर्ड बजाउँदै गरेको देखाई तत्कालिन समयको संस्कारअनुसार आफू सङ्गीत क्षेत्रमा पनि दखल राख्ने भनी देखाएकी छन् । त्यस समयमा कुलीन परिवारका महिला–पुरुष दुबै सङ्गीतमा वा कुनै एक बाद्यवाधनमा पोख्त हुनु महत्वपूर्ण मानिन्थ्यो ।

यस कृतिमा पनि सोफोनिस्बाले स्फुमातो टेक्निकमा आफ्नो सर्वोत्तम क्षमता प्रस्तुत गरेकी छन् । यस चित्रमा सोफोनिस्बा जवान र निकै आकर्षक देखिएकी छन् । किबोर्ड बजाउन बसेको सोफोनिस्बाको निकै शिष्ट पोजिसन र आफै पनि यौवनको प्रतिकको रुपमा उभिएको किबोर्डले पूरै चित्रलाई आकर्षक बनाएका छन् ।

सोफोनिस्बाले आफ्ना कृतिहरुमा थुप्रै पटक बाद्यसाधनहरु, पालेटहरु, तुलिकाहरु तथा किताबहरुलाई प्रतिकात्मक रुपमा प्रयोग गरेकी छन् । एक महिलालाई कलाकारको रुपमा स्वीकार नै नगरिने, कला शिक्षामा बराबरीको पहुँच नपाइने र संघर्षमा उत्रेका महिला कला विद्यार्थीहरुलाई पुरुष सरह मानव संरचनाको अध्ययन अनुसन्धान गर्ने अवसर नदिइनेजस्तो प्रतिकुल समयमा पनि सोफोनिस्बाले आफूले समेट्न सक्नेजति सिकाइ र भरपुर मेहेनतले आफ्नो असामान्य क्षमता प्रस्तुत गरिन् र आफू कुनै पनि पुरुष कलाकारभन्दा कत्ति पनि कम नभएको प्रमाणित गरे ।

सोफोनिस्बाले आफ्नो समयमा आफुलाई स्थापित र प्रमाणित गरे पनि पितृसत्तात्मक समाज र यसका मान्यताहरुले ग्रसित ऐतिहासिक कालखण्डहरु र पितृसत्तामक सोचले ग्रसित कला इतिहासकारहरुले अरु थुप्रै महिला कलाकारहरुसँगै सोफोनिस्बाको गरिमामय कथालाई पनि लुप्त बनाइदिए ।

बिसौं शताब्दीको पहिलो पचासको दशकसम्म पनि इतिहासका कुनै पनि महिला कलाकारहरुको अत्तोपत्तो थिएन । पचासको दशकपछि समाजका अन्य पाटोहरुमा नारीवादको लहरले जागरण ल्याएपछि कला क्षेत्रमा पनि त्यसको प्रभाव पर्नु स्वभाविक थियो । सन् १९७६ मा सोह्रौं शताब्दीदेखि बिसौं शताब्दीसम्मका १२ देशका ८४ महिला कलाकारका १५० वटा कलाकृतिहरुको प्रदर्शनी गरी इतिहासको गर्भबाट महिला कलाकारहरुलाई प्रकाशमा ल्याउने काम भएको थियो । यसमा सोफोनिस्बा पनि अटाएकी थिइन् । यहाँदेखि सोफोनिस्बामा थुप्रै नारीवादी कला इतिहासकारहरु तथा अन्य इतिहासकारहरुको पनि चाख बढ्दै गयो र उनका थुप्रै हराएका कलाकृतिहरु तथा उनले सृजना गरेका हुन् भनी पहिचान नभएका कलाकृतिहरु पनि भेटिए । सन् १९९५ मा वासिङ्टनको नेसनल म्युजियम अफ विमन इन आर्ट्समा उनको मात्रै २० भन्दा बढी कलाकृतिहरुको प्रदर्शनी भयो । सो प्रदशनीको नाम राखिएको थियो, सोफोनिस्बा आन्ग्विसोलाः एक नवजागरण महिला (Sofonisba Anguissola: A Renaissance Woman) ।

(Visited 96 times, 1 visits today)

टिप्पणी

comments