Main Menu

वर्ग क्रान्तिको अत्युत्तम नमुना : रुसी अक्टोबर क्रान्ति

एक शताव्दीअघि रुसमा सम्पन्न अक्टोबर क्रान्ति राज्य विप्लबको कोणबाट महत्वपूर्ण त छँदैछ, साथै यो मानव सभ्यताको दृष्टिबाट वर्ग क्रान्तिको अत्युत्तम नमुना पनि हो । किनकि, यस अगाडिका जति पनि क्रान्तिहरु भए वर्ग विभाजित मानव समाजमा एक वर्गको बर्चश्व समाप्त गरी अर्को वर्गको हैकम स्थापना गर्नका लागि नै भए । रुसी अक्टोबर क्रान्ति नै यस्तो पहिलो क्रान्ति थियो जसको ध्येय मानव समाजमा भएको वर्ग बिभाजन र एक वर्गले अर्को वर्गलाई शोषण गर्ने प्रथालाई अन्त्य गर्ने महान उद्देश्यका साथ सम्पन्न गरियो ।

मानव सभ्यताको इतिहास त्यति धेरै लामो छैन, जति लामो आधुनिक मानव प्रजातिको विकासको छ । पुरातात्विक मानवशास्त्रीहरुले हालसम्म पत्ता लगाए अनुसार आधुनिक मानव प्रजाति (होमो स्यापियन्स स्यापियन्स) १ लाख ७० हजार वर्ष पुरानो छ । सुरु उद्विकासको समयदेखि डेढ लाख वर्षभन्दा बढी समयसम्म आधुनिक मानव प्रजाति जङ्गली नै थियो । न कुनै स्थायी बसोबास हुन्थ्यो, न त कुनै गाउँठाउँ नै हुन्थ्यो । सधैँ खानाका लागि शिकार गर्न झुण्डझुण्डमा जङ्गल चाहर्दै गर्नु नै मानव प्रजातिको दैनिकी हुन्थ्यो । यो समयमा मानव प्रजाति कबिला समूहहरुमा बिभाजित थियो । त्यो प्रजातिमा नै सिमित थियो जातिमा होइन । अर्थात् तत्कालीन अवस्थाका मानिसहरु अन्य जनावरहरुभन्दा त्यति विघ्न फरक थिएनन् ।

जङ्गली कविला मानव समाजमा वर्ग बिभाजन थिएन । त्यसैले त्यहाँ वर्ग विभेद, वर्ग शोषण र वर्ग सङ्घर्ष पनि थिएन । समाजमा सङ्घर्ष त थियो केवल प्रकृतिसँग । जनावरहरुसँग, घामपानी, असिना, बाढी, भूकम्प आदिआदिसँग । तर, वर्ग सङ्घर्षको भ्रूणको रुपमा कविला समूहरुबीच जम्काभेट हुँदा एकले अर्कालाई परास्त गर्ने लडाईं झगडाहरु हुन्थे ।

कविलाहरुबीच लडाईं झगडाले वर्ग विभाजित समाजमा पदार्पण गर्न कृषि युगसम्म पर्खनुपर्यो । पुरातात्विक मानवशास्त्रीहरुले मानव जातिले पहिलो पटक झण्डै १२ हजार वर्षपहिले अहिलेको पश्चिम एशियामा कृषि कर्मको सुरुवात गरेको तथ्य पत्ता लगाएका छन् । यसको अर्थ कृषि युगको थालनी झण्डै १२ हजार वर्षपहिले सुरु भएको हो ।

आदिमानव पुर्खाहरुझैं आधुनिक मानव प्रजाति पन अफ्रिकामा उद्विकास भई पश्चिम एशियाको बाटो भई युरोप एशिया, अष्ट्रेलिया र अमेरिकामा फैलिएर गएको तथ्य मानवशास्त्रीहरुले पुष्टि गरेका छन् । त्यसैले आधुनिक मानव जातिको सभ्यताको पहिलो जग पश्चिम एशियामा हालिएको पुष्टि मिल्छ । कृषिको सुरुवात नै सभ्यताको सुरुवात हो ।

कृषि युगको विकाससँगसँगै मानव जाति स्थायी वसोवास गरी बस्न थालेका हुन् । त्यसबेलाबाट नै गाउँ र विस्तारै शहरहरु निर्माण हुन सुरु भएको हो । कृषि कर्मबाट मानव जातिले खाद्यवस्तु जोगाड गरी भविष्यमा उपभोग गर्ने उपाय जान्न थाल्यो । अर्को, कृषिमा अर्कालाई काममा लगाई आफूले काम नगरी नै जीवन गुजारा चलाउन सकिने अवस्था मानिसलाई थाहा भयो । यो अवस्था नै मानव समाजमा वर्ग सुरु हुनका लागि आवश्यक पूर्वाधार बन्यो ।

कविला समूहहरुबीच द्वन्द्व चल्ने संस्कृति त जङ्गली अवस्थामा नै थियो । कृषि युगमा आउँदा त्यसले पनि वर्ग आविष्कृत हुने आधार तयार गर्यो । कविलाहरुबीच लडाईं झगडा हुँदा जुन कविला समूहको पराजय हुन्थ्यो त्यसका सदस्यहरुमध्ये महिलाहरुलाई पुरुषहरुले यौनतुष्टीका लागि आफ्नो अधिनमा राख्ने प्रथा सुरु भयो भने पराजित समूहका पुरुषहरुलाई आफ्नो अधिनमा राखी कृषिमा काम गराउने प्रथा सुरु भयो । यस्तो किन भयो भने कृषि उत्पादनले काम गर्नेलाई ख्वाएर पनि खाद्यवस्तुको जोगाड हुन्थ्यो । यस्तो हुँदा आफ्ना अधिनमा रहेका अर्को समूहका मानिसहरुलाई काम गराई बसीबसी खान पाइने भयो । दास युगको सुरुवात यसरी नै भएको इतिहास छ । पराजित पुरुषहरु कृषि काम गर्ने दास बने भने महिलाहरु यौनदासी बने । र, दासहरुलाई अधिनमा राख्ने मानिसहरु दास मालिक बने ।

दास युगको सुरुवात विश्वमा करिब ४ हजार वर्षपहिले भएको अनुमान छ । दास युगको सुरुवातबाट नै मानव समाज वर्ग समाजमा रुपान्तरण भयो । दास युगमै विश्वमा विशालविशाल साम्राज्यहरु स्थापना भएको इतिहास छ । इसापूर्वको समयमा भएका ती विशाल साम्राज्यहरुमध्ये अहिलेको ग्रीससहितको क्षेत्रमा फैलिएको विशाल मेसोपोटामिया साम्राज्य उदाहरणको रुपमा लिन सकिन्छ । दास युगमा दासहरुलाई चर्को अमानवीय शोषण हुन्थ्यो । त्यसैले दास मालिक र दासहरुबीच द्वन्द्व हुनु स्वाभाविक थियो । तर, दास मालिकहरु हजारौं वर्षसम्म अत्यन्तै शक्तिशाली रहे । दास युग सुरु भएको झण्डै २ हजार वर्षपछाडि आएर मात्र दासहरुको बिद्रोह थालनी भएको इतिहास छ । इसापूर्व पहिलो शताव्दीमा भगुवा दास स्पार्टाकसको नेतृत्वमा भएको असफल बिद्रोह नै इतिहासमा उल्लेख भएको पहिलो र सशक्त दास बिद्रोह थियो । त्यस बिद्रोहमा स्पार्टाकसलगायत हजारौं दासहरु मारिए भने रोमन साम्राज्यकी राजकुमारीसहित थुप्रै दास मालिकहरुको पनि मृत्यु भएको थियो । तर, त्यो बिद्रोहलाई निर्ममतापूर्वक दबाइयो ।

दास युगको अन्त्य भई सामन्त युगको सुरुवात ५ औं र ६ औं शताव्दीबाट सुरु भएको इतिहास छ ।सामन्ती युगमा दास युगका मालिकहरु सामन्त बने भने दासहरु किसान बने । दासहरु मालिकको सम्पत्ति वा वस्तुका रुपमा हुन्थे । उनीहरु स्वतन्त्र हुँदैनथे । उनीहरुलाई सिक्री समेतले बाँधिएका हुन्थे ।

१५ शताव्दीमा स्पेनका अन्वेषक क्रिष्टोफर कोलम्वस जहाजबाट अमेरिका पुगेपछि युरोपेलीहरुले नयाँ भूमि पाए, नयाँ देश पाए । र, उनीहरु अमेरिकामा बसोबास गर्न गए । दासहरुलाई काम गराई बसीबसी खान पल्केका युरोपका दास मालिकहरुले अमेरिकामा काम गराउन अफ्रिकाबाट अश्वेत दासहरुलाई सिक्रीले बाँधी लगेको इतिहास छ । अहिले अमेरिकामा रहेका अधिकांश अश्वेत मानिसहरु इतिहासका ती दास मानिसहरुका सन्तानहरु हुन् ।

दासहरु स्वतन्त्र हुँदैनथे । सामन्ती युगका किसानहरु स्वतन्त्र हुन्छन् । तर, उनीहरु सामन्त, जमिन्दारहरुबाट शोषित हुन्छन् । सामन्ती युगमा समाजका मुख्य वर्गका रुपमा सामन्त र किसान रहे । सामन्त शोषक वर्ग र किसान शोषित वर्ग । सामन्ती युगमा नै विश्वमा ठूलाठूला सामन्ती राज्यहरु, साम्राज्यहरु बने । ती साम्राज्यहरुमध्ये जारशाही रुसी साम्राज्य पनि हो । जारशाही रुसी साम्राज्य युरोपदेखि एशियाको सुदूर पूर्वसम्म फैलिएको थियो ।

सामन्ती युगमा कृषिमा ठूलो विकास भयो । साथै उद्योगहरुको पनि विकास हुन थाल्यो । यसले गर्दा समाजमा किसानहरुका साथै कालीगढ, उद्यमी तथा व्यापारी गरी अन्य वर्गहरुको पनि उदय हुन थाल्यो । उत्पादनमा कृषिबाहेक उद्योग र व्यापारको हिस्सा पनि बढ्दै जान थालेबाट बनेका नयाँ वर्गहरुले उद्यम, व्यापारलगायत अन्य आर्थिक गतिविधिका लागि व्यक्ति स्वतन्त्रताको नारा दिन थाले । यसबाट सामन्ती शासनहरुमा संकटहरु आइपरे । र, यहीँबाट पुँजीवादी क्रान्तिको आधार जन्मिन पुग्यो ।

इतिहासमा सामाजिक–आर्थिक रुपमा पुँजीवादको सुरुवात बेलायत, नेदरल्यान्ड, फ्रान्स, जर्मनी र बेल्जियमबाट भएको हो । पुँजीवादको सुरुसँगै सामन्ती राजतन्त्रात्मक राज्यहरु ढली पुँजीवादी लोकतान्त्रिक क्रान्तिहरु भए । बेलायतमा १७ औं शताव्दीमा पुँजीवादी लोकतान्त्रिक क्रान्ति भयो भने फ्रान्समा १८ औं शताव्दीमा ।

क्रान्तिद्वारा सामन्ती शासनहरु ढली लोकतान्त्रिक शासनहरु आउँदा पनि मानव समाज पुनः वर्ग बिभाजित अवस्थामा नै रह्यो । पुँजीवादी समाजमा पुँजीजीवि (बुर्जुवा) वर्ग र मजदुर वर्ग दुई विपरित वर्गका रुपमा स्थापित भए । वर्ग विभेद, शोषण र अत्याचारहरु नयाँ रुपमा फेरि पनि बाँकी बसे । युरोपका पुँजीवादी लोकतान्त्रिक क्रान्तिहरुमा मजदुर वर्गको योगदान पनि कम रहेन । तर, क्रान्तिपछि पुँजीजीवि वर्गले शासन सत्ता आफ्नो हातमा लिई मजदुर वर्गहरुमाथि शासन गर्न थाल्यो । त्यसले गर्दा विभेद, शोषण र अत्याचार फेरि पनि कायमै रह्यो ।
रुसी समाज २० औं शताव्दीको सुरुसम्म पनि सामन्ती युगमै थियो । राज्यसत्ता सामन्ती राजाहरुको हातमा थियो । उद्योगहरुको विकास उति माथि थिएन । यही पृष्ठभूमिको रुसमा १९१७ को फेब्रुअरीमा बुर्जुवा क्रान्ति भयो । बुर्जुवा क्रान्तिले मानव समाजमा शोषणको अन्त्य नगर्ने कुरा प्रष्ट थियो ।

कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले सन् १८४८ मा ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ प्रकाशित गरेर वर्ग विहीन समाजको स्थापना नगरी शोषण प्रथा अन्त्य नहुने र त्यसको लागि क्रान्तिद्वारा वैज्ञानिक समाजवाद स्थापना गरी साम्यवादी समाज निर्माण गर्नुको विकल्प नभएको बिचार बाहिर ल्याए । उनीहरुले पुँजीवादमा कसरी बुर्जुवा वर्गले मजदुर वर्गको श्रम चोर्छन् र वैधानिक बाटोबाटै मजदुर वर्गलाई कङ्गाल बनाई कसरी बुर्जुवा वर्ग धनी बन्छन् भन्ने सैद्धान्तिक गोप्यतालाई सन् १८६७ मा ‘पुँजी’ नामको ग्रन्थ प्रकाशित गरी बाहिर उजागर गरिदिए । ती नै सिद्धान्तहरुको आधारमा कार्ल मार्क्स र एङ्गेल्सले भविष्यमा वर्गविहीन साम्यवादी समाजको परिकल्पना गरे ।
फ्रान्सका मजदुरहरुले मार्क्स एङ्गेल्सकै सिद्धान्तको जगमा १८७१ मा क्रान्ति गरी राज्यसत्ता आफ्नो हातमा लिए । त्यस क्रान्ति ‘पेरिस कम्युन’ को नाममा इतिहासमा प्रख्यात छ । तर, त्यो क्रान्ति दुई महिनाभन्दा बढी समयसम्म टिक्न सकेन । बुर्जवाहरुले क्रान्तिको दुई महिनापछि पुनः शक्ति आफ्नो हातमा फिर्ता लिए ।

वर्गविहीन समाजमा पुग्न समाजवादी क्रान्ति अपरिहार्य छ । सर्वहारा वर्गले गर्ने समाजवादी क्रान्तिले नै वैज्ञानिक समाजवादको स्थापना गर्ने कुरो मार्क्सवादको ठहर छ । पेरिस कम्युन क्रान्तिको असफलतापछि फ्रान्समा मजदुर वर्गले अर्को क्रान्ति गर्न सकेन ।

भूआकारको हिसाबले विशाल भएपनि पश्चिमी युरोपका देशहरुको तुलनामा बीसौं शताब्दीको सुरुसम्म रुस पछौटे र कम औद्योगीकरण भएको देश थियो । तर, त्यहाँका मजदुर वर्गलाई क्रान्तिकारीतामा बदल्ने काम विशेषतः लेनिन र उनको पार्टी वोल्शेविकले गरे ।

फेब्रुअरी क्रान्तिमा सडकमा उत्रेका रुसी जनता ।

सन् १९१७ फेब्रुअरीमा रुसमा ठूलो जनआन्दोलन भयो । त्यस आन्दोलनमा महिला, मजदुर, बिद्यार्थीलगायत बिभिन्न तप्काका जनताहरु जारशाहीबिरुद्ध सडकमा उत्रे । राजधानी पेट्रोगार्ड आन्दोलनको केन्द्र थियो । थुप्रै सेनाहरुले पनि जारशाहीबिरुद्धको आन्दोलनलाई साथ दिए । अन्ततः त्यही आन्दोलनले जारशाही सत्ताच्यूत हुन पुग्यो । आन्दोलनलाई थेग्न नसकेपछि जार निकोलस द्वितीयले गद्दी त्यागे । यसरी ३ सय वर्ष पुरानो जारशाही शासनको अन्त्य हुन पुग्यो ।

जारशाही शासनको अन्त्यपछि रुसको राजनीतिक सामाजिक स्थिति झन तरल हुन पुग्यो । देशमा जताततै अराजकताको स्थिति बन्यो । जार निकोलस द्वितीयले गद्दी त्यागेपछि राजकुमार जियोर्जी एलभोभको अध्यक्षतामा अन्तरिम सरकार गठन हुन्छ । तर, त्यसले मुलुकको बिग्रँदो स्थितिलाई सम्हाल्न सकेन । राजकुमार एलभोभ ५ महिनापछाडि नै पदबाट बाहिरिए । त्यसपछि जुलाई महिनामा रुसी समाजवादी क्रान्तिकारी पार्टीका नेता अलेक्जेण्डर केरेन्स्की प्रधानमन्त्री बने ।

जारशाहीको पतनपछि रुसमा नयाँ संविधान निर्माणका लागि रुसी संसद डूमाले नोभेम्वरमा संविधानसभाको चुनाव गर्ने घोषणा गरेको थियो । निर्वाचनका लागि मुलुकमा शान्ति कायम हुनु जरुरी थियो । तर, त्यस्तो हुन सकिराखेको थिएन । अन्तरिम सरकारप्रति रुसी मजदुर वर्गको विश्वास घट्दै गइरहेको थियो ।

लेनिनलाई के प्रष्ट थियो भने रुस पश्चिम युरोपका देशहरु स्तरको औद्योगिक मुलुक नभए पनि रुसी मजदुरहरुको शक्ति कम होइन । र, समाजवादी क्रान्ति बिना रुसलाई साम्यवादको बाटोमा लान सम्भव हुन्न । अर्को, समाजवादी क्रान्तिका लागि सामन्ती जारशाही शासनको अन्त्य भइसक्नु पर्ने जुन थियो, त्यो त फेब्रुअरीको संयुक्त आन्दोलनले पूरा गरिसक्यो । अब राज्यसत्ता बुर्जुवा बनिसक्यो । बुर्जुवा वर्गले समाजवाद स्थापना गर्न दिन्न । राज्यसत्ता बुर्जुवा वर्गको हातमा आएको भए पनि उनीहरुले आफ्नो शक्तिलाई मजबुत गर्न पाएको छैन र त्यस्तो हुन दिनु हुन्न भन्ने कुरामा लेनिन प्रष्ट थिए । त्यसैले उनी सकेसम्म जारशाही सत्ताको अन्त्यपछि निर्मित अराजकताको जगमा मजदुर, सेना, महिला तथा अन्य तल्ला तप्काका जनतालाई कसरी नयाँ सत्ताबिरुद्ध संगठित पार्ने भन्ने धुनमा तल्लीन रहे ।

लेनिन अन्तरिम सरकारको सानोभन्दा सानो कमजोरीलाई पनि पहाड बनाई जनतामा प्रचार गर्न माहिर थिए । उनले स्थल सेना, जल सेना, कर्मचारी आदि सरकारी अङ्गहरुमा अन्तरिम सरकारप्रति अविश्वास पैदा गरी पुनः नयाँ क्रान्तिको पक्षमा आकर्षित गर्न तल्लीन भए । उनले सबभन्दा भरोसिलो शक्तिको रुपमा औद्योगिक मजदुरहरुलाई परिचालन गरे ।

लेनिनलाई के प्रष्ट थियो भने अन्तरिम सरकारको मातहतमा संविधानसभाको चुनाव भई संविधान निर्माण भएमा क्रान्ति असम्भव हुन सक्छ । त्यसैले उनी संविधानसभाको चुनाव हुनुपूर्व नै क्रान्ति सम्पन्न गर्ने तयारीमा थिए । उनी वर्ग सङ्घर्षको सापेक्ष तीव्रतालाई पर्खेर बसेका थिए । यसैबीच अन्तरिम सरकारले सन् १९१४ बाट सुरु भएको विश्वयुद्धमा रुसको सहभागितालाई पुनःजोड्ने घोषणा गर्यो । रुसी जनता र सेना युद्ध चाहँदैनन् भन्ने कुरा लेनिनलाई राम्ररी नै थाहा थियो । र, लेनिनले जनताको यही मानसिकतालाई क्रान्तिको पक्षमा मोड्ने गरे । लेनिन र बोल्शविक पार्टी तुरुन्तै विश्वयुद्धमा पुनः सेना परिचालन गर्ने अन्तरिम सरकारको निर्णयको खिलाफमा उत्रे । यसले आम मजदुर, सेना र सर्वसाधारणहरुको ठूलो हिस्सा तुरुन्त नै वोल्शेविकहरुको पक्षमा आकर्षित भए । उनीहरु बोल्शेविकहरुले गर्ने क्रान्तिमा सामेल हुने मनस्थितिमा आइपुगे ।

अक्टोबर क्रान्तिमा रुसी बोल्सेविक क्रान्तिकारी लालसेना ‘विन्टर प्यालेस कब्जा गर्दै ।

आमजनताको मनस्थिति तयार भइसकेपछि लेनिनले क्रान्ति गर्ने मिति राजधानी पेट्रोगार्डमा मजदुरहरु ठूलो सङ्ख्यामा जम्मा हुने समय अखिल रुसी मजदुरहरुको महाधिवेशनको पूर्वसन्ध्याको दिनलाई छाने । महाधिवेशनका लागि राजधानीमा आएका मजदुरहरु नै अक्टोबर क्रान्तिका लागि बन्दुक बोकी अन्तरिम सरकारबिरुद्ध सशस्त्र बिद्रोहमा उत्रिए । ती मजदुरहरुले नै १९१७ अक्टोबर २५ (नोभेम्वर ७)मा अन्तरिम सरकारका मन्त्रीहरु बसेको ‘विन्टर प्यालेस’लाई कब्जा गरी ती मन्त्रीहरुलाई गिरफ्तार गरे र क्रान्ति सम्पन्न गरे ।
रुसी अक्टोबर क्रान्ति दुई कारणले त्यस अघिको इतिहासका अन्य क्रान्तिहरुभन्दा पृथक र अत्युत्तम रह्यो । पहिलो, यो क्रान्ति अरु क्रान्तिजस्तो मानव समाजमा वर्ग विभेदलाई निरन्तरता दिँदै पुनः एक वर्गले अर्को वर्गलाई थिचोमिचो गर्ने र शोषण गर्ने प्रथालाई जारी राख्नका लागि भएन । बरु, यो क्रान्ति समाजमा हजारौं वर्षदेखि बिभिन्न कालखण्डमा बिभिन्न रुपमा बिभाजित र आपसमा टक्कराउँदै अगाडि बढेको वर्ग बिभाजित समाजको अन्त्य गरी वर्ग विहीन समाज स्थापना गर्ने लक्ष्य सहित सम्पन्न भयो । क्रान्तिले मानव समाजमा वैज्ञानिक समाजवाद स्थापना गरी अन्ततः साम्यवाद स्थापना गर्ने लक्ष्य लियो । यस मानेमा यो क्रान्ति त्यसअघिका कुनै पनि क्रान्ति र राजनीतिक परिवर्तनभन्दा पृथक रह्यो । आदिम कालदेखि मानव समाज र सभ्यताको इतिहास सङ्घर्ष एवं आपसमा द्वन्द्वको इतिहास रह्यो । रुसी अक्टोबर क्रान्ति नै त्यस्तो पहिलो मानव क्रान्ति थियो जसले मानव जातिभित्रका सम्पूर्ण आपसी द्वन्द्व र युद्धहरुलाई सदाका लागि अन्त्य गरी चीर शान्तिको पर्यावरण निर्माण गर्ने लक्ष्य लियो ।

दोश्रो, यस क्रान्तिमा वस्तु तथा घटना विकासको प्राकृतिक नियमको विज्ञान अनुसार क्रान्तिलाई अगाडि बढाउने अभ्यास भयो । लेनिनको विलक्षण प्रतिभाले दिनदिन, घण्टाघण्टा र पलपलको सामाजिक एवं राजनीतिक द्वन्द्वको गतिलाई वस्तुवादी ढङ्गले अध्ययन, विश्लेषण गरी पाइला चाल्ने अभ्यास गर्यो । क्रान्ति हिजो पनि होइन भोलि पनि होइन आज मात्रै सम्भव, आज भएन भने यो कुनबेला सम्भव हुने हो भन्न नसकिने विश्लेषणजस्तो यथार्थवादी गतिशील आँखा लेनिनको रह्यो । अक्टोबर २५ मै क्रान्ति, २४ मा पनि होइन २६ मा पनि होइन । क्रान्तिको यो निशाना विलक्षण प्रतिभाबाट मात्र सम्भव हुन्थ्यो, जुन लेनिनबाट भयो ।

त्यसैले रुसी अक्टोबर क्रान्ति सफल हुनुमा वस्तुगत आधार र आत्मगत क्षमताको कारण मात्र महत्वपूर्ण नभई नेतृत्वको कौशलता पनि उत्तिकै महत्वपूर्ण बन्यो । यो कोणबाट पनि रुसी अक्टोबर क्रान्ति इतिहासका अन्य क्रान्तिहरुको तुलनामा अत्युत्तम सावित भएको छ । तसर्थ, संसारका क्रान्तिकारीहरुले त्यस क्रान्तिबाट धेरै सिक्न सक्छन् ।

  • तुल्सीदास महर्जन
(Visited 110 times, 1 visits today)

टिप्पणी

comments